Thursday, May 09, 2024

-->

कतारविरुद्ध उजागर भो धर्मराएको नेपाली ब्याटिङ, आशा सुधारको

'स्थिति कहिलेकाहीँ अनुकूल हुँदैन। त्यसैले यसलाई म ठूलो चुनौतीका रूपमा लिन चाहन्नँ। सबै कुरा वान बल ब्याटलबाट नै समाधान हुन्छ। आजको खेलले मलाई नयाँ कुरा सिकायो,' प्रशिक्षक देसाईले भने।

कतारविरुद्ध उजागर भो धर्मराएको नेपाली ब्याटिङ आशा सुधारको
तस्वीरहरू : क्यान

काठमाडौँ– एसीसी प्रिमियर कपअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपाललाई गुमाउनु केही थिएन। नेपालले बलियो मानिएको ओमानलाई ८४ रनले पराजित गर्दै पाखा लगाइसकेको थियो। यता, मलेसियामाथि ६ विकेटको स्पष्ट जित र साउदी अरबसँग १/१ अंक बाँड्दा नेपाल स्वतः सेमिफाइनलको हकदार घोषित भयो। बाँकी थियो त, अन्तिम खेलमा जित निकाल्दै समूह ‘ए’ को विजेता बन्ने।

समूह चरणको अन्तिम खेलमा तुलनात्मक रूपमा कमजोर मानिएको कतार नेपालको प्रतिद्वन्द्वी तय भइसकेको थियो। कतारलाई यस अर्थमा पनि कमजोर मान्न सकिन्थ्यो कि उसले जारी प्रतियोगितामा एक खेलमा पनि जित हात पार्न सकेन।

यस्तो अवस्थामा नेपालले कतारलाई सहजै हराउँछ, अझ टस हारेर पहिला ब्याटिङ गर्दा त ठूलै स्कोर खडा गर्दै रवाफिलो रनले जित हात पर्छ भन्ने अपेक्षा दर्शकको थियो। तर, बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले संघर्ष गरेर ४०.३ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन मात्रै बनाउन सक्यो। नेपाली टोलीको यस्तो प्रदर्शन दर्शकले मात्रै होइन, विपक्षी टोलीका कप्तान मोहम्मद रिजलानसमेत अपेक्षा गरेका थिएनन्।

खेलपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, “यो बलरमैत्री पिच होइन। तर, हाम्रा बलरहरूले राम्रो प्रदर्शन गरे। यद्यपि, डाउन अर्डरमा सन्दीपले सेट भएर ब्याटिङ गरे। उनलाई अनावश्यक रन दियौँ। हाम्रा शीर्ष ६ ब्याटरले त्यो लक्ष्य पूरा गर्नुपर्थ्यो। तर, सकेनौँ।”

चल्न सकेन ब्याटिङ
आईसीसी विश्वकप लिग–२ का पछिल्ला १२ मध्ये ११ खेल जितेर सनसनी मच्चाएको नेपालले जारी प्रतियोगिताका दुई खेलमा त्यही लयलाई आत्मसात् गर्‍यो। पहिलो खेलमा मलेसियाले २३६ रनको लक्ष्य दिँदा नेपालले ४ विकेट गुमाएर सहजै पूरा गर्‍यो। दोस्रो खेलमा पनि लिग–२ को उपविजेता बनेको ओमानमाथि नेपाल ब्याटिङमा हाबी भयो।

ओमानलाई ८४ रनले हराउँदा नेपालले स्कोरबोर्डमा ३१० रन बनाएको थियो। नेपालले ५० ओभरको खेलमा बनाएको यो सबैभन्दा ठूलो स्कोर हो। यसअघि नेपालले लिग–२ अन्तर्गत पपुवा न्युगिनीविरुद्ध अघिल्लो महिना कीर्तिपुरमै सर्वाधिक २९७ रन बनाएको थियो।

यस मानेमा नेपाल पर्याप्त खेल खेलेर प्रतियोगिताका लागि खारिएको टोली हो। तर, कतारी बलरसामू भने नेपाली ब्याटर कमजोर देखिए। कतारविरुद्ध टप अर्डरमा आसिफ शेख र मिडिल अर्डरमा कप्तान रोहितकुमार पौडेलबाहेक कोही चल्न सकेनन्। आशा गरिएका ओपनर कुशल भुर्तेल २ रनमा आउट हुँदा तेस्रो नम्बरका भीम सार्की ६ रनमा पेभिलियन फर्किए।

त्यसपछि आसिफ र रोहितले तेस्रो विकेटका लागि ४८ रनको साझेदारी गरे। आसिफ १३औँ ओभरको चौथो बलमा पुल गर्न खोज्दा डिप स्क्वायर लेगमा १९ रन बनाएर क्याच आउट भए। १६औँ ओभरको तेस्रो बलमा रोहित पनि कट बिहाइन्ड आउट भए। उनले २७ रन बनाउन ३६ बल खेल्न पर्‍यो।

आसिफ आउट भएपछि ओमानविरुद्ध ४८ बलमा ६३ रन बनाएका सोमपाललाई मुख्य प्रशिक्षक मोन्टी देसाईले क्रिजमा पठाएका थिए। उनी पनि कतारविरुद्ध चल्न सकेनन् र ११ रन बनाएर फर्किए। मलेसियाविरुद्ध ७१ र ओमानविरुद्ध १०८ रनको इनिङ्स खेल्दै म्यान अफ दी म्याच भएका कुशल पनि ३ रनमै समेटिए।

दीपेन्द्रसिंह ऐरी १२ रन र गुलशन झा ७ रनमा आउट भए। प्राय: नेपाली ब्याटरले फगतमा विकेट गुमाए। तर, १०औँ नम्बरमा आएका सन्दीप लामिछाने र ललितनारायण राजवंशीले अन्तिम विकेटका लागि ४६ रनको साझेदारी गरेपछि नेपालको स्कोरबोर्ड अलिक हेर्नलायक बनेको थियो।

सन्दीपले आफूले सिक्दाको 'बेसिक रुल' सम्झेर ब्याटिङ गरेका कारण राम्रो रन बटुल्न सम्भव भएको बताए। “फेक्जिबल छौँ टिममा। जसले पनि जुन साइडबाट पनि ब्याटिङ गर्न सक्छन्। त्यसैले प्रेसर केही थिएन। खेल्ने बेला बेसिक सम्झिएँ,” उनले भने, “हामीले ब्याटिङ गर्ने अवसर कम पाइरहेका हुन्छौँ। पाएको मौकालाई सदुपयोग गरौँ भन्ने थियो। सदुपयोग पनि गर्‍यौँ र जित निस्कियो।”

सन्दीपले ५८ बलमा ६ चौका प्रहार गर्दै सर्वाधिक अविजित ४२ रन बनाए। ललित एलबीडब्लू आउट भएपछि नेपालले स्कोरबोर्डमा १५७ रन खडा गर्न सकेको थियो। "हामी एक समय ब्याड साइडमा थियौँ। एकदमै धेरै ओभर बाँकी थियो। हाम्रा लागि १/१ रन महत्त्वपूर्ण बन्यो। हामीले यहाँबाट १/१ रन दियौँ भने सम्मानजनक लक्ष्य दिन सक्छौँजस्तो लाग्यो र त्यसैअनुसार ब्याटिङ गर्‍यौँ। र, जित निकाल्यौँ," उनले भने।

नयाँ कुरा सिक्यौँ : प्रशिक्षक देसाई
मुख्य प्रशिक्षक मोन्टी देसाईले मिडिल अर्डरका रोहित, कुशल र वान डाउन खेलेका सोमपाल कामीविरुद्ध अत्यधिक विश्वास गरेका थिए। तर, उनीहरू त्यसमाथि खरो उत्रिन नसकेको देसाई स्वीकार गर्छन्।

"हामीसँग स्थिर मिडिल अर्डर थियो। तर, आजको खेलमा केही नयाँ प्रयोग गर्‍यौँ। शीर्षक्रमका चार जना ब्याटरमध्ये कम्तिमा एक जनाले एकतर्फबाट इनिङ्स सम्हाल्नुपर्छ," उनले भने, "आफ्नो इनिङ्समा रोहित (पौडेल) अलिकति डिपमा जान सक्छ भन्ने सोचेको थिएँ, तर दुर्भाग्यवश! त्यो भएन। कुशल मल्ल र सोमपालले अन्तिम पटक झैँ राम्रो साझेदारी गर्छन् भन्ने अपेक्षा पनि गरेको थिएँ, तर त्यो पनि भएन।"

तर, जवाफी ब्याटिङमा आएको कतारलाई पनि त्यो लक्ष्य भेटाउन मुस्किल पर्‍यो। नेपालले कतारलाई २५.१ ओभरमै ८९ रनमा ‘प्याकअप’ गर्‍यो। कतारका जाहिर इब्राहिम र खुराम शहजादले १५/१५ र अमिर फारूकले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन्। सन्दीप लामिछानेले ९.१ ओभरमा ३ मेडन राख्दै १४ रन खर्चेर ५ विकेट लिए।

सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए। मुख्य प्रशिक्षक देसाई भन्छन्, "बोर्डमा १५७ को स्कोरससँगै हामीले खेलाडीहरूको बडी ल्याङ्ग्योज देख्यौँ। उनीहरूले दोस्रो इनिङ्समा कमब्याक गर्छौँ भनेका थिए र १५१/५८ को टारगेट बचाउ गरे।" देसाईले कतारविरुद्ध टोलीमा एक परिवर्तन गरेका थिए। उनले तीव्र गतिका बलर करण केसीको स्थानमा अलराउन्ड गुलशनलाई मौका दिए।

नेपालले दोस्रो खेलमा ओमानलाई ८४ रनले पराजित गर्दा करणले १५ बलमा २ चौका र १ छक्कासहित अविजित रहँदै २९ रन बनाएका थिए। यस्तै, बलिङतर्फ भने उनले ८.३ ओभरमा ६२ रन खर्चिएर ३ विकेट लिएका थिए। उनको अभाव टोलीमा खड्कियो। यता, जारी प्रतियोगिताकै लागि १४ सदस्सीय टोलीमा परेका अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल र बलर प्रतीश जिसी पनि समेटिएका छन्। तर, उनीहरूले मौका पाउन सकेका छैनन्।

यद्यपि, टोलीमा अक्सर नयाँ-नयाँ प्रयोग भइरहेको बताउँदै खेलाडीमा परिपक्वतासमेत देख्न थालिएको मुख्य प्रशिक्षक देसाई बताउँछन्। "ललित र स्यान्डी (सन्दीप) ब्याटिङ अभ्यास गरिरहेका छन्। तर, क्रिजमा ललितले एक एन्डबाट इनिङ्स थामे र स्यान्डीले आफ्नो सीप प्रयोग गरेर रन बटुल्न सके। त्यो हामीले देख्न सक्छौँ। सोमपाल पनि उस्तै छन्। सोमपाल धेरै अनुशासित र धेरै धैर्यवान् भएका छन्। हाम्रा खेलाडीहरू परिपक्व हुँदै छन्," उनी भन्छन्।

कतारविरुद्धको जितसँगै नेपाल एसिया कपबाट दुई कदम टाढा छ। उसले समूह 'बी' को उपविजेता कुवेतसँग फाइनल प्रवेशका लागि खेल्ने छ। शनिबार हुने सेमिफाइनलमा कुवेतलाई पराजित गरे नेपाल फाइनलमा पुग्ने छ। फाइनलमा उपाधि जिते नेपाल पहिलोपटक एसिया कपमा पुग्ने छ।

कतारविरुद्ध अनपेक्षित नतिजा निस्किएको स्वीकार गर्दै उनी बाँकी खेलका लागि गृहकार्य गर्ने बताउँछन्। "स्थिति कहिलेकाहीँ अनुकूल हुँदैन। त्यसैले यसलाई म ठूलो चुनौतीका रूपमा लिन चाहन्नँ। सबै कुरा वान बल ब्याटलबाट नै समाधान हुन्छ। आजको खेलले मलाई नयाँ कुरा सिकायो," देसाईले थपे।


सम्बन्धित सामग्री