Thursday, April 25, 2024

-->

मिटरब्याज अपराधको केस–स्टडी : कर्जा लिएको २५ लाख, तिर्नुपर्ने १३ करोड

बिहाबारीका लागि तमसुक र ८ विघा जग्गा धितो राखेर १२ वर्षअघि साहुबाट २५ लाख कर्जा लिएको, वर्ष नपुग्दै चुक्ता गरेको सप्तरीको एक परिवारले जग्गा फिर्ता लिन १३ करोड तिर्नुपर्ने ‘उर्दी’ पाएको छ।

मिटरब्याज अपराधको केस–स्टडी  कर्जा लिएको २५ लाख तिर्नुपर्ने १३ करोड

काठमाडौँ– सप्तरीको बोदेवर्साइन नगरपालिका वडा नम्बर १० बस्ने निर्मलकुमार यादवका बुवा शंकरकुमार र आमा मन्जु सिन्हा यादवले २०६६ असोज १९ र पुस १७ गते, दुई पटकमा गरेर गाउँका ‘साहुमहाजन’बाट २५ लाख कर्जा लिएका थिए। बुवा–आमाले लिएको त्यो कर्जाको भार निर्मलकुमारमाथि थुप्रिएको छ। र, अहिले त्यसैले उनीसँगै परिवारको चैन खोसिदिएको छ। किनभने १३ वर्षअघि लिएको त्यो कर्जा चुक्ता गर्न उनले सवा १३ करोड रुपैयाँ तिर्नुपर्ने भएको छ। ‘साहुमहाजन’ले दिनरात ताकेता गरिरहेका छन्।

“दिदीको बिहे छिनिसकिएको थियो, शुरुमा बुवा कृषि विकास बैंकमा जानुभो, बैंकले राम्रो जग्गा धितो राख्न खोज्दा पनि कर्जा दिएन। पछि सनराइज बैंकमा जाँदा धितोसहित व्यवसायको प्रोजेक्ट योजना लिएर आउनुस् भने,” निर्मलले घट्नाक्रम सुनाए, “बैंक धाउँदाधाउँदै बुवा र आमा थाकिसकेका थिए, अन्तमा साहुको कर्जा लिने कुरा भयो।”

त्यतिबेला सप्तरी जिल्ला जनस्वास्थ्य कार्यालयमा स्टोरकिपर रहेका विष्णुपुरका सत्यनारायण शर्मा शर्तसहित निर्मलकुमारका बुवा–आमालाई कर्जा दिन तयार भएका थिए। सर्त थियो– चार विघा जग्गा मालपोतबाट राजीनामा र लिखत पास गरेर दिनुपर्ने। त्यसपछि पैसा फिर्ता पाएपछि जग्गा पनि फर्काउने गरी सत्यनारायणले चार विघा जग्गा नामसारी गरेर लिए र शंकरकुमार–मञ्जुलाई कर्जा दिए। 

निर्मलकुमारसँग रहेका मालपोत कार्यालय सप्तरीका कागजातअनुसार शम्भुनाथ नगरपालिका–७ मा उनकी आमा मन्जु सिन्हा यादवको नाममा रहेकोे चार बिघा ११ धुर जग्गा सत्यनारायणकी श्रीमति लडुमति शर्मा र बुहारी उषा शर्मालाई २०६६ असोज १९ गते लिखत पास (नामसारी) गरेर दिएको देखिन्छ। तर, सर्तअनुसार २५ लाख रुपैयाँ दिनुपर्नेमा सत्यनारायणले त्यो दिन ११ लाख रुपैया मात्र दिएको निर्मलकुमार बताउँछन्। 

“कर्जाको थप १४ लाख रकम चाँडै दिने भनेका थिए, तर केही दिन बितेपछि सत्यनारायणले थप जग्गा नामसारी गरेपछि मात्र कर्जाको बाँकी पैसा दिने सर्त राखे,” उनले भने, “बुवा सोझो र आमा पनि त्यस्तै दुनियादारी धेरै नजानेको। उहाँहरूसँग महाजनको कुरा मान्नुको उपाय थिएन।” यस्तो सर्त तेर्स्याएपछि थप ४ विघा ६ कठ्ठा १६ धुर जग्गा शंकरकुमारले २०६६ पुस १७ गते सत्यनारायणका छोरा सुरेन्द्रप्रसाद शर्माको नाममा पास गरिदिए। 

निर्मलकुमारका अनुसार उनकी दिदी सुषमाकुमारी यादवको बिहेको लगन तय भएपछि कार्ड छापेर बाँडिसकिएको थियो। तर, बिहेका लागि आवश्यक पैसाको जोहो हुन सकेको थिएन। त्यहीकारण पनि उनीहरूले साहुका सबै सर्त मान्नुपर्ने बाध्यता भयो। अनि दोस्रो जग्गा पास गरिदिएकै दिन बाँकी कर्जा रकम पनि दिएर सत्यनारायणले २५ लाख पुर्याए।

सुरेन्द्रले निर्मललाई दिएको हिसाब।

त्यही दिन सत्यनारायणले बुवा शंकर र आमा मन्जुलाई २५ लाख रुपैयाँको तमसुक पनि बनाउन लगाएको निर्मलकुमार बताउँछन्। अहिले सत्यनरायणका छोरा सुरेन्द्रकुमार शर्माले त्यही तमसुकका आधारमा ‘ब्याजको समेत ब्याज’ जोडेर १३ करोड २७ लाख ४६ हजार रुपैयाँ तिर्नुपर्ने हिसाब पुर्याएको उनले बताए। 

कागजात हेर्दा शंकरकुमारले दुई पटकमा गरेर ८ बिघा ७ कट्ठा ३ धुर जग्गा पास गरिदिएपछि सत्यनारायणले २५ लाख कर्जा दिएको देखिन्छ। निर्मलकुमारकी दिदीको बिहे भारत, बिहारको मधुबनी जिल्लास्थित कलुअहीँमा भएको हो। बुवा शंकरकुमार बिहेको चटारोबाट निस्केपछि कर्जा चुक्ता गर्ने पैसा जोहो गर्न लागेको, एक वर्ष नपुग्दै चुक्ता पनि गरेको निर्मलकुमार बताउँछन्। 

“आफन्तहरूले सघाएपछि बुवाले २०६७ असारमा त्यतिबेलासम्मको ब्याजसहित कूल ३१ लाख ५० हजार रुपैयाँ फिर्ता गरेका हुन्, तर सत्यनारायणले त्यसबेला आफ्नो भाई पर्ने लेखनदास राजकुमार शर्मा बाहिर रहेकाले उनलाई राखेर हिसाब गरेपछि मात्र कागज फिर्ता गर्ने भनेका थिए,” निर्मलले सुनाए, “पछि तमसुक र जग्गा फर्काउँछौँ मात्र भनिरहे, फिर्ता गरेनन्।”

ऋण मात्र होइन, सर्वस्व असुल्ने नियत
अनौठो त के भने एक वर्ष पुग्दानपुग्दै शंकरकुमारले ब्याजसहित कर्जा चुक्ता गरे पनि त्यसअघि नै, २०६६ माघ २० गते सत्यनारायणले चलाखीपूर्वक आफ्नो परिवारको नाममा रहेको जग्गा रोक्का गराइसकेका थिए। त्यसका लागि अबलम्बन गरिएको तरिका नै अनौठो र शंकास्पद छ। 

सत्यनारायणकी बुहारी उषा शर्माले त्यो दिन (२०६६ माघ २० गते) सप्तरी जिल्ला अदालतमा अंश मुद्दा दायर गरेकी थिइन्। मुद्दा दायरसँगै शर्मा परिवारका जग्गाहरू रोक्का गरिएका थिए। 

“जग्गा रोक्का गराउनकै लागि उनीहरूले आपसमै अंश मुद्दा हालेका रहेछन् भन्ने हामीले पछि मात्र थाहा पायौँ,” निर्मलकुमारले भने, “त्यही मुद्दा देखाएर सत्यनारायणले जग्गा फर्काउने भाका सार्दै आएका थिए। पछि उनलाई अख्तियारले मुद्दा चलायो। त्यसपछि त उनी जग्गा फिर्ता गर्नबाटै पन्छिए।”

२०७१ माघ १९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको पत्रमार्फत् सत्यनारायणको परिवारको नाममा रहेका जग्गाहरू रोक्का भएको कागजातले देखाउँछन्। 

पछि अख्तियारबाट मुद्दा किनारा लाग्यो। रोक्का गरिएको जग्गा पनि फुकुवा भयो। तर, त्यसपछि पनि सत्यनारायणले जग्गा फिर्ता गरेनन्। आफूहरूले बारम्बार ताकेता गरे पनि जग्गा फिर्ता गर्नै नचाहेको निर्मलकुमार बताउँछन्। 

सुरेन्द्रले निर्मललाई दिएको थप हिसाब।

यहीबीच २०७८ चैत २७ गते निर्मलकुमार मोटरसाइकल दुर्घटनामा परे। उनले चलाएको मोटरसाइकल सप्तरीको भिखमपुरमा पिकअप गाडीसँग ठोक्किँदा भएको दुर्घटनापछि निर्मलकुमारको दायाँ खुट्टा काट्नु पर्यो। त्यसपछि उनी बैशाखीको भरमा मात्र हिँड्न सक्छन्। 

दुर्घटनाले अशक्त बनेका निर्मलकुमारमाथि अर्को आपत आइलागेको छ। साहुको ऋण लिएका बुवा–आमा धेरै कुरा जान्दैनन्। सबै कुरा निर्मलकुमारले नै हेर्नुपर्छ। भएभरको जग्गा साहुको कब्जामा, त्यो फिर्ता गराउन ताकेता गरिरहेकै बेला गत जेठमा साहु सत्यनारायणको मृत्यु भयो। सत्यनारायणको मृत्युपछि कर्जा लिँदाका अरु धेरै कुरा गोलमाल भए। किनभने सत्यनारायणका छोरा सुरेन्द्रले तमसुकलाई मात्र आधार बनाएर ऋण तिर्न, त्यो पनि मिटरब्याजले सीमा नाघेको रकम तिर्न ताकेता गरिरहेका छन्।

निर्मलकुमारका अनुसार अब १३ करोड रुपैयाँ दिएमात्र जग्गा फिर्ता गर्न तयार रहेको सुरेन्द्रले बताउने गरेका छन्। “राम्ररी हिसाब गर्ने हो भने त १६–१७ करोड नै पुग्छ, मैले त उनीहरूलाई सदासयता राखेर त्योभन्दा कमै मात्र दाबी गरेको छु,” सुरेन्द्रले उकालोसँग भने, “जग्गाको कुरा फरक हो, त्यो त हामीले किनिसकेको हो। यो कागज बनाएर दिएको कर्जाको हिसाब हो।” 

सुरेन्द्रले आफूले पनि एनआइसी एशिया बैंकबाट कर्जा लिएर डेरी व्यवसाय गरेको र ३ करोड कर्जाले थिचिएको दाबी गर्दै बुवाले लिएको कर्जाको सावाँ–ब्याज तिर्न आफू बाध्य रहेजस्तै बुवाले दिएको कर्जाको सावाँ–ब्याज उठाउनु पनि आफ्नो अधिकार भएको तर्क गरे। “मेरो बुवाबाट निर्मलकुमारका बुवा–आमाले कर्जा लिएका थिए। त्यतिबेला त म विद्यार्थी नै थिएँ, अहिले बुवा बित्नु भएपछि मात्र मैले हरहिसाब हेर्ने बाध्यता आएको हो,” सुरेन्द्रले भने, “उसले जिल्ला प्रहरीमा मलाई मिटरब्याजी भनेर उजुरी पनि दिएको हो, तर प्रहरीले मिटरब्याजी त पुष्टि गर्न सकेन नि।” 

हरहिसाबले नै मिटरब्याजको चरम रुप देखाइरहँदा सुरेन्द्रले आफू मिटरब्याजी नभएको तर्क गरे। गाउँघरमा कर्जा दिँदा ब्याज लिने पूरानै चलन रहेको, आफूले पनि ब्याज मात्र लिएको तर्क गर्दै उनले भने, “उसको दिदीको बिहेका लागि मेरो बुवाले पैसा दिनुभएको थियो, मैले यतिका दिनको हिसाब जोडेको मात्र हो,” सुरेन्द्रले भने, “मिटरब्याजी भनेर हौवा फैलिएपछि बदनाम हुने डरले गाउँघरमा मानिसहरूले पैसा दिन डराइरहेका छन्, अब कसैका छोरी–बहिनीको विहे हुँदा पनि पैसा नपाउने अवस्था आएको छ। अब भन्नुस्, यसले कसलाई अप्ठेरो भयो?” 

जनमत पार्टीका अध्यक्षसँग सुरेन्द्र (सोफामा बायाँ)।

कुराकानी गरिरहँदा उनले पटक–पटक ‘आफू राजनीतिक व्यक्ति भएको’ बताइरहे। यस्ता झमेलामा पर्न नखोजेको प्रष्टीकरण पनि दिए। सुरेन्द्र अहिले सीके राउत अध्यक्ष रहेको जनमत पार्टीका केन्द्रीय समिति सदस्य हुन्। राउतको पार्टीले मधेश प्रदेशमा किसानको हकहितका लागि भनेर बारम्बार आन्दोलन गरिरहन्छ, तर त्यही पार्टीका नेताले मिटर ब्याजको धन्दा चलाएर सप्तरीका एक किसान परिवारको चैन नै खोसिदिएका छन्। 

गत भदौ ५ गते निर्मलकुमारले सप्तरी जिल्ला प्रहरी कार्यालयमा सुरेन्द्रविरुद्ध मिटरब्याजीको आरोपमा उजूरी गरेका थिए। त्यस विषयमा जिल्ला प्रहरी कार्यालयमा दुबै पक्षबीच छलफल भए पनि कुनै निचोड निस्किएन। त्यसअघि ऋण लिँदाको तमसुकका आधारमा सुरेन्द्रका बुवा सत्यनारायणले २०७७ सालमा सप्तरी जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए। २०७८ वैशाखमा अदालतले बोलाएपछि मात्र आफूहरूले यसबारे जानकारी पाएको निर्मलकुमारले बताए। 

सीके राउतको चुनावी अभियानका क्रममा सुरेन्द्र (राउतबाट दायाँ)।

यो मुद्दा अदालतमा विचाराधीन रहेकाले प्रहरीले मिटरब्याजीको उजुरीमा मुद्दा अघि बढाएको थिएन। त्यसपछि जिल्ला अदालतले ५१ लाख रुपैया ऋणीबाट तिराउने फैसला गर्यो। आउँदो चैतसम्म ५१ लाख कर्जा नतिरे थप १८ कठ्ठा जग्गा लिलामबिक्री गरेर भए पनि कर्जा असुल्न अदालतले आदेश दिएको छ।

अदालतले जम्मा ५१ लाख तिर्नुपर्ने ठहर गर्दा पनि सुरेन्द्रले भने निर्मलकुमारसँग १३ करोड तिर्नुपर्ने हिसाब दावी गरेका छन्। “कर्जा बुवाले तिरिसक्नुभएको हो, जालझेल गरेर तमसुक र जग्गा फिर्ता गरिएन। अब फेरि पूरै जग्गाको अहिलेको मूल्य जोडेर कर्जाको रकम तिर्न भनिएको छ। यत्रो रकम तिर्ने हाम्रो हैसियत पनि होइन,” निर्मलकुमारले भने।

स्थानीयका अनुसार जुन ठाउँको जग्गा निर्मलकुमारका बुवा–आमाले कर्जाका लागि साहुलाई ‘धितो’ दिएका थिए, त्यो जग्गा सडक जोडिएको ठाउँमा १० लाख रुपैयाँ प्रतिकठ्ठामा किनबेच भइरहेको छ। बाटो नभएका भित्री खेत पनि कठ्ठाको ३ लाखसम्ममा किनबेच भइरहेका छन्। औसत ५ लाख रुपैयाँ प्रतिकठ्ठाको हिसाब गर्दा पनि निर्मलकुमारका बुवा–आमाले २०६६ सालमा साहुलाई ‘धितो’वापत पास गरिदिएको जग्गाको अहिलेको मूल्य करिब ८ करोड ३५ लाख हुन आउँछ।


सम्बन्धित सामग्री