गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त

सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गराएर रिक्त हुने पदहरूमा नयाँ नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

काठमाडौँ– सरकारले तीन प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रमुखहरूलाई पदमुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय भएको बताइन्। सरकारको निर्णयसँगै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मधेशका हरिशंकर मिश्र र सुदूरपश्चिमका देवराज जोशी पदमुक्त भएका छन्।

रिक्त हुने ती पदहरूमा नयाँ नियुक्तका लागि पनि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय बैठकले गरेको उनको भनाइ छ। उनका अनुसार मधेश प्रदेशको प्रमुखमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको हो।

त्यस्तै, बैठकले राजनीतिक समितिको प्रधानमन्त्री, आर्थिक पूर्वाधारको भौतिक पूर्वाधारमन्त्री, विधेयक समितिको गृहमन्त्री, प्रशासन समितिको परराष्ट्रमन्त्री र सामाजिक समितिको स्वास्थ्यमन्त्रीले समन्वय गर्ने गरी क्याबिनेट समिति पनि बनेको उनले बताइन्।