Saturday, April 20, 2024

-->

काठमाडौँको कोर एरियाः जग्गा नहुँदा आकाश कब्जा

सम्पदा बस्ती मानिने काठमाडौँका कोर एरियामा जथाभावी बनेका अग्ला र सुरिला भवनले नगरको मौलिक सौन्दर्य मात्र नष्ट गरेका छैनन्, भूकम्पीय जोखिमलाई पनि निम्ता दिइरहेका छन्।

काठमाडौँको कोर एरियाः जग्गा नहुँदा आकाश कब्जा

काठमाडौँ– टेबहाल परिसरमा रहेको वडा नं. २२ को कार्यलय भवनबाट उत्तरमा छ संकटा मन्दिर। वडा कार्यालयको झ्यालबाट हेर्दा संकटा मन्दिरसँगै जोडिएको करिब आठ तले सुरिलो भवन र अलि परको धरहरा देख्न सकिन्छ। 

टेबहाल परिसरमा संकटा मन्दिरको गजुरभन्दा अग्लो घर बन्न नहुने मान्यता केही दशकअघिसम्म थियो। गजुर धातुले बनेको कारण चट्याङ त्यसैमा पर्ने र घर जोगिने जनविश्वास थियो।

अहिले टेबहाल आसपास सुरिला र अग्ला भवन प्रशस्तै देख्न सकिन्छ। ती घर मापदण्ड विपरीत निर्माण भएको वडाध्यक्ष चिनीकाजी महर्जन बताउँछन्। सोहीकारण वडाले भवन निर्माण सम्पन्नताको प्रमाणपत्र दिइनसकेको उनको भनाइ छ।

तर प्रमाणपत्र रोकेर मात्र भूकम्पीय जोखिम कम हुँदैन। काठमाडौँले मौलिकता बिर्सिँदै जाँदा जोखिम पनि बढेको रत्नबहादुर रिमाल (७५) बताउँछन्।

दोलखा चरिकोटका रिमाल केही दशकअघिसम्म पाँच दिन पैदल यात्रा गरेर किनमेल गर्न असन आइपुग्थे। दोलखादेखि असनसम्मको दूरी सावारी साधनका कारण पाँच घण्टामा झरेको छ। 

उबेला असन आउँदा यहाँका घरहरूले आफूलाई मोहनी लगाउने गरेको रिमाल बताउँछन्। यतै बस्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो। तर अहिले सुरिला अग्ला भवन देखेर मन अत्तालिन्छ।

“भूकम्प आइरहन्छ। यहाँका मानिस भागेर कहाँ जान्छन् होला?” उनले भने, “पहिलेका ३–४ तलाका घरमा ८–९ तला थपिएका छन्। अस्तिजस्तै भूकम्प आयो भने एउटा घरले अर्कोलाई थिच्छ होला।”

यस्ता घर बन्नुमा परम्परागत परिवार र सम्पत्ति विभाजन प्रमुख कारण रहेको उनी बताउँछन्। “पुर्ख्यौली घर एउटा हुन्छ, दाजुभाइ चारपाँच जना हुन्छन्। अनि जमिन नभएपछि भागबन्डामा घरको तला आकाशमै त पुग्छन् नि,” उनले भने। 

मौलिक सम्पदा अध्ययन गर्न आएका विदेशीले पनि आधुनिक बन्दै गएको काठमाडौँको कोर क्षेत्र बसाइको दृष्टिकोणले सकसपूर्ण रहेको उल्लेख गरेका छन्। गत साता काठमाडौँमा भएको एक कार्यक्रममा जर्मन आर्किटेक्चर वुल्फग्याग्क कर्नले ‘फ्रम ग्रिन टुः कनक्रिट सिटी’ विषयक कार्यपत्र प्रस्तुत गर्दै कोर क्षेत्रका भवन संरचनाले मौलिकता गुमाएको बताएका थिए।

“पहिला धेरै भए चार तलाको घर हुन्थे। सबैभन्दा माथि बुइँगलमा भान्सा हुन्थ्यो। अब त बुइँगलको अवधारणा पनि होला नहोला। ती अग्ला भवनमा बस्ने वृद्धवृद्धालाई तलमाथि गर्न कति सकस होला!” उनले कार्यपत्रमा लेखेका छन्।

बेलायती अध्येता थोमस बेलले आफ्नो पुस्तक ‘काठमाडौँ’मा यहाँका भित्री क्षेत्रमा बनाइएका पुराना शैलीका भवनले आफू चकित परेको उल्लेख गरेका छन्। उनले यहाँको मौलिकताबारे यसरी वर्णन गरेका छन्–

त्यस दिन मेरो काममा ध्यान केन्द्रित हुन सकिरहेको थिएन। त्यस कारण पाहुना बसेको गेस्ट हाउसको कौसीमा एकछिन टहलिन गएँ। कौसीबाट पाटनस्थित महाबौद्ध मन्दिर र त्यसको वरपर दृश्य देखिएको थियो। म कौसीमा छु भनेर सायद कसैलाई याद भएन। कौसीतर्फको ढोका कसैले अर्को पट्टिबाट बन्द गरिदिएको मैले पनि चाल पाइनँ।

कौसीमै बन्धक भएपछि मलाई नजिकको अर्को घरका मानिसले उनको घरबाट बाहिर निस्कन सल्लाह दिए। त्यस समय पुरानो शैलीमा बनेका घरका कौसी जोडिएका हुन्थे। म फुत्तै उफ्रिएर उनको कौसीमा गएँ। कौसीबाट भर्‍याङ हुँदै ओर्लंदा अध्याँरो, घाम नपुग्ने कोठाहरू देखेँ। भुईं तला पुग्दा मलाई लागेको थियो उनको घरबाहिर निस्कने भएँ। ढोकाबाहिर निस्कँदा मेरो अनुमानभन्दा ठ्याक्कै विपरीत चारैतिर घेरिएको भवनको बीचको चोकमा रहेँछु। साँच्चै नै यहाँका पारिवारिक भवन एउटा भूलभूलैया भएको महसुस मलाई त्यो दिन भएको थियो।

पुस्तकमा उल्लेख भएअनुसार, त्यसताका घरहरूको भुईंतलामा पसल, भण्डारण अथवा ‘वर्कसप’ हुन्थे। बीचका दुई तलामा सुत्ने तथा बस्ने व्यवस्था हुन्थ्यो। शुद्ध र निजी मानिने सबैभन्दा माथिल्लो तलामा पूजाकोठा र भान्सा हुन्थ्यो। 

कस्तो हुन्थ्यो निजी घरको संरचना?
निश्चित संख्या भएको परिवारका सदस्य बस्नका लागि बनेको व्यक्तिगत आवासलाई घर मान्छन्, लेखक मल्ल के सुन्दर। उनी कुनै समय काठमाडौँको कोर एरिया बांगेमुडामा बस्थे। हाल बुढानीलकण्ठस्थित पासिकोट सरेका छन्। 

कोर एरियामा मल्लकालीन वास्तुकलाकै आधारमा अन्य संरचना बन्ने गरेको उनी बताउँछन्। उनका अनुसार घरमा छिँडी, मटान, चोटा, बुइँगल गरी साढे तीन तलासम्म हुने गर्थ्यो। त्यस समय भगवानको मन्दिरभन्दा अग्लो संरचना बन्न नहुने कथन रहेको उनी बताउँछन्।

कुनै पनि भवनको आकृति र प्रयोजन त्यस क्षेत्रको सामाजिक मूल्यमान्यताको आधारमा तय हुने मल्लको भनाइ छ। “हाम्रो परम्पराअनुसार कुनै निश्चित क्षेत्रको आराध्य देवदेवीको मन्दिर वरपर मन्दिरलाई नछेकिने गरी घरहरू बनाइने गरिएको थियो,” उनी भन्छन्, “उदाहरणका लागि भक्तपुरको पाँच तल्ले मन्दिर र मन्दिरकी सिद्धिलक्ष्मी देवी त्यहाँको आराध्य देवी हुन्। यस्तो अवस्थामा मन्दिरमा भौतिक रूपमा पुग्न नसके पनि टाढैबाट गजुर देखिए दर्शन हुने मान्यता थियो।”

सामाजिक मान्यता मात्र नभई पर्यावरणीय हिसाबले पनि उक्त शैली उपयुक्त भएको उनको भनाइ छ। समान तहको घर बन्दा हावा, पानी, घामलगायत प्राकृतिक स्रोतमा पनि समानता हुने उनी बताउँछन्।

मल्लका अनुसार, नेवार समुदायको विशेषता नै समुदायगत रूपमा बसोबास गर्ने थियो। “जोडिएर बनेको घरको बुइँगलमा एउटा ढोका हुन्थ्यो, जसले अर्को छिमेकी घरमा आउजाउ गर्न मिल्थ्यो,” उनी सम्झन्छन्, “भोजभतेरमा सबैले आफ्नो बुइँगलका ढोका खुल्ला राखिदिन्थे। यसबाट सामाजिक कर्मकाण्ड तथा भोजभतेरलाई सहज हुन्थ्यो।” 

शहरी योजना विभागका पूर्व उपमहानिर्देशक प्राडा भरतप्रसाद शर्मा मौलिक शैलीमा स्थानीय स्रोतबाट बन्ने भवनको शैलीलाई ‘भर्नाकुलर आर्किटेक्ट’ भनिने बताउँछन्। “दक्षिणतर्फ मुख्य मोहडा फर्किएको घरमा मडमोटर, पाको वा काँचो इँटा, झिँगटी र झ्याल काठको हुन्थ्यो। यसको लागि स्थानीय कालीगड हुन्थे,” उनी भन्छन्, “कुनै पनि क्षेत्रको मौलिक शैलीमा बनेको आर्किटेचरलाई इन्क्लिुसिभ आर्किटेक्चर भनिन्छ, जसको आफ्नै एस्थेटिक सौन्दर्य हुन्छ।”

परिवर्तन भएको शैली
१९९० सालको भूकम्पपछि नै काठमाडौँमा घर निर्माणको शैली फेरिन थालेको मल्ल के सुन्दर बताउँछन्। “उक्त समय नेपालमा राणा शासन चलेको कारण भत्किएका संरचनाले युरोपियन निओक्लासिकल शैलीमा परिवर्तन हुनथाले,” मल्ल भन्छन्, “कुनै समय मौलिक कलाशैलीमा बनेको गद्दी बैठकको परिवर्तित शैली यसको उदाहरण हो।” 

स्व. तीर्थनारायण मानन्धरले आफ्नो पुस्तक ‘काठमाडौँ उहिले र अहिले’मा पनि १९९० सालको भुकम्पपछि बिस्तारै घर, सडकका संरचनामा परिवर्तन आएको उल्लेख गरेका छन्। उनले लेखेका छन्–

महाभुकम्पपछि काठमाडौँका घरहरूको वास्तुकला तथा वासस्थानमा पनि परिवर्तन आउन थाले। भूकम्पअघि यहाँका सबैजसो घरमा झिँगटीको छानो थियो। भुईंचालोले धेरैजसो घरको छानो भत्काएपछि फेरि झिँगटीकै छानो हाल्नु सम्भव भएन। त्यसैले सरकारले नै ठूलो परिमाणमा सस्तोखाले जस्तापाता झिकायो। जस्ताको छानो एक किसिमले नयाँ र सुन्दर पनि देखिएकोले मानिसहरूले पनि त्यसैलाई मन पराए। ..... भुईंचालोमा भत्केका घर मात्र होइन, नयाँ बनेका घरमा पनि जस्ताकै छानो लगाउन थालियो। यसरी काठमाडौँका घरहरूमा झिँगटीको सट्टा जस्तापाताको छानो आउन थाल्यो र शहरले नयाँ स्वरुप लिँदै गयो। .....पहिले नयाँ सडक थिएन। भुइँचालो पछि सरकारले त्यो ठाँउमा सडक विस्तार गरी दायाँबायाँ घर बनाउन दिए।.... त्यो बाटोको दायाँबायाँ नयाँ व्यवस्था अनुसार, नक्सा तयार गराएर मात्र एकै प्रकारको घर निर्माणको स्वीकृति दिइएको थियो।

जेष्ठ नागरिक यज्ञरत्न तुलाधर असन टोल समितिका पूर्वअध्यक्ष हुन्। उनी अहिले पनि असनकै बासिन्दा हुन्। अहिले यहाँ २५–३० प्रतिशत मात्र रैथाने रहेको र बाँकीले कि त सम्पत्ति बेचेर, कि बहालमा दिएर कोर क्षेत्रबाहिर गएको उनी बताउँछन्। 

“२०३० सालअघिसम्म आममानिसको घरमा झिँगटीका छाना हुन्थे। मल्ल तथा राणाकालीन शैलीमा बनेका काठका झ्याल हुन्थे। सुर्कीबाट बनेका घरको पनि सख्ंया कम थिएन,” तुलाधर भन्छन्, “त्यसपछि पुराना शैलीका भित्ता भत्काएर ढलान गर्न थालियो।”

पानी पर्दा झिँगटीका छानाबाट पानी चुहिने, घाँस उम्रने हुन थाल्यो। मर्मत गर्ने मानिसको अभाव हुँदै गयो। माटोको घरमा उडुसले पनि दुःख दिने तुलाधर सम्झन्छन्। आधुनिक सामग्री प्रयोग हुन थालेपछि परम्परागत प्रविधि हराउँदै गएको उनको भनाइ छ।

लेखक तथा इतिहास अध्येता सुनिक उलक २०२० सालमा आएको भूमिसुधार व्यवस्थाले परिवार छुट्टिने र निजत्वको भावना आएको बताउँछन्। “पहिला अंशबन्डाको समस्या थिएन। संयुक्त परिवारमा बस्थे। परिवारमा सदस्य संख्या बढ्दै जाँदा ठाउँ नपुगे खेतमा घर बनाउँथे बस्थे। बसाइँ फरक भए पनि जग्गाजमिन सगोलमा हुन्थ्यो,” उलक भन्छन, “बलियो र काम गर्न सक्ने मूलघर छोडेर बाहिर जान्थे भने कमजोर आर्थिक स्थिति भएकालाई पुरानो घर बाँकी रहन्थ्यो। भागबन्डाको कुरै हुदैन थियो।”

टेबहालका वडा २२ का अध्यक्ष चिनीकाजी महर्जन, मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण मान्छन्। “कुनै समय एउटै कोठामा तीनचार जना केटा मान्छे बस्नेमा हाल किशोरावस्था देखिकै छुट्टै कोठा आवश्यक पर्छ,” अध्यक्ष महर्जन भन्छन्,“हाम्रो जीवन शैलीमा पनि परिवर्तन आएको छ। सोफा, फर्निचर, तल्लापिच्छे बाथरुम जस्ता कुराले पनि जीवनशैलीमा निर्धारण गर्छ।” यस्ता मिहिन कुराले पनि संरचनागत भवनको स्थान र आवश्यकतामा फरक पार्ने उनको भनाइ छ। 

शहरी योजनामा समस्या
कोर क्षेत्रमा मापदण्डविपरीत संरचना बनिनु शहरी योजनाको असफलता भएको शहरी योजना विभागका पूर्व उपमहानिर्देशक प्राडा शर्मा बताउँछन्। नक्सापास लगायतमा हुने चलखेल र उपयुक्त योजनाको अभावले जोखिम बढाएको उनको भनाइ छ। 

“पहिले त सम्बन्धित निकाय भिजनरी हुनसक्नु पर्थ्यो। कोर एरिया भनेको सम्पदा क्षेत्र हुन्। यस क्षेत्रको कसरी सम्बर्द्धन गर्ने र त्यहाँ बसोबास गर्ने परिवारको समस्यालाई कसरी मिलाउने भन्ने सरकारको जिम्मेवारी हो,” शर्मा भन्छन्, “कुनै पनि भवनको उचाइ त्यसको फ्लोर एरिया रेसियो अनुसार निर्धारण हुन्छ। तर, यहाँ सम्बन्धित निकायले नै यसको मापदण्डमाथि खेलबाड गरेका छन्।”

जमिनको क्षेत्रफलको आधारमा तलाको अनुपात निर्धारण नै फ्लोर एरिया रेसियो (एफएआर) भएको इन्जिनियर विनोद दाहाल बताउँछन्। बढी जनघनत्व भएको क्षेत्रमा एफएआर बढी हुँदा घरको अग्लाइ बढाउन मिल्ने उनको भनाइ छ। यही कारण कोर एरियाका भवन अग्ला हुने भए पनि भूकम्पीय सुरक्षाका लागि स्थानीय तहले मापदण्ड निर्धारण गर्नुपर्ने उनी बताउँछन्।

सयौँ वर्ष पुराना सम्पदा भवन भत्काएर कम्प्लेक्स बनाउने कार्य भने ‘चलखेल’मै हुने उनको भनाइ छ। अहिले असनमा रहेको २०० वर्ष पुरानो घडीघर पनि गुठी संस्थानकै मातहतमा कम्प्लेक्स बन्ने स्थितिमा पुगेको छ। 

२०१८ सालमा स्थापना भएको गुठी संस्थान र स्थानीय गुठियारबीच समन्वय नहुँदा पुराना घरहरूको महत्त्व घटेको इतिहास अध्येता उलक बताउँछन्। सामुदायिक रूपमा चलिरहेको गुठी व्यवस्थाले संस्थागत रूपमा चल्न थाल्दा परम्परागत गुठी चलनमा अवरोध भएको उनको भनाइ छ।

निश्चित क्षेत्रफलमा घर बनाउन सरकारले जग्गा कित्ताकाट गर्दा न्यूनतम सीमाबाट तल झर्न नपाइने गरी क्षेत्रफलको मापदण्ड कायम गर्नुपर्ने उलक बताउँछन्। १०० वर्ष पुराना घरजग्गा कित्ताकाट र अंशबण्डा गर्न दिन नहुने उनको भनाइ छ। मौलिक र पुराना शैलीका मुख्य भाग जोगाइराख्न सम्बन्धित तहको पनि भूमिका हुने उनले बताए।

समाजशास्त्री तथा लेखक सुजित मैनाली कोर एरिया मौलिक शैलीमा निर्माण हुनु उचित हुने बताउँछन्। “मौलिक कलाशैली झल्कनु पर्छ। काठमाडौँका यी सम्पदाले सभ्यता दर्शाउँछ, जुन अन्य देशमा संग्रहालयमा हुने गर्छ। यसलाई जोगाउनु राज्यको दायित्वमा आउँछ”, मैनालीले भने।

के भन्छन् वडाध्यक्ष?
घरको नक्सापास वडा कार्यालयसँग सम्बन्धित हुने काठमाडौँ महानगर वडा नं.–२२ का वडाध्यक्ष चिनीकाजी महर्जन बताउँछन्। आफ्नो वडा कार्यालय वरपर रहेका अग्ला भवन मापदण्ड विपरीत बनेको उनले बताए।

यद्यपि, कोर एरियाका संरचना मापदण्ड मिचेर बनाइनुमा कर्मचारीको दोष भएको उनको दाबी छ। “स्थानीय निकायको चुनाव नहुँदा कर्मचारीले स्थानीय तह चलाइरहेका थिए। स्थानीय प्रतिनिधि नहुँदा मौलिकतामा उनीहरूको ध्यान पुगेन,” उनी भन्छन्।

स्थानीयमा पनि बाध्यता र अभिलाषा बढ्न थाल्दा कोर एरियाका भवन संरचनाको दुरवस्था भएको वडाध्यक्ष महर्जन बताउँछन्। हाल आफ्नो वडा कार्यालयले नक्सा तथा जग्गापासमा नियन्त्रण गरिरहेको उनको भनाइ छ।

कोर एरियामा पर्ने वडा नं. २३ का वडाध्यक्ष मचाराजा महर्जन भने यो समस्याको जड प्रदेश सरकार भएको बताउँछन्। प्रदेश सरकारले नियमानुसार प्राविधिक जनशक्ति दिन नसकेको उनको भनाइ छ। 

वडा नं. २३ का वडाध्यक्ष महर्जनका अनुसार, हालको भवन मापदण्ड ऐनले कोर एरियामा जगभन्दा माथि ८३ फिटसम्म मात्र घर बनाउन पाइन्छ। औसतमा एउटा तला १४ फिटको हुँदा पाँच तलाको घर बन्छ। भवनको एउटा तला नौ फिटको हुँदा धेरै तला बन्ने उनी बताउँछन्। 

“घरको नक्सा पास त हुन्छ, तर घरधनीले आफ्नै तालमा घर बनाउँछन्,” उनी भन्छन्, “वडामा सयौँका संख्यामा नक्सा पास हुन्छ, त्यसको अनुगमनको लागि प्राविधिक छैन। सीमित प्राविधिकले कति वटा वडाको के–के निरीक्षण गर्ने?”

प्राविधिकिदेखि नियन्त्रण अनुगमनमा भएको कमीकै कारण सर्वसाधरणले फाइदा उठाउने उनी बताउँछन्। कोर एरियामा जग्गा नहुँदा नै आकाश कब्जा हुन थालेको उनको भनाइ छ।

मौलिक शैली जोगाउने असफल प्रयास
असनजस्तै अर्को कोर क्षेत्र हो, किलागल। सांस्कृतिक रूपमा किलागल काठमाडौँको महत्त्वपूर्ण क्षेत्र हो। तर, यहाँका भवनहरू पनि अन्य कोर एरियाका जस्तै धराप र क्षतिग्रस्त छन्। 

किलागल सांस्कृतिक संरक्षण प्रतिष्ठिानका अध्यक्ष नरेन्द्र महर्जन किलागलको छकुननीमा मौलिक शैलीको २२ घरलाई एकीकृत नमूना बस्ती बनाउने योजनामा छन्। यद्यपि, केही कानूनी तथा आर्थिक प्रावधान बाधक बनेकाले उक्त योजनाले मूर्त रूप लिन नसकिरहेको उनी बताउँछन्।

मौलिक शैलीको घर बनाउन काठमाडौँ महानगरपालिकाले १२ लाख अनुदान दिने व्यवस्था गरेको छ। उक्त अनुदान घरको मुख्य मोहडा मौलिक शैलीमा बनाउनको लागि हो। बनिसकेको आधुनिक शैलीको घरको अघिल्लो मोहडा परिवर्तन गर्न भने पालिकाले १५ लाख दिने गरेको छ।

तर, मौलिक संरचना बनाउँदा त्यसभन्दा दोब्बर खर्च लाग्ने अध्यक्ष महर्जन बताउँछन्। “लोकल इँटा, काठ, दाची अप्पा, परम्परागत घर बनाउन लाग्ने सिपालु डकर्मी, समयलगायतको कारण निर्माणमा खर्च दोब्बर हुन आउँछ,” महर्जन भन्छन्, “महानगरपालिकासँगको पटकपटकको बैठकमा मेयर शाहले अनुदान रकम नबढ्ने बताए। महानगरपालिकाले यसलाई खर्चको रूपमा मात्र हेरिरहेकाले समस्या भएको छ।”

प्रतिष्ठानका अध्यक्ष महर्जनका अनुसार, किलागल क्षेत्रका भवनको विशेषता भनेकै त्यहाँका बरण्डा हुन्। ती बरण्डा परम्परागत रूपमा भोजभतेरमा सगोलमा प्रयोग हुने गर्थे। उक्त परम्पराले निरन्रतरता पाउनुपर्ने उनको भनाइ छ।

“मौलिक शैलीमा महानगरको मापदण्डमा बरन्डा निकाल्न मिल्दैन,” उनले भने, “यस्ता निर्माणमा कानूनी प्रावधानले अवरोध गरेकै छ, बरण्डा निकाले अनुदान रकम पनि मिल्दैन।”

तस्वीरहरू : किसन पाण्डे


सम्बन्धित सामग्री