नेपालको पशुपालन क्षेत्रमा दिगो विकासका लागि अन्तर्राष्ट्रिय स्तरमा सम्झाैता

कृषि तथा पशुपंक्षी क्षेत्रको विकासमा सहकार्य गर्ने गरी नेपाल सरकार र अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

काठमाडाैँ– कृषि तथा पशुपंक्षी क्षेत्रको विकासमा सहकार्य गर्ने गरी नेपाल सरकार र अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थान (आईएलआरआई)बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

बुधबार सिंहदरबारस्थित कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा एक कार्यक्रमकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव रेवतीरमण पौडेल र आईएलआरआईको तर्फबाट सहायक महानिर्देशक डा. शर्ली तरावलीले सम्झौतापत्रका हस्ताक्षर गरेका हुन्।

आईएलआरआईबीच भएको सम्झौताले पशुपंक्षी अनुसन्धान, विकास, नविन प्रविधि प्रवर्द्धन र कषि क्षेत्रको दिगो विकासमा योगदान पुग्ने सरकारले विश्वास लिएको जनाएको छ। सम्झौतापत्रका हस्ताक्षर कार्यक्रममा बोल्दै कृषिमन्त्री डा. वेदुराम भुसालले विकासशील देशहरूमा पशुपालनको क्षेत्रमा काम गरी किसानहरूको जनजीवनमा सुधार ल्याउने उद्देश्यले आईएलआरआईसँग भएको सम्झौतापत्र नेपालको लागि महत्त्वपूर्ण कोशेढुंगा भएको बताए।

उनले सरकारले विगत लामो समयदेखि आईएलआरआईसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै जलवायु, स्मार्ट पशुपालन र लम्पि स्किन रोकथाम कार्यशाला गर्दै आएको जानकारी दिए। साथै उनले आईएलआरआईसँग आजबाट थप नयाँ अध्यायको शुरूआत भएको बताए।

"अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानसँगको सहकार्यमार्फत पशुपालन क्षेत्रमा देखिएका चुनौतिहरूलाई सम्बोधन गर्ने र नेपाली पशुपालन किसानको समृद्धि प्रदान गर्न सफल हुनेछ," उनले भने।

कार्यक्रमा बोल्दै मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलले आईएलआरआईसँगको सहकार्यले नेपालको पशुपालन क्षेत्रमा स्थानीय समस्याहरूलाई समाधान गर्न अनुसन्धानात्मक कार्यहरूलाई स्तरीय र अन्तर्राष्ट्रिय परिवेश अनुकूल बनाउन फलदायी हुने विश्वास रहेको बताए।

आईएलआरआईकी महानिर्देशक तरावलीले उचित पोषण, बाल कुपोषण न्यूनीकरण गर्न, संज्ञानात्मक विकासमा सुधार, खाद्य उत्पादन र स्वास्थ्यको लागि साना किसानको पशुपालन प्रणालीलाई रुपान्तरण गर्ने भन्दै नेपाल सरकारसँगको सहकार्यप्रति उत्साह व्यक्त गरिन्।

आईएलआरआईले नेपालमा पहिलादेखि भैँसीको दुध मूल्य श्रृंखला, पशुधन लगानी योजना, क्षमता विकास र लम्पि स्किन रोग नियन्त्रणसम्बन्धी कार्यशाला र पानीको सदुपयोग, मिथेन ग्यास उत्सर्जन, एकीकृत पोषण प्याकेज स्केलिङसम्बन्धी अन्य परियोजनाहरूमा पनि काम गरिहेको छ।