नक्कली शरणार्थी प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे पक्राउ

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउने काममा संलग्न रहेको आरोपमा नेपाल सरकारका सचिव टेकनारायण पाण्डे काठमाडौँको जडिबुटीबाट पक्राउ परेका छन्।

फाइल तस्वीर

काठमाडौँ- नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउने काममा संलग्न रहेको आरोपमा नेपाल सरकारका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्। 

काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार पाण्डेलाई अहिले महानगरीइ प्रहरी परिसर काठमाडौँमा राखेर सोधपुछ भइरहेको छ। नक्कली शरणार्थी बनाएर विदेश पठाउने प्रकरणमा पाण्डेसमेत संलग्न रहेको अन्य आरोपितको बयान पछि उनी पक्राउ परेका हुन्। सचिव पाण्डेलाई जडिबुटीबाट पक्राउ गरिएको हो। 

उनलाई पक्राउ गर्नका लागि बुधबार नै काठमाडौँ प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो। मंगलबार मात्रै प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राईलाई पक्राउ गरेको थियो। 

पाण्डे २०७८ साउन २७ देखि २०७९ असोज २ गतेसम्म गृहसचिवका रूपमा कार्यरत थिए । पाण्डे अहिले उपराष्ट्रपतिको कार्यालयमा सचिवको रूपमा कार्यरत थिए। 

यसअघि नक्कली शरणार्थी बनाएर पठाउने समूहका केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टक गुरुङ र सन्देश शर्मा पोखरेल पक्राउ परिसकेका छन्। उनीहरुको बयानका आधारमा प्रहरीले इन्द्रजित राईलाई पक्राउ गरेको थियो। उनी पक्राउ परेपछि बुधबार पुर्व गृहसचिव एवं अहिले उपरास्ट्रपतिको कार्यालयमा कार्यरत सचिव पाण्डेलाई पक्राउ गरेको हो।