योगेश भट्टराईको प्रस्ताव : खर्च घटाउन राष्ट्रपतिसहित उच्चपदस्थको तलबभत्ता कटौती गरौँ

एमालेका सांसद योगेश भट्टराईले सरकारी खर्च कम गर्न राष्ट्रपति, प्रधानमन्त्रीदेखि राज्यका उच्चपदस्थ कर्मचारीको २५ प्रतिशतसम्म तलबभत्ता कटौती गर्ने प्रस्ताव गरेका छन्।

काठमाडौँ– नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले देशको अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि बृहत् गोलमेच सम्मेलन गर्न अर्थमन्त्रीसँग आग्रह गरेका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले देश चरम आर्थिक संकटमा रहेको भन्दै समाधानका लागि बृहत् गोलमेच सम्मेलन गर्नुपर्ने बताएका हुन्। राजनीतिक दलदेखि विकासका साझेदार अन्तर्राष्ट्रिय समुदायसम्मको सहभागितामा गोलमेच सम्मेलन गरी निकासको बाटो खोज्नुपर्ने उनको भनाइ थियो।

“सबै राजनीतिक दल, नीति निर्माण गर्ने निकाय, कर्मचारीतन्त्र, निजी क्षेत्र, हाम्रा विकासका साझेदार अन्तर्राष्ट्रिय समुदाय लगायत सबैको सहभागितामा एउटा बृहत् गोलमेच सम्मेलन गरौँ। त्यसले आजको आर्थिक अवस्थाको निकास दिने बाटो के हो त्यसको साझा अवधारणा बनाऔँ,” उनले भने।

देशको अर्थतन्त्र उकास्न ‘प्याराडाइम सिफ्ट‘ आवश्यक भएको भन्दै उनले अर्थमन्त्री प्रकाशशरण महतलाई हिम्मत गर्न आग्रह गरे। उनले सरकारी खर्च कम गर्न राष्ट्रपति, प्रधानमन्त्रीदेखि राज्यका उच्चपदस्थ कर्मचारीको २५ प्रतिशतसम्म तलबभत्ता कटौती गर्ने प्रस्तावसमेत गरे।

“म प्रस्ताव गर्न चाहन्छु राष्ट्रपतिदेखि उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद, प्रदेशसभा, उपसचिवभन्दा माथिका कर्मचारीहरू, राजनीतिक नियुक्तिमा भएका मानिसहरू ती सबैको आउँदो वर्ष २५ प्रतिशतले तलबभत्ता कटौती गर्ने घोषणा गर्नुस्। त्यसबाट आउने पैसा एउटा कुनै राष्ट्रिय गौरवका आयोजनामा हामी खर्च गर्छौं भन्नुस्,” उनले भने।

उनले प्रतिपक्षका हिसाबले आफूहरूले त्यसमा सहयोग गर्न बताए। सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले कुनै गन्तव्यलाई निश्चित नगरेको उनको भनाइ थियो। बजेटले आजका चरम आर्थिक संकटलाई अनुभूतिसमेत नगरेको उनले बताए।