सरकारले महाविपत्तिको बेला जसरी काम गर्नुपर्छ : गगन थापा

कांग्रेस महामन्त्री थापाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेश मन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोचेर काम गर्नुपर्ने बेला आएको बताएका छन्।

फाइल तस्वीर

काठमाडौँ– सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताएका छन्।

महामन्त्री थापाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेश मन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोचेर काम गर्नुपर्ने बेला आएको बताएका हुन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुक संकटमा रहेको बेला सरकारले त्यसलाई महसुस गरेर परिणाम दिने गरी काम गर्नुपर्ने स्पष्ट पारे।

"चाहे त्यो नगरको मेयर होस् वा चाहे त्यो वडाध्यक्ष होस्। चाहे त्यो देशको मन्त्री, प्रधानमन्त्री होस्। उसको सोच्ने तरिका भनेको नेपालमा अहिले महाविपत्ति, संकट, युद्धको बेला छ जस्तो सोच्ने हुनु पर्दछ। उसलाई भ्याइनभ्याई हुनु पर्दछ," उनले भने।

महामन्त्री थापाले सुझबुझपूर्ण ढंगले काम नगरे मुलुक झनै संकटमा पर्दै जानेतर्फ पनि सरकारलाई सचेत गराए। सरकारले राम्रो काम गर्दै गए ३/४ महिनाभित्रै मुलुक सम्हालिँदै जाने उनको भनाइ थियो।

महामन्त्री थापाले २०८० सालमा नेपाली कांग्रेसलाई शुद्धीकरण र सुदृढीकरण गर्नका लागि सिंगो पार्टीपंक्ति लाग्नुपर्ने बताए। उनले २०८० सालको जेठ अन्तिम साता नेपाली कांग्रेसको नीति अधिवेशन हुने तयारी भइरहेको उल्लेख गर्दै त्यसमा पार्टीको सुदृढीकरण र शुद्धीकरणका लागि व्यापक छलफल गर्न पनि पार्टीका नेता, कार्यकर्ताहरूलाई आग्रह गर्नु भयो।

“जेठको अन्तिम साता दिन कांग्रेसको नीति सम्मेलन गर्ने तयारी गर्दै छौँ। त्यसमा व्यापक रूपमा छलफल गरौँ। र, यो साललाई कांग्रेसको शुद्धीकरण र कांग्रेसको सुदृढीकरणको लागि प्रयोग गरौँ,” उनले भने।

महामन्त्री थापाले ‘पुरानो जति सडेगलेको र नयाँ जति राम्रो’ भन्ने भ्रममा नपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए। उनले कुनै पनि पार्टीले एकल सरकार बनाउने अवस्था नरहेको भन्दै निर्वाचन प्रणाली सुधारका लागि संविधान संशोधन गर्नुपर्नेमा पनि जोड दिए।