वैदेशिक रोजगारीको आवरणमा मानव बेचबिखनमा संलग्न व्यक्ति ५ वर्षपछि पक्राउ

झापाका ४३ वर्षीय शेखरनाथ प्रसाईंलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले झापामै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

काठमाडौँ– वैदेशिक रोजगारीको आवरणमा लिबियामा पुर्‍याइ बेचबिखन गर्ने व्यक्ति पाँच वर्षपछि पक्राउ परेका छन्। झापाका रवि उपनाम गरेका ४३ वर्षीय शेखरनाथ प्रसाईंलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले झापामै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

२०७५ सालमा यूएईको दुबईमा रहेका प्रसाईंलगायत प्रतिवादीहरूले पीडितलाई रोजगारीका लागि लिबिया पठाउने भन्दै प्रलोभनमा पारेर बेचबिखन गरेको प्रहरीले जनाएको छ। प्रतिवादीले रोजगारी दिलाउने भन्दै पीडितबाट ४ लाख रुपैयाँ लिएका थिए।

पीडित व्यक्तिलाई शुरूमा नेपालबाट दुबई बोलाएर प्रसाईंले आफ्नो भाडाको कोठामा लगेका थिए। त्यहाँ उनले आफ्ना पाकिस्तानी मूलका सहयोगी मोहम्मद अलीलाई जिम्मा लगाए। लिबियामा सेक्युरिटी गार्डमा राम्रो तलबसहित जागिर दिलाउने भन्दै बोलाएकोमा त्यहाँ पुगेपछि सेक्युरिटी गार्ड नभएर अल्मोदिना पेन्टिङ कम्पनीमा काम गर्नुपर्ने बताए। त्यहीअनुसार ती पीडितलाई ट्युनिसिया हुँदै लिबिया पठाइयो।

लिबियामा पनि प्रतिवादीमध्यकै सलिम नाम गरेका एजेन्टले पीडितलाई मिश्राता भन्ने स्थानमा रहेको उक्त पेन्टिङ कम्पनीमा लगेर त्यहाँका सञ्चालकलाई जिम्मा लगाए। त्यहाँ पीडितको सक्कल राहदानी जफत गरी उनलाई १५ दिनसम्म कम्पनीमा बन्धक बनाई दासको रूपमा काम गर्न लगाइएको ब्युरोका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर बिष्टले बताए।

"दैनिक १४ घण्टासम्म काममा लगाउने र भनेअनुसार नगरे शारीरिक तथा मानसिक यातना दिने गरेका थिए, त्यसपछि नेपालमा रहेका आफन्तले त्यसबारे जानकारी पाएर मिडिया र लिबियामा रहेका शान्ति स्थापनार्थ नेपाली सेना र अन्तर्राष्ट्रिय आप्रवासी संगठनको सहयोगमा २०७६ को जेठ ८ गते उद्धार गरिएको थियो," उनले भने। अहिले ती व्यक्तिलाई मानव बेचबिखन मुद्दामा काठमाडाैँ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस मुद्दामा संलग्न प्रतिवादीहरूमध्ये १ जनाको मृत्यु भइसकेको र अन्य प्रतिवादीहरूको खोजतलास भइरहेको नायब उपरीक्षक बिष्टले बताए।