बलात्कृत बालिकाले काठमाडौँ जिल्ला अदालतमा बकपत्र गर्दा आफूले भनेका केही महत्वपूर्ण कुरा बयानमा नलेखिएको भन्दै आपत्ति मात्र जनाइनन्, प्रहरीले शुरूमै खिचेको भिडियो प्रमाणका लागि पेश गर्न पनि माग गरिन्।
काठमाडौँ– प्रहरीका पूर्वहल्वदार हिमाल शाहीले आफूलाई साँघुरो गल्लीदेखि आफ्नो कोठामा समेत पुर्याएर पटक–पटक बलात्कार गरेको भन्दै न्यायका लागि १४ वर्षीया बालिका (महाराजगञ्ज –३६) संघर्षरत छिन्। गत असोज २८ मा साढे चार बजे साँघुरो गल्लीमा पहिलो पटक र २९ गते सोही समय र स्थानमा दोस्रो पटक, लक्ष्मीपूजाको दिन (कात्तिक २६ गते) कोठामा लगेर तेस्रो पटक र मंसिर ८ गते कोठामै अन्तिम पटक आफूलाई बलात्कार गरेको भन्दै उनले न्यायको लागि लड्न शुरू गरेकी थिइन्।
उनले शुक्रबार बकपत्र गर्नेक्रममा आफूले भनेका कुरा हुबहु बयानमा नलेखिएको भन्दै जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालकै अगाडि पीडा पोखेकी छन्। जबकि त्यसदिन उनको बकपत्र मात्रै गर्ने भनिएको थियो। त्यहाँ उपस्थित एक जनाले जनाएअनुसार बकपत्रका लागि बन्द इजलासमा छिरेकी बालिकाले शुरूमै न्यायाधीश ढकाललाई हेर्दै म आफ्नो पीडाबारे भन्छु भनेकी थिइन्। त्यसपछि न्यायाधीश ढकालले ‘आज त सुनाउने दिन होइन, लेखाउने दिन हो’ भने पनि बालिकालाई बोल्ने अनुमति दिएका थिए।
न्यायाधीश ढकालले नै पुस २ गते यिनै बालिका बलात्कार मुद्दामा घटनास्थल सार्वजनिक ठाउँ भएको, घटना दिउँसोको समयमा भएको र प्रतिवादी हिमाल शाहीले इन्कारी बयान दिएको भन्दै उनलाई तीन लाख धरौटीमा छोड्न आदेश दिएका थिए। आदेश आश्चर्यचकित पार्ने खालको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले उच्च सरकारी वकिल कार्यालय हुँदै उच्च अदालत पाटनमा निवेदन दिएकोमा उच्चले जिल्ला अदालतसँग कैफियत प्रतिवेदन मागेको छ।
शुक्रबार न्यायाधीश ढकालले बोल्ने अनुमति दिएपछि बालिकाले करिब आधा घण्टा शाहीबाट आफूलाई भएको एकपछि अर्को अत्याचारबारे सुनाएकी थिइन्। बालिकाको कुरा सुनिसकेपछि न्यायाधीश ढकालले उनलाई भनेका थिए, “अब यो केस मेरोमा पर्छ या पर्दैन थाहा छैन। यद्यपि तिम्रो आफ्नो छुटेको कुरा अब लेखाउन सक्छौ।”
त्यसपछि बालिकाले प्रहरीमा भनेका तर बयानमा छुटेका कुराहरू बकपत्र गर्दा लेखाइन्। उनले आफूलाई ट्युसन पढाउने दिदीले मंसिर १० गते प्रहरी वृत्त महाराजगन्ज लगेपछि आफूले भोगेको पीडाबारे एक महिला प्रहरीले एक घण्टा ४१ मिनेटको भिडियो खिचेको बताइन्। आफूलाई शाहीले साँघुरो गल्लीमा मात्रै नभई धाकधम्की दिएर कोठामा बोलाएर पनि बलात्कार गरेको उनले वकपत्र गर्दा बताएकी थिइन्।
तर आफ्नो बयान लिने प्रहरीले ‘शाहीले कोठामा बलात्कार गरेको कुरा भन्नु हुन्न’ भन्दै आफूलाई थर्काएको उनले बताएकी छन्। तर ‘सत्य त त्यही नै हो’ भनेर आफूले जवाफ दिँदा प्रहरीले ‘धेरै जान्ने हुनुहुन्न’ भनेको पनि उनले सुनाइन्। हाल आएर आफ्नो बयानमा शाहीले आफूलाई धाकधम्की दिएर दुई पटकसम्म कोठामा बलात्कार गरेको कुरा नलेखिएको थाहा पाउँदा अचम्मित भएको उनले अदालतमा बकपत्र गर्दा भनेकी छन्। अदालतले प्रमाणका लागि प्रहरीले खिचेको भिडियो मगाउनुपर्ने उनको भनाइ थियो। बकपत्रपछि बालिकाले उकालोसँग बताएको घटना विवरण:
मेरो बुवा शहरमा पानी बिक्री गर्नुहुन्छ। मेरो मम्मी डेरानजिकै एउटा कारखानामा काम गर्नुहुन्छ। बुवामम्मीले काम नगरे हामीलाई खान पुग्दैन। डेराको पैसा पनि दिन पुग्दैन। स्कुल खर्चसमेत जुटाउन गाह्रो छ।
म कक्षा सातमा पढ्छु। असोज २८ गते घटस्थापनाको दिन थियो। मेरो स्कुलमा दशैँको छुट्टी भइसकेको थियो। तर स्कुलमा २ बजेसम्म खेलकुदको कार्यक्रम थियो। कार्यक्रममा म सेकेन्ड भएको थिएँ। मैले पुरस्कार पनि पाएँ। खेलकुदको कार्यक्रम सकिएपछि साढे २ बजेदेखि साढे ४ बजेसम्म कराते खेलेँ। तर स्कुलबाट साँघुरो गल्ली हुँदै घर (डेरा) मा पुगिन्छ।
म आफ्नै सुरमा हिँड्दै थिएँ। अचानक कसैले मेरो ब्याग तान्न थाल्यो। शुरूमा रिंगटा लागेजस्तो भयो। म अब मर्छु कि के हो भन्ने भयो। बाटैमा थ्याच्च बसेँ। मेरो ब्याग जोडले तान्ने हिमाल शाही रहेछ। उसलाई देखेपछि म झस्याङ्ग भएँ। म बसेपछि ऊ पनि बस्यो। तर म डराएर तत्कालै उठेँ। ऊ पनि मसँगै उठ्यो। मैले के गर्ने, के नगर्ने सोच्न सकेको थिइनँ।
उसले मेरो मुख झ्याप्प छोपिदियो, कराउन दिएन। पछाडिबाट च्याप्प समातेर घिसार्दै अझै साँघुरो गल्लीमा रहेको घरको झ्यालतिर पुर्यायो। मैले कोही हुनुहुन्छ, हेल्प हेल्प भन्दै कराएँ। तर त्यो घरबाट कोही पनि निस्केनन्। सायद घरमा कोही थिएनन् होला। उसले मेरो पाइन्ट जबरजस्ती खोल्यो र आफ्नो यौनांग देखाउन थाल्यो। मेरो छातीमा पनि उसले जबरजस्ती समात्यो। मेरो योनीमा आफ्नो यौनांग प्रवेश गराउन खोज्यो। त्यसबेला कसो कसो ऊबाट फुत्किएर म भागेँ। घर पुग्दा साँझको साढे ६ बजिसकेको थियो। एकदमै डराएको थिएँ। शरीर पूरै दुखेको थियो। अब शरीर चल्दैन होला जस्तो लागेको थियो।
घर पुगेपछि मम्मीसँग घटनाबारे केही भन्नै सकिनँ। मम्मीले भने मलाई उल्टै ‘साथीहरू अघि नै आइसके, तँ मात्रै किन ढिलो आएको’ भन्दै गाली गर्नुभयो। स्कुल सकिएपछि कोसँग कहाँ गएर आइस् भन्दै कुट्नु पनि भएको थियो। स्कुलमा कराँते खेल्दा ढिलो भयो भनेर बहाना बनाए। अनि मम्मीलाई अबदेखि ढिला गर्दिन भनेँ। अबदेखि बरु कराँते बिहान खेल्छु, साँझ खेल्दिनँ भनेँ।
भोलिपल्ट (असोज २९) गते बिहान पनि स्कुलमा हाम्रो कार्यक्रम थियो। त्यसमा जानै पर्ने थियो। कार्यक्रममा भाग लिएपछि अब त्यही बाटो घर कसरी जाने होला भनेर सोचेँ। अर्को बाटो मलाई थाहा थिएन। पुरानै बाटो डराइडराई जाँदै थिएँ। त्यस दिन पनि ऊ बाटोमा ढुकेर बसेको रहेछ। मेरो ब्याग झ्याप्प समात्यो। फ्यान्टाको बोतलमा खै केको हो धुलो हाल्यो। अनि मलाई खा खा भनेर कर गर्यो। मैले खान्नँ भन्दा पनि जबरजस्ती कोचाएर फ्यान्टा खुवायो।
मलाई एकैछिनमा रिंगटा लाग्यो। बेहोस भएर ढलेछु। त्यसपछि उसले मलाई के के गर्यो थाहा भएन। पछि एउटा अंकलले नानी नानी भनेर बोलाउनुभएपछि म ब्युँतिएँ। उहाँले मेरो शरीरमा पानी छम्किनुभएको रहेछ। मलाई उठाउने अंकलको नाम के हो थाहा छैन। अहिले पनि देखेँ भने चिन्छु। उहाँको घर पनि थाहा छ। उठाएपछि म कहाँ छु थाहा थिएन। उठाउने अंकलले रिंगटा लागेर बेहोस भएछौ, मैले उठाइदिएको भन्नुभयो। उहाँले घरसम्म पुर्याइदिनुभयो। मेरो जिउ लगलग कामिरहेको थियो।
शाहीले मलाई उसको खाजा पसलमा खाजा लिन जाँदा पनि जिस्क्याउँथ्यो। ‘मायालु’ भन्ने, अँगालो मार्ने, मेरो अंगमा छुने गर्थ्यो। म भूपू हवल्दार हो, यो कुरा कसैलाई नभन्नू भन्थ्यो। बुवा, मम्मी या कसैलाई भनिस् भने खुकुरीले तेरो घाँटी छिनाइदिन्छु भन्थ्यो। मैले डराएर यो कुरा कसैलाई भनेको थिइनँ।
कोठामा २ पटक बलात्कार भए पनि जाहेरी र बयानमा लेखिएन
लक्ष्मीपूजाको दिन थियो। म फुपूको पसलमा थिएँ। नजिकै शाहीको खाजा पसल थियो। उसले दिउँसो आएर तँ तुरुन्त मेरो कोठामा आइज भन्यो। आइनस् भने तँलाई मार्छु भन्यो। मैले आउँदिन भनेँ, त्यसले आँखा तर्यो। मलाई डर लाग्यो। कोठामा पुग्नासाथ ढ्याप्प ढोका लगायो। मलाई खाटमा पल्टायो। तँलाई पनि रमाइलो हुन्छ भन्यो।
मैले यस्तो नगर्नुस् अंकल भनेर कराउँदा मुख थुनिदियो। उसको कोठामा दुई वटा खाट छन्। एउटा दराज छ। एउटा किचन छ। उसले मलाई बलात्कार गरेपछि साह्रै नै गाह्रो भयो। उसले मेरो छातीमा टोक्यो। रगत आएको थियो। त्यो दिन पनि मैले बुवामम्मीलाई भन्न सकिनँ।
अर्को दिन (मंसिर ८ गते) पनि ‘तँजस्ता केटीलाई मैले एकान्तमा लगेर मारेको छु’ भन्दै कोठामा बोलायो। म केटा मान्छे देख्नेबित्तिकै डराउने भइसकेको थिएँ। जिउ दुख्ने, काम्ने भइरहेको थियो।
तिहारपछि ट्युसन पढाइदिने दिदीले के भयो भनेर सोध्नुभयो। शुरूमा उहाँलाई पनि भन्न सकिनँ। तिमीलाई केही न केही त भएको छ, मसँग भन भनेर उहाँले कर गर्नुभयो। त्यसपछि सबै कुरा उहाँलाई भनेँ। त्यही दिन दिदीले मलाई प्रहरी चौकीमा लानुभयो।
प्रहरीले कोठामा बलात्कार गरेको कुरा नभन भनेर थर्काए
जाहेरीमा बुवाले के के लेखाउनुभयो मैले थाहा पाइनँ। बुवाले मेरो कुरा पत्याउनुभएको थिएन। नचाहिने कुरा गर्नुहुन्न भन्दै मलाई हकार्नुभएको थियो। एक जना कम्प्युटर टाइप गर्ने प्रहरीलाई सुनाउँदा उहाँ पनि नचाहिने कुरा गर्नुहुन्न भनेर झर्किनुभयो।
यो पनि: बलात्कृत बालिकामाथि अनवरत अत्याचार
मलाई शाहीले सडकमा मात्रै होइन कोठामा पनि लगेर बलात्कार गरेको कुरा भनेको थिएँ। तर उहाँले त्यस्तो कुरा गर्नुहुन्न भन्नुभयो। फेरि पनि भनेँ, तर उहाँले कोठाको कुरा नगर बहिनी, राम्रो हुन्न भन्दै दोहोर्याएर हर्कानुभयो। म डराएर केही बोलिनँ। के के लेख्नुभयो थाहा भएन। तिम्रो बयान भयो, ल अब कागजमा साइन गर भन्नुभयो। बयान पढेर सुनाइएन।
चौकीमा खिचिएको मेरो भिडियो खै?
शाहीले कोठामा बलात्कार गरेको कुरा मैले शुरूमै प्रहरीसँग भिडियोमा भनेको छु। त्यो पनि मेरो बयानमा छैन रे। चौकीमा महिला प्रहरी अन्टी (असई यशोदा सुनाम) ले सोध्दै भिडियो खिच्नुभएको थियो। उहाँले यो भिडियो सामाजिक सञ्जालमा हाल्न होइन, पछिका लागि प्रमाण हुन्छ भनेर अफिसमै राख्न खिचेको भन्नुभएको थियो।
उहाँले भनेको राम्रै होला भनेर मैले पनि भिडियोमा ममाथि शाहीले जे जे गरेको थियो त्यो सबै भनेको थिएँ। मेरो भिडियो खिच्दा मलाई चौकीमा पुर्याउने दिदी र उहाँको आमा पनि सँगै हुनुहुन्थ्यो। तर त्यो भिडियो अहिले कहाँ छ मलाई थाहा छैन।
शाहीले बलात्कार गरेको ठाउँ देखाउन म प्रहरीहरूसँग (घटनास्थल मुचुल्का गर्न) गएको थिएँ। उहाँहरूले यस्तो ठाउँमा पनि कसैले बलात्कार गर्छ त भनेर उल्टै मलाई हकार्नुभयो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
