उज्ज्वला उर्फ ‘अप्वः मिसा’

बाल्यावस्थादेखि युवावस्थासम्म महिलाहरूलाई समाजले कसरी प्रश्न गर्छन् र ती प्रश्नको जवाफ उनीहरूले कसरी फर्काउनुपर्छ भन्ने उज्ज्वलाले आफ्नो र्‍यापमा प्रस्तुत गरेकी छन्।

काठमाडौँ– उनी करिब पाँच वर्षकी थिइन्। त्यस उमेरमा केटा र केटीको भेद/विभेद राम्ररी जान्ने भइसकेकी थिइनन्। त्यसैले, केटा होस् वा केटी– उनीहरूसँग हाँस्थिन्, खेल्थिन्, रमाउँथिन्, कुद्थिन्। खुसी थिइन्।

तर एकदिन उनको खुसीमा अंकुशे लगाउँदै छिमेकी अजी (हजुरआमा) ले उनको हात समात्दै नेपाल भाषामा हप्काइन्, ‘मिसा मचा जुयाः। अथे ब्याँय् ब्वाँय् जुइउला। अप्वः जुइपिं मिसापिन्त छु जुइ स्युला?’ (केटी मान्छे भएर यसरी बढ्ता भएर दगुर्दै हिँड्ने हो? बढ्ता हुने आइमाईलाई के हुन्छ थाहा छ?)

त्यति बेला उज्ज्वला महर्जनलाई ‘बढ्ता हुनु’ भनेको के हो थाहा थिएन। किन ‘केटी मान्छे’ भन्ने शब्दलाई यति जोड दिएर ती अजीले भनिन् भन्ने पनि राम्ररी बुझेकी थिइनन्। समयले बिस्तारै बुझाउँदै लग्यो।

बाल्यावस्थाका यिनै घटनाले कवि र हाल नेवाः र्‍यापरका रूपमा स्थापित भइरहेकी उज्ज्वलालाई परिस्थितिले यी दुई लिंगका भेद/विभेद बुझाउँदै गयो। सानोमा उनले सुनेका ती शब्द उनी अझै सम्झिई रहन्छिन्। उनलाई झन् झन् बनिदिन मन लाग्छ– अप्वः मिसा।

अर्को घटना पनि छ।

उज्ज्वला कविता लेख्ने र कवितामार्फत नै समुदायसँग जोडिने ‘वर्ड्स वारियर्स’ नामक परियोजना सञ्चालन गर्थिन्। त्यही परियोजनामार्फत सन् २०१० तिर उनले ‘११ः११ पोइट्री च्यालेन्ज शो’मा सहभागिता जनाइन्। त्यहाँ उनलाई एक पटक सोधिएको थियो, ‘महिला र पुरुषबीचको फरकबारे कहिलेबाट बुझ्न थाल्यौ?’ 

त्यस कार्यक्रममा उनीहरूलाई कविता लेख्न सिकाइन्थ्यो। आफूले लिंगबारे बुझेको परिभाषामा कविताहरू लेख्ने निधो गरिन्। केटीहरूलाई किन दबाइन्छ भन्नेबारे आफ्नो बुझाइ फराकिलो बनाउन थालिन्।

तिनै घटनाले नै उज्ज्वलालाई ‘अप्वः मिसा’ नामक र्‍याप सिर्जना गर्न प्रेरित गर्‍यो। पछिल्लो यस र्‍यापमार्फत उनले महिलामाथि गरिने प्रश्नहरूको जवाफ दिने प्रयास गरेकी छन्। यो गीत नेपाल भाषामा गाएकी छन्, जुन उनको मातृभाषा हो। सबटाइटल भने अंग्रेजीमा राखिएको छ।

बाल्यावस्थादेखि युवावस्थासम्म महिलाहरूलाई समाजले कसरी प्रश्न गर्छन् र ती प्रश्नको जवाफ उनीहरूले कसरी फर्काउनुपर्छ भन्ने उज्ज्वलाले आफ्नो र्‍यापमा प्रस्तुत गरेकी छन्। समाजले महिलालाई सोध्ने प्रश्नहरूलाई एक किसिमको दबाब बताउँदै उनले जवाफ फर्काएकी छन्–

आखः ब्वंकाः मिखा कंकाः मांया चःति ख्वबिं
म्हग्स गथे याना स्वयेउ धयाः क्यना ब्यूउ दु
भविष्य थः ये च्वयेउ धयाः स्यना ब्यूउ दु
धाउ दु– क्वत्यला तउ इतिहास नं लुमंकि न्ही

(पढाइ, लेखाइ, हुर्काइ  जसले आँखा दिए खोलिदिए
माया दिई, सिकाइदिए सपनाहरू देख्न
सिकाइदिए आफ्नो  भविष्य आफैले लेख्न
तिनी भन्छन्, याद राख्नू दबाइएको इतिहास)

र्‍यापमार्फत उज्ज्वलाको सन्देश छ, महिलालाई ‘बढ्ता’को ट्याग लगाएर दबाउन खोजिएको हो। उनीहरूलाई नबोल्नू, यस्तो नगर्नू भन्नु भनेको उनीहरूको आवाजलाई थुन्नु बराबर हो।

उज्ज्वलालाई यस्ता ‘अप्वः मिसा’ महिलाका भावना र्‍यापमार्फत ल्याउन पक्कै सहज थिएन।

उनी अमेरिकामा स्नातकोत्तर पढ्दाको कुरा हो। नयाँ परिवेशमा अलि गाह्रो भएको थियो। नेपालमा सिकेका र अभ्यास गरेका कविताका शैली विदेश पुगेपछि परिवर्तन भएका थिए। त्यहाँ उनी कविताका विभिन्न आयामसँग नजिक भइन्। आफूलाई पनि विभिन्न आयाममा पर्गेल्न थालिन् र तिनलाई आफ्ना कवितामार्फत पस्कन थालिन्।

बिस्तारै उनमा कवितामा कसरी र्‍याप घुसाउन सकिन्छ भनेर जान्ने हुटहुटी जाग्यो। शुरूमा साइफरबाट आफ्नो यात्रा शुरू गरिन्। साइफर भनेको र्‍यापको एउटा अनौपचारिक जमघट हो, जहाँ गोलो घेरामा बसेर पालैपालो आफूले लेखेका कविताका हरफ प्रस्तुत गर्नुपर्छ। अमेरिकामा यसको अभ्यास धेरै हुन्थ्यो। मैत्रीपूर्ण प्रतिस्पर्धा हुने यस जमघटले उनलाई शब्दहरू खेलाउन, भावनाहरू फराकिलो बनाउन सहयोग गर्‍यो।

यो अभ्यास उनलाई सकसपूर्ण भए पनि बिस्तारै अभ्यस्त भइन्। नयाँ–नयाँ विधामा कला प्रदर्शनी गर्दै गइन्। र्‍यापहरू सुन्ने क्रम तीव्र पारिन् र त्यसभित्रको संवेदनशीलता मूल्यांकन गर्न थालिन्। आफ्ना मनका भावनाहरू पनि क्यामराअघि उभिएर र्‍याप शैलीमा भन्न थालिन्। आफूसँग खाली समय हुनेबित्तिकै कवितामार्फत आफ्ना हजुरआमाका इतिहासहरू खोतलेर, सम्झिएर कवितामा समेट्न थालिन्। 

“हजुरआमा कसरी हिँड्नुहुन्थ्यो, घरभित्रको काम कसरी गर्नुहुन्थ्यो, उहाँका कति सपना पूरा भए/भएनन्? के–कस्ता इच्छा थिए? कति ठाँउमा घुम्न जानुभयो? उहाँलाई कतिसम्म दबाइयो? यावत् प्रश्नहरूको उत्तर मैले कवितामार्फत खोज्न थालेँ,” उनी भन्छिन्, “अनि तिनै दबिएका आमा–हजुरआमादेखिका महिलाका आवाज मैले र्‍यापमार्फत ल्याउने सोच बनाएँ।”

उज्ज्वला र्‍यापप्रति आकर्षित हुनुको अर्को कारण पनि छ।

केटाहरूले गाएका धेरै र्‍याप सुन्दा उनलाई स्त्रीद्वेषी लाग्थ्यो। महिलालाई होच्याउने र असंवेदनशील भएको महसुस गर्थिन्। त्यसभित्रका भाषाका ‘पावर डाइनमिक्स’ पनि उनले पढ्न पाइन्। त्यो भनेको कुन भाषा शुद्ध वा अशुद्ध भनेर जान्नु हो। अश्वेत अमेरिकीहरूको भाषा अमेरिकामा किन अशुद्ध मानिन्छ भन्ने प्रश्नले उनलाई आफ्नै भाषाको नजिक पुर्‍यायो।

“नेपाली समुदायमा हामीले बोल्ने भाषा अशुद्ध छ नै, हाम्रै नेवार समुदायभित्र पनि यस्ता विभेद प्रशस्त छन्। जात, वर्ग र लैंगिकताको आधारमा विभेद छँदैछ, कसले बोल्ने भाषा शुद्ध वा अशुद्ध भन्ने विभेद पनि छ,” उनी भन्छिन्, “मैले पनि मेरो मातृभाषामा लेख्न धेरै पटक प्रयास गरेको थिएँ, तर सकिरहेको थिइनँ। मैले बोलीचालीका आधारमा नै नेपाल भाषा सिकेको र बोलेको हुँ।”

उज्ज्वलाका अनुसार, नेपालको इतिहासलाई हेर्दा शासकले नेपाल भाषालाई सम्बर्धन र प्रबर्धन गरेको पाइँदैन। राज्यले थाहा पाए सजाए हुने डरले चुरोटको बट्टामा लेखेरसमेत नेपाल भाषामा कुराकानी गर्नु पर्थ्यो। नेपाल भाषामा बोल्दा आफ्ना साथीसंगीले ‘गाउँले जसरी बोलेको’ भनेपछि उनी स्वयंले नेपाल भाषामा बोल्न त के लेख्न पनि आँट गरिनन्। “अहिले आएर बल्ल आफ्नो भाषाको महत्त्व बुझ्दैछु र नेपाल भाषामा र्‍याप लेख्ने प्रयास गरिरहेको छु,” उनी भन्छिन्। 

यसरी आफ्ना अनुभव र आफ्नै समुदायको भाषामा र्‍याप लेख्दै गरेकी उज्ज्वलाले ‘अप्वः मिसा’ लेख्दा मातृभाषाको मात्र नभई हजुरआमा र आमाहरूबारे पनि सोच्न थालिन्। उनकी हजुरआमाले आफ्नो कथा मातृभाषामा नै भन्थिन्। ती कथा अहिले नयाँ पुस्तामा स्थानान्तरण भएको छ।

“कथाहरूले यात्रा गर्छन्। मैले आफ्नो कथा र्‍यापमार्फत भनेको छु तर यो तपाईंको पनि कथा हो। मेरो आवाजमा तपाईंहरूको मनभित्रको आवाज पनि सुन्न सक्नुहुन्छ,” उनी भन्छिन्।

उज्ज्वलाले समलिंगी महिलाहरूसँग पनि काम गरेकी छन्। समलिंगी महिलाहरूलाई पनि समेट्दा सबै महिला आवाज समेटिन्छ भन्ने उनको धारणा छ।

उज्ज्वलाले ‘अप्वः मिसा’ सन् २०२० तिर लेखेकी हुन्। गीतको शब्द र पात्रहरू मात्र होइन, उनले बाद्यबादनदेखि निर्देशनसम्म महिलाहरूकै टोलीसँग काम गरेकी छन्।

र्‍यापमा नेवारी लोकवाद्य कलाकार सारदा डंगोलले खिं बाजा बजाएकी छन्। डंगोल ती थोरै नेवाः महिलामध्ये एक हुन््, जसले परम्परागत तालवाद्यको अभ्यास गरिरहेकी छन्। शुरूमा यसको अभ्यास गर्न महिलालाई रोक लगाइन्थ्यो।

गीतको म्युजिक भिडियो र्‍याप कलाकार तथा ‘भिजुअल स्टोरी टेलर’ सुस्किहाना गुरुङले निर्देशन गरेकी छन्। उनको काम अल्पसंख्यक महिलामा केन्द्रित छ। ‘अप्वः मिसा’को संगीतकार तथा निर्माता राहुल गिरी हुन्। र्‍यापमा राहुलले परम्परागत र प्रयोगात्मक ध्वनिहरूको संयोजनमार्फत नयाँ सांगीतिक आयाम थपेका छन्।

“जुन विषयमा मैले काम गरिरहेको थिएँ, त्यसका लागि मलाई यो विषय बुझ्ने मानिसहरूको खाँचो थियो। त्यही भएकाले व्यक्ति छनोटमा एकदम समय लगाएको थिएँ,” उज्ज्वला भन्छिन्।

आर्थिक रूपमा पनि उज्ज्वलालाई गाह्रो भएको थियो। धेरै लगानीकर्ताहरूलाई उनले आवेदन दिएकी थिइन्। कसैले पनि लगानीको इच्छा नदेखाएपछि आफ्नै लगानीमा यो र्‍याप ल्याएकी हुन्।

यस र्‍यापमार्फत नेवाः समुदायलाई चिनाउने र संस्कृतिलाई जोगाउने त छँदैछ, नेवाःहरूका विविध कामका लागि प्रेरणा पाउन सकिन्छ। उज्ज्वला भन्छिन्, “नेवाः भन्ने बित्तिकै संस्कृति जोगाउने कुरा मात्र आउँदैन। यदि, संस्कृति संरक्षण गर्न मात्र बनाउने हो भने मैले बनाएको र्‍याप संग्रहालयको एउटा सामग्री मात्र हुन्छ।”

यो र्‍याप प्रस्तुत गर्नुअघि उनीहरूले शिल्पी थिएटरमा एउटा कार्यक्रम गरेका थिए। विभिन्न कलाका खुराकहरू पस्कँदै उनीहरूले ‘अप्वः मिसा’को भिडियो सार्वजनिक गरेका थिए। अरूको कथा भन्दा आफू पनि त्यसभित्र भिज्नु पर्छ भन्ने उज्ज्वलाको सोच छ। आफूले भन्न लागेका कथालाई आफ्नै जसरी माया गर्नुपर्ने उनी बताउँछिन्।

‘अप्वः मिसा’ मात्र होइन, यसअघि उनले आफ्नो युट्युब च्यानलमा सार्वजनिक गरेका ‘संघर्षमा एक ढुंगा’, ‘मुक्तिको बाटोमा’, ‘प्वः अनस्पिकेबल थिङ्स इन द बेली’ लगायत गीत पनि आमा–हजुरआमाका दुःख–संघर्षमा केन्द्रित छन्। यस क्रममा उज्ज्वलाले हजुरआमाहरूसँग पनि नजिक हुने मौका पाइन्।

“हजुरआमाहरूले बुहारी भएकै कारण सासुससुराबाट विभिन्न प्रकारका विभेद खेप्नु पर्थ्यो, तर उहाँहरूले कहिल्यै त्यसबारे बोल्नुभएन। एक्लै रोएर बस्नुभयो। मेरो आफ्नै हजुरआमालाई सम्झँदा पनि यस्तो लाग्छ कि, धेरै महिलाहरूले महिला भएकै कारण अन्याय सहनुपरेको छ,” उनी भन्छिन्।

विभिन्न कार्यशालामा सहभागी हुँदा यौन दुर्व्यवहारमा परेका महिलाहरूको कथा सुन्दा झनै उज्ज्वलालाई असहज हुन्थ्यो। त्यसलाई सहज बनाउन कहिले कविता त कहिले गीतले सहायता गर्‍यो। 

अहिलेलाई उनको र्‍याप नै चर्चामा छ। महिलाको पीडालाई नेपाल भाषामा र्‍याप गाउने आफू पहिलो भएको उनको ठम्याइ छ। उनी जस्ता युवाहरू बढ्ता भएकै कारण उनीहरूको आवाजले आमाहरूले जिउँदो सास फेर्न पाएका छन्।