Saturday, May 04, 2024

-->

भारत र पाकिस्तानसँग खेलेपछि नेपाली क्रिकेटको सम्भावित परिदृश्य

बुधबारदेखि शुरू हुने एशिया कपमा नेपालले क्रिकेट महारथीहरू भारत र पाकिस्तानसँग खेल्दै छ। यी दुई खेलको नतिजाभन्दा धेरै ठूलो हुनेछ, नेपाली क्रिकेटमा तिनै दुई खेलले जुराइदिने अवसर।

भारत र पाकिस्तानसँग खेलेपछि नेपाली क्रिकेटको सम्भावित परिदृश्य
एशिया कपमा पाकिस्तानसँग खेल्नुअघि अभ्यासरत नेपाली टोली।

काठमाडौँ– क्रिकेट आफैँमा सनसनी र अनिश्चयको खेल हो। पूरै पाँच दिन खेलिने टेस्ट क्रिकेटदेखि केही घण्टामै सकिने २० ओभरको खेल (ट्वान्टी–ट्वान्टी) सम्म त्यो अनिश्चय र सनसनी कम भएको छैन। ठ्याक्कै क्रिकेटजस्तै सनसनी र पूर्वानुमान गरिहाल्न नसकिने अनिश्चयपूर्ण छ– नेपाली क्रिकेट टोलीको परिचय।

धेरै पनि भएको छैन, गएको वैशाख अगाडिसम्म नेपाली क्रिकेटले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउन सक्ला कि नसक्ला भन्ने प्रश्न टड्कारो थियो। सन् २०१८ मा पहिलोपटक हासिल गरेको नेपालको ओडीआई मान्यता त्यसबेला पूरै धर्मराएको थियो।

काठमाडौँमा ‘आइसीसी क्रिकेट विश्वकप लिग–२’ प्रतियोगिता चलिरहेको थियो। नेपाल त्यो प्रतियोगिताको अन्तिम ३ खेल बाँकी रहँदा चिरपरिचित प्रतिद्वन्द्वी यूएईविरुद्ध खेल्दै थियो। त्यो खेल चलिरहँदा पनि नेपालको ओडीआई मान्यता कायम रहने वा नरहने अन्योल यथावत् थियो। तर, कसिलो बलिङ गरेको नेपालले यूएईलाई ७१ रनमा रोक्दै १७७ रनको जित हात पार्‍यो। त्यो जित खासमा नेपालको ऐतिहासिक प्रदर्शन थियो। किनभने त्यही प्रदर्शनबाट नेपालको दुई खेल अगावै ओडीआई मान्यता जोगियो।

त्यसपछि पपुवा न्यूगिनीलाई ९ विकेट र वर्षाले बिथोलेको खेलमा नेपालले पुनः यूएईलाई डकवर्थ लुइस (डीएलएस)मा ९ रनले पराजित गर्‍यो। त्यही जितले नेपालको टेस्ट राष्ट्र आयरल्यान्ड, जिम्बावे र वेस्ट इन्डिजसँग एक दिवसीय छनोट खेल्ने सपना पूरा भयो। नेपाल त्यतिमै रोकिन, त्यही लक्की मैदानमा लगत्तै भएको एसीसी प्रिमियर कपको फाइनलमा पुनः यूएईलाई नै ७ विकेटले पराजित गर्दै नेपाल विश्व क्रिकेटका महारथी मानिने भारत र पाकिस्तानसँग खेल्ने मञ्चमा पुग्यो।

२१ वर्षपछि फेरि त्यो मञ्चमा पुगेको नेपाल बुधबार एशिया कपमा आयोजक पाकिस्तानसँग खेल्दै इतिहास बनाउने मोडमा उभिएको छ। लगत्तै नेपालले भारतसँग खेल्नेछ। पाकिस्तान पुगेको नेपाली टोलीले पहिले घरेलु टोली, त्यसपछि भारतलाई पराजित गर्दै सेमिफाइनलमा पुग्ने लक्ष्य बनाइहालेको छैन। अनिश्चयको खेल क्रिकेटमा नतिजा जे पनि हुन सक्छ। तर नेपाली टोलीको पहिलो लक्ष्य छ– बाँकी विश्वलाई नेपाली क्रिकेटले सन् २०१४ को टी–२० विश्वकपपछि कति सुधार गर्‍यो भनेर देखाउने। र चुनौतीलाई अवसरमा परिणत गर्ने।


पाकिस्तानमा रहेका नेपाली कप्तान रोहितकुमार पौडेलले पनि त्यही प्रतिक्रिया दिए। उनले भने, “हामी हरेक चुनौती अंगाल्न, सपना पछ्याउन र जोसका साथ खेल्ने यात्रामा छौँ। हामी क्रिकेटमा नयाँ विरासत बनाउने आशाका साथ अगाडि बढ्छौँ।”

२१ वर्षपछि पूरा हुँदै गरेको त्यो सपना
सन् २००२ मै एसीसी ट्रफीको फाइनलमा पुगेपछि नेपाल एशिया कपमा छनोट भएको थियो। तर भारत र पाकिस्तानको तिक्ततापूर्ण सम्बन्धले त्यो प्रतियोगिता नै हुन पाएन। त्यो समय नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट एसोसिएट मान्यता पाएको ६ वर्ष मात्र हुँदै थियो।

त्यो अवधि जोड्दा अहिलेको नेपाली क्रिकेट २७ वर्षे लक्का जवान भइसकेको छ। यहाँसम्मको यात्रा तय गर्ने क्रममा नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी–२० विश्वकप खेलिसकेको छ। टी–२० विश्वकपमा सहभागितासँगै यसबीचमा नेपाली क्रिकेटले हासिल गरेको अर्को महत्त्वपूर्ण उपलब्धि ओडीआई मान्यता थियो।

छोटो समयमै हासिल गरिरहेको उपलब्धिका कारण पनि नेपाली क्रिकेटले उथलपुथल ल्याउने धेरैको अपेक्षा थियो। तर टी–२० विश्वकपमा सहभागिता र ओडीआई मान्यतापछि त्यो अपेक्षाअनुसार भने हुन सकेन। क्रिकेटका जानकारहरू नेपालले एसोसिएट राष्ट्रबाहेक अरू बलिया टोलीसँग प्रतिस्पर्धा गर्ने मौका नै पाउन नसक्नुलाई यसको प्रमुख कारण मान्छन्।

हुन पनि टेस्ट खेल्ने राष्ट्रहरूसँग खेलेर पर्याप्त ‘एक्सपोजर’, अनुभव र आत्मविश्वास बटुल्ने नेपाली क्रिकेटको सपना यसबीचमा पूरा भएन। यूएई, ओमन, अमेरिका, हङकङ, पपुवा न्यू गिनी, नामिबिया र स्कटल्यान्डजस्ता एसोसिएट राष्ट्रसँग नेपालले अब्बल प्रदर्शन गरे पनि विश्व मञ्चमा त्यो प्रदर्शन सधैँ छायामा परिरह्यो। बुधबारदेखि शुरू हुने एशिया कपमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गरेसँगै नेपाली क्रिकेट भने यो परिचयबाट माथि उठ्नेमा आत्मविश्वासी देखिन्छन्, पूर्वराष्ट्रिय खेलाडी सञ्जम रेग्मी।

सञ्जम कुनै बेला नेपाली टोलीका भरपर्दा स्पिनर थिए। “हामीले त्यो ठूलो मञ्चमा खेल्ने सपना पूरा गरिसकेका पनि थियौँ। दुर्भाग्यवश अरू नै कारणले प्रतियोगिता हुन सकेन र सपना पूरा भएन। नेपाली क्रिकेटको अहिलेको पुस्ता पुनः यही मञ्चमा पुग्दा मलाई चन्द्रमामा पुगेको जस्तै महसुस भइरहेको छ,” सञ्जमले उकालोसँग भने, “अब भारतले चन्द्रमा अवतर गरेको चन्द्रयान हेरेजस्तै नेपालको खेल पनि विश्वले हेर्ने मञ्च मिलेको छ। अब नेपाली टोली मात्र होइन, हाम्रा प्रत्येक खेलाडीले विश्व मञ्चमा एक्सपोजर पाउने छन्।”

क्रिकेटको एसोसियट राष्ट्र नेपालले एकदिवसीय क्रिकेटको वरीयतामा पहिलो नम्बरमा रहेको पाकिस्तान र तेस्रो नम्बरमा रहेको भारतसँग उही प्रतियोगितामा खेल्ने अवसर आफैँमा ऐतिहासिक हो। यो अवसर फेरि कहिले जुर्छ भन्ने पनि निश्चित छैन। सञ्जम भने क्रिकेटका दुई महारथी राष्ट्रसँगको यी दुई खेलको नतिजा जे जस्तो भए पनि नेपाली क्रिकेटको खेल्ने क्षमता भने भारत र पाकिस्तान मात्र नभई विश्वले नियाल्ने बताउँछन्।


“हामी यति ठूलो स्टेजमा फेरि पुग्न सक्दैनौँ भन्ने होइन। यसअघि नै विश्वकप छनोटमा पुग्यौँ, वेस्ट इन्डिज र श्रीलंका जस्ता विश्वकप जितिसकेका टोलीसँग खेल्यौँ। ‘ब्याक टू ब्याक’ राम्रो खेलेर नै अहिले त्यस्तै बलिया टोली भारत र पाकिस्तानसँग खेल्दै छौँ,” उनले भने, “कुरा यी दुई म्याचको होइन, यी दुई म्याचले दिने एक्सपोजर र त्यसले दिने प्रचारको हो। यो प्रतियोगिता हाम्रा लागि कुनै बहुमूल्य खजाना भन्दा कम छैन। यसमा हारौँ या जितौँ, हामीलाई केही फरक पर्दैन। बस् हामीले खेल देखाउनु छ।”

क्रिकेटमा हस्तीकै परिचय बनाइसकेका विश्वका धेरैजसो क्रिकेट खेलाडीमा भारतसँग भन्दा भारतमै गएर खेल्ने सपना हुने गर्छ। भारतले स्थापित गरेको बलियो क्रिकेट संरचना र त्यही संरचनाले निर्माण गरेको ठूलो अर्थतन्त्रले नलोभ्याउने सायदै होलान्। शेन वार्न, रिक्की पोन्टिङ, क्रिस गेल, ड्यानियल भिट्टोरीदेखि फाफ डुप्लेसी, एबी डिविलियर्स जस्ता चर्चित क्रिकेटरहरू भारतमा खेल्ने सपनाकै कारण सन् २००७ देखि सात समुद्र पार गरेर दक्षिण एशिया आए। त्यो क्रम अहिलेको पुस्तासम्म घटेको छैन, बरु बढिरहेको छ। फ्रेन्चाइजी प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को रौनक आईसीसीले आयोजना गर्ने विश्वकपभन्दा कम छैन।

यही प्रतियोगितामा अस्ट्रेलिया, न्यूजिल्यान्ड, इंग्ल्यान्डजस्ता ठूला टोलीका खेलाडीले आफूमा रहेको क्षमता उजागर गरेका छन्। त्यहीकारण हुनसक्छ, भारत आफ्नो ‘स्तर’ जोगाइरहन क्रिकेटमा एकाधिकार लागू गर्नतर्फ उद्यत छ। त्यसको एउटा उदाहरण, अहिले भारत यी तीन राष्ट्रभन्दा अरूसँग हत्तपत्त क्रिकेट खेल्न चाहँदैन।

भारतको छिमेकी देश भएर पनि अहिलेसम्म एक जनाबाहेक नेपाली खेलाडी आईपीएलमा पुग्न सकेनन्। सन् २०१८ मा पहिलोपल्ट दिल्ली क्यापिटल्समा आबद्ध भएका सन्दीप लामिछानेले त्यसयता विश्वका सबै चर्चित फ्रेन्चाइजी लिग खेल्ने अवसर पाए। तर उनलाई पत्याएको नेपाली टोली र अरू सदस्यलाई अझै पत्याएको छैन। अहिले त्यही अवसर सिर्जना गर्ने मौका मिलेको नेपाली क्रिकेट टोलीका पूर्वअलराउन्डर राजु बस्न्यात बताउँछन्।

“हामीले अफगानिस्तानले झैँ विश्व क्रिकेटमा फड्को मार्न सक्थ्यौँ। हामी भन्दा पछि क्रिकेट खेल्न थाले पनि उसले भौतिक पूर्वाधारमा जोड दियो, गुणस्तरीय खेलाडी उत्पादन गरेर सप्लाइ गर्‍यो र विश्व क्रिकेटमा अलग छाप छाड्न सफल भयो,” उनी भन्छन्, “हामी भने आन्तरिक राजनीतिमा रुमल्लियौँ, त्यस्ता काम गर्नै सकेनौँ। अहिले फेरि नेपाली क्रिकेटले लय समात्न थालेको छ, विश्व क्रिकेट र उसका स्टेकहोल्डरको मन जित्ने अवसर आएको छ।”

के फेरिएला?
गत असार पहिलो साता जिम्बावेमा सम्पन्न एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले आठौँ स्थान हासिल गर्‍यो। त्यो प्रतियोगितामा नेपालले जिम्बावे, आयरल्यान्ड, नेदरल्यान्ड्स र वेस्ट इन्डिजजस्ता बलिया टोलीसँग खेलेको थियो। नेदरल्यान्ड्सबाहेक अन्य टोलीसँगको प्रदर्शन नेपालका लागि सन्तोषजनक रह्यो। कुनै बेला २०० रन पार गर्न नसक्ने नेपालले यी टोलीविरुद्ध २५० रन कटायो। जिम्बावेसँग ८, नेदरल्यान्ड्ससँग ७ विकेट र दुई पटक एक दिवसीय विश्वकप जितिसकेको वेस्ट इन्डिजसँग १०१ रनको फराकिलो हार नेपालले बेहोर्‍यो। अन्तिम खेलमा भने नेपालले आयरल्यान्डलाई आच्छु आच्छु नै पार्‍यो। २ विकेटले पराजित भए पनि नेपालले आफ्नो क्षमता विश्वलाई देखायो।


त्यसपछि भएको इमर्जिङ कपमा पनि नेपालले भारत र पाकिस्तानको ‘ए’ टिमसँग प्रतिस्पर्धा गरेको थियो। यी टोलीसँग नेपाल क्रमशः ९ र ४ विकेटले पराजित भए पनि नेपालले अब टेस्ट राष्ट्रलाई आमन्त्रित गरेर खेल्ने हैसियत बनाएको बस्न्यातको भनाइ छ। एशिया कपपछि नेपाली क्रिकेट टोलीको स्थिति थप मजबुत बन्नेमा पनि उनी आशावादी देखिन्छन्।

“हामीसँग पर्याप्त भौतिक पूर्वाधार छैनन्, त्यसकारण भारत र पाकिस्तानजस्ता ठूला टोलीलाई बोलाएर खेल्न सक्ने अवस्था अझै भइसकेको छैन,” बस्न्यात भन्छन्, “तर बंगलादेश र श्रीलंका जस्ता टोलीलाई यहीँ बोलाएर खेलाउन सक्ने सामर्थ्य हामीसँग छ। अहिले हामीले उनीहरूलाई बोलाएर खेलाउने, त्यसपछि भारत र पाकिस्तानमा गएर खेल्न सक्ने अवस्था यो प्रतियोगिताले निर्माण गर्छ भन्नेमा म ढुक्क छु।”

पहिलोपल्ट टी–२० विश्वकप खेलेपछि नेपाल क्रिकेट संघ (क्यान) सामु प्रचुर अवसर थिए। पूर्वाधार विकासका निम्ति उसले सरकारलाई  स्तरीय रङ्गशालाहरू निर्माणका लागि दबाब दिन सक्थ्यो। क्रिकेट क्रेज ह्वात्तै बढेकाले क्यानसँग त्यो शक्ति पनि थियो। तर त्यो प्रतियोगितालगत्तै क्यान आफैँभित्र र क्यानमाथि भएको राजनीतिका कारण नेपाली क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को निलम्बनमा पर्‍यो।

त्यसपश्चात् निरन्तर किचलो र द्वन्द्वमा रुमल्लिँदा क्यानले त्यो अवसर सदुपयोग गर्नै सकेन। अहिले नेपालसँग अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नयोग्य जम्माजम्मी दुइटा मैदान छन्। एउटा, त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान हो भने अर्को मूलपानीको मैदान। तर तिनै मैदानका संरचना पनि स्तरीय छैनन्। दर्शकलाई चिसो भुईँमै बसेर खेल हेर्नुपर्ने बाध्यता छ। अझ ठूला टोली बोलाएर खेल्दा सुरक्षाको प्रत्याभूति गर्न सक्ने अवस्था नरहेको क्यानकै अध्यक्ष चतुरबहादुर चन्द बताउँछन्।


“एसोसियट राष्ट्रसँग खेल्दा नै खेल हेर्न आउने दर्शकको भीड अत्यधिक हुन्छ। बंगलादेश, वेस्ट इन्डिज र श्रीलंका नेपाल आउन तयार छन्। यस्ता टोलीमा स्टार खेलाडी पनि आउने गर्छन्। उनीहरूलाई हेर्न भए पनि समर्थक अत्यधिक आउँछन्। तर हामीले भीडलाई नियन्त्रण गर्न सक्ने अवस्था छैन,” चन्द भन्छन्।

समस्या यति मात्र होइन। नेपालले ‘डे/नाइट’ क्रिकेट गराउन ‘फ्लडलाइट’सम्म जडान गर्न सकेको छैन। यसका साथै गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान, फाप्ला र मुलपानीजस्ता ‘ड्रिम प्रोजेक्ट’ मानिने रंगशाला निर्माणको काम अगाडि बढाउन क्यानले पहल नै गर्न सकेको छैन। सरकार त्यसका लागि अग्रसर कहिल्यै भएको छैन। यसका साथै जिल्ला र प्रदेश तहको संरचनामा सुधारका नगरी नहुने काम धेरै छन्।

भारत र पाकिस्तानसँग खेल्ने मञ्चमा पुगेको राष्ट्रिय टोली ५० ओभरको खेलका लागि अहिलेसम्म एउटै मात्र घरेलु प्रतियोगिता, प्रधानमन्त्री कपमा निर्भर छ। निजीस्तरबाट शुरू भएका एभरेस्ट प्रिमियर लिग (ईपीएल), पोखरा प्रिमियर लिग (पीपीएल), धनगढी प्रिमियर लिग (डीपीएल) लथालिङ्ग छ। क्यान आफैँले शुरू गरेको नेपाल टी–२० लिग (एनपीएल) अब कहिले आयोजना हुन्छ भन्ने नै टुंगो छैन।

यी सबैका पछाडि आर्थिक कारणसँगै भौतिक पूर्वाधार पनि जोडिएको पूर्वकप्तान उत्तम कर्माचार्य बताउँछन्। तर यहीबेला भारत र पाकिस्तानसँग राम्रो खेल्न सके क्रिकेट विकासमा सरकारमाथि समेत दबाब पैदा हुने उनको बुझाइ छ।

“नेपाली क्रिकेट अहिले आईसीसीमै निर्भर छ। ठूला टोलीसँग खेलेर यसलाई नै निरन्तरता दिने हो भने हामीलाई स्पोन्सरले पनि पत्याउन सक्ने वातावरण निर्माण हुन्छ। यसका साथै सरकारलाई भौतिक पूर्वाधारमा लगानी गर्न पनि प्रेसर थपिन्छ,” कर्माचार्य भन्छन्, “त्यसका लागि हामीले राम्रो क्रिकेट खेल्नु पर्‍यो। यसलाई नै कसरी निरन्तरता दिने भनेर योजना बनाउनुपर्‍यो।”

भौतिक पूर्वाधार र ‘एक्सपोजर’मा लगानी बढाउँदै लैजाने हो भने नेपाली टोलीलाई एशिया कप मात्र होइन, चाँडै विश्वकपमा पनि देख्न सकिने उनको आशा छ। “त्यसबाट हामीले सोच्दै नसोचेको खेल पर्यटन विकास हुनसक्छ जसले क्यानको रेभिन्यू मात्र नभएर देशकै रेभिन्यूमा सघाउ पुग्छ,” कर्माचार्य भन्छन्, “तर यसका लागि सरकार, स्टेकहोल्डर र क्यान सबै एकजुट भएर लाग्नुपर्‍यो।”

क्रिकेटका जानकारहरू त्यसका लागि यो ‘लेबल’का प्रतियोगिता खेलिरहनुपर्ने, सहभागिता जनाइरहनुपर्ने बताउँछन्। जस्तो, कुनैबेला  बंगलादेशका खेलाडी भारतमा आएर त्यहाँको रणजी ट्रफी खेल्थे। “त्यस्तै अवसर भारतले हामीलाई पनि दिन सक्छ, त्यो अवसरका लागि हामीले पहल गर्न सक्छौँ। तर हामी आफैँ अनुशासित भएर, योजना बनाएर अगाडि बढ्नुपर्‍यो,” कर्माचार्य भन्छन्। 


सम्बन्धित सामग्री