बालकुमारी घटना : गृहले ललितपुरका सीडीओ र प्रहरी प्रमुखलाई फिर्ता बोलायो

बालकुमारी घटनामा २ जनाको ज्यान गएपछि गृहमन्त्रीस्तरीय निर्णयबाट ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई मन्त्रालय र ललितपुर प्रहरी प्रमुखलाई प्रहरी प्रधान कार्यालय फर्काइएको गृह मन्त्रालयले जनाएको छ। 

काठमाडौँ– गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुखलाई फिर्ता बोलाएको छ।

बालकुमारी घटनामा सुरक्षा चुकका कारण दुई जनाको ज्यान गएपछि शनिबार उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरीय निर्णयबाट ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई मन्त्रालय तानिएको छ। यस्तै, ललितपुरका प्रहरी प्रमुख एसएपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तानिएको गृहले जनाएको छ। 

“ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा र जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षकलाई नेपाल प्रहरी प्रधान कार्यालयमा फिर्ता गरिएको छ,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उक्त घटनाका सन्दर्भमा छानबिन समितिले काम गरिरहेको भन्दै मन्त्रालयले प्रतिवेदन प्राप्त भएपछि त्यसै बमोजिम कार्यान्वयन गरिने जनाएको छ। छानबिन समितिको कामलाई वस्तुनिष्ठ बनाउन घटनास्थलमा सुरक्षा कमान्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश लम्साल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) प्रहरी सहायक निरीक्षक बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायण भट्टराईले जानकारी दिए। कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदी पनि निलम्बनमा परेका छन्।

शुक्रबार कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा सुरक्षा दिने क्रममा प्रहरीले चलाएको गोली लागेर अछाम चौरपाटी गाउँपालिका–१ घर भई हाल काठमाडौँ बस्ने २१ वर्षीय वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका–६ घर भई हाल भक्तपुर बस्ने २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो।

यसैबीच शनिबार आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने र घाइतेको उपचार खर्च बेहोर्ने निर्णय गरेको छ। गृहले पेश गर्ने घटनाको छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जनाइन्।