Friday, May 10, 2024

-->

करिअरको अन्त्यनजिक ऋद्धिमान, भन्छन्– भारतीय टोलीमा पर्दिन भन्ने थाहा थियो

३८ वर्षीय ऋद्धिमानले भारतका लागि ४० टेस्ट खेलेका छन्। उनले आफ्नो अन्तिम टेस्ट डिसेम्बर २०२१ मा न्यूजिल्यान्डविरुद्ध खेलेका थिए। त्यसपछि भारतीय टिम व्यवस्थापनले बुढ्यौली भएको भन्दै टोलीबाट हटाएको थियो।

करिअरको अन्त्यनजिक ऋद्धिमान भन्छन्– भारतीय टोलीमा पर्दिन भन्ने थाहा थियो

काठमाडौँ– केएल राहुल तिघ्राको चोटका कारण विश्व टेस्ट च्याम्पियनसिपको फाइनलबाट बाहिर हुँदा अजिंक्य रहाणेजस्तै ऋद्धिमान साहा पनि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किने अनुमान गरिएको थियो। यसको कारण उनको अनुभव मात्र नभएर हालको आईपीएल फर्म पनि थियो, जहाँ उनले ११ इनिङ्समा २७ को औसत र १३७ को स्ट्राइक रेटमा २७३ रन बनाएका छन्।

आइतबार उनले गुजरात टाइटन्सका लागि लखनऊ सुपर जायन्ट्सविरुद्ध ४३ बल ८१ रन बनाए। तर, सोमबार राहुलको प्रतिस्थापन घोषणा गर्दा साहाको नाम अटाएन। यद्यपि, साहाले भारतीय टोलीमा पर्छु भनेर नसोचेको प्रतिक्रिया दिए।

बुधबार एक सञ्चारमाध्यमसँगको कुराकानीमा उनले भने, “अहिले म आईपीएल खेलिरहेको छु र यसबारे मात्रै सोचिरहेको छु। बाँकी कुरा मेरो हातमा छैन। मेरो क्रिकेट करिअर अन्त्य नजिकमा छ, तर पनि म आफ्नो खेलको मजा लिइरहेको छु। मलाई टिममा छनोट गर्ने कि नगर्ने त्यो उनीहरूको काम हो, तर जबसम्म म क्रिकेटको मजा लिन्छु तबसम्म आईपीएल र घरेलु क्रिकेट खेलिरहनेछु।”

३८ वर्षीय साहाले भारतका लागि ४० टेस्ट खेलेका छन्। उनले आफ्नो अन्तिम टेस्ट डिसेम्बर २०२१ मा न्यूजिल्यान्डविरुद्ध खेलेका थिए। त्यसपछि भारतीय टिम व्यवस्थापनले बुढ्यौली भएको भन्दै टोलीबाट हटाएको थियो।

ऋषभ पन्त दुर्घटनामा घाइते भएपछि केएस भरतले अस्ट्रेलियाविरुद्धको टेस्ट सिरिजमा मौका पाए। तर, उनले त्यसको खासै सदुपयोग गर्न सकेनन् र एक अर्धशतकसहित चार खेलका ६ इनिङ्समा १०१ रन मात्र बनाउन सके। भरतले दिनप्रतिदिन सुधार गरिरहेको र विश्व टेस्ट च्याम्पियनसिप फाइनलमा मौका पाएमा राम्रो गर्ने साहाको विश्वास छ। उल्लेखनीय छ, साहा र भरत आईपीएलमा एउटै टोली गुजरातबाट खेल्छन्।

"कोना (भरत) र म एउटै आईपीएल टोलीमा छौँ। ब्याटिङ, अभ्यास र रणनीतिबारे निरन्तर छलफल हुन्छ। अहिले पनि कसरी सुधार गर्ने भन्ने बारेमा कुरा गर्छौँ। भरतले मलाई आफ्नो पछिल्लो सिरिज कस्तो रह्यो, उनको किपिङ कस्तो थियो र के सुधार गर्नुपर्छ भनेर सोधेका छन्। र, दिन प्रतिदिन उसले यसमा सुधार गर्नेछ," साहा भन्छन्।

साहाले यसअघि कोलकत्ता नाइट राइडर्स, सनराइजर्स हैदराबाद, चेन्नई सुपर किंग्स र पन्जाब किंग्सबाट आईपीएल खेलिसकेका छन्। यी टोलीमा उनले खासै राम्रो प्रदर्शन गर्न सकेनन्। तर, सन् २०२२ मा गुजरातमा आबद्ध भएपछि उनको ब्याटिङमा निरन्तरता र आक्रामकता देखिएको छ।

उनी यसको श्रेय गुजरात टोलीको वातावरणलाई दिन्छन्। "मैले अहिलेसम्म खेलेको सबै टोलीमाभन्दा गुजरात टाइटन्सको ड्रेसिङ रुमको वातावरण उत्कृष्ट छ। अभ्यास र खेलका बेला मैदानमा पनि त्यस्तै वातावरण रहन्छ। टोलीको यो आरामदायी वातावरणले पनि हामीलाई राम्रो प्रदर्शन गर्न मद्दत गर्दछ," उनले भने।

उनले आफूलाई स्वतन्त्र रूपमा खेल्न दिएको पनि बताए। अहिले जुनसुकै अवस्था पनि खेल्न तयार रहेको उनी बताउँछन्। "ूपहिलो दिनदेखि नै टिम व्यवस्थापनले मेरो भूमिका प्रस्ट पारेका थिए। मैले अगाडी खेल्नुपर्छ र पावर प्लेको फाइदा उठाउनु पर्छ। म धेरै आईपीएल टोलीको हिस्सा भएको छु। म जुनसुकै अवस्थामा पनि खेल्न तयार छु," उनले भने। 


सम्बन्धित सामग्री