कम्पनी वा फर्म बन्द गर्न चाहनेलाई बिजनेस्टले व्यवसायबाट बहिर्गमनको विकल्प दिएको छ। व्यवसाय थाल्न चाहनेलाई चलिरहेको कम्पनी वा फर्म किन्न सहयोग गरेको छ। यस्तो खरिदबिक्री बिनाकमिसन हुने संचालक बताउँछन्।
काठमाडौँ– नेपालमा दर्ता गरिएको आफ्नो कम्पनी तथा व्यवसायिक फर्म बिक्री गर्ने कतिपयको चाहना हुन्छ। तर, किनिदिने व्यवसायी नपाउने समस्या शहरमा धेरैले भोगिरहेका हुन्छन्। अब यो समस्या एउटा अनलाइन ‘प्लेटफर्म’ले समाधान गर्न थालेको छ।
‘बिजनेस्ट बजार’ले कुनै कम्पनी, फर्म वा फ्रेन्चाइज किनबेचका लागि माध्यमको काम गर्न थालेको छ। नयाँ कम्पनी तथा व्यावसायिक फर्म शुरू गर्न चाहने, तर प्रक्रियागत झन्झटले अलमलमा परेकालाई चलिरहेको त्यस्तै कम्पनी वा फर्म संचालकसँग बिजनेस्ट बजारले सम्पर्क, संवाद र सौदा गराइदिने यसका संस्थापकमध्येका एक अरुण सत्याल बताउँछन्।
कम्पनी, फर्मका साथै विदेशी वा स्वदेशी फ्रेन्चाइज व्यवसाय बेच्न र किन्न चाहनेबीच सम्झौता गराउने मात्र नभई विज्ञ परामर्शदाता उपलब्ध गराउने माध्यमसमेत बन्नेगरी बिजनेस्ट बजार शुरू गरेको सत्यालको भनाइ छ। यो ‘स्टार्टअप’ आठ जना युवा मिलेर शुरू गरेका हुन्। उनीहरूको शब्दमा यो ‘व्यवसायको किनबेच गर्ने प्लेटफर्म’ हो।
यसमा संलग्नहरू कानून व्यवसायी र एकाउन्ट अडिटरहरू हुन्। नयाँ कम्पनी तथा फर्मको दर्ता वा पुरानाको खारेजी गर्दा हुने झन्झटको समाधान निकाल्न यो स्टार्टअप थालिएको संस्थापक सत्यालको भनाइ छ। यो प्लेटफर्मले कम्पनी र फर्म दर्ता गर्ने निकायको कार्यबोझलाई पनि कम गर्ने उनी बताउँछन्।
बिजनेस्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण पालका अनुसार यसले अनामनगरमा स्थापना गरिएको कार्यालयमार्फत गएको असार १० गतेबाट सेवा दिन थालेको छ। त्यसका लागि बिजनेस्ट बजार डटकम संचालन गरिएको छ।
युवा पुस्तामा स्वरोजगारको चाहनाले उद्यमशीलताको बढोत्तरी भएको छ। योसँगै नयाँ कम्पनी, एकल तथा साझेदारी फर्म, फ्रेन्चाइज लगायतका व्यावसायिक माध्यमहरूको प्रयोगमा समेत वृद्धि भइरहेको छ। सीईओ पाल भन्छन्, “कतिपय व्यवसायी काम शुरू गरेपछि विदेशिनु पर्छ, व्यवसाय फेर्ने चाहना हुन्छ, अरू कुनै कारणले व्यवसाय अन्त्य गर्नुपर्ने हुन्छ। कसैले ‘पछि काम लाग्छ’ भनेर फर्म दर्ता गराउँछन्, तर संचालन गर्न भ्याउँदैनन्। हामीले सघाउने उहाँहरूलाई नै हो।”
नयाँ व्यवसाय शुरू गर्ने चाहना हुनेहरू पनि अलमलमा परिरहेका हुन्छन्। प्रक्रियागत झन्झट पनि छ। यस्तोमा किन्ने र बेच्ने कानूनी प्रक्रियामा समेत बिजनेस्टले सघाउने पाल बताउँछन्। नेपालमा यस्तो काम गर्ने पहिलो अनलाइन प्लेटफर्म भएको संचालकहरूको दाबी छ।
एक हप्तामा १४ व्यवसाय सूचीकृत
कुनै कारणवश आफ्नो व्यवसाय खारेज गर्न वा बन्द गर्न चाहनेलाई बिजनेस्टले व्यवसायबाट नै बहिर्गमनको विकल्प दिएको संस्थापक सत्याल बताउँछन्। बिक्रीकर्ता र खरिदकर्ताले सहमति गरेको मूल्यमा बिनाकमिसन व्यवसाय खरिदबिक्री गर्नसक्ने उनको भनाइ छ।
कानून व्यवसायीसमेत रहेका अर्का संस्थापक आवेश अधिकारी कम्पनी वा फर्म बिक्री गर्न चाहने व्यवसायी आफैँले बिजनेस्ट बजारको वेबसाइटमा गएर सहज तरिकाबाट व्यवसाय सूचीकृत गर्नसक्ने बताए। हाललाई निशुल्क सूचीकृत गर्न पाइने उनले जानकारी दिए। खरिदकर्ताले सोही वेबसाइटबाटै रकमको टुंगो लगाएर खरिद गर्नसक्ने र खरिदबिक्री गर्दा प्रक्रियागत तथा कानूनी सेवाहरू बिजनेस्टले प्रदान गर्ने उनले जानकारी दिए। व्यवसाय खरिदबिक्रीको क्रमा चाहिने सेवा न्यूनतम शुल्कमा उपलब्ध हुने संचालक बताउँछन्।
बिजनेस्ट बजारले बहुस्रोतमा आधारित आम्दानीको परिकल्पना गरेको संस्थापक अधिकारीले बताए। “संस्थापन अवधिमा बोर्डको अर्को बैठकसम्मका लागि हामीले बिक्रीको लागि व्यवसाय सूचीबद्ध गर्न कुनै शुल्क राखेका छैनौँ। पछि रजिस्ट्रेसनबापत सामान्य शुल्क राख्ने छौँ,” अधिकारीले भने, “फर्म किनबेच हुँदा हामीले त्यसमा कानूनी परामर्श र लेखासम्बन्धी सेवा पनि दिन्छौँ। त्यो काम सेवाग्रहीले हामीबाट गराउन चाहेमा चलनचल्तीभन्दा कम नै शुल्क लिनेछौँ।”
नेपालमा शुरू भएको फ्रेन्चाइज बिजनेसमा समेत बिजनेस्ट बजारले सहजकर्ताको भूमिका निर्वाह गर्ने अधिकारीले जानकारी दिए। “अहिले विदेशका वा स्वदेशी फ्रेन्चाइजको सम्झौता गर्ने गराउने कुनै माध्यम नेपालमा नभएको बेला हामीले त्यसको पूर्ति गरिदिन लागेका छौँ,” उनले भने, “आफ्नो व्यवसायको फ्रेन्चाइजहरू विस्तार गरेर व्यावसायिक ख्याति कमाउन चाहनेदेखि नेपालमा दर्ता रहेका फ्रेन्चाइजको आउटलेट खोलेर उद्यम गर्न चाहनेहरूलाई पनि बिजनेस्ट बजारले सहयोग गर्नेछ।”
नेपालको व्यावसायिक क्षेत्रमा बिजनेस्ट बजार नयाँ शुरूआत भएको र नेपालको साना उद्यमदेखि कर्पोरेट क्षेत्रसम्ममा परिवर्तन ल्याउने अधिकारीको भनाइ छ। एक वर्षसम्मको अध्ययन र तयारीपछि १० लाख रुपैयाँको प्रारम्भिक पुँजीबाट यो व्यवसाय शुरू गरिएको संचालकहरूको भनाइ छ। अहिले यसले चार जनालाई रोजगारी दिएको छ। यसको क्षेत्र र लगानी विस्तारसँगै प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी बढाउने उनीहरू बताउँछन्।
बिजनेस्ट बजारको वेबपोर्टल संचालनमा आएको पहिलो साता १४ वटा व्यवसाय बिक्रीको लागि सूचीबद्ध भएका छन्। खरिद गर्न चाहनेहरूले सोधखोज पनि गरिरहेको सीईओ पालले बताए। “करिब ३०० जनाले वेब पोर्टलको दैनिक भिजिट गरिरहेका छन्, यसबाट लक्षित समूहको पहुँच स्थापित भइरहेको छ। यो हाम्रा लागि राम्रो हो,” उनले भने।
यसरी जन्मियो बिजनेस्ट बजार
बिजनेस्ट बजारमा कानून व्यवसायी र लेखा अडिटरहरू छन्। व्यवसायका क्रममा नयाँ कम्पनी खोज्ने र पुरानो बेच्नेहरू सम्पर्कमा आइरहन्थे। नयाँ दर्ता गर्न सबै कानूनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ भने, पुरानो बेच्न खरिदकर्ता पाउनै मुस्किल। यही व्यवहारिक समस्या देखेर नयाँ कामको सोच आएको सीईओ पाल बताउँछन्।
“यो विचार फुरेको एक वर्षभन्दा धेरै भयो, शुरूमा हामी साथीहरूले आपसमा छलफल गर्दा सम्भावना देखिएको भन्नेमा एकमत भयौँ, त्यसपछि आपसी सल्लाहअनुसार बजार अध्ययन शुरू गरेर सकिन्छ भन्ने भएपछि अगाडि बढेका हौँ,” पाल भन्छन्। अध्ययन र तयारीको प्रक्रिया सक्न झण्डै एक वर्ष लागेको उनी बताउँछन्।
यसका आठ जना संचालकमध्ये चार जना एउटा ल फर्ममा काम गर्थे। अरू चार जना लेखा व्यवस्थापन सम्बन्धी सेवा दिने फर्ममा थिए। उनीहरू सबै २५ देखि ३५ वर्ष उमेर समूहका छन्। फरक, तर कामको प्रकृति एउटै हुने संस्थामा हुँदा नै यो प्लेटफर्मको आवश्यकता महसुस भएको पाल बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
