खुल्लामञ्चमा फुटबल मैदान बनाउने महानगरको योजनाप्रति अकुपाई टुँडिखेलको आपत्ति

नागरिकका लागि निर्बाध खुल्ला हुनुपर्ने खुल्लामञ्चमा विभिन्न बाहानबाजीमा पटक–पटक नयाँ संरचनाको आयोजना आउनु उचित नभएको अकुपाई टुँडिखेल अभियानका प्रवक्ता एवं अधिवक्ता सञ्जय अधिकारी बताउँछन्।

तस्वीर : मुक्त टुँडिखेल

काठमाडौँ– काठमाडौँ महानगरपालिका र ‘अकुपाई टुँडिखेल’ (मुक्त टुँडिखेल) अभियानका अभियन्ताबीचको  खुल्लामञ्चमा तीन तहको भूमिगत पार्किङ निर्माणको विवादले निकास नपाउँदै सोही स्थानमा दुई वटा फुटबल मैदान निर्माणको विषय सतहमा आएको छ।

अकुपाई टुँडिखेलले खुल्लामञ्चमा भूमिगत पार्किङको सट्टा दुई वटा खेल मैदान बनाउन लागेको जानकारी प्राप्त भएको भन्दै त्यसो नगर्न काठमाडौँ महानगरको ध्यानाकर्षण गराएको छ। ‘अकुपाई टुँडिखेल’ अभियानका अगुवा आलोकसिद्धि तुलाधरले सामाजिक सञ्जाल ‘एक्स’मार्फत विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरको योजनाप्रति आपत्ति जनाउँदै खुलामञ्च खुल्ला नै हुनुपर्ने माग गरेका छन्। “यस मैदान सम्पदामा कुनै पनि प्रकारको निर्माण वा हस्तक्षेप नितान्त गलत हो,” विज्ञप्तिमा भनिएको छ।

अकुपाई टुँडिखेलको विज्ञप्तिमा टुँडिखेलमा तीन तहको भूमिगत पार्किङको डीपीआर अगाडि नबढाउने भन्ने सुन्नमा आए पनि आधिकारिक रूपमा सूचना सम्प्रेषण नभएको, तर त्यसको साटो दुई वटा फुटबल ग्राउन्ड निर्माण गर्न लागिएको जानकारी प्राप्त भएको उल्लेख छ।

“खेल मैदान काठमाडौँको आवश्यकता हो: यसमा दुई मत रहन सक्दैन। तर खुल्लामञ्चको आफ्नो सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक महत्त्व छ। खुलामञ्च सभा, सम्मेलन गरी आएको ऐतिहासिक क्षेत्र हो भने, लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्तका लागि महत्त्वपूर्ण क्षेत्र र जीवन दाहिनीसमेत हो,” विज्ञप्तिमा भनिएको छ, “दुई वटा फुटबल ग्राउन्ड निर्माण हुँदा यहाँ अन्य कार्यहरू हुन नसक्ने र सो क्षेत्रको कम्पाटिबल युज नहुने स्थिति देखिन्छ।”

खुलामञ्च जनताका लागि खुल्ला गरी बच्चादेखि वृद्धसम्मका जनतालाई आवश्यकताअनुसारको क्रियाकलाप गर्न दिन स्थानीय सरकारलाई अकुपाई टुँडिखेल अभियान अनुरोध गरेको छ। अकुपाई टुँडिखेलले भूकम्प तथा दैवी प्रकोपको दृष्टिकोणले समेत खुलामञ्च संरक्षण गर्नुपर्ने देखिएको, खुलामञ्च नागरिकका लागि खुल्ला रहँदा नै बहुप्रयोजन र आफ्नो नयाँ कुरा सिर्जना गर्न सक्ने थलो बन्न सक्ने, अन्यथा खुल्लामञ्चले लैनचौरको कृत्रिम फुटसल पार्क र त्यहाँको स्थानीयले जस्तो दुर्गति भोग्नुपर्नेसमेत स्मरण गराएको छ।

जनप्रतिनिधिप्रति आशावादी अभियन्ता
नागरिकका लागि निर्बाध खुल्ला हुनुपर्ने खुल्लामञ्चमा विभिन्न बाहानबाजीमा पटक–पटक नयाँ संरचनाको आयोजना आउनु उचित नभएको अकुपाई टुँडिखेल अभियानका प्रवक्ता एवं अधिवक्ता सञ्जय अधिकारी बताउँछन्।

काठमाडौँ महानगरको वडा नम्बर २८ लाई प्रस्तावित खेल मैदान बन्न नहुने भनी ध्यानाकर्षण पत्र बुझाएको उनले उकालोलाई बताए। खुल्लामञ्चको विषयमा सम्बन्धित वडा–२८ का जनप्रतिनिधिले विगतदेखि नै यसलाई संरक्षणकै पक्षमा रहेको कारण यसपटक जनप्रतिनिधिमार्फत नै संरक्षणका लागि पहल हुनेमा उनी आशावादी छन्।

“महानगरको खुल्लामञ्चलाई खुल्ला नै राख्ने तर्कमा कहिले जमिनमाथि, त कहिले जमिनमुनिका विभिन्न संरचना बनाउने योजना विवेकपूर्ण छैन,” उनले भने, “खुलामञ्च जमिनमाथि वा मुनि सबै तरिकाले प्राकृतिक रूपमा खुल्ला हुनुपर्छ।” रहर, लहडमा योजना बनाउँदा त्यस्तो विकासले कुनै प्रतिफल नदिने उनको भनाइ थियो।

काठमाडौँ महानगरबाट दुई वटा खेलकुद मैदानका लागि डीपीआरसहितको योजना आएको वडा–२८ का अध्यक्ष भाइराम खड्गी स्वीकार गरे। साथै, अभियन्ताहरूबाट पनि ध्यानाकर्षण पत्र प्राप्त भएको उनले बताए। खेल मैदान बनाउने विषयमा विवाद सिर्जना भएसँगै वडाध्यक्ष खड्गी चाँडै नै नगरपालिका, अभियन्ता तथा पत्रकार भेटघाटमार्फत यस विषयमा उचित समाधान निकाल्ने बताउँछन्।