बढ्दै आर्थिक अपराधका घटना, १ वर्षमा दर्ता भए १३ हजार २६३ बैंकिङ कसुरसम्बन्धी मुद्दा

प्रहरी प्रवक्ता दानबहादुर कार्की भूमण्डलीकरणले ल्याएको परिवर्तन, प्रविधि विकास, आर्थिक गतिविधि अत्यन्त चलायमानका कारण परम्परागत प्रकृतिका अपराधका तुलनामा आर्थिक र साइबर अपराधका घटना बढेका बताउँछन्।

तस्वीर : नेपाल प्रहरी

काठमाडौँ– बर्सेनि अपराधका घटनामा वृद्धि हुँदै गइरहेको प्रहरीको तथ्यांकले देखाएको छ। नेपाल प्रहरीले उपलब्ध गराएको पछिल्लो चार आर्थिक वर्षका तथ्यांकले अपराधको संख्या बर्सेनि बढ्दै गएको पुष्टि गर्छ।

आर्थिक वर्ष २०७७/७८ मा देशभर विभिन्न प्रकृतिका ४० हजार १२० आपराधिक घटनाको मुद्दा दर्ता भएकामा गत आर्थिक वर्ष  २०८०/८१ सम्म आइपुग्दा त्यो संख्या बढेर ५९ हजार २०३ पुगेको छ। आर्थिक वर्ष २०७८/७९ मा ४६ हजार ९०२ र आर्थिक वर्ष २०७९/८० मा ५६ हजार ३२३ मुद्दा प्रहरीमा दर्ता भएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ५.११ प्रतिशतले मुद्दा दर्ता वृद्धि भएको छ।

गत वर्ष सबैभन्दा बढी काठमाडौँ उपत्यकामा १७ हजार ४५ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। पछिल्लो समय सबैभन्दा धेरै आर्थिक अपराध देखिएको छ। चेक अनादरको मुद्दा बढी मात्रामा दर्ता भएका छन्। काठमाडौँ उपत्यकामा आर्थिक गतिविधि केन्द्रित हुँदा आर्थिक अपराधको घटना बढेको प्रहरीको भनाइ छ।

मधेशमा नौ हजार ६२०, कोशीमा नौ हजार ३७८, लुम्बिनीमा सात हजार ६४४, बागमतीमा पाँच हजार १९७, गण्डकीमा चार हजार ६९८, सुदूरपश्चिममा तीन हजार ६०१ र कर्णालीमा दुई हजार २० वटा आपराधिक घटनाको मुद्दा दर्ता भएका छन्।

गत वर्ष सबैभन्दा बढी १३ हजार २६३ बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएका प्रहरीको तथ्यांक छ। सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकतासम्बन्धी १० हजार ७५६, आत्महत्या सात हजार १९४, लागुऔषध चार हजार ३९८, चोरी तीन हजार ७५८, जबरजस्ती करणी दुई हजार ५०७, ठगी एक हजार ८७४, सवारी ज्यान एक हजार ७७५ र ज्यान मार्ने उद्योगसम्बन्धी एक हजार १९ वटा मुद्दा दर्ता भएका छन्। 

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्की भूमण्डलीकरणले ल्याएको परिवर्तन, प्रविधि विकास तथा आर्थिक गतिविधि अत्यन्त चलायमान भएका कारण परम्परागत प्रकृतिका अपराधका तुलनामा आर्थिक र साइबर अपराधका घटना बढेका बताउँछन्।

“परम्परागत प्रकृतिका अपराध खासै बढेका छैनन्, विगतमा आर्थिक कारणले अन्य अपराध हुन्थे, अहिले त्यसको स्वरूप बदलिएको छ, आर्थिक नै अपराधका रूपमा वृद्धि भएका छन्,” प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, “आर्थिक अपराध गाउँमा छैनन्, जहाँ आर्थिक गतिविधि बढी हुन्छन्, त्यहाँ आर्थिक अपराधका मुद्दा बढी दर्ता भएका छन्।”

पछिल्लो समय प्रविधिको विकाससँगै अपराधको स्वरूप पनि बदलिएको उनको भनाइ छ। प्रवक्ता कार्कीले नेपाल प्रहरी अपराधका घटना न्यूनीकरण गर्न र अपराधीलाई कानूनी दायरामा ल्याउन निरन्तर क्रियाशील रहेको बताए। “समुदाय-प्रहरी साझेदारीअन्तर्गत साइबर सुरक्षा तथा सडक दुर्घटना र आत्महत्या न्यूनीकरणलगायतका घटना हुन नदिन प्रयास थालिएको छ,” उनले भने।