भीमसेन थापामा ‘विद्यार्थी खोजौँ र विद्यालय बचाऔँ’ अभियान

पालिकाभित्र सार्वजनिक पद धारण गरेका व्यक्तिले अनिवार्य रूपमा आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णयसमेत गाउँपालिकाले गरेको छ।

गोरखा– कोही पनि बालबालिका विद्यालयबाहिर रहन नदिने र सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउने अभियान स्वरूप गोरखाको भीमसेन थापा गाउँपालिकाले ‘विद्यार्थी खोजौँ र विद्यालय बचाऔँ’ भन्ने अभियान सञ्चालन गरेको छ।

पालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढाउने रणनीतिक स्वरूप पनि अभियान सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराले जानकारी दिए। विद्यालयबाहिर कोही पनि बालबालिका रहन नदिने गाउँपालिको योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न अभियान नै सञ्चालन गरिएको उनको भनाइ छ।

“सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै लैजानका लागि पनि गाउँपालिकाले थप योजना बनाएर कार्यान्वयन गरिरहेको छ,” उनले भने, “यसले सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण पनि बिस्तारै बढ्दै जानेछ।”

त्यस्तै, सामुदायिक विद्यालयप्रति सबैको विश्वास अभिवृद्धिका लागि पालिकाभित्र सार्वजनिक पद धारण गरेका व्यक्तिले अनिवार्य रूपमा आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णयसमेत गाउँपालिकाले गरेको छ।

“सामुदायिक विद्यालयप्रति सबै अभिभावक र बालबालिकाको आकर्षण गर्न पहिले पालिकाभित्रका सार्वजनिक पद धारण गरेका व्यक्तिले पनि आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ भन्ने हाम्रो जोड छ”, उनले भने, “अनि मात्र अरूलाई पनि सामुदायिक विद्यालयमा बालबच्चा पढाउनूस् भन्न सक्ने नैतिकता हामीलाई हुन्छ।”

पालिकाभित्र सार्वजनिक पदमा बहाल रहेका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावक संघका पदाधिकारीले आगामी शैक्षिकसत्र २०८१ देखि अनिवार्य रूपमा बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने उनले बताए।

“पालिकाभित्र रहेका बालबालिकालाई गुणस्तरीय शिक्षा दिएर सबल र सक्षम बनाउनु गाउँपालिकाको जिम्मेवारी हो,” अध्यक्ष बञ्जराले भने, “हामीले निजी विद्यालयले प्रदान गर्नेभन्दा पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सक्नुपर्छ र त्यसका लागि सबैले भूमिका खेल्नुपर्छ।”

गाउँपालिकाले पालिकाभित्रका सबै वडामा सार्वजनिक पद धारण गरेका व्यक्तिका बालबालिका निजी वा संस्थागत विद्यालयमा अध्ययनरत भए विवरणसहितको जानकारी पालिका शिक्षा शाखामा पठाउन पनि सबै वडालाई निर्देशन दिएको छ।