धेरैजसो डढेलो मानवीय गतिविधिबाटै लाग्ने गर्छ। स्थानीय आफैँले जंगलमा आगो झोस्ने गरेका छन्। फोहोर डढाउने र जंगलमा आगो लगाउनेलाई गम्भीर अपराध ठहरिने गरी कानून बनाएर कारबाही गर्नुपर्ने होइन?
कार्यालय आउँदै गर्दा बाटामा नारायणहिटी संग्रहालय पर्छ। केही हप्ताअघि संग्रहालयको कम्पाउन्डबाट धुवाँ पुतपुताइरहेको देखियो। कार्यालय समयको बाक्लो सवारीमा गोडा टेक्दैटैक्दै दुईपांग्रे चलाइरहँदा लाग्यो– सवारी कतै बिसाएर कम्पाउन्डभित्रै छिरेर आगो निभाऊँ, सम्बन्धित व्यक्तिसँग ‘किन आगो बालेको?‘ भन्दै आक्रोश पोखौँ। तर फेरि सम्झिएँ, यस सरहदमा धुवाँसम्बन्धी आक्रोशको सम्बोधन गर्ने निकाय/व्यक्ति नै को होलान्? कसले धुवाँको असरको गाम्भीर्य बुझेका होलान्?
धेरै पटक सरकारी कार्यालयमा यसैगरी कागजात, पातपतिङर र फोहोर डढाइने गरेको देखेको छु। बैंक तथा पब्लिक कम्पनीमा पनि यस्तै देखिन्छ। केही पहिले साझा प्रकाशनको कार्यालय पुल्चोकमा त्यस्तै देखेको थिएँ। झन्डै दशकअघि एक सन्दर्भमा बालुवाटारमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न पुग्दा प्रधानमन्त्री निवासअघिको खुला ठाउँमा प्लास्टिक, खैनीका खाली प्याकेट आदि सुरक्षाकर्मीले जलाइरहेको देखेर अत्यास लागेको थियो।
सन् २०१६ मा डा. भूपेन्द्र दासलगायतको समूहले गरेको अध्ययनले काठमाडौँमा उत्पादित २५ लाख मेट्रिक टन फोहोरमध्ये ९० हजार मेट्रिक टन बालिन्छ। प्लास्टिक बाल्दा डायोक्सिन, कार्बोफोरस ग्यास, कार्बन मोनो अक्साइड र पार्टिकुलेट्स भनिने कणयुक्त हानिकारक ग्यास निस्किन्छ। यी ग्यासले क्यान्सरको जोखिम बढाउनुका साथै दम र मुटुरोग निम्त्याउन सक्छ। कतिपयलाई छालाको समस्या र एलर्जीसमेत हुनसक्छ।
सडकमै थुप्रिएका फोहोर पनि स्थानीय बासिन्दाले 'सफा गर्ने' नाममा जलाउने गरेका छन्। जहाँ–जहाँ बजार र प्लास्टिकमा प्याकेज गरिएका बजारिया सामान पुगेका छन्, त्यहाँ प्लास्टिक जलाउने अभ्यास पुगेको छ। यस्तो लाग्छ, अधिकांश मान्छेले प्लास्टिक जलाउनुलाई नै प्लास्टिकको व्यवस्थापन वा सरसफाइ भन्ने बुझेका छन्। जाडो याममा देशका कतिपय भागमा टायर आदि बालेर आगो ताप्ने अभ्याससमेत छ।
काठमाडौँभित्र बस्ने हाम्रो परिवार कुनै निजी कम्पनीलाई मासिक पैसा तिरेर आफ्नो घरमा उत्पादित फोहोर बुझाउँछ। तर महानगरपालिका र उपमहानगरपालिकाभित्र भएका सरकारी र ठूला संस्थाहरूचाहिँ आफ्नो कार्यालयभित्रका फोहोर/प्लास्टिक/पत्कर कुनै संस्थाका फोहोर गाडीलाई नबुझाएर किन बालेका होलान्? शायद, प्लास्टिकलगायत फोहोर डढाउँदा त्यसले दीर्घकालीन असर गर्छ भन्ने ज्ञान सफाइ कर्मचारीलाई नहुँदो हो। तर कार्यालयमा हाकिमहरू पनि हुँदा हुन्। तिनले दुईचार कुरा कतै पढेका पनि हुँदा हुन्। फोहोरको धुवाँ उड्दा तिनको ध्यान कता पुग्दो हो? सरकारी कार्यालयमा काम गर्नेहरूलाई समेत प्लास्टिक बाल्नुका असरबारे बोध छैन भने दूरदराजमा बस्नेहरूलाई कसरी हुँदो हो?
प्लास्टिक बाल्दा नाइट्रोजन अक्साइड, डायोक्सिन, सल्फर अक्साइड, कार्बन डाइअक्साइड आदिजस्ता हानिकारक ग्यास निस्कन्छन्। त्यसमा पनि पीभीसी नामक प्लास्टिक बल्दा निस्कने ग्यास मानव स्वास्थ्यका लागि झनै हानिकारक हुन्छ । वातावरणसम्बन्धी काम गर्ने ग्रिनपिस संस्थाले पीभीसीलाई 'विष प्लास्टिक'को संज्ञा दिएको छ। उसो त दाउरा र जंगलका पातपतिङर बाल्दा पनि वातावरणलाई उत्तिकै हानि गर्छ। घरभित्र खाना पकाउने क्रममा त्यसबाट निस्किने धुवाँले मानव स्वास्थ्यलाई असर गर्ने भएकाले धुवाँरहित चुलो र सुधारिएको चुलो वितरण गर्ने अभियान नेपालमा पहिले धेरै चल्थे। अहिले पनि यदाकदा त्यो अभ्यास जारी छ।
उसो त मैले चलाइरहेको दुईपांग्रेले पनि वायुमण्डलमा हानिकारक ग्यास छाड्छ। इन्जिनभित्र फसिल ऊर्जा (कोइला, पेट्रोल, डिजेल, ग्यास आदि) जलाउँदा ठुलो मात्रामा कार्बन डाइअक्साइड तथा अन्य हरितगृह ग्यास बाहिर निस्कन्छ। त्यसो हुँदा 'रस आवर'मा सडकमा झनै प्रदुषण बढ्छ।
प्लास्टिकजन्य प्राय: धेरै सामग्रीको कच्चा पदार्थ पनि फसिल फ्युल नै हो। पोलिस्टर कपडाको कच्चा पदार्थ पनि पेट्रोलियम पदार्थ हो। पोलिस्टर डढाउँदा पनि हानिकारक ग्यास नै निस्कन्छ। क्लाइन्टअर्थडटओआरजीका अनुसार विश्वको ८० प्रतिशतजति ऊर्जाको स्रोत आज पनि फसिल फ्युल हो। एक पटक जलाएपछि फसिल फ्युलको पुन प्रयोग सम्भव: छैन, जबकि ब्याट्री र जलविद्युत्को हकमा त्यस्तो हुँदैन।
जुनसुकै कुरा डढाउँदा त्यसले प्रदूषण पैदा गर्छ। इन्जिनभित्र पेट्रोल 'बर्न' गर्दा होस् या लाखबत्ती बाल्दा। तर यो 'मिसइन्फमेसन'को बाढीमा दियो, लाखबत्ती बाल्दा र हवन गर्दा वातावरण शुद्ध हुन्छ भन्ने झुटसमेत इन्टरनेटमार्फत फैलिरहेका हुन्छन्। उल्लेखनीय छ, सन् २०१८ मा भारत (उत्तर प्रदेशको मिरुत)मा प्रदूषण घटाउन भन्दै १०८ हवन कुण्ड बनाई ५०० क्विन्टल आँपको काठ बालियो। त्यसो गरेर वायुमण्डलमा कार्बन मोनो अक्साइड र नाइट्रोजन अक्साइड्स लगायतका हानिकारक ग्यास फैलाइयो। उल्टै आँपका रूख ढालेर-बालेर प्रदूषण नियन्त्रणको गुड्डी हाँकियो। यसो हुँदा अज्ञान र अन्धश्रद्धा पनि हाम्रा आँखा पोल्नमा योगदान यसरी योगदान गरिरहेकै छन्। आखिर उत्तर प्रदेशको चेतना र भूगोलबाट हामी कति नै टाढा छौँ र?
उसो त भारतको पंजाब र हरियाणा राज्यका किसानले आफ्नो धान र गौंलगायत अनाज काटिसकेपछि खेतमै आगो लगाएर फेदका डढाउँछन् र त्यहाँको धुवाँसमेत यता आइपुग्छ। हाम्रा 'फसिल फ्युल' आधारित सवारी, सडक, निर्माण आदिबाट निस्कने धुलोसँगै अहिले देशभर लागेको आगो पक्कै जिम्मेवार छ।
दुःखको कुरा नेपालमा डढेलोबारे खटिने निकाय छैन। आगलागी र वन डढेलो नियन्त्रणको खास अधिकार स्थानीय सरकारसँग छ, तर दुःखको कुरा, तर स्थानीय सरकारसँग विपद् व्यवस्थापन र नियन्त्रणका लागि दक्ष जनशक्ति, उपकरण र स्रोतसाधन छैन। ७५३ मध्ये ६३१ वटासँग दमकल छैन। एकाध ठाउँमा सरकारी सुरक्षाकर्मीले आगलागी नियन्त्रणमा काम गरेका छन्। त्यसो भएपछि धुवाँले हाम्रा आँखा पोल्ने नै भए। यही वर्ष आगलागीमै परेर नेपालमै चार दर्जन बढीले ज्यान गुमाइसकेका छन्।
यूएसएडको 'क्लिन एयर' परियोजनाका अनुसार वायु प्रदूषणका कारण एक आम नेपालीले ४.६ वर्ष आयु गुमाउँछन्। अहिले नेपालीको सरदर आयु ७१.१ छ। वायु प्रदूषण मापन गर्ने स्विट्जरल्याण्डको आइक्यु एयरको तथ्यांकले अहिले पनि विश्वको प्रदूषित शहरमा काठमाडौँ दोस्रोमा पर्छ।
संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीका अनुसार अचेल कलिलै उमेरका मान्छेमा समेत हृदयाघात र मस्तिष्कघात हुने गरेको छ। त्यसको कारण धेरैजसो प्रदूषण नै हो। सामान्य रूपमा नियाल्दा पनि पछिल्ला दिनमा बालबालिकामा एलर्जी र दम रोग बढेको देखिन्छ। यी सारा तथ्यले हामीले आफू त प्रदूषणको चपेटामा परेकै छौँ, कुनै दोषबिनै साना नानीबाबुहरूलाई ग्यास च्यामबरभित्र हुलिरहेका छौँ। जन्माएर असल 'कर्म' दिन सकिरहेका छैनौँ। हामीले उनीहरूमाथि गरेको महापराध हो वायु प्रदूषण। अतः यो रोक्ने जिम्मेवारी पनि हाम्रै हो।
डा. सुवेदीका अनुसार प्रदूषणका कारण नेपालमा वर्षमा ४३ हजारभन्दा बढीको मृत्यु भएको छ। यो आफैँमा महामारी होइन? कमसेकम यस्तो 'क्रिटिकल आवर'मा हाम्रा 'करिस्म्याटिक' नेताहरूले यो वायु प्रदूषणबाट नागरिकलाई बचाउन सार्वजनिक आह्वान र अनुरोध गर्नुपर्ने होइन? सरकारले सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने होइन? कमसेकम मास्क अनिवार्य गराउनुपर्ने होइन? फसिल फ्युल प्रयोग भएका सवारीमा जोर बिजोर प्रणाली बनाएर प्रमुख शहरमा सवारी चलाउनुपर्ने होइन?
अन्तर्देशीय वायु प्रदूषणसँग जुध्न नेपालसहित विभिन्न आठ मुलुकले सन् १९९८ मा माल्दिभ्समा ‘माले घोषणापत्र’ जारी गरेका थिए, सो विषयलाई नेपालले फेरि–फेरि उठाउनुपर्ने होइन? नर्थ क्यारोलाइना स्टेट युनिभर्सिटीका जोसेफ रोइसका अनुसार कहिलेकाहीँ जंगलमा आगो प्राकृतिक रूपमा पनि लाग्छ। यद्यपि, धेरैजसो डढेलो मानवीय गतिविधिबाटै लाग्ने गर्छ। नेपालका हकमा धेरैजसो स्थानीय बासिन्दा आफैले वनजंगलमा आगो झोस्ने गरेका छन्। यस्तोमा, फोहोर डढाउने र जंगलमा आगो लगाउनेलाई गम्भीर अपराध ठहरिने गरी कानून बनाएर सोहीअनुसार कार्यान्वयन गर्नुपर्ने होइन?
बजारमा बेचिएको 'जन्तर' लगाएर कोरोनाबाट बचिन्छ भन्ठान्ने पुराना पुस्ताका राजनीतिज्ञहरूबाट वायु प्रदूषणको ज्ञान र गहनता अपेक्षा गर्न सकिँदैन। तर राजनीतिलाई सुधार्ने भन्दै आएका नयाँ 'जादुगर' युवाले समेत वायु प्रदूषणको मुद्दालाई गम्भीरताका साथ उठाउनुपर्यो। दुधे बच्चाका पितासमेत रहेका काठमाडौँका नगरप्रमुख बालेनजस्ता युवाले यो विषयमा व्यापक जनमत सिर्जना गर्नुपर्यो। गालीगलौज र उटपट्याङ बिक्ने मिडिया र सामाजिक सञ्जालमा वातावरण, प्रकृति संरक्षण र मानव तथा समग्र पृथ्वीको स्वास्थ्यको विषय नबिक्ला, तर सचेत युवापुस्ताले पृथ्वी र भावी पुस्ताको हितका निम्ति कदम चाल्नुपर्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
