देशमै रोजगारी सिर्जना गर्न नसकेको श्रममन्त्रीको स्वीकारोक्ति

श्रममन्त्री शेरबहादुर कुँवरले देशमै रोजगारी दिन नसकिएको बताएका छन्। उनले सरकार स्वदेशमै रोजगारी दिन प्रतिबद्ध रहेको जिकिर गरे।

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले स्वदेशमै रोजगारी सिर्जना गर्न नसकिएको स्वीकारेका छन्। 

आइतबार नेपाल एफएम नेटवर्कको वार्षिकोत्सव समारोहमा बोल्दै उनले सरकारले नागरिकलाई रोजगारी दिन नसकेको बताएका हुन्। 

देशले पर्याप्त रोजगारी सिर्जना गर्न नसकेको स्वीकार्दै उनले रोजगारी सिर्जना भएको ठाउँमा पनि नेपाली श्रमिकहरूको आकर्षण नभएको बताए। उनले भने, “रोजगारी सिर्जना गर्न हामीले सकेका छैनौँ। जहाँ रोजगारी सिर्जना भएको छ, त्यहाँ नेपाली श्रमिकको आकर्षण छैन।”

स्वदेशमै नयाँ व्यवसाय खोलेर रोजगारीको वातावरण मिलाउनुपर्नेमा जोड दिँदै उनले नेपालमा रहेका कम्पनीहरूमा काम गर्ने मजदुरहरूमा विदेशीको संख्या धेरै भएको दाबी गरे। 

“मजदुरको अवस्था हेर्दा विदेशी धेरै छन्। नेपालका कम्पनीहरूमा काम गर्नेमा नेपाली कम मात्रै देखिन्छन्। हामी खाडीमा गइरहेका छौँ”, उनले भने, “हामीले मजदुरी प्राप्त गर्नुपर्ने ठाउँमा हाम्रा मजदुर छैनन्।”

गत आर्थिक वर्षमा मात्रै ६ लाख ३० जना श्रम स्वीकृति लिएर विदेश गएको उल्लेख गर्दै उनले ३ वर्ष यता ४६ लाख नेपाली रोजगारीका सिलसिलामा विदेश गएको बताए। नेपालको कूल जनसंख्यामध्ये झण्डै आधा जनसंख्या विदेश रहेको बताउँदै उनले सरकार स्वदेशमै रोजगारीको व्यवस्था गर्न लागिपरेको जिकिर गरे। 

त्यस्तै, मन्त्री कुँवरले श्रम मन्त्रालयले विदेशबाट फर्किएकाहरूका लागि पुनः एकीकरणको कार्यक्रम ल्याएको भन्दै कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए। उनले सामाजिक सुरक्षा कोषको दायरालाई बढाउनसके मात्रै १० लाखसम्मको रोजगारी स्वदेशमै सिर्जना हुने दाबी गरे। 

मन्त्री कुँवरले स्वदेशमै उत्पादन बढाउन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा समेत जोड दिए।

भिडियोः