प्रशान्तकै प्रकाशमा विमल गुरुङ नेतृत्वको गोर्खा जनमुक्ति मोर्चा पार्टीको उदय भयो। उनको गीति यात्राको बेला पहाडमा नेताहरूले आफ्नो राजनीतिक यात्रा पनि आरम्भ गरे।
संसारमा सबैभन्दा ठूलो अनि गहिरो एउटा महासागर छ– प्रशान्त महासागर। नेपाली गोर्खाहरूसँग पनि प्रशान्त तामाङ थिए। नेपाल देशभित्रका अहिलेका कतिपय पुस्ताले 'गोर्खा'लाई गोरखा जिल्ला बुझ्छन् होला। तर नेपालबाहिर नेपाली भाषीलाई 'गोर्खा' भनिन्छ। खासगरी भारतीय नेपालीहरूले गोर्खा भन्ने बित्तिकै नेपाली भाषीलाई बुझ्छन्, जसमा धेरै जाती र समुदाय समेटिन्छन्।
यो जीवन जगत् कस्तो छ भने,'छ' भनेको मानिस कति बेला 'थियो' हुन्छ, कसैलाई थाहै हुँदैन। 'छ' देखि 'थियो'सम्मको दुरीको मजबुरी बडो असह्य हुन्छ। कोही कसरी किन आउँछ? कसैलाई थाहै हुँदैन। तर कोही किन यसरी जान्छ? धेरै कुरा थाहा हुँदो रहेछ। चाहा हुँदो रहेछ, हुँदै जाँदो रहेछ। यही चाहाको गति र गहिराई छाडेर ४३ वर्षको अल्पायुमै गायक प्रशान्त तामाङ, प्रशान्तता (पूर्ण शान्ति) मा लीन भए। भवितव्यसित यसै कारण पनि दुख मनाउ छ कि प्रशान्तजस्तो मान्छे यति छिटो गए। यद्यपि, अब मनलाई मनाउनु पनि छ कि प्रशान्त तामाङ सशरीर नभए पनि स्वरमा सधैँलाई छन्। सबैलाई छन्।
इन्डियन आइडल सिजन-३ मा कञ्चनजङ्घाको काखको छोरो प्रशान्तले जब विजेताको 'ट्रफी' उचाले, रियालीटी सोमा अन्तर्राष्ट्रिय स्तरमै नेपाली सङ्गीतको क्षेत्रमा नयाँ आयाम खडा गरे। मञ्चमा उनले ढाका टोपी लाउँदा सारा नेपाली भाषी र गोर्खा समुदायको शिर ठाडो भएको थियो। प्रशान्त नामको एउटा यस्तो सिक्का प्राप्त भयो, जसले सबै नेपाली समुदायलाई एक ढिक्का बनायो। नेपालीहरूको लागि 'इन्डियन आइडल' माने प्रशान्त, प्रशान्त माने 'इन्डियन आइडल।' प्रशान्त, 'आइडल' मात्रै नभएर त्यस बेला भारतमा नेपाली सङ्गीतको पुनर्ताजगीको 'आइकन' पनि हुन्।
इन्टरनेटको दुनियाँको सुरुवाती चरणमा प्रशान्तले आफ्नो अद्वितीय गायन कला देखाए। नेपाली समाजका लागि 'भूतो न भविष्यति' थियो त्यो। प्रशान्तको लागि सबै अघि आए। यो लेख लेख्तै गर्दा भेटिनुभएका कवि कमल रेग्मी सम्झन्छन्, ‘प्रशान्तलाई मानिसले कुखुराको अण्डा बेचेर पनि भोट हाले।’ प्रशान्त नेपाली गोर्खाहरूको ‘सेन्टीमेन्ट’ थिए। सबैले दिल खोलेर उनलाई इन्डियन आइडलमा जिताउन जायजेथासम्म लगाएका थिए। तीमध्ये नेताहरू पनि उत्साहका साथ प्रशान्तलाई जिताउन अघि आएका थिए। त्यही क्रममा दार्जिलिङ पहाडको राजनीतिक वृत्तमा नै नयाँ अध्याय सुरु भयो।
प्रशान्तकै प्रकाशमा विमल गुरुङ नेतृत्वको गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) पार्टीको उदय भयो। प्रशान्तको गीति यात्राको बेला पहाडमा नेताहरूले आफ्नो राजनीतिक यात्रा पनि आरम्भ गरे। दार्जिलिङ पहाडका धेरै नेताहरूको लागि प्रशान्त इन्डियन आइडल मात्रै होइन पोलिटिकल आइडल पनि थिए र हुन्। गोजमुमो पार्टी प्रशान्त तामाङको साङ्गीतिक तरङ्गको प्रतिनिर्मिति (बाइ प्रोडक्ट) नै थियो। इन्डियन आइडलताका 'प्रशान्त फ्यान क्लब' विमल गुरुङहरूको पार्श्व राजनीतिको लागि प्रभावकारी स्पेस पनि बन्यो। तत्कालीन सत्तासीन पार्टी गोर्खा राष्ट्रिय मुक्ति मोर्चा(गोरामुमो)का प्रमुख सुवास घिसिङले प्रशान्त तामाङप्रति उस्तो गम्भीरता र उत्सुकता नै देखाएनन्। संयोग नै सही, प्रशान्तले 'इन्डियन आइडल' को स्वरताज लिएर आए। यता दुई दशक अधिकको 'बाघे' सत्ताबाट घिसिङ बिदा भए। विमल गुरुङ आए।
सन् १९६०-७० को दशकपछि सन् २००७ मा गीत सङ्गीतलाई दार्जिलिङे समाजले सचेततासहित गहनताका साथ पुनःआत्मसात गरेको वर्ष थियो। सारा नेपाली समुदायले भावनात्मक रूपमा सुर-ताल-लय मिलाएका थिए। गीतका माध्यमले फेरि पनि नेपाली गोर्खाहरू एउटै धागोमा माला उनिए, बनिए, सजिए। यो सबको जोडनी प्रशान्तको कलारूपी गला थियो। प्रशान्त गीतको भाका भन्दा धेर भावना थिए।
प्रशान्तले सबैलाई चकित बनाए, गर्वित तुल्याए। प्रशान्तको स्वरमा ध्वनि होइन, मोहनी थियो। प्रशान्त फिभरको अनेक घटनामध्ये एउटा घटना के छ भने, एउटा गाडीमा दुई जना केटीहरू चढेका थिए रे। ड्राइभरले उनीहरूलाई सोधेछन्- ‘प्रशान्त मन पर्छ कि अमित पल (इन्डियन आइडल प्रत्याशी)?’ ती केटीहरूले अमित पल भनेछन्। ड्राइभरले त्यति बेलै गाडी रोकेर उनीहरूलाई आधा बाटोमै बाहिर उतारेका थिए रे। स्मरणीय छ, अमित पलको गायकी पनि उत्तिकै सुन्दर थियो।
कलकत्ता पुलिसको सिपाही रहेका प्रशान्तले इन्डियन आइडलको विजेता बनिसकेपछि आफूलाई सम्पूर्ण रूपमा गीत-सङ्गीतमा समर्पण गरे। आफ्ना दर्शक-श्रोताहरूलाई 'धन्यवाद' एल्बम निकालेर गीतहरूबाटै धन्यवाद दिए। देश विदेशमा गएर गीतहरू गाए, सुनाए। नेपाली सङ्गीतलाई अझै फैलाए। सक्दो गरे। तर हाम्रो समाज यस्तो छ कि एउटै मान्छेबाट एकै समयमा सबै उपक्रमको र उपलब्धिको आशा गर्छ। प्रशान्तको सन्दर्भमा पनि त्यही नै भयो। उनका केही गीत चले, केही चलेनन्। उनले सधैँ सकेनन्। तर कहिल्यै त्यसै बसेनन्। गायनबाट उनी अभिनय क्षेत्रमा आए। केही फिल्महरू खेले, चले। केही चलेनन्।
तर हाम्रो समाज यस्तो छ कि जसले सधैँ व्यक्तिबाट जादु चाहन्छ। प्रशान्त तामाङ गायक थिए, जादुगर होइन। उनले हाम्रो समाजलाई हरबखत जादु देखाउन सकेनन्। उनलाई अधिकांशले बुझ्नै सकेनन्। एकाधिक मानिसहरू उनका सिर्जना र सफलतामा खुसी भइरहेनन्। बस एक दुई कमी कमजोरीमा कानेखुसी गर्दै बसिरहे। कसैले उनलाई नेपाल भासियो भने। कतिले ‘इन्डियन आइडल’ कि ‘नेपाली आइडल’ भनेर कित्ताकाट गरे। कसैले हरायो भने। कसैले के र कसैले के भने। तर जसले जे भने पनि उनी आफ्नो कलाकर्ममा लागिरहे। प्रशान्त न तालीमा सर्किए, न गालीमा थर्किए। प्रशान्त सधैँ शान्त रहे। भीडमा विश्वास गरेनन्। रिल्सको समयमा उनले म्युजिकलाई मिडियाबाजी गरेको कहिल्यै देखिएन।
प्रशान्त सामान्य रहे। साधारण भए। प्रशान्त हराए भन्नेहरूको प्रश्नै प्रश्नलाई उनले शान्त स्वरमा एउटा टेलिभिजन अन्तर्वार्तामार्फत धेरैपछि भने, "म हराएको होइन, ढिलो भएको छु होला। तर ढिलो भए पनि म फेरि आएको त छु।" उनी आएका मात्र होइनन्, छाएका पनि थिए। हिन्दी वेबसिरिज पाताल लोकमा प्रशान्तको अभिनयले सबैलाई प्रसन्न बनाएको थियो। प्रशान्तले अभिनयको लागि सबैबाट सर्वाधिक प्रशंसा पनि पाएका थिए। बलिउड सुपरस्टार सलमान खानसँग फिल्म खेलेर घर आएका उनी आफ्नै फिल्म हेरेर जान पाएनन्। बाँचेको मानिस नै धेरै कुराबाट बच्न सक्दैन। प्रशान्त पनि मृत्युसित बच्न सकेनन्। तर जो कसैले प्रशान्तले जसरी मृत्युपछि पनि बाँचिरहन सक्दैनन्। नेपाली समाजमा जीवन-महिमाको साटो मृत्यु-महिमा नै धेरै हुन्छ। प्रशान्त हुँदा भन्दा नहुँदा नै स्तुतिको फुँदा गाँसियो। 'मिल गया सा मिट्टी, खो गया सा सोना है!' हिन्दीको यो भनाइ त्यसै भनिएको होइन रहेछ।
दुर-सुदुर रहेको दार्जिलिङलाई त्यस बेला प्रशान्तले टीभी सोको प्लेटफर्मबाट नजिक बनाए, देखाए। गोर्खाहरू केवल ‘बहादुर’ र ‘चौकीदार’को सदाबहार बिल्ला हुन् भन्ने दिल्ली-दृष्टिकोणलाई प्रशान्तले इन्डियन आइडलको फ्लोरबाट बेजोडताका साथ तोडे। मूलधारबाट सधैँ बाधित र बाहेक बनेको भारतीय नेपाली गीत सङ्गीतलाई ध्यानाकर्षित गराए। हिन्दी बोल्न जान्दैनन् भनेर हेप्ने-हियाउनेलाई हिन्दीमा बोल्नु मात्रै होइन, गीतै गाइदिए। नेपाली पनि भाषा छ र भन्ने केन्द्रको अल्प-अध्ययनलाई प्रशान्तले नेपाली गीतहरू सुनाइदिए। गायन रियालिटी सोहरूमा गोर्खाहरू पनि जान्छन्, गाउँछन् मात्रै होइन, जित्छन् पनि भन्ने आत्मविश्वासलाई बलियो बनाए।
यस मानेमा दार्जिलिङका प्रशान्त नेपाली साङ्गीतिक जगतका नवीनतम 'लिङ्क' र 'इङ्क' दुवै हुन्, जसले विश्वभरका नेपालीलाई समेटे। आफ्नो आवाजले सिमाना र भूगोलको धर्को मेटे। एउटा अर्को इतिहास लेखे। तिनै प्रशान्त तामाङको निधनमा उनलाई माया गर्नेहरूको मन नराम्री रोयो। जुन बाटो गाउँदै आएका थिए, त्यही बाटो उनी सबैलाई रुवाउँदै गए। जब प्रशान्तले इन्डियन आइडल-३ जिते, दार्जिलिङमा भएका मूर्तिहरू पनि खुसीले मान्छे जस्तै देखिएका थिए। यति बेला प्रशान्त बिते, मान्छे नै हाँसो हराएर मूर्तिजस्ता भएका छन्।
दैहिक रूपमा टाढा भए पनि प्रशान्तले हामीलाई, यो पहाड पर्वत, डाँडाकाँडा, संसार सारालाई आफ्नो स्वर सुनाइरहनेछन्। गुनगुनाइरहनेछन्। अनुहारमा नदेखिए पनि हामीसँग प्रशान्तका स्वरहरू गीतका लहरहरूमा ओहोरदोहोर गरिरहनेछन्, ''मुसुमुसु हाँसी देऊ न लै लै मुसुमुसु हाँसी देऊ।"
प्रशान्त तामाङ धातुको होइन, मनको जलप थिए। अब अलप भए। उनी गए पनि प्रशान्त प्रहरको अनेकौँ प्रकरण आइरहने छ। पृथ्वीमा प्रशान्त महासागर एउटा यस्तो आधार हो, जसमा अरू पनि सागरहरू समाहित छन्। अनवरत छन्। त्यस्तै प्रशान्तकै गोहो-गोरेटो हिँडेर प्रेरणास्वरूप अरू पनि आइरहनेछन्। गाइरहनेछन्।
प्रशान्त ४ जनवरी १९८३ मा दार्जिलिङमा जन्मिएका थिए। ११ जनवरी २०२६ मा मृत्यु भयो। प्रशान्त जनवरी महिनामै आए, जनवरीमै गए। भनिन्छ, 'रोमन देउता थिए, जेनस। उनी इटलीको लाट्नियमका राजा थिए। उनैको नाममा जनवरी महिनाको नाम राखिएको थियो। जेनसले दुईतिर हेर्छ, एउटा अतीत र अर्को भविष्य। गाउँदा गाउँदै गएका प्रशान्तले पनि सायद आफ्ना अरू गीत भविष्यको पुस्ताबाट पूरा गर्नेछन्। त्यो भविष्यको जिम्मा यो वर्तमानलाई प्रशान्तले छाडिराखेका छन्। पहाडी स्वरका मणि प्रशान्तको स्वर्गमा त दाबी गर्न सकिन्न, तर सङ्गीतमा भने सधैँ बास हुनेछ, यति निर्धक्क भन्न सकिन्छ। दिल्लीमा रहँदै आएका दार्जिलिङका प्रशान्त, शान्त हुँदै दार्जिलिङको माटोमा नै विलीन भए। एक आइडलले छाडेका अनेक प्रशान्तहरूले त्यही माटोमा नेपाली गीतसङ्गीतको फेरि नयाँ बाटो बनाउने छ। अनि प्रशान्तले जस्तै मनमञ्चबाट नयाँ पुस्ताले मन्त्र स्वरूप गाउने छ,
"गोर्खालीको छोरो म
गोर्खे मेरो नाम
आइलाग्ने शत्रुको म गर्छु काम तमाम
इतिहास पल्टाई हेर या पुर्खालाई सोध
जितेकै छौँ संसारलाई
वीर वीर गोर्खाली
वीर वीर गोर्खाली।''
(उकालोको विचार खण्डमा छापिने सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
