Thursday, May 09, 2024

-->

कुकी महिलामाथि हिंसाको भिडियो सार्वजनिक, मणिपुरमा केन्द्र सरकारको मौनताप्रति प्रश्नचिन्ह

कुकी समुदायले मणिपुरका बीजेपी मुख्यमन्त्री एन वीरेन सिंहमाथि हिंसा भड्काएको आरोप लगाउँदै आएका छन् भने विपक्षी दलहरूले द्वन्द्वमा प्रधानमन्त्री नरेन्द्र मोदीको मौनताको आलोचना गरेका छन्।

कुकी महिलामाथि हिंसाको भिडियो सार्वजनिक मणिपुरमा केन्द्र सरकारको मौनताप्रति प्रश्नचिन्ह
तस्वीर : एएफपी

भारतको उत्तर–पूर्वीय राज्य मणिपुर अहिले जातीय द्वन्द्वको भुमरीमा फसेको छ। मे महिनाको अग्रभागदेखि बहुसंख्यक मेइती समुदाय र कुकी लगायत अल्पसंख्यक आदिवासी समुदायबीच शुरू भएको द्वन्द्वको सिलसिला अझै साम्य हुन सकेको छैन।

हरेक राज्यको सानोभन्दा सानो उपलब्धिको जस लिन अगाडि सर्ने भाजपाको बहुमत केन्द्रीय सरकार अहिले मणिपुर जलिरहँदा मौन बसेको र अल्पसंख्यकमाथि हिंसा भड्काउन प्रायोजित तवरले लागेको भन्दै भारतीय लोकसभाका प्रतिपक्षी दल लगायतले आरोप लगाउँदै आएका छन्।

यसै बीच दुई जना कुकी महिलालाई मेइतेइ पुरुषहरूको जत्थाले निर्वस्त्र पारेर हिँडाएको भिडियो सतहमा आएपछि भारतीय सामाजिक सञ्जालमा मणिपुर मामलामा केन्द्रीय र राज्य सरकारले देखाएको उदासीनताको निन्दा भइरहेको छ। उक्त घटना मेइती र कुकी समुदायबीच जातीय हिंसा शुरू हुँदै गर्दा मे ४मा काङपोकपी जिल्लामा घटेको थियो। भिडियोमा केही उत्पीडकहरू दुवै महिलालाई निर्वस्त्र पारेर खेततिर लैजाँदै गरेको दृश्य देखिएको छ।

उक्त अराजक भीडले काङ्पोकपीको बी फाइनोम नामक गाउँमा घरहरू जलाएको थियो र त्यहाँबाट भाग्न खोजेका पाँच जना (दुई पुरुष, तीन महिला)को समूहलाई प्रहरीको हिरासतबाट छिनेर नियन्त्रणमा लिएको थियो। सो भीडले नियन्त्रित दुई पुरुषको हत्या गरेको थियो।

भारतीय सञ्चारमाध्यम 'द वायर'का अनुसार भिडियोमा देखिएअनुसार यौन दुर्व्यवहार गरिएका दुई महिलामध्ये एकको सामूहिक बलात्कार गरिएको थियो। ‘सर्भाइभर’ले वायरलाई बताएअनुसार घटनास्थलमा मणिपुर प्रहरी उपस्थित भए तापनि उनीहरूलाई कुनै किसिमले सहयोग गरेका थिएनन्।

"मणिपुरको प्रहरी कर्मचारी त्यहाँ उपस्थित थिए तर उनीहरूले हामीलाई बचाउने कुनै प्रयास गरेनन्," सर्भाइभरले वायरलाई बताइन्। 

घटनाकी अर्की सर्भाइभरका अनुसार उनले चार जना प्रहरीलाई गाडीभित्र बसेर उनीहरू माथि अत्याचार हुँदै गर्दा हेरिरहेको बताइन। "उनीहरूले हामीलाई मद्दत गर्न केही गरेनन्," उनले भनिन्। उनको बुबा र भाइ भीडको आक्रमणमा मारिएका थिए।

यसबेला सामाजिक अभियन्ता र 'लिबरल कन्टेन्ट क्रिएटर'हरू केन्द्रीय सरकारदेखि राष्ट्रपति द्रौपदी मुरुमु– जो आफैँ एक अल्पसंख्यक आदिवासी समुदायकी महिला हुन्– सम्मलाई महिनौँ लम्बिएको हिंसा समाधान गर्ने उपयुक्त कदम लिन गुहार लगाइरहेका छन्। कहिले बाढी आउँदा स्विमिङ पुलमा डुबेको जस्तो गरी, कहिले पैसाको नोटमा जीपीएस राखेको भनेर सनसनीखेज रिपोर्टिङ गर्न माहिर भारतीय मिडिया मणिपुर ममिलामा, विशेष गरी महिलाहरूमाथि अनवरत रूपमा भइरहेको यौनहिंसाबारे किन मौन भनेर चौतर्फी प्रश्न उठेका छन्।

केन्द्रीय महिला र बाल विकास मन्त्री स्मृति इरानीले जुलाई १९मा ट्विट गर्दै भिडियोबारे प्रतिक्रिया दिँदा विपक्षी नेताहरू र टिप्पणीकारहरूले महिलाहरू माथि भएको यस्तो जघन्य हिंसा केन्द्रीय मन्त्रीलाई रिपोर्ट हुन  दुई महिना कसरी लाग्यो भनेर प्रश्न गरेका छन्।

कुकी समुदायले मणिपुरका बीजेपी मुख्यमन्त्री एन वीरेन सिंहमाथि हिंसा भड्काएको आरोप लगाउँदै आएका छन् भने विपक्षी दलहरूले द्वन्द्वमा प्रधानमन्त्री नरेन्द्र मोदीको मौनताको आलोचना गरेका छन्।


सम्बन्धित सामग्री