Saturday, April 27, 2024

-->

मेची पारिको विद्यालय बन्द, जोखिम मोलेर भारतीय विद्यालय जान्छन् बालबालिका

मेची पारिको ग्वालाबस्तीमा नेपाल चिनाउने एउटा निशानीका रूपमा २०५७ मा मेची प्राथमिक विद्यालय स्थापना भएको थियो। कुनै समय चार जनासम्म शिक्षकले पठनपाठन गराउने सो विद्यालय हाल बन्द भएको छ।

मेची पारिको विद्यालय बन्द जोखिम मोलेर भारतीय विद्यालय जान्छन् बालबालिका

झापा– सीमामा तैनाथ भारतीय सुरक्षा बल (एसएसबी)को चौकी छिचोलेर लख्खी राजवंशी भारतका विद्यालय जाने गर्छिन्। कक्षा ७ मा अध्ययनरत उनलाई पढ्नकै लागि जोखिम मोलेर भारत जानुपरेको हो।

आफ्नो गाउँ ग्लावाबस्तीमा विद्यालय बन्द भएपछि सीमा नाघेर भारत धाउनुपरेको उनको भनाइ छ। “पहिले घरबाट नजिकै विद्यालय थियो। हामीलाई पढ्न सहज थियो,” उनले भनिन्, “विद्यालय बन्द भएपछि पारी जानथालेका छौँ।” सडक, सञ्चार, खानेपानी, सुरक्षालगायत कुनै पनि भौतिक विकासका पूर्वाधार नपुगेको ‘मेची पारिको नेपाल’ भनेर चिनिएको ग्वालाबस्ती र सिसौडाँगीका धेरै बालबालिका लख्खीले जस्तै दिनहुँ सीमा पार गर्ने चुनौती खेप्दै पढ्नका लागि भारतीय विद्यालय जाने गर्छन्।

मेचीनगर–१५ सिसौडाँगीका २० वर्षीय कमल बाँस्के पढाइ छाडेर खेतीपाती र चिया मजदुरीमा लागेका छन्। ग्वालाबस्तीको मेची प्राथमिक विद्यालयमा कक्षा २ सम्म पढेपछि मेची तरेर नेपालतिरकै कालिका आधारभूत विद्यालयबाट कक्षा ३ उत्तीर्ण गरेका उनले मेची नदीको बाढीमा कुनबेला बगिएला भन्ने डरले पढाइ नै छाडिदिएको सुनाए।

१५० जनसंख्या रहेको ग्वालाबस्ती र सिसौडाँगी मेची नदी पारिको नेपाली भूभाग हो। स्थानीयले दशकौँदेखि सडक, पुल, शिक्षा, स्वास्थ्य, सुरक्षा र कृषिमा अनुदान माग गर्दै आएका छन्। तर, उनीहरुको आवाजको सुनुवाइ भएको छैन।

ग्वालाबस्तीमा नेपाल चिनाउने एउटा निशानीका रूपमा २०५७ मा मेची प्राथमिक विद्यालय स्थापना भएको थियो। कुनै समय चार जनासम्म शिक्षकले पठनपाठन गराउने सो विद्यालय हाल बन्द भएको छ। विद्यालयको दुई  ब्लकमध्ये पहिलो ब्लकको एउटा कोठालाई कार्यालय बनाइएको छ। अरु तीन  कक्षा कोठा हुन्।

चारवटै कोठा बन्द गरेर ताला लगाइएको छ। “शिक्षक आउँदैनन्, अनि विद्यार्थी पनि आउन छाडे,” विद्यालयका लागि पाँच कठ्ठा जग्गादान गरेको दाता परिवारका सदस्य कुमार राजवंशीले भने, “नियमित विद्यालयमा आउनुहोस् भनेर धेरैपटक शिक्षकलाई सम्झायौँ तर, उहाँहरू मन लागे आउने र नलागे नआउने गर्नुहुन्थ्यो। अहिले त विद्यालय नै बन्द भयो।”

उनका अनुसार सो विद्यालयमा विगतदेखि बाल कक्षा, कक्षा १ र कक्षा २ को मात्र पढाइ हुँदै आएको थियो। पढाइ नियमित नभएपछि पढिरहेका विद्यार्थीले पनि विद्यालय छाडे। जसमध्ये कोही भारतीय विद्यालयतिर पढ्न गइरहेका छन् भने अधिकांश खेतीपातीतिर लागेका छन्।

विद्यालय सञ्चालनको समयमा हरेक दिन विद्यार्थीले राष्ट्र गान गुन्जाउँथे। अहिले बन्द रहेको कार्यालय कोठामा बाल कक्षाका विद्यार्थीलाई पकाएर खुवाउने एउटा थोत्रो ग्यास चुलो, प्लास्टिकका भाँडाकुँडा र एउटा स्टीलको दराज माकुराको जालोभित्र छोपिएको छ। कक्षा कोठामा डेक्स र बेञ्च एउटा पनि छैनन्।

मेचीनगर शिक्षा शाखाका स्रोत व्यक्ति लोकबहादुर दाहालले विद्यार्थी आउन छाडेपछि मेची प्राथमिक विद्यालयको पठनपाठन प्रभावित भएको स्वीकारे। सेवा सुविधा धेरै पाइन्छ भन्दै विद्यार्थी भारतीय स्कुलमा जाने गरेको उनको दाबी छ। गत वर्षको अभिलेखअनुसार सो विद्यालयमा १६ विद्यार्थी पढ्थे। शिक्षक भवराज जोशी काज सरुवा लिएर कालिका आधारभूत विद्यालयमा गए। “अर्का बाल शिक्षक रेवती राजवंशीले शिक्षा आयोगको परीक्षा उत्तीर्ण गरेर आदर्श माध्यमिक विद्यालयमा जानुभयो।

शिक्षा शाखाले विद्यालय नेतृत्वविहीन नहोस् भनेर मेची वारीको कालिका आधारभूत विद्यालयका शिक्षक युवराज ढकाललाई मेची प्राथमिक विद्यालयको प्रधानाध्यापक तोकेको छ,” उनले भने, “कालिकामा नियमित अध्यापन गराइरहनुभएको ढकाल मेचीमा जानुहुन्न।”

शिक्षक एकपछि अर्को गर्दै बाहिरिएपछि विद्यालयको सम्पूर्ण रेखदेख कर्मचारी राजेश राजवंशीले गरिरहेका थिए। उनी पनि मेची वारी भिन्डीबस्तीमा घर भएकाले मेची नदी तरेर नियमित विद्यालय नजाने गरेको स्थानीयले बताएका छन्। २०७० मा मेची प्राथमिक विद्यालयमा ५० विद्यार्थीले पढ्ने गरेको र विकासका कुनै पूर्वाधार नबनेपछि स्थानीयले गाउँ नै छाडेर हिँड्दा विद्यार्थी घटेको विद्यालय कर्मचारी राजवंशीले बताए।

भारतीय सीमा सुरक्षा वल (एसएसबी)को दस्ता विद्यालयमै आएर ‘यो स्कुल नेपालको कि भारतको रु’ भनेर सोध्ने गरेको उनले‍ सुनाए। स्रोत व्यक्ति दाहालले ग्वालाबस्ती र सिसौडाँगी नेपालकै भूभाग हो भनेर चिनाउनसमेत त्यहाँको एकमात्र विद्यालय बन्द गर्न नहुने धारणा व्यक्त गरे। बरु विद्यालयलाई कसरी सुविधासम्पन्न बनाउन र विद्यार्थी आकर्षित गर्न सकिन्छ भनेर सोच्नुपर्ने उनी बताउँछन्। 


सम्बन्धित सामग्री