सोती घटनामा ज्यान गुमाएका लोकेन्द्रकी आमा लक्ष्मी न्यायका लागि तीनचोटि काठमाडौँ आइन्। चौथौँ पटक धन्यवाद दिन आएको बताउँछिन्। भन्छिन्, “न्याय पाइँदैन कि भन्ने थियो। तर फैसलाले न्यायको महसुस भएको छ।”
काठमाडौँ– शान्तिबाटिका गेटछेउ लस्करै ब्यानरहरू टाँगिएका थिए। “दाइजोका लागि हत्या गर्ने अपराधीहरू, हत्यारालाई फाँसी देऊ, पीडितलाई न्याय देऊ” ब्यानरमा लेखिएका थिए योसहितका नारा।
तर, शुक्रबार दिउँसो तीन बजे भृकुटीमण्डपबाट एउटा समूह बाजागाजासहित अर्को ब्यानर लिएर आइपुग्यो। त्यो ब्यानरमा ठूला अक्षरमा लेखिएको थियो, “छोरा मरे, न्याय मरेन। धन्यवाद।” त्यो कार्यक्रम रूकुम सामूहिक हत्याकाण्डका पीडितले आयोजना गरेका हुन्।

रूकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा २०७७ जेठ १० गते ६ जनाको सामूहिक हत्या भएको थियो। हुल बाँधेर लखेटीलखेटी जाजरकोट रानागाउँका नवराज विश्वकर्मासहित ६ जनाको हत्या भएको तीन वर्षपछि रूकुम जिल्ला अदालतले २४ जनालाई जन्मकैदको फैसला सुनाएको थियो।
अदालतले दोषीलाई सजाय सुनाएर आफूहरूलाई न्याय दिएको खुशी बाँड्न र आफूहरूको पक्षमा न्यायका लागि निरन्तर आवाज उठाइदिनेप्रति धन्यवाद दिन पीडितहरू काठमाडौँ आइपुगेका हुन्।
अदालतको फैसलाबाट खुशी देखिएका नवराज विकका बुवा मोहन विकले शिरको टोपी फुकालेर भुइँ ढोगे। आफूहरूले न्याय पाएको महसुस भएको सुनाए। उनले अगाडि थपे, “नपाइने न्याय पाइयो। सघाउने सबैलाई धन्यवाद!”

यो दृश्यबाट रूकुम सामूहिक हत्याकाण्डका पीडित न्यायका लागि कति छटपटिइरहेका रहेछन् भन्ने अनुमान लगाउन सकिन्छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पीडित परिवार न्यायका लागि निरन्तर सक्रिय रूफमा संघर्षमा उत्रिएकै कारण न्यायिक लडाइँ जित्न सकिएको बताउँछन्। “अधिवक्ताहरूले बहस गरेर मात्रै कुनै मुद्दा जितिँदैन। पीडितको साथ पनि निरन्तर भयो,” उनले भने, “यो चानचुने कुरा होइन। यो न्यायको जित हो।”
मंसिर १९ गते जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले सामूहिक हत्याकाण्डमा संलग्न २४ जनालाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको हो। तीन वर्षसम्म पीडित परिवारहरू न्यायका लागि विभिन्न ठाउँमा धाउँदै आएका थिए।

सोती हत्याकाण्डमा ज्यान गुमाएका लोकेन्द्रकी आमा लक्ष्मी सुनार न्याय माग्न तीन पटकसम्म काठमाडौँ आइन्। चौथौँ पटक भने धन्यवाद दिन आएको बताउँछिन्। उनी भन्छिन्, “हाम्रो कोही थिएन, अपराधीहरूलाई उकास्न ठूलाठूला मान्छेहरू लागे। न्याय पाइँदैन भन्ने सोचेका थियौँ। तर हामीलाई न्यायालयले न्याय दिएको महसुस गरेका छौँ।”
यो पनि – ‘छोरा मरे पनि न्याय मरेको रहेनछ’
सामूहिक हत्याकाण्डमा संलग्न ३४ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा सजाय माग दाबी गरेर मुद्दा दायर भएको थियो। आठ जनालाई रुकुम जिल्ला अदालतले सफाइ दिएको छ भने अदालतले नवराजकी प्रेमिका र उनकी आमालाई जातीय छुवाछुत कसुरमा २/२ वर्षको कैद र ५० हजार जरिबानाको फैसला सुनाएको छ।

सामूहिक हत्याकाण्डका दोषीलाई जोगाउन शीर्ष दलका शीर्ष नेताहरू नै सक्रिय रूपमा लागेपछि पीडितले न्याय पाउनेमा शंका गरेका थिए। यद्यपि न्यायका लागि ‘झिनो आशा’मा फैसलालाई कुरेर बसेका थिए। अदालतले २४ जनालाई जन्मकैदको सजाय सुनायो। त्यसपछि भने पीडितहरू सहयोग गर्नेहरूलाई धन्यवाद दिँदै हिँडेका छन्।
“जिल्ला अदालतबाटै फैसला हुँदैन कि भन्ने डर थियो। न्यायाधीशहरू फेरिएका फेरियै थिए। त्यसमाथि जनार्दनले घटनाका नाइकेहरूलाई बचाइरहेका थिए। त्यसका बाबजुद अदालतले २४ जनालाई जन्मकैदको फैसला सुनायो। हाम्रो न्याय भनेकै सडक भयो,” नवराजका बुवा मोहनले भने।
रूकुम सोती हत्याकाण्डका पीडितहरू अदालतबाट फैसला नहुँदासम्म निरन्तर आवाज उठाइरहे। कहिले रुकुम अदालत पुग्थे त कहिले काठमाडौँको माइतीघरमा धर्ना दिन आउँथे। न्यायका लागि धाउँदा–धाउँदै उनीहरू हैरान थिए।

“त्यसरी पाइएको हो, न्याय। माथिल्ला अदालतले पनि न्याय दिन्छन् भन्ने आस गरेका छौँ,” सोती घटनामा ज्यान गुमाएका लोकेन्द्रकी आमा लक्ष्मी थप्छिन्, “हामीले जन्मकैद मागेका थियौँ। अदालतले न्याय दिएको महसुस भएको छ।”
माओवादी नेता शर्मा सामूहिक हत्याकाण्डका पीडकहरूको पक्षपोषणमा लागेका थिए। तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि घटनालाई तोडमोड प्रयास गरेका थिए। तर, पीडितले सडक संघर्षमार्फत दबाब दिएपछि उनीहरू परोक्षबाट दोषीलाई बचाउन लागे। शवको पोस्टमार्टम रिपोर्टदेखि संसदीय छानबिन समितिसम्म उनीहरू दोषीलाई बचाउन लागेपछि पीडित परिवारमा अब न्याय नपाइने हो कि भन्ने शंका उब्जाएको थियो।
यो पनि – रुकुम हत्याकाण्डका तीन वर्षः दोषी बचाउन को–को थिए सक्रिय?
“यस्ता ठूला नेताहरू लागेका छन्। सबैलाई छुटाइहाल्छन् भन्ने लागेको थियो। हामीले खोजेको त सर्वस्वसहित जन्मकैद थियो। यति भने पनि पाइयो,” पीडितका पक्षमा निरन्तर लागिपरहेका अधिकारकर्मी खगेन्द्र सुनारले बताए।

कार्यक्रममा कलाकार बद्री पंगिनीले “कला चल्यो, गला चल्यो मान्छे चलेन” बोलको गीत गाउँदै अब समाजमा यस्ता खाल्का घटनाहरू निर्मूल हुनुपर्ने बताए। “विद्यमान जुन अवस्था छ। त्यो दुःखद कुरा हो,” उनले भने, “जातका नाममा रूकुममा जसरी ६ जनाको हत्या भयो। यस्तो कसैमाथि नहोस्। अहिले सबैले न्यायको महसुस गरेका छन्।”
यो पनि– न्यायका लागि लडिरहेका ६ आमा
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदायमाथि अझै हिंसा भइरहेको र यसको अन्त्य हुनुपर्ने माग राखे। “दलित समुदाय अहिले पनि हिंसामा छ। अत्याचारमा छ। राज्यले कयौँ दोषीहरूलाई सजाय नदिएको अवस्था छ। यस्तो अवस्थामा रुकुम घटनाका दोषीलाई कारबाही भएको छ। यो सबैलाई सदर गर्नुपर्छ,” उनले भने।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
