Friday, May 03, 2024

-->

बाँकेमा पाटेबाघको छाला र हड्डीसहित ४ जना पक्राउ

कोहलपुर–११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ किलो ८१८ ग्राम हड्डीसहित चार जना पक्राउ परेका छन्।

बाँकेमा पाटेबाघको छाला र हड्डीसहित ४ जना पक्राउ
तस्वीर: रासस

जानकी– बाँकेको कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन्। 

प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर–११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ किलो ८१८ ग्राम हड्डीसहित उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दैलेखको भगवतीमाई–५ का प्रवीणकुमार केसी, दैलेखकै ठाँटीकाँध–४ का सुनिल चुनारा, अछामको–२ का लोकेन्द्र शाही र जाजरकोटको बारकोट–३ का कर्णबहादुर रोकाय छन्। 

डिभिजन कार्यालय बाँकेका वन अधिकृत अजितकुमार कर्णका अनुसार छाला र हड्डी वयस्क पोथी बाघको हो। छालाको लम्बाइ नौ फिट आठ इन्च रहेको छ। घाँटीमा दुई ठाउँमा गोलीको प्वाल फेला परेको छ। बरामद गरिएको हड्डी कतिवटा बाघको हो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ को उपदफा १ का अनुसार पक्राउ परेका चारै जना दोषी भएको पुष्टि भएमा पाँचदेखि १५ वर्षसम्म कैद वा पाँच लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुनसक्ने वन अधिकृत कर्णले बताए।

चारै जनाबारे थप अनुसन्धान डिभिजन वन कार्यालय गरिरहेको छ। 


सम्बन्धित सामग्री