सिमेन्टको बिल्डिङ बनेपछि गौँथली देख्न नपाएको धेरै वर्ष भयो। त्यो याद चस्काइदिए मुकारुङले। अनि फेरि यसपालि कलकत्ताको भाभरमा राई माइलाको गीत कस्तो शीतल लाग्यो भने!
“अन्ता, तपाईंले त्यो राई माइला भन्ने गीत सुन्नु भयो?” परिचित एक बहिनीले गफैगफमा सोधिन्।
झल्याक–झुलुक मोबाइलमा देखेजस्तो लागे पनि ध्यान दिएर पूरै गीत सुनेको थिइनँ।
“कुन गीत अरे?”
“ए... कुन दुनियाँमा हुनुहुन्छ हो तपाईं? होइन, साँच्ची नै सुन्नुभा छैन...!”
उसको छक्क परेको आवाज मौनतासित केही बेर छक्कै परिरह्यो। प्राथमिकताहरूको कुरा हो। कविलाई कविता र गायकलाई गीत मनपर्यो भन्दैमा सबैलाई गीत र कविता मनपर्छ भन्न सकिन्न, अनि मन नपर्नु कुनै ठूलो अपराध पनि त होइन।
अरुन्धती रायले यस वर्षको ‘पेन प्रिन्टर अवार्ड’ जित्दा ‘अचाहिँदा सूचनाहरूको रासबाट चाहिने छान्न गाह्रो भइरहेजस्तो हाम्रो वर्तमान समय’बारे कुरा गरेकी छन्। सूचनाको विष्फोटको यो समय सजिलो पनि छ, गाह्रो पनि।
त्यस्तै के–के कुरा सोचिरहेको बेला उताबाट आवाज आयो, “राई माइलाले गाउँ छाडेको गीत कस्तो भाइरल भइराखेको छ, चारैतिर...। तपाईं चाहिँ कुन गीत भनेर सोध्नुहुन्छ अझै...! विशेष, शब्द चैँ साह्रै मन छुने। म पठाइदिन्छु लिंक, सुन्नुहोस नि फेरि...!”
‘वार्निङ’ दिने ‘टोन’मा यति भनेर तिनले फोन राखिन्।
म पुस्तक पसलतिर पुस्तक किन्न जाँदा एउटै लेखकको थुप्रै पुस्तकहरू देखे किन्दिनँ, चाहे त्यो पुस्तक कत्ति नै राम्रो किन नहोस्। मनोवैज्ञानिक कारणहरू होलान् त्यसको। त्यस्तै प्रकारले फेसबुकमा पनि धेरै शेयर भएका भिडियोहरू हत्तपत्त हेर्दिनँ, सुन्दिनँ। सहजै पाइने वस्तु मूल्यवान हुँदैन भन्ने प्रकारको पूर्वाग्रह हो कि! (यस विषयमा पनि श्रवण मुकारुङ अनि कालिप्रसादको अन्तर्वार्ता हेरेको थिएँ। उनीहरूको अडान सही नै लाग्यो।)
राई माइलाले गाउँ छाडेको गीत पनि मेरो त्यही व्यवहारको शिकार भएको थियो होला भन्छु। फेसबुकमा ‘सर्फिङ’ गर्दा त्यो गीत मैले नसुनेको त होइन तर उही शुरूको लाइन मात्रै। त्यसै पनि फेसबुकमा सर्फिङ गर्दा फुर्सदहरू पनि कस्तो हतारमा हुन्छन्। एक पंक्ति गीत नसकिई औँलीहरू अर्को दृष्य कोट्याउन पुगिहाल्छन्। यो समय घटनाको नाममा दुर्घटना बढी मनपर्ने समय हो। मीठो धुनभन्दा ठूलो पहिरो खस्दै गरेको दृष्य आकर्षक लाग्छ। यो बर्खाको मौसम छ अनि टेलिभिजनका पर्दाहरूदेखि सोसियल मिडियासम्म त्यही बाढ अनि पहिरोले बिचल्ली पारेको दृष्य...! त्यसैले धेरै तान्छ आफूलाई। त्यसको पनि मनोवैज्ञानिक पक्ष होला। आफू उक्त दुर्घटनामा नपरेको एउटा सुरक्षाको भावनाको न्यानो हो कि...!
गम्भीर स्वभाव भएकी यी मेरो परिचित बहिनी पेसाले गुरुआमा हुन्। साहित्य मन पराउँछिन्। कविता लेख्छिन्। आफूलाई नारी हस्ताक्षर भनेको मन पराउँदिनन्, किनकि तिनको विचारमा सृजनाको ‘जेन्डर’ हुँदैन।
“भरे गीत सुनिसकेपछि चैँ फुर्सदमा फोन गर्नुहोस् है... बात गर्नु मन लागेको छ।”
मैले ‘हुन्छ’ भनेर फोन राखिदिएँ।
हिन्दीका हास्यव्यंग्य कवि सम्पत सरलले भने झैँ, ‘एक समय घडी थोरै मानिससित थियो तर समय सबैसित। आज घडी सबैसित छ तर समय कसैसित पनि छैन।’
अनि त्यही कविताको अन्तिम पंक्तिमा लेखेका थिए, ‘जिन्दगी क्या है, जरा मोबाइल हटाके देखो।’
आजदेखि चैँ लौ म पक्कै फेसबुक र ह्वाट्स् एप हेर्दिनँ भन्ने सोच्छु तर कसोकसो फेरि कोट्याउन पुगिहालिँदो रहेछ।
000
कलकत्ताबाट केही दिनअघि मेरो वकिलले फोन गरेर भनेको थियो, “२८ जुन तपाईंको डेट छ। यसपालि चैं आफै उपस्थित हुनुपर्छ, नभए पुलिस वारेन्ट जारी हुन्छ। डेट लेखिराख्नोस्, नभुल्नुहोस् है। कुनै पनि हालतमा हाजिर हुनैपर्छ।”
सन् २०१० मा दार्जीलिङमा मदन तामङको हत्या भएको थियो। तिनको पार्टी गोर्खा लीगले दर्ता गरेको प्राथमिकीमा मोर्चा नेताको हैसियतले मेरो पनि नाम थियो।
आफ्नो परिवारसहित अन्दमान द्वीप घुम्न गएका मेरो वकिल अघिल्लो तारिख अदालतमा अनुपस्थित भएको थिएछ, जसको कारण व्यक्तिगत रूपमा म कलकत्ता अदालतमा हाजिर नभई नहुने परिस्थिति तयार भएकाले कलकत्तामै थिएँ।
दिउँसो ह्वाट्स् एप चेक गर्दा बहिनीले पठाएको लिंक फेला पर्यो। लिंक खोलेर आरामसित गीत सुनेँ। गीत सुन्नु मनपर्छ तर त्यहाँ पाइने अथवा नपाइने तत्वहरू केलाउन सक्ने जानकार म होइन। कुनै सुन्दर वस्तु देखेर त्यसमा भएका तत्त्वहरू केलाउन खोजे तत्त्वहरू त थाहा लाग्छ तर वस्तुको सुन्दरता नष्ट हुन्छ भन्ने प्रकारको कुनै दार्शनिक तर्क याद आयो। धेरै समयपछि एउटा मीठो अनि दुःखको गीत सुनेर आनन्दविभोर भएँ। विभिन्न आकार र प्रकारका राई माइलाको अनुहार आँखा अघि आइरह्यो। केही परिचित र थुप्रै अपरिचित। दिल्लीको हड्डी पगाल्ने गर्मीमा रोड साइडमा मोःमो बेचिरहेका राई माइलादेखि कल सेन्टरमा काम गर्ने अनि होटल र पार्लरमा राई माइला साथै माईलीहरू कम छन् त...!
000
श्रवण मुकारुङ उसै पनि मेरो प्रिय कवि। दार्जीलिङका नोर्जाङ अनि नेपालका मुकारुङ भेटे जति पनि पढ्छु। लोभ लाग्छ दुवैको। ताजापना पाइन्छ यिनिहरूको कवितामा, थकान मेटिन्छ। केही महिनाअघि त हो मेरा एक आफन्तले केही नयाँ अनि पुराना नेपाली गीतहरूको पीडीएफ पठाएका थिए। मुकारुङद्वारा लिखित दुई वटा गीत थिएछन्। ती धुनहरू अझै पनि मेरो मनबाट बाहिरिएका छैनन्। पहिलो ‘गौँथलीझैँ यो गाउँमा...’, अनि दोस्रो ‘हजुर...हजुर...ए हजुर...!’ (संगीत/स्वरः आभाष)
अघि खरको घर थियो, त्यसैले सिकुवा र बलेसी पनि थियो। गौँथलीको गुँड पनि थियो। सिमेन्टको बिल्डिङ बनेपछि गौँथली देख्न नपाएको धेरै वर्ष भयो। त्यो याद चस्काइदिए मुकारुङले। अनि फेरि यसपालि कलकत्ताको भाभरमा राई माइलाको गीत कस्तो शीतल लाग्यो भने!
‘उँभो उँभो शैलुङ्गेमा चौँरी डुलाउँदै हत्केलामा मायाको गुराँस फुलाउने’ मुकारुङलाई यसपालि गाउँ छाड्ने माइलाहरूको व्यथाले निक्कै सारो पारेको बुझेँ। राई माइलाहरू दार्जीलिङ–डुवर्सतिर पनि कम छैनन् र नै तिनको गीत यतातिर पनि लोकप्रिय भयो। दोहोर्याई तेहर्याई सुनेँ। मेरो निम्ति यो गीत आफ्नो अनुभवभित्रको संसारभरिका राई माइलाहरूको गीत थियो। कति राई माइला परिवारबाट छुटेर एक्लो छन् त कति समाजदेखि छुट्टिएर एक्लै। कति राज्यबाट छुट्टिएका छन् त कति देशबाटै। राई माइलाहरूको सर्वेक्षण गरेमा त्यो जमात सानो छैन।
राई माइलाहरू कतै व्यक्तिको आकारमा छन् त कतै जातिको आकारमा। कतै कतै सँगै बसेझैं पनि देखिन्छ दशकौँअघि छुट्टिएका राई माइलाहरू। अनुहार र नामबाहेक अर्थोक सबै नै मालिकलाई जिम्मा लगाएका माइलाहरू। यतिखेर म राजनीतिक राई माइलाहरूको कुरा गरिरहेछु।
मुकारुङको कविता पहिलोपल्ट मैले ‘गरिमा’मा पढेको थाहा छ, ‘रमण दाइ डेरा सरेछन्’ शीर्षक थियो शायद। रमण दाईलाई काठमाण्डुमा भेट्न गाउँबाट आएको त्यो गाउँलेले डेरामा ताला झुन्डिएको भेटेको थियो। बस्ने अर्को टुंगो नभएको विचरा त्यो गाउँले मानिसको कस्तो बिल्लिबाठ भयो होला। धेरै दिनसम्म मलाई त्यो गाउँलेको चिन्ताले पिरोलेको थियो। त्यसपछि मुकारुङसित मेरो भेट ‘भरियाजस्तै जुन बोक्ने’ दिदीसित भयो। जीवन, जगत, मोक्षजस्ता दर्शनशास्त्रका विषयहरूमा कवितालाई नअल्मल्याई गाउँका मानिसहरूको कथा भन्नमा खप्पिस मुकारुङले यसपालि गाउँकै माइलाको मर्मस्पर्शी गीत लेखेछन्।
कयौँ शताब्दीदेखि गाउँ छाड्ने माइलाहरूको प्रक्रिया जारी छ। सरकारको सर्वेक्षण विभागको निम्ति यी घटना विभागीय आँकडाबाहेक क्यै होइनन्। तर कतै अर्कै ठाउँ अथवा अर्को देशमा पुगेर प्रसिद्ध भइगएको खण्डमा भने उसलाई देश छाड्न बाध्य बनाउने व्यवस्था नै नाक घोक्य्राउनमा प्रथम हुन्छ। ‘आफ्नो मान्छे’ भनेर दाबी गर्न पछि पर्दैन। अनि सचेत नागरिकको वर्गमा पर्ने जन्तुहरू चिच्याउन थाल्छन्, ‘खोई त हाम्रै देशमा प्रतिभाहरूले सुयोग पाएको’ भनेर।
देश र देशवासीको पीडासित यस्ताहरूलाई कुनै सरोकार हुँदैन। उनीहरू त बस आफ्नो संगठनको लाइसेन्स नवीकरण गर्ने ताक हेरिरहेका हुन्छन्। देशमा नोकरी नपाएको यस्तै एउटा बेकार युवा सन् १९६६ मा भारतको हरियाणाबाट अमेरिकातिर लागेको थियो। सन् १९६८ मा उसले बायोकेमेस्ट्रीमा नोबेल पुरस्कार पाएपछि डल्लै भारत देश र व्यवस्था त्यस ठिटोबारे जान्न हरियाणा पुगेको थियो। यी बेकार युवाको नाम थियो हरगोविन्द खुराना।
‘सचेत नागरिकहरू’ त्यस समय पनि देशले प्रतिभालाई यथोचित स्थान नदिएकोमा चिच्याएका थिए। त्यस बेला हरिशंकर परसाईंले एउटा लेख लेखेर ‘ब्रेन–ड्रेन’ समर्थन गर्दै भनेका थिए, “ट्यालेन्टको देश मे रखकर क्या करोगे? आखिर वो खानेका काम भी तो नहीं आता। इससे बेहतर तो अमेरिका हमारी ट्यालेन्टको ले जाए और हर ट्यालेन्ट के बदले ४ बोरी चावल भेज दे।”
000
सन् १९७० को दशकतिर नेपालका राजाले ‘गाउँ फर्क राष्ट्रिय अभियान’ पनि नचलाएका होइनन्। हामी यता दार्जीलिङमा रेडियो नेपाल सुन्थ्यौ, विशेष नारायणगोपाल र गोपाल योञ्जनका गीतको लोभमा। तारादेवी र बच्चु कैलाशका गीत पनि उस्तै लोभ लाग्थ्यो। राष्ट्रिय आह्वानहरू त सरकारी बाध्यता न हुन्, तिनको अक्षरशः पालन सन्देहजनक नै हुन्छ। यस्ता आह्वानको जन्म मस्तिष्कबाट हुन्छ। मुकारुङको गीतले संसारभरिका माइलाहरूलाई मनबाट आह्वान गरेको बुझेँ। एउटा माइलाको हात समातेर पाठक/स्रोताले संसारभरिका माइलाको दिशा र दशा बुझ्नसक्ने यो गीतमा कालीप्रसादजीले कति मिठो धुन भरेछन्– मन छुने।
योभन्दा अघि खेमराज गुरुङको ‘वारि जमुना, पारि जमुना’ले यतातिर त्यस्तै तहल्का मच्चाएको थियो। कुनै पनि आयोजना त्यो गीतबिना पूरा हुँदैनथ्यो। बलिउड संगीतको प्रभावमा चुर्लुम्म दार्जीलिङ पहाडको आधुनिक गीतले कान पाकेका स्रोताहरूको निम्ति खेमराजको गीत ‘अर्गानिक’ धुन भएर आयो। नेपाली गीतहरूको निम्ति स्वस्थकर अनि स्रोताको निम्ति पनि पुष्टिकर र टेसिलो।
तर राई माइलाको धरातल निक्कै व्यापक छ। संसारभरि छन् राई माइलाहरू।
यो समय सृजनाहरूको पनि भजन मण्डली हुनपर्ने समय हो। सर्जकहरूको पनि आआफ्नो झुण्ड हुन्छ। साहित्य, संगीत, कला सबैतिर यो रोग महामारीझैँ भएकै कारण ‘फ्यान क्लब’ चाहिन्छ सबैलाई। विमोचनको दिनबाहेक अरू बेला बिक्दैनन् पुस्तक वा क्यासेटहरू। गायक र गीतकार दुवै परिचित भएको कारण गीत मन पराउँछन् कति त, कति चैँ नचिनेकै कारण राम्रो रचना पनि सुन्न मान्दैनन्। सृजनामा पनि पूर्वाग्रह हाबी हुन्छ अचेल।
यस्तो समयमा राई माइला दार्जीलिङ डुवर्सतिर भाइरल भयो।
मेरो जानकारीअनुसार दार्जीलिङ पहाड अनि डुवर्समा न त कालीप्रसाद लोकप्रिय छन्, न त श्रवण मुकारुङ नै। पढ्नेहरूमा पनि कति त पेसागत इस्र्याका कारण पनि अरूको प्रचार गर्दैनन्। गीतकार हुनुको पीडा के छ भने, राम्रो गीत बनेका खण्डमा गीतकार र संगीतकार कता हराउँछन् कता। चारैतिर गायक मात्र देखिन्छ। झन्डै–झन्डै गीतको ‘सोल प्रोपाइटर’ हुन्छ गायक। यता भारतमा लता र रफी सबैलाई थाहा छ तर आम श्रोताको निम्ति एसडी बर्मन, मदन मोहन, नौशाद, आरडी बर्मन, लक्ष्मीकान्त प्यारेलाल अनि अन्य धेरैबारे कुनै ज्ञान छैन भन्दा हुन्छ।
000
गत वर्ष (२०२३) ‘कलिङ्ग फेष्ट’मा उपस्थित हुन नेपाल गएको बेला साहित्यिक पत्रिका ‘गरिमा’ बन्द भएको थाहा पाएँ। त्यति धेरै पाठक भएको साथै प्रतिष्ठित पत्रिका किन बन्द भयो होला भनेर दुःख लाग्यो। अहिलेको समयमा प्रकाशक पर्खिबस्नुपर्ने आवश्यक्ता छैन। लेख्यो, सिधै फेसबुकमा। गीत पनि त्यही हो। भारत–नेपालतिर यसबीच कति बन्द पत्रिकाका लेखकहरू फेसबुकतिर बसाइँ सरे होलान्। फेसबुकले तत्कालै लेखेको कुरा पाठक सामु पुर्याइहाल्छ, अनि एकथरी लेखकमा लामो समयसम्म पर्खिने धैर्य पनि नहुँदो हो। इलेक्ट्रोनिक मिडिया हाबी भएको यो समयमा पत्रिका पढ्न नयाँ पिँढीकाहरू के रुचाउँथे र! तर देशकै प्रतिभाहरूलाई प्रोत्साहन दिनसक्ने पत्रिका बन्द भएको सुन्दा दुःख लाग्यो, साथै आश्चार्य पनि। किनकि, मैले प्रथमपल्ट मुकारुङलाई भेटेको पनि त्यही गरिमामै हो।
नयाँ–नयाँ शब्दहरू चलनमा आएका छन् अचेल। कति ‘लाइक’ पाइयो अथवा कति ‘शेयर’ भयो भन्ने कुराले लोकप्रियता नापिन्छ। नेताहरू मात्र होइन, कवि र गायकहरू पनि अचेल भोटद्वारा चुनिन्छन्। भारतमा शुरू भएको ‘इण्डियन आइडल’ अनुकरण गरेर नेपालले पनि नेपाल आइडल शुरू गर्यो। देखासिखिमा नेपालीलाई कसले भेट्ने! अझ ‘पोएट आइडल’ नै शुरू गरेर नेपालले भारतलाई छक्कै पारिदियो। अब को श्रेष्ठ कवि अथवा गायक भन्ने कुरा सृजनाको गुणस्तरले होइन तर जनताको निर्णयमा भर पर्ने भयो। भाग्यवश देवकोटा, सम अनि लेखनाथहरू यस्तो अप्ठ्यारो परिस्थितिबाट बाँचे, बँचे।
नेपालले आयोजना गरेको पोएट आइडल मैले पनि उत्सुकतासित हेरेँ, सुनेँ। आफूलाई राम्रो लागेको कति कविहरू कम भोटको कारण बाहिरिए। केही कवितामा समाजको मर्मस्पर्शी कथा थियो। तर ती प्रतिस्पर्धाबाट चाँडै बाहिरिए। कुरा आखिर कविको या त तिनको कविताको गुणस्तरको थिएन। जिम्मा पाठकले लिएपछि कवि उत्पादक मात्र रहे अनि पाठकको स्तर घटेर हो वा बढेर हो, उपभोक्ता भए। यस्तो प्रयासको अन्तमा कति असल कविहरू शिकार भए। कवितामा पनि बजार पस्यो।
000
फर्कौं फेरि राई माइलाको कुरामा। यही दार्जीलिङ पाहाडमा रोजगार अनि उच्च शिक्षाको खोजीमा बाहिरिनेहरूको संख्या सानो छैन। मेरा एक मित्र बेलायत घुम्न गएका थिए। त्यहाँबाट तिनलाई अस्ट्रियाको पहाड (आल्प) तिर घुम्ने इच्छा भएछ। बेलायतको साथीसित आफ्नो इच्छा व्यक्त गर्दा ती साथीले मेरा मित्रलाई भनेछन्, “जाउ–जाउ....मजा आउँछ तिमीलाई।”
यस्तो उत्तर सुनेर साथीले ‘किन?’ प्रश्न गरेछन्।
“त्यो आल्पमा जति पनि टेन्ट हाउसहरू छन् ती सबै नेपालीहरूले चलाउँछन्। त्यो वरिपरि हिउँ मात्र भएको रुग्रुगे पाखामा अरूले त बस्ने आँट गर्दैनन् तर नेपालीहरू अनि विशेषगरी भिसा नभएकाहरू आरामसित बस्छन्। कहिलेकहीं देखा पर्ने टुरिष्टहरूको भरमा रोजगारको बाटो खोजी निकाल्छन्।”
छक्क परेर मेरा मित्रले यस्तो कुरा सुनाउँदै भने, “त्यति सुन्दर आफ्नो देशमा चैँ क्यै गर्न नसक्ने तर अर्को देशमा अरू कसैले गर्न नसक्ने वा नचाहने काम पनि ढुक्कैसित गर्ने, कस्तो मानसिकता हगि हाम्रो मान्छेको?”
हाम्रो राजनीति र व्यवस्थामा राई माइलाहरूलाई देशभित्रै जीविकाको सुविधा मिलाउने योजना छैन। नेताहरूले न देश बुझेका छन् न त समाज। तर नारा सँधै ‘नयाँ सोच’ अनि ‘परिवर्तन’कै लगाउँछन्। जनसभाहरूमा नेताहरू भन्छन्, “देशको आत्मा शहर होइन, गाउँमा बस्छ।”
तर गाउँमा त देशले लात खाएको हामीले देखेका छौँ। यी नेताहरूले गाउँ त्यति नै देखेका छन् जति यिनीहरूले आत्मा देखेका होलान्। त्यसो र त पिउने पानी उपलब्ध गराउने नारा दिएर भोट जित्ने तर जनतालाई काकाकुलकै अवस्थामा राख्नेहरू हर्क साम्पाङसित डराउँछन्। उसले कठिन परिश्रम गरेर ल्याएको पानीको पाइप काटिदिन्छन्। समाज विरोधी अनि अपराधीहरू पनि आदरणीय भइरहन सक्ने एउटै पेसा राजनीति मात्र हो भनेका छन् अमेरिकी उपन्यासकार मार्क ट्वाइनले। अनि त के गरुन् विचरा राई माइलाहरू!
भारत अनि नेपालको राजनीति लगभग एकै प्रकारको छ। हामी काम गर्नको निम्ति होइन तर दुर्घटनामा चिन्ता व्यक्त गर्नलाई सरकार चुन्छौँ। व्यवस्थाबाट सहयोग होइन तर अवरोधको मात्र सामना गर्नपर्छ हर्क र बालेन वर्गकाहरूले। धन्न उनीहरूले गाउँ छाडिहालेका छैनन् अनि अर्को राई माइलाको गीत हामीले सुन्न परिहालेको छैन।
000
दार्जीलिङको एउटा चियाकमान, तकभरमा चिया श्रमिक बाबुरामले गलामा पासो हालेर बगानमै झुण्डी मरे। यो केही वर्षअघिको घट्ना हो। कमान बन्द भएको कारण श्रमिकहरू भोकभोकै थिए। बाबुरामले आफ्नो परिवारको भोक हेर्न सकेनन्। तिनको छातीमा एउटा फट्टा झुण्डिएको थियो, जसमा लेखिएको थियो, “व्यवस्थाको निगाह परोस्। म जसरी भोकको कारण व्यवस्थाको दृष्टि आकर्षण गर्नलाई आत्महत्या गरिरहेछु, मेरो परिवारले पनि त्यसो गर्न नपरोस्।”
व्यवस्थालाई यस्तो सन्देश दिइराखेर चियाबारीका राई माइलाले देश होइन दुनियाँ नै छाडेर गए। तर चियाबगान बन्द हुने प्रक्रिया अझै बन्द भएको छैन। एक सातालाई खबर कागजको हेडलाइन भयो बाबुरामको आत्महत्या अनि स्वतः हरायो। आज झन्डै एक दशक जति भयो त्यो घटना भएको, विश्वप्रसिद्ध दार्जीलिङ चिया उत्पादन गर्ने श्रमिकहरूको अवस्थामा कुनै सुधार छैन। कति बाबुरामहरू रोग अनि भोकले चुपचाप मरे अनि त्यो प्रक्रिया अझै जारी नै छ।
राई माइलाका गीतकार मुकारुङ भन्छन्–
‘एउटा मान्छे जाँदा एक्लै कहाँ जान्छ...
उसले गाई हिँड्ने गीत पनि आफुसितै लान्छ...!’
राई माइलाको गीत चियाबारीको गीत पनि हो। विराट छ राई माइलाको रूप– झन्डै–झन्डै महाभारतको युद्धमा कृष्णले देखाएको विराट रूपजस्तै।
आफू जन्मे, हुर्के अनि बढेको ठाउँ स्वेच्छाले त कसले छाड्न चाहान्छ र! कि परिवारको बाध्यता, कि त व्यक्तिगत सपनाहरू नै मानिसलाई जन्मथलो छाड्न बाध्य बनाउँछन्। कोरोना महामारीको समय यसरी घर छाड्ने मानिसहरूको देशभरिको स्थिति हामीले देख्यौँ। बिहारका मजदुरहरू तामिलनाडुको रेल लाइनमा काटिएर मरे। दुबई, सिंगापुर, लेबानन, इजराएलदेखि दिल्ली, मुम्बई, चेन्नाई र देशका अन्य जग्गाबाट दार्जीलिङ फर्केका नेपालीहरूको ताँती देखेर हामी छक्क परेका थियौँ। उताका राई माइलाहरूलाई अरुण खोलाले रोक्न नसकेझैँ यता दार्जीलिङकाहरूलाई पनि कहाँ सक्यो त टिस्टाले रोक्न!
एउटा समय थियो, जब दार्जीलिङका स्रष्टाहरू ठूलो क्षेत्र खोज्न नेपाल छिर्थे। यी सांस्कृतिक राई माइलाहरूमा गोपाल योञ्जन, अम्बर गुरुङ, मनबहादुर मुखियाहरू प्रमुख हुन्। (अगमसिंह) गिरी र (हरिभक्त) कटुवालहरू पनि उसो त गएकै हुन् तर उचित सुयोगको अभावमा पुनः भारत (आसाम अनि दार्जीलिङ) फर्के। अविनाश श्रेष्ठको अचेल सारै कुरा सुनिँदैन। सञ्चै होलान् कि भन्ने आशा गर्छु। नालापानीमा कुँवर बलभद्रले जस्तो परिस्थिति भोग्नुपर्यो झण्डै त्यस्तै परिस्थितिको सामना गर्नुपर्यो आसाम अनि, दार्जीलिङका कलाकारहरूले नेपालमा अनि त्यस्तो निस्सासिने परिवेशदेखि फर्केर आई गिरीले अरूलाई पनि चेतावनी दिँदै लेखेको हुनपर्छ–
नजाउ फर्की नेपाल
उठेर भन्छ देउराली
समाती दिउँला पैताला
मायालु पाखा चियाबारी।
तर चियाबारीले समात्न सकेन बगान छाडी जाने नेपाली श्रमिकको पैतालालाई। गीतकार, गायक अनि कविहरूको काम समाधान नै दिने त कहाँ हो र? समस्यालाई सही ढंगमा प्रस्तुत गर्न सके यो संवेदनाहीन हुँदै गएको व्यवस्थालाई झक्झकाउन सकिन्छ कि भन्ने प्रयास त हो। यो सफल प्रयासलाई कोटी नमन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
