१३६ वर्ष पुरानो झोलुंगे पुल पुनर्निर्माण

४२ मिटर लामो पुलको पुनर्निर्माण गर्न करिब ४५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ।

फाइल तस्वीर

म्याग्दी– बेनी नगरपालिका–७ र २ को सिमाना मंगलाघाटस्थित डेढ सय वर्ष पुरानो झोलुंगे पुलको संरक्षण थालिएको छ।

मंगलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुंगे पुल जीर्ण बनेपछि मर्मत थालिएको हो। बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेश श्रेष्ठले स्वरूप नबिग्रने गरी पुल मर्मत गर्न लागिएको जानकारी दिए।

“स्थानीयलाई आवत जावतमा सहज, सुरक्षित बनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पुल मर्मतको काम चालु आर्थिक वर्षभित्र नै सम्पन्न गर्ने लक्ष्यसहित काम थालिएको छ,” उनले भने “प्रादेशिक झोलुंगे पुल कार्यक्रमको सहयोग, मिलन म्याग्दीको सामाजिक परिचालनमा बेनी नगरपालिकाले पुल मर्मत गर्न लागेको हो।”

नदीदेखि पुलको उचाइलाई अहिलेको भन्दा बढाउने र काठको ठाउँमा स्टिल राखिने भएको छ। ४२ मिटर लामो पुलको पुनर्निर्माण गर्न करिब ४५ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रादेशिक झोलुंगे पुल कार्यक्रमका प्राविधिक दयाराम शाहले बताए।

पर्खाल भत्काएर पुरानै ढुंगाबाट नयाँ बनाउने, पुरानै लठ्ठालाई तन्काएर राखिने उनले बताए। जिल्लाकै पुरानो र स्थानीय स्रोतसाधनलाई प्रयोग गरी बनाइएको पुल जीर्ण बनेपछि चार वर्षअघि बेनी नगरपालिकाको पहलमा सामान्य मर्मत गरिएको थियो।

अहिले पुल जीर्ण छ। पुल जीर्ण बनेपछि आवतजावतमा समस्या र जोखिम भएको छ। पुरानो र ऐतिहासिक महत्वको पुलको काठ कुहिएको छ। जालीमा खिया लागेको छ।