२२ वर्षदेखि सिंहदरबार-बालुवाटार रुटमा एकलौटी कब्जा जमाएको नेपाल यातायात

अन्य बस यो रुटमा नचलेर नै नेपाल यातायातको ‘मोनोपोली’ बढेको नियमित यात्रुहरू ठान्छन्। विकल्प नहुँदा कतिपय सहचालकले गर्ने रुखो व्यवहार सहेर भिडमा कोचिँदै यात्रा गर्नुपर्ने उनीहरूको बाध्यता छ।

तस्वीरहरू: कृष्पा श्रेष्ठ/उकालो

काठमाडौँ– एक साताअघि साँझ ५ बजे टंगालमा भेटिएका राजीव ढुंगेल निकै हतारमा देखिन्थे। उनलाई त्यहाँदेखि नयाँ बानेश्वरसम्म जानु थियो। करिब १० मिनेट कुरेपछि भिडभाड सहितको नेपाल यातायात एक्सप्रेस प्रालिको बस ‘नेपाल यातायात’ सामुन्नेमा आएर रोकियो। ढोकासम्म मान्छेहरूको ठेलमठेल र कोचाकोच थियो। त्यो देखेर एकछिन अकमकिएका राजीव बानेश्वर जानैपर्ने बाध्यताले मुस्किलसँग बसभित्र खाँदिए।

बसभित्रको भिडमा उभिएका राजीव चल्न सकेका थिएनन्। उनको जिउ चारैतिरबाट थिचिएको थियो। त्यत्तिकैमा सहचालकले ‘पछाडि जानुस, पछाडि’ भन्न थाले। सहचालकको पहिलो निशानामा राजीव नै परे। लगातार पछाडि जान भनिएपछि राजीले जवाफ दिए, “पछाडि जाने ठाउँ पनि हुनुपर्‍यो नि! कता सर्नु?” सहचालकले तुरुन्तै प्रत्युत्तर फर्काए , “चुप लागेर पछाडि सर्नुस्, नभए तल झर्नुस्। यस्तो मान्छे किन बस् चढ्नु? ट्याक्सी चढ्नुपर्थ्यो नि।”

त्यत्रा मान्छेको अगाडि त्यसरी रुखो र अपमानजनक वचन सुन्न विवश राजीवले मधुरो स्वरमा भने, “यो रुटमा नेपाल यातायातबाहेक अरू गाडी पनि चल्ने भए यस्ता धम्की सुनेर को चढ्थ्यो र!” 

यो रुटका अर्का यात्रु सुशान्त ओली दिनहुँ नेपाल यातायातका बसमा ओहोरदोहोर गर्ने विद्यार्थी हुन्। बिहान ७ बजे कोटेश्वरबाट न्यु प्लाजासम्म यात्रा गर्दा  उनी कहिलेकाहीँ मात्र सिट पाउँछन्, नत्र प्राय: खचाखच बसभित्र उभिएरै गन्तव्यमा पुग्नुपर्छ। “मैले यात्रा गर्ने रुटमा नेपाल यातायातबाहेक अरू विकल्प नै छैन। कोटेश्वरबाट अनामनगर हुँदै  जाने कुनै अर्को बस छैन,” उनी भन्छन्, “कहिलेकाहीँ लाग्छ, यो रुटमा एउटा कम्पनीको बस मात्रै किन चलेको होला?” 

काठमाडौँ उपत्यकामा ललितपुरको टिकाथलीदेखि काठमाडौँको कपन फैकासम्म एउटा, काठमाडौँकै हरहर महादेवदेखि कालिमाटी, जावलाखेल, बल्खु र त्रिपुरेश्वरहुँदै फेरि त्यही रुट हरहर महादेवसम्म दोस्रो र मूलपानीबाट त्रिपुरेश्वरसम्मको तेस्रो गरी तीनवटा रुटमा नेपाल यातायात चल्छ। कम्पनीसँग जम्मा १२५ वटा बसहरू छन्, जसमध्ये सबैभन्दा धेरै टिकाथलीदेखि फैकासम्मको रुटमा चल्छ। यो रुटमा जम्मा ६९ वटा बस चल्छ भने बाँकी दुईवटामा २८-२८ वटा चल्ने गरेको छ। टिकाथलीदेखि फैकासम्मको रुट परमिट नेपाल यातायातसँग मात्र छ। अरू व्यवसायीले यो रुटमा सार्वजनिक सवारी साधन चलाउन पाउँदैनन्।

अस्मिता खत्रीलाई नेपाल यातायात चढ्न डर लाग्छ। उनलाई नेपाल यातायातले बेस्मारी कुदाएको मन पर्दैन। “म त प्राय: बाइक नै हायर गरेर अफिस जान्छु। नेपाल यातायात कहिलेकाहीँ मात्र चढ्छु, त्यो पनि डराईडराई,” उनी भन्छिन्, “अरू बस त्यो गतिमा कुदाउँदैन। कतिपटक म चढेकै बेला दुर्घटनामा परेकोले सकभर नेपाल यातायात चढ्न नपरोस् भन्नेमा हुन्छु, तर विकल्प नहुँदा कहिलेकाहीँ बाध्य भएर चढ्नुपर्छ।”

नेपाल यातायात प्रालिका अध्यक्ष गोपाल गुरुङका अनुसार बिहान ४ बजेदेखि चल्ने कम्पनीका बसहरू रातको ८ बजेसम्म गुड्छन्। प्रत्येक ५-५ मिनेटमा ‘स्ट्यान्ड’बाट बस छुट्छ। एकै पटक तीन वटा रुटमा चल्ने नेपाल यातायातको गाडी अन्यभन्दा द्रुत गतिमा रहेको उनको दाबी छ।

“हामीले टाइमकार्ड प्रयोग गरेको कारण गाडीको गति बढ्ने गरेको छ। यसमा हामी ध्यान दिइरहेका छौँ,” उनी भन्छन्, “यात्रुलाई सजिलो होस् भनेर नै टाइमकार्ड प्रयोग गरेका हौँ। अरू बसजस्तो प्यासेन्जर नभरिउन्जेल कुरेर बस्ने काम हामी गर्दैनौँ। समयमा गाडी गुड्ने हुनाले कुनै-कुनै चालकले पछाडिको बसको प्यासेन्जर पनि खाइदिऊँ कि झैँ गरेर तीव्र गतिमा चलाउँछन्।”

किन चल्दैनन् अरू बस?
नेपाल यातायातको शुरूआत २०५८ सालबाट भएको हो। उसले शुरूदेखि नै तीन वटा रुटमा मात्रै बस चलायो। ५२ वटा बसबाट  शुरू भएको नेपाल यातायातले पहिलादेखि नै बालकुमारीबाट बानेश्वर, अनामनगर, पुतलीसडक, नक्साल, बालुवाटार, महाराजगंज, चक्रपथ रुटमा जोड दिएको थियो। पछि बसहरू थपिँदै जाँदा पनि नेपाल यातायातले मुख्यत:टिकाथलीदेखि कपन फैकासम्मको रुटलाई नै ‘टार्गेट’ गर्‍यो। यो रुटमा बस चढ्नेहरू अधिकांश विद्यार्थी र कर्मचारी हुन्छन्। यस क्षेत्रमा स्कुल तथा क्याम्पसहरू धेरै छन्।

काठमाडौँ उपत्यकामा चल्ने अधिकांश बसहरूले रिङरोड र रत्नपार्कलाई प्राथमिकता दिएको देखिन्छ। टेम्पो र माइक्रोबसहरू स-साना गल्ली वा कम बस चल्ने रुटमा चल्ने गरेको पाइन्छ। अनामनगर सिंहदरबार रुटमा अन्य बसहरू नगुडे पनि टेम्पो भने गुड्छ। तर ती टेम्पो गौशाला र चाबहिल क्षेत्र भएर गुड्ने गर्छन्।  

नियमित यात्रु सुजन तामाङ अन्य बस यो रुटमा नचलेर नै नेपाल यातायातको ‘मोनोपोली’ बढेको ठान्छन्। सहचालकले यात्रुमाथि गर्ने व्यवहार आपत्तिजनक भए पनि विकल्प नहुँदा सहेरै यात्रा गर्नुपर्ने बाध्यता रहेको उनी बताउँछन्। “मलाई त लाग्छ, अन्य बस चल्न नदिनमा नेपाल यातायातकै हात हुनुपर्छ। नभए यो रुटमा अरूले बस चलाइहाल्थे नि,” तामाङ भन्छन्, “नेपाल यातायातको विकल्प अपरिहार्य भइसकेको छ। लामो समयदेखि यो रुटमा एउटै कम्पनीको बस मात्र चल्नु आफैँमा रहस्य भइसक्यो।”

उक्त रुटमा नेपाल यातायातबाहेक अन्य बस किन चल्दैन भन्ने जानकारी आफूहरूसँग नभएको अध्यक्ष गुरुङ बताउँछन्। “हामीले त कसैलाई नचला भनेका छैनौँ। तर कोही चलाउन पनि नआइदेओस्, यस्तो इच्छा हुनु त स्वाभाविकै हो नि,” उनी भन्छन्, “शुरूमा केही बसहरू नआएका होइनन्। तर हामीसँग प्रतिस्पर्धा गर्न नसक्दा आफैँ साइड लागे।”

यो रुटमा ऋद्धिसिद्धि यातायातले ६ वर्ष अगाडि बस चलाएको थियो। त्यतिबेला चन्द्रागिरीको दहचोकबाट मेडिसिटी अस्पताल, त्रिपुरेश्वर, माइतीघर, अनामनगर, पुतलीसडक हुँदै बूढानीलकण्ठसम्म चल्थ्यो। त्यतिबेला ऋद्धिसिद्धिले २० वटा बस सञ्चालनमा ल्याएको थियो। तर नेपाल यातायातका धेरै गाडी चल्ने भएकाले आफूहरूले प्रतिस्पर्धा गर्न नसकेको ऋद्धिसिद्धि यातायात प्रालिका अध्यक्ष लभकुमार कार्की बताउँछन्।

“हामीले त्यो रुटमा गाडी चलाउन प्रयास गरेका थियौँ। तर नेपाल यातायातले सारा प्यासेन्जर टिपेर लगिसक्थ्यो। उसको अर्को बस ५  मिनेट नबित्दै आइसक्थ्यो। तर हाम्रो ३० मिनेटपछि आउँथ्यो। कहिलेकाहीँ ट्राफिक जामले गर्दा त्योभन्दा पनि ढिला हुन्थ्यो,” उनी भन्छन्, “सबैतिरबाट घाटा हुन थालेपछि एक महिना चलाएर त्यो रुटमा बन्द गर्‍यौँ”  

विकल्प नहुँदा यात्रुको बिचल्ली
तुलनात्मक रूपले शनिबार नेपाल यातायातका बसहरू सडकमा कम देखिन्छन्। साँझ परेपछि एउटै बस चढ्न आधा घन्टादेखि ४५ मिनेटसम्म कुर्नुपर्छ। बस आए पनि सिट पाइँदैन। क्षमताभन्दा बढी यात्रु बोकेर आएका नेपाल यातायातका प्राय: सहचालकको व्यवहार रुखो नै हुन्छ। गएको शनिबार सरोज बस्नेतलाई पनि त्यस्तै महसुस भयो। 

त्यो दिन उनको काम सकिँदा साँझ सात बजेको थियो। त्यसपछि उनी न्यु प्लाजामा बालकुमारी जाने बस कुरिरहेका थिए। तर आधा घन्टासम्म कुर्दा पनि बस आएन। त्यसअघि एउटा बस आएको थियो। तर खुट्टा टेकिनसक्नु देखेपछि उनी चढ्नै हच्किए। सहचालकको व्यवहार पनि उनलाई ठीक लागेन। पछि अर्को बस आउला या नआउला जस्तो लागेर मोटरसाइकल भाडामा लिएर उनी बालकुमारीसम्म पुगे। 

पुतलीसडकदेखि महाराजगंजसम्म नेपाल यातायातमा नियमित आउजाउ गर्ने सविना भण्डारी पनि यस्तै समस्याबाट वर्षौंदेखि आजित छिन्। हरेक साँझ सहज तरिकाले घर जान पाइन्छ कि पाइँदैन भन्ने चिन्ताले उनलाई दिउँसोदेखि नै पिरोल्न थाल्छ। पुतलीसडककै एक कन्सल्टेन्सीमा काम गर्ने सविना भन्छिन्, “दिउँसो त ठिकै हो, समयमै बस आइरहेको हुन्छ। बस नपाइएला भन्ने चिन्ता हुँदैन। तर साँझ चाहिँ अन्य यातायातले पनि यो रुटमा बस चलाइदिए हुन्थ्यो भन्ने कुरा एकदमै बिझिरहेको हुन्छ।”

Yo nepal yatayat ko aaklauti raj le garda maile rati ko shift linu parya cha. Koteshwor bata chadne ma khuta hlne thauchaina sadhai jhai pachadi pachadi bhanda aak din aauta ko shoes ma by mistake kinchi chu aani na bhako kura sunnu paryo kaile not interested harassment ko najarle herchan. Ma baluwatar bata chadne garthiye job bataa fharkida (night shift) liye dekhi. Mero 6:00 baje kaam sakincha ra ma aali morning walk anamnagar sammaa garchu and sadhai jhai Rs 20 anamnagar bata and rs. 30 baluwatar line garthiyo but aachanak aaja.. ka 20 deko 25 ho 25 bhandai ryakryak parnu bhayo. Plate no.बा.४ ख ८०४८ maile ni bhada kasrai kun route herne bhanera namra sanga bole tara malai 25 dinuna bhandai Aani ma tyabata 25 diyer tinkune mai jhare

Abhishek

5 months, 2 weeks ago