संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते हुने

सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको बैठकले भदौ ११ गते १० वटै विषयगत समिति सभापतिको निर्वाचन गर्ने निर्णय गरेको छ। 

काठमाडौँ– संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ। 

बिहीबार सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको बैठकले भदौ ११ गते १० वटै विषयगत समिति सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो। 

भदौ १० गते निर्वाचन प्रक्रिया प्रारम्भ हुने एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए। यसका लागि बिहीबार नै सूचना प्रकाशित हुने संसद् सचिवालयले जनाएको छ। 

“भदौ ११ गते १० वटै विषयगत समिति सभापतिको निर्वाचन गर्ने निर्णय भएको छ। १० गते उम्मेदवार चयन प्रक्रिया आरम्भ हुनेछ,” उनले भने, “अब प्रतिनिधिसभाका सबै विषयगत समितिले नेतृत्व पाउने सुनिश्चितता भएको छ। यसको सूचना आजै प्रकाशित हुनेछ।”

बैठकमा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, कानूनमन्त्री धनराज गुरुङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डे, एमालेका सचेतक महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र प्रतिनिधि सभाका महासचिव भरतराज गौतमको उपस्थिति थियो।