Sunday, May 05, 2024

-->

नेपालमा सुरक्षित छ धेरै देशबाट हराइसकेको चन्द्रमाको चट्टान, अमेरिकाले दिएको थियो उपहार

सन् १९६७ मा चन्द्रमाबाट ल्याएको चट्टान अमेरिकाले आफ्ना ५० राज्यसहित १३५ देशलाई ‘सद्‍भावना चिनो’का रूपमा उपहार दिएको थियो। अब त्यहाँका ११ राज्य र नेपालसहित २९ देशमा मात्र ती चट्टान देख्न पाइन्छ।

नेपालमा सुरक्षित छ धेरै देशबाट हराइसकेको चन्द्रमाको चट्टान अमेरिकाले दिएको थियो उपहार

काठमाडौँ– अमेरिकी अन्तरिक्षयात्री निल आर्मस्ट्रङले सन् १९६७ जुलाई २० मा  चन्द्रमाको सतहमा पहिलोपटक मानव पाइला राखेपछि भनेका थिए, “वान स्मल स्टेप फर म्यान, इज जायन्ट लिप फर म्यानकाइन्ड।” 

उनको भनाइको अर्थ हुन्छ– एक मानवको एउटा पाइला, मानवजातिकै लागि ठूलो छलाङ हो।

पृथ्वीबाट उनीसहित तीन जनाको यात्रा जुलाई १६ मा शुरू भएको थियो। उनका सहयात्री बज अल्ड्रिनले पनि चन्द्रमाको सतहमा पाइला टेकेका थिए। उनीहरूले २१ घन्टा ३६ मिनेट चन्द्रमाको सतहमा बिताएका थिए। जेमिनी–८ मिसनअन्तर्गत एपोलो–११ लुनार मोडुलो इगल यानमा गएका उनीहरू जुलाई २४ मा पृथ्वीमा अवतरण गरेका थिए।

उनीहरूले अमेरिकाका ५० राज्य र विश्वका १३५ देशका झण्डा चन्द्रमामा पुर्‍याएका थिए। फर्कनुअघि चन्द्रमाको सतहबाट केही ढुंगा र कणहरू संकलन गरेका थिए। ती ढुंगा र कण चन्द्रमाको ‘सी अफ ट्रयान्कुलिटी’ अर्थात् उत्तरी भागबाट संकलन गरिएको थियो।

चन्द्रमामा पुर्‍याइएको नेपालको झण्डा र त्यहाँबाट ल्याइएको ढुंगाको एउटा टुक्रा अमेरिकाले नेपाललाई दिएको छ। ती सामग्री राष्ट्रिय संग्रहालय छाउनीमा प्रदर्शनीमा राखिएका छन्। तीसँगै ५४ वर्षअघि चन्द्रमामा खिचिएका तस्वीर पनि राखिएको छ।

चट्टान उपहार दिन उपराष्ट्रपतिको भ्रमण
चन्द्रमामा पुर्‍याइएका विभिन्न देशका झण्डा र चट्टान अमेरिकाले सम्बन्धित १३५ देशलाई नै उपहार दिएको थियो। तीमध्ये अमेरिकाका अधिकांश राज्य र अन्य देशबाट यी चट्टान हराइसकेका छन्।

नेपाललाई झण्डा र चट्टान उपहार दिन तत्कालीन उपराष्ट्रपति स्पाइरो टी एग्न्यु सन् १९७० (२०२६ साल) मा नेपाल भ्रमणमा आएका थिए। उनी नेतृत्वको टोलीले नेपालसहित ११ दक्षिणपूर्व एशियाली मुलकको भ्रमण गरेको थियो। 

टोलीमा उपराष्ट्रपति एग्न्युकी पत्नी जुडी एग्न्यु, विदेशमन्त्री रोजर्स, एपोलो–१० चन्द्रयानको चालक दलका थोमस पी स्टाफोर्ड, युजिन ए सर्नान र अन्तरिक्षयात्री थोमस पी. स्टाफोर्ड थिए। उक्त टोली तत्कालीन राजा महेन्द्रलाई भेट्न २०२६ पुस २१ गते साँझ नारायणहिटी राजदरबार पुगेको थियो। चन्द्रमामा पुर्‍याएर ल्याइएको नेपालको झण्डा र चन्द्रमाको चट्टान त्यही टोलीले राजालाई उपहार दिएको थियो। अमेरिकाको तर्फबाट अन्तरिक्षयात्री थोमस पी स्टाफोर्डले ती सामग्री उपहार दिएको तस्वीर भोलिपल्ट पुस २२ गतेको गोरखापत्रमा प्रकाशन भएको थियो।

नेपाल आउने क्रममा २९ हजार २८ फिट अग्लो सगमाथामाथि उड्दै यात्रा गर्नु निकै रोमाञ्चक भएको उपराष्ट्रपति एग्न्युले बताएको द न्युयोर्क टाइम्समा उल्लेख छ। एग्न्युले नेपालमा दिएको मन्तव्यमा भनेका थिए, “सगरमाथा आरोहण गरेर ल्याएको चट्टान र चन्द्रमाबाट ल्याएको चट्टान दुवैको एक समान महत्त्व छ। यी दुवै मानवजातिको अदम्य साहसले जितिएका पुरस्कार हुन्।”

उपराष्ट्रपति एग्न्युको मन्तव्यलाई पुस २२ गतेको गोरखापत्रले पनि समाचार बनाएको थियो। जसमा लेखिएको छ, “आधुनिक अन्वेषणको नाटकीय र साहसपूर्ण  प्रयासमा पनि नेपाल र अमेरिकाले एकसाथ भाग लिइरहेका छन्। नेपालका नागरिकले पृथ्वीको सर्वोच्च शिखरमाथि विजय प्राप्त गर्न सम्भव बनाइदिएका थिए। हामी चन्द्रमामा पुग्यौँ। भौतिक रूपमा यी भिन्न भए पनि सगरमाथाको शिरबाट ल्याएको चट्टान र चन्द्रमाबाट ल्याएको  चट्टान एक कुरामा समान देखिन्छनन्। ती दुवै साहसद्धारा प्राप्त गरिएका पुरस्कार हुन्।”

 

एनबीसीन्युजले ‘मुन रक लस्ट इन स्पेस? नो लस्ट अन अर्थ’ शीर्षक समाचारमा उल्लेख गरेअनुसार, एपोलो ११ बाट ल्याइएको चन्द्रमाका कणको वजन ०.०५ ग्राम छ, जुन चामलको दानाभन्दा केही बढी मात्र हो। एपोलो–१७ ले संकलन गरेर ल्याई नेपाललाई उपहार दिइएको चट्टानको वजन भने १.१ ग्राम छ।

कलेक्टस्पेस अनलाइनका अनुसार चन्द्रमाका स–साना (०.०५ ग्रामका) चार वटा कणका दरले अमेरिकाको ५० वटा राज्य र आफ्ना सिमाना जोडिएका छिमेकीसहित १३५ देशलाई उपहार दिने निर्णय तत्कालीन राष्ट्रपति निक्सनले गरेका थिए।

ती चट्टान ‘सद्भावना चिनो’को रूपमा दिइएको थियो। राष्ट्रपति निक्सनको अनुरोधमा अमेरिकाको राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा) ले उपहार दिने चट्टान तयार गरेको थियो। ती चट्टानलाई निक्सनले ‘विश्व शान्तिको प्रतीक’को रूपमा चिनाउन चाहेका थिए।

चन्द्रमाबाट ल्याइएका ती चट्टान अहिले अमेरिकाका ११ राज्य र नेपालसहित २९ देशमा मात्र बाँकी छन्। भौगर्भिक महत्त्वका कारण अरू ठाउँका चट्टानको चोरी भएको अनुमान गरिएको छ। तिनैमध्ये नेदरल्यान्ड्सको संग्रहालयमा राखिएको अमेरिकी उपहार चट्टान नभएर काठ भएको फेला परेको समाचार द हिमालयन टाइम्समा प्रकाशित भएको थियो। चट्टान कसरी र कसले चोरी गर्‍यो र त्यसको ठाउँमा कसरी काठ आयो भन्ने विषयमा संग्रहालयका अधिकारी अनभिज्ञ रहेको समाचारमा जनाइएको छ।

सद्भावना चिनो र कुटनीतिक दाउपेच
दुईदिने नेपाल भ्रमणमा आएको अमेरिकी उपराष्ट्रपति एग्न्युको टोलीले २४ घन्टाभन्दा कम समय मात्र नेपालमा बिताएको थियो। थाइल्यान्डको भ्रमण सकाएर पुस २१ गते नेपाल ओर्लिएको टोली २२ गते फर्किएको थियो।

पुस २१ गते भएको रात्रिकालीन भोजमा उपराष्ट्रपति एग्न्युले तत्कालीन राजा महेन्द्रलाई चन्द्रमासँग सम्बन्धित सद्भावना चिनो दिएका थिए। अमेरिकाले आफ्नो कूटनीतिक सम्बन्ध भएका देशलाई उपहार दिएर आफ्नो उपलब्धिको हिस्सेदार महसुस गराउन खोजेको थियो। नेपाल र अमेरिकाबीच सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो।

अमेरिकाले त्यसबेला देखाएको कूटनीतिक सुझबुझ सकारात्मक भएको कूटनीतिविज्ञ चन्द्रदेव भट्ट बताउँछन्। “अमेरिकाले आफ्नो प्रविधि र आर्थिक पक्षबाट प्रभाव देखाउन मात्र नभई हरेक पक्षको उपलब्धि पनि सबैलाई सेयर गर्न खोज्छ, सहभागी महसुस गराउन खोज्छ तर आफ्नो शर्त र सन्दर्भमा,” उनी भन्छन्, “सोही कारण पनि उसले आफ्नो रोयल पावर कमाएको हो।”  

कलेक्टस्पेस अनलाइनले प्रकाशन गरेको ‘ह्वेयर टुडे गुड्विल मुन रक आर’ शीर्षकको लेखमा उद्धृत गरिएको तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनको भनाइले पनि उपलब्धि बाँडेर अमेरिकाले देखाउन खोजेको प्रभावलाई दर्शाउँछ। राष्ट्रपति निक्सनले भनेका छन्, “यदि विभिन्न देशका मानिस एकसाथ अन्तरिक्षका लागि मानवीय पक्षबाट सपना देख्छन् भने, अमेरिकनले सँगसँगै पृथ्वीमा पनि त्यस्तो सपना देख्नसक्छ। चन्द्रमा पुग्न सफल अमेरिकाले यस उपलब्धिलाई सबैसँग बाँडेर आफ्नो सिकाइलाई मानवजातिको लागि बाँड्न सक्नेछ।”

राष्ट्रपति निक्सनको एशियाली नीतिबारे उपराष्ट्रपति एग्न्युले नेपाललाई पनि जानकारी गराएका थिए। उनले तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टसँग ४५ मिनेट कुराकानी गरेको भन्दै द न्युयोर्क टाइम्सले समाचार लेखेको थियो। उक्त भेटमा राष्ट्रपति निक्सनको एशियाली नीतिका अतिरिक्त संयुक्त राष्ट्रसंघ, भियतनाम युद्ध, मध्यपूर्वलगायत विषयमा पनि कुराकानी भएको गोरखापत्रको समाचारमा उल्लेख छ। विष्टसँगको भेटपछि उपराष्ट्रपति एग्न्युले संवाददाताहरूसँग कुराकानी गर्दै भियतनाम युद्धका कारण अ‍ेमरिकालाई आर्थिक भार परे पनि नेपाललाई सहायता जारी राखिने बताएका थिए।

के थियो निक्सनको एशियाली नीति?
डब्लू ए स्वाट्वार्थले लेखेको र २०२६ पुस २२ को गोरखापत्रमा छापिएको ‘उपराष्ट्रपति पदको अभिभारा’ शीर्षक लेखमा उपराष्ट्रपति एग्न्युले राष्ट्रपति निक्सनको एशियाली नीतिको लागि पनि प्रवक्ताको काम गर्ने उल्लेख छ। साथै, उनले राष्ट्रपतिको प्रतिनिधिका रूपमा पनि विभिन्न कार्यक्रममा भाग लिने स्वाट्वार्थले लेखेका छन्। त्यही कारण पनि चन्द्रमाको चट्टान उपहार दिन उपराष्ट्रपति एग्न्यु राष्ट्रपतिको प्रतिनिधिका रूपमा दक्षिणपूर्वी एशियाका ११ देशमा आफैँ पुगेका हुन्।

सन् १९५० देखि नै दक्षिण एशियाप्रति अमेरिकाको नीति फरक हिसाबले आएको कुटनीतिविज्ञ भट्ट बताउँछन्। उनका अनुसार, त्यसबेला पूरा विश्व सोभियत संघ र अमेरिका गरी दुई क्याम्पमा विभाजित थियो। बढीभन्दा बढी एशियाली देशलाई आफ्नो क्याम्पमा ल्याउन अमेरिकाले प्रयास गरेको उनी बताउँछन्।

“त्यसका लागि ग्लोबल लेभलमा आफूले पाएको उपलब्धि, सफलताको साझेदार बनाउने नीति अमेरिकाको थियो,” भट्टले भने, “भारतसँगको एक किसिमको नीति थियो भने पास्कितानसँगको अर्को। देशपिच्छे भिन्नाभिन्नै नीति थियो।” 

दोस्रो विश्वयुद्धपछि अमेरिकाले विश्वको भौगोलिक अध्ययन गरी आफूलाई जसरी सजिलो हुन्छ त्यसरी भौगोलिक नामाकरण गरेको भट्ट बताउँछन्। दक्षिण एशिया भनेर नामकरण पनि अमेरिकी प्रभावमै गरिएको उनको भनाइ छ। 

गोरखापत्रमा प्रकाशित भएको समाचारअनुसार दोस्रो विश्वयुद्धमा अमेरिकाको पर्ल हार्वरमा जापानको आक्रमण, भियतनाम युद्धले गर्दा अमेरिकाप्रति बढ्दै गएको राजनीतिक दबाब र आर्थिक भारको कारण पनि राष्ट्रपति निक्सनले एशियालाई विशेष जोड दिएको हुनसक्छ। यसको अर्को बलियो प्रमाण हो, एग्न्यु नेपाल आउने र जाने बेला तयार भएका पत्रहरू। ती पत्रमा पनि नेपालमा भएको भेटमा कस्ता कुरामा जोड दिने, नेपालले के के कुरा अघि राख्न सक्छन्, कुनमा सहयोग गर्ने, कुनबाट पछि हट्ने लगायतका विषय उल्लेख थियो। 

राष्ट्रपति निक्सनको एशियाली नीतिमा सम्बन्धित राष्ट्रहरूको सुरक्षा तथा नागरिकको आर्थिक स्थिति सपार्न एशियाली राष्ट्रहरूले अपनाउने योजनामा आफ्नो क्षमताअनुसार सहयोग गर्ने अमेरिकी वचन रहेको उकालोलाई प्राप्त त्यसबेलाको एउटा कूटनीतिक दस्ताबेजमा उल्लेख छ। नेपालमा रहेको स्रोतसाधनको विकास र प्रवर्द्धन गर्नु अमेरिकाको उद्देश्य रहने पनि त्यसमा उल्लेख छ।

उपराष्ट्रपति एग्न्युको सम्मानमा राजा महेन्द्रले दिएको रात्रिभोजमा तत्कालीन युवराज वीरेन्द्रले सम्बोधन गर्दै भनेका थिए, “उपराष्ट्रपतिज्यू, तपाईंको मुलुक प्राविधिक ज्ञानका अनेक क्षेत्रहरूमा विश्वकै अगुवा छ। चन्द्रमामा प्रथमबार मान्छेलाई उतार्नमा तपाईंहरू सफल हुनाले यस कुरालाई प्रमाणित मात्र होइन, मानव जाति कस्तो युगतिर लम्कँदैछ भन्ने कुराको पनि संकेत गरेको छ। यसको तुलनामा हाम्रा आफ्नै समस्याहरू त साधारण देखिएलान्, तर हाम्रा लागि तिनीहरू निकै महत्त्वका छन्।”


सम्बन्धित सामग्री