म्याग्दीमा चुनावी खर्च नबुझाएका उम्मेदवारलाई साढे ४ लाख रुपैयाँसम्म जरिवाना

स्थानीय तहको निर्वाचनमा विभिन्न पदका लागि उम्मेदवार दिएक तर खर्च विवरण नबुझाएका ५०७ जनालाई आयोगले साढे १ लाखदेखि साढे ४ लाख रुपैयाँसम्म जरिवाना तोकेको हो ।

तस्वीर : उकालो

म्याग्दी- निर्वाचन आयोगले म्यादीमा स्थानीय तहमा उम्मेदवारी दिएकामध्ये ५०७ जनालाई जरिवाना तोकेको छ। निर्वाचनमा उम्मेदवार बनेर खर्च विवरण नबुझाएका सबैलाई आयोगले साढे एक लाखदेखि साढे ४ लाख रूपैयाँसम्म जरिवाना तोकेको हो। कुल उम्मेदवार ७१८ मध्ये २८६ जनाले मात्र समयसीमाभित्र खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।      



निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुपर्ने  कानुनी व्यवस्था छ। तर असारसम्म पनि विवरण नआएपछि आयोगले स्पष्टीकरणसहित विवरण बुझाउन भदौसम्मको समय दिएको थियो। समयमा खर्च विवरण नआएपछि आयोगले मालिका गाउँपालिकाका १३२, रघुगङ्गाका ११४, बेनी नगरपालिकाका ९६, मङ्गला गाउँपालिकाका ७९, धवलागिरि गाउँपालिकाका ४४ र अन्नपूर्णका गाउँपालिकाका ३५ जनालाई जरिवाना तोकेको हो ।



जरिवाना हुनेमा अधिकांश पराजित उम्मेदवार छन्। विजयी र दोस्रोपटक उम्मेदवार भएकाले समेत खर्च विवरण बुझाएका छैनन्।  निर्वाचन कार्यालयले बेनी नगरपालिकाको प्रमुखका उम्मेदवार मीना सापकोटा, नरबहादुर थापा, उपप्रमुखका उम्मेदवार पशुपति शाही र एकेन्द्र रावललाई जनही साढे ४ लाख रूपैयाँ र नगरपालिकाको वडाध्यक्षका उम्मेदवारलाई जनही २ हजार रूपैयाँ जरिवाना तोकेको छ। अन्नपूर्ण गाउँपालिकामा अध्यक्षका उम्मेदवार बलबहादुर तिलिजा पुन, तीर्थ खड्का, मङ्गला गाउँपालिकाका अध्यक्ष रामबहादुर गर्बुजा र  उपाध्यक्ष ललिता तिलिजालाई साढे ३ लाख रूपैयाँ जरिवाना तोकिएको छ।       



मालिका गाउँपालिकाका अध्यक्षका उम्मेदवार श्रीप्रसाद रोका, खमबहादुर रोका, उपाध्यक्षका उम्मेदवार पिपला बुढाथोकी, गौरी सेञ्चुरी, धवलागिरि गाउँपालिकाका अध्यक्षका उम्मेदवार होमबहादुर थापा, बमबहादुर पाइजा, उपाध्यक्षका उम्मेदवार मङ्गोलका खममाया रोका, रघुगङ्गा गाउँपालिकाका उपाध्यक्षमा निर्वाचित प्रेमकुमारी पुन, अध्यक्षका उम्मेदवार प्रेमबहादुर कार्की, मीना बिक, सागर भण्डारी, उपाध्यक्षका उम्मेदवार रिमबहादुर कटुवाल र अनुरोध रिजाललाई जरिवाना तोकिएको छ। यस्तै, मङ्गला गाउँपालिकामा अध्यक्षका उम्मेदवारहरू वीरेन्द्र बुढाथोकी, योगेन्द्र शेरचन, गिरू रोका र उपाध्यक्षका उम्मेदवार शर्मिला थापा, सुकमाया रोका र बिन्दु मल्ल समेत जरिवानामा परेका छन्।     



अन्नपूर्ण गाउँपालिकामा ३१, मालिका गाउँपालिकामा १२७, रघुगङ्गाका १०९, धवलागिरि गाउँपालिकामा ४२, मङ्गला गाउँपालिका ७३ जनाले चुनावी खर्च बुझाएका छैनन्। गाउँपालिकाका वडाध्यक्ष र सदस्यका उम्मेदवारलाई जनही साढे एक लाख रूपैयाँका दरले जरिवाना तोकिएको छ।