Sunday, May 05, 2024

-->

विदेशी ब्याटिङ प्रशिक्षक आएपछि उत्साही महिला क्रिकेट टोली, एशियालीस्तर नाघ्ने लक्ष्य

नेपालको महिला क्रिकेट टोलीले अहिलेसम्म एशियाबाहिरका देशहरूसँग प्रतिस्पर्धा गर्न पाएको छैन। टेस्ट राष्ट्रबाहेक यूएई र थाइल्यान्डको दबदबा हुँदा नेपालले उनीहरूको चुनौती पार लगाउन नसकेको हो।

विदेशी ब्याटिङ प्रशिक्षक आएपछि उत्साही महिला क्रिकेट टोली एशियालीस्तर नाघ्ने लक्ष्य
मुख्य प्रशिक्षक श्यामसनजंग थापा, ब्याटिङ प्रशिक्षक देविका पाल्शिकर र कप्तान रुविना क्षेत्री। तस्वीर सौजन्य: क्यान

काठमाडौँ- नेपालको महिला क्रिकेट टोली सन् २००७ मै एसीसी महिला च्याम्पियनसिपको उपविजेता बनेको थियो। पहिलो सहभागितामा नै उपाधि नजिक पुगेको टोलीले त्यसपछि यो सफलता दोहोर्‍याउन सकेको छैन। १६ वर्षमा नेपालले दुईपटक एशिया कप खेलिसकेको छ। तीनपटक एसीसी महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ। तर नेपालले एशियालीस्तर नाघेर अन्य टोलीसँग खेल्ने अवसर पाएको छैन।

नेपाली महिला टोलीको लक्ष्य भने हरेकपटक आईसीसी महिला टी–२० विश्वकप खेल्ने नै रह्यो। तर थाइल्यान्ड, हङकङ र यूएईजस्ता बलिया टोलीलाई पन्छाएर ग्लोबल छनोटसम्म पनि पुग्न सकेको छैन। यो अवधिमा महिला टोलीलाई नेपाली प्रशिक्षकले प्रशिक्षण दिएका थिए।

महिला टिम अब आगामी अगस्ट ३१ देखि सेप्टेम्बर ९ सम्म मलेसियामा हुने विश्वकपको एशिया छनोट खेल्ने तयारीमा छ। नेपाल क्रिकेट संघ (क्यान)ले यसपटक विदेशी ब्याटिङ प्रशिक्षक उपलब्ध गराएको छ। यसअघि ब्याटिङकै लागि भनेर प्रशिक्षक राखिएको थिएन।

त्यति मात्र नभई, क्यानले एशिया छनोटअघि कुवेत, मलेसिया र हङकङसम्मिलित चार देशबीचको श्रृंखला पनि खेलाउने भएको छ। त्यसलगत्तै आईसीसी वरीयतामा आफूभन्दा एक स्थान तल रहेको हङकङसँग अभ्यास खेल खेल्ने चाँजो मिलाइएको छ।

यिनै प्रतियोगिताका लागि महिला टिम एक महिनादेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रशिक्षणरत छ। यसपटकको तयारीबाट आफूहरू उत्साहित भएको कप्तान रुविना क्षेत्री बताउँछिन्।

“हामीसँग स्किल छ, तर निखार्न सकेका थिएनौँ। हामी आफैँलाई के कुरामा सुधार गर्नुपर्छ भन्ने थाहा थिएन। हामीसँग ब्याटिङ प्रशिक्षक थिएन, फिटनेस थिएन,” रुविना भन्छिन्, “भारतबाट ब्याटिङ प्रशिक्षक आइसक्नुभएको छ। फिटनेस प्रशिक्षक र फिजियो पनि हुनुहुन्छ। त्यसैले यसपटक विश्वकपमा पुग्छौँ भने आशा छ।”

को हुन् ब्याटिङ प्रशिक्षक देविका पाल्शिकर? 
क्यानले भारतकी पूर्वखेलाडी देविका पाल्शिकरलाई ब्याटिङ प्रशिक्षक नियुक्त गरेको छ। कार्यवाहक सचिव दुर्गा पाठकका अनुसार क्यानले आफ्नै खर्चमा उनलाई नेपाल ल्याएको हो।

देविकाले भारतीय टोलीबाट १५ एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र एक टेस्ट खेलेकी छन्। उनीसँग महिला प्रिमियर लिग (डब्लूपीएल)मा मुम्बई इन्डियन्सको ब्याटिङ प्रशिक्षक भएर काम गरेको अनुभव छ। 

देविका पाल्शिकर।

नेपाली टोलीको मुख्य प्रशिक्षक भने श्यामसनजंग थापा छन्। पुरुष राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दासले पनि एक समय महिला टोलीलाई प्रशिक्षण दिएका थिए। त्यसपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नियुक्त गरेका जगत टमाटा केही वर्ष प्रशिक्षक भए। उनले अवकाश पाएपछि राखेपकै प्रशिक्षक थापाले महिला टोली हेर्ने मौका पाएका हुन्।

विदेशी ब्याटिङ प्रशिक्षक पाएर हौसिएको नेपाल विश्वकपमा पुग्न दुई चरणका प्रतियोगिता पार गर्नुपर्छ। पहिलो चरणमा नेपालले ११ टिम सहभागी एशियाली छनोट खेल्ने छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले छनोटमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेको छ। 

नेपाल रहेको समूह ‘ए’मा बहराइन, भुटान, मलेसिया, कतार र यूएई छन्। समूह ‘बी’मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन्। समूह चरणमा सबै टोलीले एक अर्कासँग १/१ खेल खेलेपछि दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा विजयी दुई टोली ग्लोबल छनोटमा पुग्नेछन्।

कस्ता छन् नेपालका प्रतिद्वन्द्वी?
दुई वर्षअघि एशियाली छनोट खेल्दा नेपाल रहेको समूहमा यूएई, हङकङ, मलेसिया, भुटान र कुवेत थिए। कुवेत, भुटान र मलेसियालाई सहजै पराजित गरेको नेपाल हङकङसँग ६ विकेटले हारेको थियो। समूह चरणको अन्तिम खेलमा नेपाल यूएईसँग ४८ रनको फराकिलो हार बेहोर्‍यो।

सिंगल राउन्ड रोबिनमा आयोजना भएको प्रतियोगिताको शीर्ष स्थानमा रहँदै यूएई ग्लोबल छनोटमा पुग्यो। एक टोली मात्र ग्लोबल छनोटमा पुग्ने नियम थियो। पाँच खेलबाट ६ अंक जोडेको नेपाल तेस्रो स्थानमा रह्यो। नेपाललाई पराजित गरेको हङकङ दोस्रो भयो।

नेपालले यसपटक पनि यूएई, भुटान र मलेसियासँग खेल्नुपर्ने भएको छ। बहराइन र कतार भने नयाँ हुन्। यद्यपि, बहराइनसँग पनि नेपालले अन्य प्रतियोगितामा प्रतिस्पर्धा गरिसकेको छ। पछिल्लोपटक एसीसी च्याम्पियनसिप २०२३ को समूह चरणका खेलमा नेपालले बहराइनलाई ८ विकेट र भुटानलाई ५० रनले पराजित गरेको थियो। 

मलेसिया र कतारसँग पनि पछिल्ला खेलमा नेपालको सुखद् नतिजा छ। अघिल्लो जुनमा भएको पाँच टी२० आई श्रृंखलामा नेपालले घरेलु टोली मलेसियालाई ३-२ ले पराजित गरेको थियो। यस्तै, सन् २०२१ मा भएको तीन वटा टी२० श्रृंखलामा नेपालले घरेलु टोली कतारमाथि ‘क्लिन स्वीप’ गरेको थियो। 

तर यूएईविरुद्ध भने नेपालको प्रदर्शन सन्तोषजनक छैन। अघिल्लो वर्ष मलेसियामा आयोजना भएको एसीसी च्याम्पियनसिपमा वर्षाका कारण दोस्रो इनिङ्स नै नखेली समूह चरणको अन्य खेलका आधारमा नेपाललाई पराजित घोषणा गरिएको थियो। 

त्यसको दुई वर्षअघि विश्वकप छनोटमा यूएईसँग ४८ रनले पराजित हुन पुगेको थियो। सधैँ ‘म्याच एक्सपोजर’को कमी भएको गुनासो गर्ने महिला टोलीले त्यतिखेर युगान्डासँग पाँच टी२०आई श्रृंखला खेलेर गएको थियो। उक्त श्रृंखलामा फिटनेसको समस्या देखिएको थियो। 

त्यस प्रतियोगिता लगत्तै नेपालले एसीसी इमर्जिङ कपमा खेल्यो। टेस्ट राष्ट्र भारत र पाकिस्तानसँगै हङकङ रहेको समूह ‘ए’ मा परेको नेपालले वर्षाको कारण एक खेल मात्रै खेल्न पायो। पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित हुँदा नेपाली महिला टोलीको फिटनेसमा सुधार हुन नसकेको देखियो। महिला टोलीमा 'स्किल' रहे पनि फिटनेसको समस्याले विगतमा राम्रो नतिजा निकाल्न नसकेको कप्तान रूविना स्वीकार गर्छिन्। त्यसैले यसपटक एक महिनाअगाडि नै फिटनेसमा ध्यान दिएको उनले बताइन्।

“यो क्वालिफायर पार गरेनौँ भने महिला क्रिकेट नै हराउँछ कि भन्ने हामीलाई दबाब छ। त्यसैले हामी सिनियर खेलाडीले शत प्रतिशत दिएर काम गरिरहेका छौँ,” उनी भन्छिन्, “को फिट छ, कसले एड्भान्स ट्रेनिङ लिएको छ, उसलाई एक महिनादेखि नै सहयोग गरिरहेका थियौँ। फिटनेस र स्किल दुवैमा काम गरिरहेकाले सुधार भएको छ।”

बिदा लिँदै अनुभवी खेलाडी, नयाँलाई मौका
नेपाली महिला क्रिकेट टोली पछिल्लो समय पुस्तान्तरणको क्रममा छ। सीता रानामगर ३२ र कप्तान रूविना ३० वर्ष पुगेका छन्। यसपटक टोलीमा रुवि पोदार, पूजा महतो र खुशी डंगोलले स्थान बनाउँदा ज्योति पाण्डे, सरस्वती चौधरी र नेरी थापा बाहिरिएका छन्। टोलीबाट बाहिरिएका सबै २५ वर्षभन्दा माथिका हुन्। अवसर पाएकाहरू २५ वर्षभन्दा कम उमेरका छन्।

यसपटक युवा खेलाडीलाई क्रिकेटमा लाग्न प्रेरित गर्न भए पनि विश्वकप ग्लोबल छनोटमा पुग्नु पर्ने रुविना बताउँछिन्। “सीता, नेरी र म त टोलीबाट निस्किने फेजमै छौँ। हामीहरू थाकिसकेका छौँ। त्यसैले छाड्ने बेलामा महिला क्रिकेटमा राम्रो गरेर जाने लक्ष्यमा छौँ,” उनी भन्छिन्। 

पुरुष टोलीले सन् २०१४ मा पहिलोपटक टी२० विश्वकप खेलेपछि धेरै फड्को मारेको छ। घरेलु क्रिकेट संरचनामा केही सुधार आएको छ। बलिया टोलीसँग खेल्ने मौका पनि पर्याप्त पाएको छ। महिला टोली पनि विश्वकपमा पुग्ने हो भने पुरुष टोलीले झैँ लगानी, सुविधा र प्राथमिकतामा पर्न सक्ने राष्ट्रिय टोलीमा डेब्यू गर्न लागेकी खुशी डंगोल बताउँछिन्। 

“नेपाली महिला टोलीको लागि यो महत्त्वपूर्ण प्रतियोगिता हो। यसपटक छनोट हुनुपर्ने छ। सबै जनाले व्यक्तिगत रूपमा बेस्ट दिएर जित्नै पर्ने छ,” खुशी भन्छिन्। 

बागमती प्रदेशबाट घरेलु प्रतियोगिता खेल्दै आएकी खुशी 'राइट आर्म अफब्रेक' बलर हुन्। अघिल्लो वर्ष पोखरामा आयोजना भएको प्रधानमन्त्री टी२० कपमा पाँच खेलमा ७६ रन दिएर उनले ५ विकेट लिएकी थिइन्। यस वर्ष इटहरीमा आयोजना भएको प्रधानमन्त्री कपमा भने उनले तीन खेलमा मात्रै मौका पाइन्। ती खेलमा ५९ रन दिएर २ विकेट लिएकी थिइन्। यसै वर्ष भएको ललितपुर मेयर्स कपमा दुई खेल खेल्दा भने विकेटविहीन भएकी थिइन्।

सुदूरपश्चिमबाट खेल्दै आएकी ओपनर रुविले कीर्तिपुरमा भएको ललितपुर मेयर्स कपका चार खेलमा ५० रन बनाएकी थिइन्। डेब्यूको पर्खाइमा रहेकी पूजा महतोले भने नेपालमा क्रिकेट खेलेकी छैनन्। भारतमा अध्ययन गर्दै बुवाबाट क्रिकेट सिकिरहेकी उनी फ्रन्ट लाइन ब्याटर र मिडियम पेस बलर रहेको प्रशिक्षक थापा बताउँछन्।

“नयाँ बलले बलिङ गर्ने क्षमता छ। ब्याटिङ, फिल्डिङ र बलिङ सबैमा राम्रो गर्छ। योङ पनि छ, फिट छ। तीन वटै क्वालिटी भएको खेलाडी पाउन गाह्रो हुने भएको कारण उनलाई हामीले स्थान दिएका हौँ,” उनी भन्छन्।

यसपटक एशियाली छनोटमा नेपालसँगै यूएई र हङकङलाई दोस्रो चरणमा पुग्ने दाबेदार टोलीको रूपमा हेरिएको छ। यूएई २०१७ मा उपविजेता र २०२१ मा विजेता बन्दै ग्लोबल छनोटमा पुगेको थियो। २०१८ मा नेदरल्यान्ड्स र २०२२ मा आफ्नै घरेलु मैदानमा भएको क्वालिफायर खेलमा यूएई सातौँ भयो। तर उसले बंगलदेश, जिम्बावे, नेदरल्यान्ड र स्कटल्यान्डसजस्ता बलियो टोलीसँग खेल्ने मौका पायो। 

हङकङ र नेपालले भने अहिलेसम्म क्वालिफायर खेल्न पाएका छैनन्। यद्यपि, पहिलोपटक भारतबाट ब्याटिङ प्रशिक्षक पाएको कारण यो 'प्लस पोइन्ट' हुने थापा बताउँछन्। त्यसैले विपक्षी टोलीलाई पहिला ब्याटिङ गरेर धेरै लक्ष्य दिने उनी सुनाउँछन्।

“हाम्रो लक्ष्य जसरी पनि यसपटक क्वालिफाई हुने हो। त्यसैले सिरियस्ली खेल्छौँ। कुनै कुरामा सम्झौता गर्दैनौँ,” प्रशिक्षक थापा भन्छन्।


सम्बन्धित सामग्री