मतदाताको गुनासो यसअघि विकासका अपेक्षा पूरा नभएको भन्ने छ। कतिपयले पुराना दलका नयाँ उम्मेदवारप्रति अपेक्षा गरेका छन् भने, कतिपय नयाँ दललाई मौका दिनुपर्ने बताउँछन्।
तनहुँ– डुम्रेबाट उत्तरतर्फ चुँदी खोलाको पुल भेटिन्छ। यो पुल भानु नगरपालिकाको प्रवेश विन्दु हो। तर भानु नगरपालिका नपुग्दै डुम्रेदेखि नै चुनावी माहोल तीव्र छ।
डुम्रेबाट २ किलोमिटरको दूरीमा रहेको भानु नगरपालिकाको भन्सार बजारको चोक र चिया पसलमा चुनावी बहस चलिरहन्छ। भानु नगरपालिका वडा नं. १ मा पर्ने भन्सारबाट मंगलबार दिउँसो भने चुनावी प्रचारका सवारी बेतोडले हुइँकिइरहेका थिए। ती सवारी नजिकै नारेश्वरटारमा राखिएको कांग्रेसको चुनावीसभा गइरहेका थिए।
भन्सारकी बुद्धिमाया लामा (६०) लाई भने चुनावी रौनकले छोएको थिएन। उनी बाख्रा चराउन व्यस्त थिइन्। बुद्धिमायाका पति बलबहादुर लामा (६५) पनि उनीसँगै थिए। बुद्धिमायाले यसपटक आफूले पहिला मत दिएको चिन्हमा मतदान नगर्ने बताइन्। पुरानाले ‘केही नगरेको’ भनेर निराशा पोखिरहेकी उनले नयाँसँग आशा राखेको बताइन्।

“हाम्रो छोरा नातिलाई राम्रो हुन्छ भनेर अब नयाँ पार्टी रोज्ने विचार गरेका छौँ। नेता जति मिलेर देश सबै खोक्रो बनाइसके,” उनले भनिन्।
बुद्धिमाया र बलरामका एक छोरा छन्, जो रोजगारीको सिलसिलामा भारत पुगेका छन्। छोराले स्वदेशमै रोजगारीको अवसर दिलाउन नसक्ने पार्टीलाई भोट नहाल्ने उनले बताइन्। “आफ्नै देशमा राम्रो होस्। आमाबाबुको पोल्टामा बसेर जागिर खान पाओस् जस्तो लाग्छ। अहिलेसम्म भोट हाल्यौँ, खै केही भएन?” उनले भनिन्।
उनका पति बलबहादुरलाई भने दलका नेताहरूसँग कुनै अपेक्षा छैन। “खै! हामी त बोल्न पनि जाँदैनौँ। के अपेक्षा गर्ने? केही पनि छैन,” उनले भने।
महँगीले दैनिक गुजारा चलाउन पनि धौधौ परिरहेको बलबहादुरको गुनासो छ। चुनावमा जो नेतालाई जिताए पनि जीवनस्तर उस्तै रहेको उनको भनाइ छ। “हामी गरिब दुःखीलाई कति गाह्रो छ। कुनै नेतालाई जिताएर के भयो? हाम्रो दुःख गएको छैन,” उनले निराशा पोखे।
माया लामा (४५) ले भोट कसलाई दिने निधो गरिनसकेको बताइन्। चुनावी प्रचारमा आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई टाढैबाट देखे पनि कुरा हुन नपाएको उनले बताइन्। “बाटोबाटो आएको दिखियो, हामीले त भेट गर्नै पाएन,” उनले भनिन्।
भन्सार आसपासमा भेटिएका स्थानीयले विकास नभएको र भ्रष्टाचार बढेको गुनासो गरे। कतिपयले अब नयाँ दल र नेतालाई मौका दिनुपर्ने बताए। पुराना दलले विकृति मात्र भित्र्याएको भन्सारका धेरैको गुनासो थियो। उनीहरुको संकेत यसपालि रास्वपाका उम्मेदवारलाई मौका दिनुपर्छ भन्ने थियो।

तर, डुम्रेमा भेटिएका स्थानीयको भनाइ भने फरक छ। बन्दिपुर–२ की बिनिता सुनार डुम्रेबजारमा भेटिइन्। गठबन्धनका कारण यसपटक पनि कांग्रेस उम्मेदवारले चुनाव जित्ने उनको दाबी छ। “गठबन्धनमा भोट हाल्ने हो। नयाँ पार्टी त कति आएआए!” उनले भनिन्।
बन्दिपुर–१ का अर्जुनकुमार श्रेष्ठ तनहुँ–१ मा पहिलेदेखि कांग्रेसको मत बलियो रहेको बताउँछन्। श्रेष्ठ नेपाली कांग्रेस समर्थक रहेछन्। स्वच्छ छविका उम्मेदवारलाई यसपटकको चुनावमा न्याय हुने उनले बताए। “यसपालि त्रिपक्षीय भिडन्त त हुन्छ नै, पहिलेदेखि तनहुँ–१ को विकासमा योगदान गर्नुभएका गोविन्द भट्टराईको उचित मूल्यांकन हुन्छ। चुनाव जित्नुहुन्छ,” उनले भने।
यद्यपि, नयाँ पार्टीको पक्षमा पनि माहोल सुनिएको श्रेष्ठ बताउँछन्। तर, गठबन्धनका कारण कांग्रेस नै बलियो भएको उनको अनुमान छ।
डुम्रेमै भेटिएका माओवादी समर्थक भाष्कर न्यौपाने राजनीतिसित धेरै जानकार नभएकाहरू नयाँ पार्टीको पक्षमा देखिएको बताउँछन्। तर, तनहुँ–१ कांग्रेसको परम्परागत क्षेत्र भएकाले उसलाई केही सहज भएको उनको भनाइ छ। रास्वपा अन्य दलको मत लिनुपर्ने अवस्थामा रहेको यहाँका मतदाताको भनाइ छ।
उता एमाले जिल्ला कमिटी सदस्य आरके पोखरेल यसपटक आफ्नो दलले नै चुनाव जित्ने दाबी गर्छन्। “हाम्रो पार्टी श्रमजीवीको पार्टी हो। हामी अहिले घरदैलो कार्यक्रममा व्यस्त छौँ। पूर्वआइजीपी हाम्रो उम्मेदवार हुनुभएको र उहाँले पदमा रहँदा राम्रो काम गर्नुभएको कारण चुनाव जित्नेमा ढुक्क छौँ,” पोखरेलले भने।
तनहुँ–१ को उपनिर्वाचनमा कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ। उनी पहिलाेपटक प्रत्यक्ष निर्वाचनमा उम्मेदवार भएका छन्। उनलाई सत्ता गठबन्धनका माओवादी र एकीकृत समाजवादीको साथ छ। २०७४ मा यही क्षेत्रबाट (त्यसबेला एमालेबाट) निर्वाचित भएका एकीकृत समाजवादीका नेता किसान श्रेष्ठको सक्रियताले पनि गठबन्धनलाई सघाउ पुग्ने कतिपयको आकलन छ। श्रेष्ठ अहिले तनहुँमै केन्द्रित भएका छन्।
एमालेले सर्वेन्द्र खनाल र रास्वपाले स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएका छन्। खनाल मंसिर ४ काे निर्वाचनमा काठमाडौँ-६ बाट उम्मेदवार थिए। तनहुँमा भने पहिलोपटक उम्मेदवार भएका छन्। वाग्ले यसअघि कांग्रेसमा सक्रिय भए पनि पहिलोपटक नै उम्मेदवार बनेका हुन्। आगामी उपनिर्वाचनमा मुख्य प्रतिस्पर्धा यी तीन उम्मेदवारबीच नै हुने मतदाताहरू बताउँछन्।
गएको मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल २५ हजार ३६१ मतसहित विजयी भएका थिए। उनलाई नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन थियो। उनी राष्ट्रपति निर्वाचित भएपछि यो क्षेत्र खाली भएको हो।
पौडेलका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका एकबहादुर रानाले १९ हजार ९८१ मत पाएका थिए। तेस्रो भएका स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८८६ मत पाएका थिए। रास्वपाका विकास सिग्देल ६ हजार ४४ मतसहित चौँथो भएका थिए। यसपटक गोविन्दराज समूहको छुट्टै उम्मेदवार छैन। यो समूहले कसलाई समर्थन गर्ने भन्ने निर्णय पनि गरिसकेको छैन।
समानुपातिकतर्फ भने कांग्रेसले २० हजार १५८ र एमालेले १६ हजार ६८३ मत पाएका थिए। रास्वपा १२ हजार ७७३ मतसहित तेस्रो भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
