Wednesday, May 08, 2024

-->

अशान्त पाकिस्तान: के हुन्छ पूर्वप्रधानमन्त्री इमरान खानको राजनीतिक भविष्य?

'बदलाको राजनीति' चल्ने पाकिस्तानमा शाहबाज शरिफ सत्तामा फर्किएपछि इमरान खानविरुद्ध भ्रष्टाचारका दर्जनभन्दा बढी मुद्दा दर्ता भएका छन्। निर्वाचन आयोगले उनलाई पाँच वर्षसम्म चुनाव लड्न प्रतिबन्ध लगाएको छ।

अशान्त पाकिस्तान के हुन्छ पूर्वप्रधानमन्त्री इमरान खानको राजनीतिक भविष्य

पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका अध्यक्ष इमरान खानलाई गएको मंगलबार त्यहाँको प्रहरीले पक्राउ गरेको भिडियो अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ छ। उनलाई इस्लामावाद हाई कोर्ट परिसरबाट पाकिस्तान रेन्जर्स नामको अर्धसैनिक बलले नियन्त्रणमा लिएको सो पार्टीका उपाध्यक्ष फवाद चौधरीले ट्विटरबाट जानकारी दिएका छन्। यो अर्धसैनिक बल पाकिस्तानमा संघीय कानून प्रवर्तकको भूमिका निर्वाह गर्छ। 

खानलाई बेपत्ता बनाइएको र उनको अवस्थाबारे कुनै जानकारी नदिइएको पीटीआई नेताहरूले दाबी गरिरहेका छन्। बीबीसीका अनुसार पीटीआईका अर्का सदस्य अजहर मशवानीले इमरान खानलाई अदालतभित्रबाट ‘अपहरण’ गरिएको आरोप लगाएका छन्। अर्का नेता मसरत चीमाले भिडियो सन्देश जारी गर्दै सुरक्षाकर्मीले खानमाथि हिंसा गरिरहेको र यातना पनि दिइरहेको दाबी गरेका छन्। 

पीटीआईले आफ्ना कार्यकर्तालाई प्रदर्शनमा उत्रिन आह्वान गरेको छ। कश्मीर राजमार्ग, पन्जाब, कराँची, इस्लामाबादसहित विभिन्न शहरमा प्रदर्शन चर्किएको छ। बुधबारसम्ममा खान समर्थक करिब एक हजार प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको बताइएको छ। खान समर्थक र सुरक्षाकर्मीबीचको भिडन्तमा आठ जनाको मृत्यु भइसकेको छ। शान्तिसुरक्षा कायम गर्न भन्दै सरकारले देशभरको मोबाइल सेवा अवरुद्ध पारेको छ।

प्रदर्शनका कारण प्रमुख शहरहरूमा ट्राफिक कम छ भने विद्यालय समेत बन्द गरिएका छन्। पन्जाबमा शान्ति कायम गर्न बाक्लो संख्यामा सेना तैनाथ गरिएको त्यहाँका आन्तरिकमन्त्रीलाई उद्धृत गर्दै पाकिस्तानी मिडियाले जनाएका छन्।

इस्लामाबाद प्रहरीले खानलाई अल कादिर ट्रस्टको मुद्दामा पक्राउ गरेको बताएको छ। खान अर्को कुनै मुद्दामा धरौटी बुझाउन अदालत पुगेका बेला पक्राउ गरिएको हो। पीटीआईका नेताहरूले इस्लामाबाद हाई कोर्टलाई रेन्जर्सले कब्जा गरेर खानलाई पक्राउ गरेको दाबी गरेका छन्। उनीविरुद्ध भ्रष्टाचारसहित दर्जनौँ मुद्दा दर्ता गरिएको छ।

खानले अल कादिर विश्वविद्यालय परियोजनाका लागि सन् २०१९ डिसेम्बर २६ मा अल कादिर ट्रस्ट स्थापना गरेका थिए। यसका ट्रस्टी खान र उनकी श्रीमती बुशरा बीबी मात्र हुन्। ट्रस्टले पाएको चन्दाबारे छानबिन चलिरहेका कारण यसै मुद्दामा उनलाई हिरासतमा लिइएको जनाइएको छ।

पाकिस्तानी सञ्चारमाध्यमहरूका अनुसार खानलाई हिरासतमा लिएर एनएबी (न्याशनल एकाउन्टिबिलिटी ब्युरो) मा पठाइएको छ। एनएबी पाकिस्तानमा भ्रष्टाचारका मुद्दाहरूबारे अनुसन्धान गर्ने निकाय हो। खानलाई प्रहरी गेस्टहाउसमा उच्च सुरक्षासहित राखिएको र त्यहीँ अदालती कारबाहीसमेत सञ्चालन गरिएको जनाइएको छ।

खानले भने आफूमाथि लगाइएका सबै आरोप राजनीतिक रूपले अभिप्रेरित भएको बताएका छन्। उनले ती सबै आरोप अस्वीकार गर्दै आएका छन्।

पूर्वप्रधानमन्त्री खानलाई प्रहरीले गएको मार्चमा नै पक्राउको प्रयास गरेको थियो। पक्राउबाट जोगाउन उनका समर्थकले कैयौँ दिन उनको घरमा धर्ना दिएका थिए। लाहोरस्थित उनको निवासबाहिर प्रहरी बलपूर्वक अघि बढ्न खोज्दा तनावको अवस्था सिर्जना भएको थियो।

लाहोरमा क्रिकेट प्रतियोगितामा बाधा नपुगोस् भनेर प्रहरीले उनको गिरफ्तारी स्थगित गरेको पन्जाब प्रान्तका सूचनामन्त्री अमीर मीरले बताएका थिए। प्रदर्शनका कारण ट्राफिकमा बाधा पुगेपछि दर्शक रंगशाला पुग्न मुस्किल हुने भएपछि मार्च १९ मा हुने पाकिस्तानी सुपर लिगको फाइनल खेलसम्म पक्राउ नगरिने मीरको भनाइ थियो।

यता, खान पक्राउको दुई दिनपछि पीटीआईका अर्का नेता शाह महमूद कुरैशीलाई बिहीबार पाकिस्तानी प्रहरीले पक्राउ गरेको छ। उनी पीटीआईका दोस्रो तहका नेता हुन्। बुधबार पनि प्रहरीले पीटीआईका अरू दुई नेता असद उमर र फवाद चौधरीलाई पक्राउ गरेको थियो। अहिलेसम्म यी चार जनाबाहेक जम्शेद इक्बाल चीमा, फलक नाज चित्राली, मुसारत जङ्गशेद चीमा, मलीका बुखारी लगायत नेता पक्राउ परिसकेका छन्।

अनिश्चित राजनीतिक भविष्य
अहिले पनि पाकिस्तानी सत्ताको बागडोर प्रधानमन्त्री शहबाज शरिफको हातमा छ। पाकिस्तानमा 'शत्रुतापूर्ण राजनीति' हुने गरेको छ। यहाँ जुन दल सत्तामा पुग्छन्, विपक्षीलाई विभिन्न मुद्दा लगाउने गरेको परम्परा नै छ। यसअघि, पाँच जना प्रधानमन्त्रीलाई गिरफ्तार गरिएको इतिहास छ।

पहिलोपटक हुसेन शाहिद सुरवर्दीलाई सन् १९६२ मा पक्राउ गरिएको थियो। उनलाई सन् १९५२ को पाकिस्तान सुरक्षा ऐनअन्तर्गत राष्ट्रविरोधी गतिविधि गरेको बनावटी आरोपमा गिरफ्तार गरेर एकान्त कारावासमा राखिएको थियो। त्यसपछिका प्रधानमन्त्रीहरू जुल्फिकर अलि भुट्टो, बेनिजिर भुट्टो, नवाज शरिफ, शाहिद खकान अब्बासी र शहबाज शरिफ पनि पक्राउ परेका थिए। वर्तमान प्रधानमन्त्रीसमेत रहेका शहबाज शरिफलाई २०२० सेप्टेम्बरमा लाहोर उच्च अदालतद्वारा एनएबी सम्पत्ति शुद्धीकरण मुद्दामा धरौटीमा रिहा गर्न अस्वीकार गरेपछि अगष्ट २८ मा गिरफ्तार गरिएको थियो।

२०२२ अप्रिलमा शरिफ पुन: प्रधानमन्त्री बनेपछि उनको सरकारले खानविरुद्ध दर्जनभन्दा बढी मुद्दा लगाएको छ। अधिकांश भ्रष्टाचारका छन्। ती मुद्दाका कारण उनको राजनीतिक भविष्य अन्योलमा परेको छ।

सन् २०२२ अक्टोबरमा पाकिस्तानको निर्वाचन आयोगले खानलाई पाँच वर्षका लागि चुनाव लड्न अयोग्य ठहर गरेको छ। तोशाखाना मुद्दामा खानलाई यस्तो प्रतिबन्ध लगाइएको हो। सत्तामा रहँदा सरकारी स्वामित्वको तोशाखानाबाट पाएका उपहारबारे अधिकारीहरूलाई सही जानकारी नदिएको निर्वाचन आयोगको भनाइ छ। खानले भने यो आरोपको खण्डन गरेका छन्।

खानमाथि प्रधानमन्त्री पदको दुरुपयोग गरेर व्यक्तिगत फाइदाका लागि महँगो उपहार बेचेको आरोप छ। खानले निर्वाचन आयोगलाई बुझाएको विवरणमा ती सम्पत्तिबारे जानकारी नदिएको बताइएको छ। निर्वाचन आयोगले प्रधानमन्त्री हुँदा आफूले पाएका उपहार बेचेको कसुरमा खानलाई फौजदारी कानुनमार्फत् सजाय दिनुपर्ने भन्दै अदालतमा उजुरी दिएको थियो।

पाकिस्तानमा सन् १९७४ मा स्थापना भएको तोशाखाना विभागमा प्रधानमन्त्री, राष्ट्रपति, राज्य प्रमुख, मन्त्री, सांसद र अन्य वरिष्ठ अधिकारीहरूले भ्रमणका क्रममा प्राप्त गरेका बहुमूल्य उपहारहरू राखिन्छन्। वरिष्ठ अधिकारीहरू विदेश यात्राबाट फर्किएपछि तोशाखानाले उपहारहरूको अभिलेख राख्छ र सामान पनि त्यहीँ जम्मा गरिन्छ। त्यहाँ राखिएका सामान मन्त्रिपरिषद्को स्वीकृतिपछि मात्र बिक्री गर्न मिल्छ।

तर, ती उपहारको मूल्य ३० हजार रुपैयाँभन्दा कम भए पाउने व्यक्तिले आफूसँग सित्तैमा राख्न मिल्छ भने त्यसभन्दा बढी मूल्य भए लागतको ५० प्रतिशत रकम तिरेर खरिद गर्न सकिन्छ। यद्यपि, सन् २०२० अघिसम्म सामानको वास्तविक मूल्यको २० प्रतिशत मात्रै जम्मा गर्नुपर्ने नियम थियो। खानले यी सामग्री बेचेर अपचलन गरेको निर्वाचन आयोगको ठहर छ।

क्रिकेटबाट राजनीतिमा फड्को
खान सन् १९५२ अक्टोबर ५ तारिखमा पाकिस्तानको लाहोरमा पठान परिवारमा जन्मिएका हुन्। सन् १९७५ मा बेलायतको केबल कलेजमा स्नातकसम्मको पढाइ पूरा गरेका छन्। उनी ख्यातिप्राप्त क्रिकेट खेलाडी हुन्। उनले १८ वर्षको उमेरमै बेलायतमा सम्पन्न टेस्ट सिरिजबाट अन्तर्राष्ट्रिय क्रिकेटको यात्रा थालेका थिए। 

पाकिस्तानले सन् १९९२ मा पहिलोपटक विश्वकप क्रिकेटको उपाधि जितेको थियो। उक्त टोलीको कप्तान खान नै थिए। उनले सन् १९८२ देखि १९९२ सम्म पाकिस्तानी क्रिकेट टोलीको कप्तानी सम्हालेका थिए। पाकिस्तानले विश्वकप उपाधि जितेपछि उनको चर्चा चुलिएको थियो भने समर्थक पनि बढेका थिए।

खानले टेस्ट क्रिकेटमा कुल ३ हजार ८०७ रन बनाएका छन् भने र ३६२ विकेट लिएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्‍को (आईसीसी)को हल अफ फेम अवार्डबाट सम्मानित छन्। उनले विभिन्न परोपकारी काम गरेर पनि चर्चा कमाएका छन्। उनले पाकिस्तानको लाहोर र पेशावरमा क्यान्सर अस्पताल स्थापना गरेका छन्। यस्तै, पन्जाब प्रान्तको मियानवलीमा पनि २००८ मा नमल कलेज पनि खोलेका छन्। क्रिकेटमा कमाएको चर्चा र परोपकारी कामकै कारण उनी राजनीतिमा छिटै स्थापित भएका हुन्।

खानले सन् १९९६ अप्रिल २५ मा पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)नामक दलको स्थापना गरे। पीटीआईले सन् २००८ को चुनावमा सहभागी हुन पाएन। सन् २०१३ को निर्वाचनमा भने पाकिस्तानको दोस्रो ठूलो दल बनेको थियो। सन् २०१८ को आमनिर्वाचनमा उनको दल संसद्‍को सबैभन्दा ठूलो दल बनेको थियो। ३४२ सदस्यीय संसद्‍मा पीटीआईले १३३ सिट जितेको थियो। अन्य साना दलहरूको सहयोगमा गठबन्धन खडा गरेर खान २०१८ अगस्टमा प्रधानमन्त्री बनेका थिए। प्रधानमन्त्रीका लागि भएको निर्वाचनमा उनले १७६ भोट पाउँदा प्रतिस्पर्धी मिस्लिम लिग, नवाजका शहबाज शरीफले ९६ भोट पाएका थिए। बिलावल भुट्टोको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) मतदानमा सहभागी भएको थिएन।

पाकिस्तानको आर्थिक अवस्था सुधार, सामाजिक रूपान्तरण, गरिबी निवारण जस्ता मुद्दा अगाडि सारेर खान प्रधानमन्त्री भएका थिए। तर, उनी प्रधानमन्त्री बनेसँगै देशको अर्थतन्त्र थप कमजोर बनेको भन्दै विरोध हुन थालेको थियो। विदेशी मुद्रा भण्डारसमेत घटेको थियो। सन् २०१९ मा त्यसअघिका वर्षको तुलनामा पाकिस्तानी रुपी सबैभन्दा कमजोर भएको थियो। गत वर्ष सरकार आफैँले आर्थिक मितव्ययिताका लागि भन्दै सर्वसाधारणलाई दैनिक पिउने चियाको मात्रा घटाउन आग्रह नै गर्नुपरेको थियो। पाकिस्तानको विदेशी मुद्रा सञ्चितिले केबल दुई महिनासम्मका लागि मात्र सामग्री निर्यात गर्न सकिने भनिएको थियो। बिजुली बचतका लागि भन्दै साँझ चाँडै नै बजार पसल बन्द हुन थालेका थिए। यसले उचाइमा पुगेको खानको साख र पार्टीप्रतिको विश्वास धरमराएको थियो।

२०२२ अप्रिल १० मा उनले संसद्‍मा विश्वासको मत गुमाए। उनको विपक्षमा १७४ जना सांसद उभिएपछि अविश्वासको प्रस्ताव बहुमतले पारित भएको थियो। प्रस्ताव पारित गर्न १७२ मत आवश्यक थियो। त्यसपछि पाकिस्तान मुस्लिम लिगका नेता शहबाज शरिफ प्रधानमन्त्री बने। शहबाज पूर्वप्रधानमन्त्री नवाज शरिफका भाइ हुन्। 

सरकारमा छँदा आफूलाई काम गर्न नदिइएको र राजनीति प्रतिशोधका कारण आफूमाथि षड्यन्त्र भएको खानले बताउने गरेका छन्। आफ्ना पार्टीका नेतालाई लाखौँ डलर दिएर दल परिवर्तन गर्न लगाइएकै कारण आफूले  संसद्‍मा हार बेहोर्नुपरेको उनको दाबी छ।

उनको पार्टीले नयाँ चुनाव गराउनु पर्ने माग गरिरहेको छ। नयाँ सरकारलाई चुनावका लागि दबाब दिन उनको पार्टीले प्रदर्शनसमेत गरेको थियो। प्रदर्शनकै क्रममा खानमाथि गएको नोभेम्बर ३ मा गोली प्रहार भएको छ। उनको पिँडौलामा गोली लागेको थियो। गोली प्रहारबाट पार्टीका केही कार्यकर्तासमेत घाइते भएका थिए।

–एजेन्सीहरूको सहयोगमा


सम्बन्धित सामग्री