एउटै प्रजातिको बिरुवा फरक हावापानीमा हुर्किँदा त्यसका आकार-प्रकार, रसायन तत्त्वको किसिम र आनुवंशिक संरचनामा पनि फरक हुन्छन्। तराईमा पाइने गाँजा हिमालमा पाइनेभन्दा भिन्न हुन्छ।
'गाँजालाई नेपालमा वैधानिक बनाउनु पर्छ, तर पर्याप्त तयारी विना त्यसो गरियो भने नेपालको लागि अभिशाप हुन सक्छ’ भन्ने आशयका साथ २०८० भाद्र १३ उकालोको मेरो लेख 'देश गाँजा गणतन्त्र नबनोस्'को समर्थनमा रामकुमार एलनले २०८० भाद्र २१ को उकालोमै लेखेको ‘गाँजा गणतन्त्र होइन, गाँजा अर्थतन्त्र निर्माणको लक्ष्य' शीर्षकको लेख पढेँ। उक्त लेखमा कसरी एमाले, माओवादी, समाजवादी र कांग्रेसका ६० भन्दा बढी सांसदले हस्ताक्षर गरेर गाँजालाई वैधानिकता दिने ऐन ल्याउन लबिइङ शुरू गरे भन्ने जानकरी र गाँजा खेती गर्ने बृहत् योजनाबारे एलनले धेरै कुरा लेखेका छन्।
लेख पढ्दा यस्तो लाग्छ कि हामीसँग सबै तयारी छ र तत्कालै गाँजालाई वैधानिक गरेमा हामीसँग रहेको विद्यमान जनशक्ति आउँदो ‘जेठ-असारभित्रै गाँजा उत्पादन, बजारीकरण, बेचबिखन, प्रवर्द्धन र नियमनमा’ क्रियाशील हुने छ। यद्यपि उक्त लेखमा सांसद शेरबहादुर तामाङले २०७६ फागुन १९ मा प्रतिनिधिसभामा पेश गरेको ‘गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक’बारे केही चर्चा गरिएको छैन। यो विधेयक प्राविधिक रूपमा कत्तिको राम्रो, भरपर्दो र उच्चस्तरको छ भन्नेबारे त्यहाँ उल्लेख छैन। जुन विधेयकले देशको कानून नै परिवर्तन गर्नुपर्छ भन्छ, त्योबारे जनस्तरमा सबैले बुझ्ने गरी बहस गर्न जरुरी छ। त्यसैले यो विधेयकबारे र गाँजालाई वैध बनाउनुपूर्व हामीले के के गृहकार्य गर्न जरुरी छ भन्नेबारे यहाँ चर्चा गरौँ:
गाँजा विधेयक
‘गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक’मा प्रस्तावनासहित ८ परिच्छेद, ३६ दफा र केही उपदफा छन्। यो विधेयकले गाँजालाई एक वनस्पतिको रूपमा मात्र प्रस्तुत गरेको छ। तर, यो नेपालमा पाइने गाँजाका प्रजाति (स्पेसिस), उपप्रजाति (सबस्पेसिस) र प्रकार (भेराइटी)बारे मौन छ। अन्तर्राष्ट्रिय रूपमा गाँजाको बारेमा विद्यमान रहेको प्रचलित परिभाषाबारे पनि विधेयकमा केही उल्लेख गरिएको छैन। गाँजामा पाइने रसायन तत्त्वहरूमध्ये सबैभन्दा उपयोगी टेट्राहाइड्रोकानाबिनोल (टीएचसी) र क्यानाबिडियोल (सीबीडी) समूहका रसायनहरूबारे सतही रूपमा एक ठाउँमा मात्र उल्लेख गरिएको छ।
त्यो परिच्छेद २, दफा ३, उपदफा २ (ख) हो। यसमा ‘बिक्री वितरण गर्नको लागि डेल्टा नाइन टीएचसी ०.२ प्रतिशत भनेर अंग्रेजीमा उल्लेख गरिएको छ। यसरी यो विधेयकलाई विस्तृत रूपमा अध्ययन गर्ने हो भने ‘विधेयक सतही, हतारमा ल्याइएको र एक औपचारिक दस्ताबेज मात्रै हो’ भन्दा फरक पर्दैन।
परिच्छेद १, दफा २ (च) मा गाँजालाई परिभाषित गर्दा के लेखिएको छ भने- गाँजा भन्नाले गाँजाको बोटको पात, फूल, बिउ वा फल सम्झनुपर्छ र सो शब्दले गाँजाको जात भाङ वा सिद्धको पात, फूल, बिउ वा फल वा गाँजाको बोटबाट प्राप्त गरिएको प्राकृतिक खोटो लिस्सा, चोप वा गाँजाको निस्सार वा निष्कर्षसमेत जनाउँछ। यसमा लेखिएको ‘बोट’ भनेको के हो? बोटका प्रचलित परिभाषा ‘जडीबुटी (हर्ब), झाडी (सर्व) वा रूखमध्ये गाँजा कुन हो भनेर केही उल्लेख गरिएको छैन।
गाँजालाई परिभाषित गर्न कुनै उचित वनस्पति विवरण उल्लेख गर्नुपर्छ। यहाँ एकाएक गाँजाको वैकल्पिक नाम ‘भाँङ र सिद्ध’ प्रयोग गरिएको छ। यी नाम प्रयोग गर्नुभन्दा पहिले भाङ र सिद्धबारे कहीँ केही लेखिएको छैन। नेपालीमा गाँजालाई गाँजा, भाङ, भाँगो, चरेस, अत्तर भनेर सम्बोधन गरिन्छ र यो सिद्ध भन्ने के हो? सोबारे पनि खुलाउन जरुरी छ। माथि उल्लेख गरिएको खोटो शब्द प्राविधिक रूपमा गलत छ। ‘खोटो’को दुई वटा शाब्दिक अर्थ छन्। पहिलो अर्थ लैना गाईभैँसी आदिको दूध पग्रिनुभन्दा अगाडि आउने च्याटच्याटे पदार्थ हो भने दोस्रो अर्थ सल्ला आदिको रुखबाट निस्कने लेस्याइलो पदार्थ वा सुकेको र नसुकेको चोप हो। त्यसैले खोटो गाँजाबाट उत्पादन हुन्न। गाँजाबाट केवल चोप वा चोब मात्र उत्पादन हुन्छ। अर्को ‘लिस्सा’को ठाउँमा ‘लस्सा’ हुनुपर्ने हो किनकि लस्सा भनेको टाँसिने तत्त्व वा लेसाइलोपन भएको वस्तु हो।
यी तथ्यले के देखाउँछ भने गाँजाको परिभाषा हचुवाको भरमा गरिएको छ। कसरी सही परिभाषा गर्ने भनेर एक पटक हामीले अर्नेस्ट स्मलद्वारा सन् १९७९ मा लेखिएको पुस्तक 'द स्पेसिज प्रोब्लेम इन क्यानाबिसस् साइन्स एन्ड सेमेन्टिक्स' हेर्नुपर्छ। यो पुस्तकमा लेखक अर्नेस्ट स्मलले गाँजाको बोटलाई केही प्रकारमा क्यानाबिस, मरिवाना (मरिजुआना) र हेम्प वर्गीकरण गरी तिनलाई कसरी छुट्याउने भनेर उल्लेख गरेका छन्।
क्यानाबिस, हेम्प र मरिवाना
‘क्यानाबिस’ मूलतः बृहत् नाम हो। क्यानाबिस बोटबाट मनोत्तेजक र मनोत्तेजकरहित रसायनहरू, रेसाहरू, खाद्य बीउजस्ता कुराहरू उत्पादन हुन्छन्। त्यसैले क्यानाबिस सटीक शब्द नभएर एक अस्पष्ट र बृहत् शब्द हो। यसले टीएचसी र सीबीडीजस्ता रसायनहरूको मापनको कुरा गर्दैन।
‘हेम्प’ विशेषतः रेसाका निम्ति उमारिने बोट हो। यो बोटबाट निकालिने रेसाबाट डोरी, कपडा, कागज अनि केही खाद्य उत्पादनहरू (हेम्प बीउ, हेम्प दूध, हेम्प प्रोटिन पाउडर) र तेल निकाल्न प्रयोग गरिन्छ। यसका साथै बोटहरू सोतर र जनावरका खानाका रूपमा पनि प्रयोग गरिन्छ। हेम्प एकदमै पौष्टिक हुन्छ किनकि यसमा प्रोटिन र फाइबरको मात्रा उच्च हुन्छ। रसायनको कुरा गर्दा यी बोटहरूमा सुख्खा वजनको अनुपातमा ०.३ प्रतिशत वा कम टीएचसी र ज्यादा सीबीडी रसायनहरू हुन्छन्।
सीबीडी एक प्रकारको रसायन नभएर यो रसायनहरूको समूहगत नाम हो। पहिलो पटक सन् १९४० मा गाँजामा पत्ता लगाइएको यो समूहका रसायनहरू आजसम्म कुल ७ प्रकारका छन्। सीबीडी विशेषतः बालबालिकाहरूमा देखा पर्ने मिर्गी रोगको उपचारमा प्रयोग गरिन्छ। यसका साथै सीबीडीलाई चिन्ता कम गर्ने, अनिन्द्रा टाढा गर्ने, शरीरको दुखाइ कम गर्ने, सुन्निएको कम गर्ने, नसाहरूको रोग र लागूपदार्थको लत छुटाउन प्रयोग गरिन्छ। कहिलेकाहीँ वाकवाकी, थकान र चिडचिडाहटजस्ता नकारात्मक असरहरू देखिने भए पनि यी रसायन मनोत्तेजकरहित हुने हुँदा सुरक्षित नै हुन्छन्। सीबीडी रसायनहरू तेल, क्याप्सुल, चुरोट, मलमहरूका रूपमा प्रयोग गरिन्छ। आजकाल हेम्पलाई संसारमा रेसादार सामग्री र तेल उत्पादन गर्ने बिरुवाको रूपमा औद्योगीकरण गरिएको पाइन्छ।
मरिवाना (मरिजुआना) त्यो बोट हो, जसमा मुख्यतः ०.३ प्रतिशत भन्दा धेरै मनोत्तेजक टीएचसी रसायन हुन्छन्। टीएचसीमा २८ किसिमका निश्चित रसायनहरूको समूह पर्छन्, जसमा २३ ओटा डेल्टा-९ ट्रान्स-टेट्राहाइड्रोकानाबिनोल र ५ ओटा डेल्टा-८ ट्रान्स-टेट्राहाइड्रोकानाबिनोल समूहका रसायनहरू हुन्छन्। टीएचसी सामान्यतया मनोरञ्जनको लागि प्रयोग हुने लागू औषध हो। मानिसहरूले यसलाई ‘मल्टिपल स्क्लेरोसिस (एमएस), स्नायु रोग, वाकवाकी कम गर्ने, केमोथेरापीको असर कम गर्ने, रक्सी, अन्य लागू औषध प्रयोग कम गर्ने र कोभिडमा समेत पनि प्रयोग गरेको पाइन्छ। तर पनि यी प्रयोगहरूलाई समर्थन गर्ने कुनै वैज्ञानिक प्रमाण भने छैनन्।
०.३ प्रतिशत टीएचसीको मापदण्डको परिभाषालाई अमेरिकाको सन् २०१८ का 'अग्रिकल्चर इम्प्रुभ याक्ट' र 'फार्म बील'ले अवलम्बन गरेका छन्। यहाँ अमेरिकाको कानूनबारे उल्लेख गर्नुको मूल उद्देश्य के हो भने संसारमा गाँजालाई लागू औषधका रूपमा परिभाषित गरी अवैध बनाउन अमेरिकाको जति हात छ, आजको संसारमा पनि निश्चित मापदण्ड अनुसार गाँजालाई वैध बनाउन अमेरिकाको उत्तिकै हात छ। त्यसो हुँदा अमेरिकी कानूनको ज्ञानविना हामीले गाँजाको अन्तर्राष्ट्रिय व्यापार गर्न सक्छौं भन्नु मूर्खतासिवाय केही हुने छैन।
क्यानाबिस, हेम्प र मरिवाना भन्नाले एउटै बिरुवा (क्यानाबिस स्याटिभा) का फरक-फरक उद्देश्यका लागि प्रयोग गरिएको नामहरू हुन्। हामीले के बुझ्न जरुरी छ भने क्यानाबिस एक बृहत् नाम हो, हेम्प उपयोगी र मनोत्तेजकरहित बिरुवा र मरिवाना’ विशेषतः मनोत्तेजक अनि मनोरञ्जनको लागि प्रयोग हुने लागू औषध हो। तर मनन गर्नु पर्ने के हो भने हेम्प भनेको मरिवाना होइन र यी दुईलाई छुट्याउन ०.३ प्रतिशत टीएचसीको मात्राको निश्चित मापदण्ड प्रयोग गरिन्छ।

भुइँमान्छे र विधेयक
एलनले ‘पिँधका जनताले भोगिरहेका पीडा’मा कसरी नेताहरू वैध र अवैध कित्तामा उभिए भनेर लेखेका छन् र गरिबका छोराछोरी जेल छुटाउन गाँजा वैध गर्नुको विकल्प छैन भनेर जोड दिएका छन्। यसका साथै उनले सहकारीमार्फत खेती गर्ने योजना अघि सारेका छन् र भुइँमान्छेहरू नै गाँजाका उत्पादक, व्यवस्थापन र बजारीकरणमा सम्मिलित हुँदा उनीहरू नै लाभान्वित हुनेछन् भनेका छन्। योजना गजबको छ।
एक पटक हामीले देशको ऐन-कानुनले कसरी काम गर्छ र कसरी भुइँमान्छेहरू आफ्नो उत्पादनबाट न्यून रूपमा लाभान्वित हुन्छन् भनेर यार्सागुम्बा र अझ त्योभन्दा पनि नेपालमा हुने तरकारी व्यापारलाई हेर्दा हुन्छ। यी दुवैमा आखिर ४-५ गुणाभन्दा धेरै फाइदा गर्नेचाहिँ बिचौलिया हुन्। तिम्रा छोराछोरी छुटाई दिन्छौँ र गाँजा वैध गराउँछौँ भन्नु नेताहरूले आफ्नो 'भोट बैंक’ सुनिश्चित गर्नु मात्र हो। बृहत् छलफलविना केवल गाँजा, भाङ र सिद्धजस्ता शब्द प्रयोग गरी खासखुस गरेर प्राविधिक रूपले अत्यन्त कमजोर विधेयक ल्याउनुले गाँजा वैध गर्न कसको योगदान धेरै छ भन्ने देखाउन नेताहरूको होडबाजी चलेको भान हुन्छ। यो कदम निन्दनीय हुनुका साथै अत्यन्त आलोचनायोग्य छ। के यो विधेयक बनाउन सहयोग गर्ने नेपालमा कोही वनस्पति र रसायनविद् थिएनन्? सबै कुरा त्यस्तै हुन् र सर्वप्रथम विधेयक त मैले पेश गरेको, मेरो पार्टीले गरेको भन्ने जस लिन हतार त गरिएको त होइन?
गाँजालाई पुनः वैध बनाउनुअघि गर्नुपर्ने जटिल गृहकार्य
नेपालमा अहिलेसम्म विस्तृत रूपमा कहाँ-कहाँ गाँजा पाइन्छ भन्नेबारे सटिक तथ्यांकको अभाव छ। नेपालमा पाइने गाँजा ‘क्यानाबिस सटिभा’ प्रजातिको हो र यो पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र तराईको समथर भूभागको करिब ७० मिटरदेखि हिमाली भूभागको करिब २९००-३००० मिटर उचाइमा पाइन्छ। यो धेरै ठाउँमा प्राकृतिक रूपमा आफैँ उम्रिन्छ र कहीँ कतै अवैधानिक रूपमा केहीले आर्थिक लाभ लिने उद्देश्यका साथ खेती पनि गर्छन्। हामीसँग प्राकृतिक रूपमा आफैँ उम्रने र खेती गर्ने गाँजाको यकिन तथ्यांक भने पक्कै छैन। त्यसैले हामीले सबैभन्दा पहिले गाँजाको स्रोत मूल्यांकन गर्न जरुरी छ।
गाँजालाई सूक्ष्म किसिमले अध्ययन गर्ने हो भने प्राकृतिक रूपमा आफैँ उम्रने गाँजालाई खासगरी ‘क्यानाबिस स्याटिभा उपप्रजाति इन्डीका’ हो भने खेती गरिने गाँजा भने ‘क्यानाबिस स्याटिभा प्रकार काफिरिस्टानिका’ हो। तिनीहरू आकार-प्रकार, रसायन तत्त्वको किसिम अनि मात्रा र आनुवंशिक संरचनामा फरक हुन्छन्। यसका साथै एउटै प्रजातिको बिरुवा फरक वातावरण वा हावापानीमा हुर्क्यो भने त्यसका पनि आकार-प्रकार, रसायन तत्त्वको किसिम अनि मात्रा र आनुवंशिक संरचनामा पनि फरक-फरक हुन्छन्। त्यसैले तराइमा पाइने गाँजा हिमालमा पाइने भन्दा भिन्न हुन्छ। के हामीसँग यी सबैको तथ्यांक छ त? ती बिरुवामा हुने रसायन तत्त्वको किसिम अनि मात्रा र आनुवंशिक संरचना पत्ता लगाउने जनशक्ति र प्राविधिक उपकरणहरू छन् त?
आफूले उत्पादन गरेको दूध बेच्दा डेरीले ‘फ्याट’को मात्रा हेरेर मूल्य निर्धारण गरे झैँ उत्पादित गाँजाको रसायन तत्त्वको मापन कसरी गर्ने? अझ प्रचलित मापदण्ड ०.३ प्रतिशत टीएचसीको मात्रा कसरी मापन गर्ने? यसका लागि ब्यूटाइरोमिटर उपकरणमार्फत दूधको ‘फ्याट’ को मात्रा नापेझैँ सजिलो र सस्तो भने छैन। गाँजाका कुनै पनि बिरुवामा हुने विभिन्न रसायन तत्त्व मापन गर्न अहिलेसम्म दुई वटा जटिल विधिहरू प्रचलनमा छन्। ती विधिहरू ग्यास क्रोम्याटोग्राफी (जीसी) र हाइपर्फरमेन्स लिकुइड क्रोम्याटोग्राफी (एचपीएलसी) हुन्। यिनका लागि अत्यन्त जटिल तथा महँगा मेशिन र विदेशमा उत्पादित विशेष र महँगा रसायनका साथै उच्चस्तरीय प्राविधिक जनशक्तिको आवश्यकता हुन्छ।
नेपालका केही ठाउँमा यी मेसिनहरू भए तापनि कि त बजेटको अभावमा वा दक्ष जनशक्तिको अभावमा सीमित रूपमा मात्र प्रयोग हुँदै आएका वा बन्द गरेर त्यसै थन्किएका छन्। उत्पादित गाँजा हामीले लागू औषध भनेर पक्कै बिक्री गर्ने छैनौँ। औषधिका रूपमा बिक्री गर्न रसायनको मापन गर्न आवश्यक हुन्छ। परीक्षण नगरी हामीले उत्पादन गरेको गाँजामा ०.३ प्रतिशतभन्दा धेरै टीएचसी आयो भने के गर्ने? आखिर रसायनहरूको उचित परीक्षणविना हामीले अन्तर्राष्ट्रिय जगत्मा औद्योगीकरण गरिएको हेम्प नामक गाँजा उत्पादन नगरी त्यो मरिवाना नामक गाँजा हुन पुग्यो भने हाम्रो देश ‘हेम्प स्टेट’ होइन, ‘नार्को स्टेट’ बन्दैन र?
खेती गरेको गाँजा मरिवाना भइदियो भने त्यो उत्पादन अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने कुरै भएन। त्यस्तो अवस्थामा उत्पादन गर्ने किसानलाई हामीले कसरी क्षतिपूर्ति दिने? त्यसैले गाँजा वैध बनाउनु पूर्व धेरैभन्दा धेरै प्राविधिक प्रयोगशालाहरू खोल्न र सञ्चालन गर्न जरुरी छ। खोलिएका प्रयोगशालाहरूको गुणस्तर कायम गर्न अन्तर्राष्ट्रिय गुणस्तरको प्रमाण पत्र लिन पनि उत्तिकै जरुरी छ। यो एक-दुई दिन वा महिनामा सम्भव हुने कुरा नै होइन। त्यसैले हतार नगरी विभिन्न पूर्वाधारहरूको विकास गर्न जरुरी छ। यसका साथै माथि उल्लेखित विधेयकको परिच्छेद-२ मा रहेको अनुमतिपत्र सम्बन्धी व्यवस्थापन भन्ने खण्डमा विस्तृत रूपमा रसायनको जाँच, उपकरणको व्यवस्था र मानव जनशक्तिको व्यवस्थाबारे स्पष्ट रूपमा उल्लेख गर्नुपर्छ। साथै हानि-नोक्सानीसम्बन्धी बीमाको पनि उल्लेख गर्नुपर्छ। यसो गरिएन भने २०६६ र ६७ सालतिर आएको हर्बो नामक नेटवर्किङ व्यापारले तमाम कृषकलाई घ्युकुमारी र तुलसीको खेती गराएर हावा खुवाएजस्तै गाँजा खेतीले पनि किसानहरूलाई मारमा नपर्ला भन्न सकिन्न। सतही रूपमा ल्याएको बकम्फुसे विधेयकबाट भुँइमान्छेहरू लाभान्वित हुन्छन् भनेर कसरी विश्वास गर्ने?
विधेयकको परिच्छेद-८ विविध खण्डको दफा ३६ मा लागू औषध (नियन्त्रण) ऐन, २०३३ का धेरै दफाहरू सोझै खारेजी गर्नुपर्ने उल्लेख गरिएको छ। यो ऐनमा उल्लेख गरिएका उक्त दफाहरू सोझै खारेज नगरी टीएचसी ०.३ प्रतिशतको मापन अनुसार सम्बन्धित नियमहरू अद्यावधिक र समकालीन बनाउन जरुरी छ।
गाँजाको अनुगमन र प्रयोगको कुरा गर्दा विधेयकको परिच्छेद-२ दफा ३ को उपदफा १ (क) मा ‘एक घर परिवारमा घरायसी प्रयोजनको लागि बढीमा ६ वटासम्म गाँजाको बोट उमार्न दिने’ उल्लेख छ। यो कुरालाई कसरी अनुगमन गर्ने? फेरि धेरै ठाउँमा प्राकृतिक रूपमा जताततै उम्रने गाँजा र खेती गरिएको गाँजा कसरी छुट्याउने? ‘लेख्न लेखौँ, वैध भए जेसुकै होस्’ भन्ने शैलीमा आएको विधेयक किन र कसका लागि ल्याइएको हो भन्ने सजिलै अडकल गर्न सकिन्छ।
बजार अनुगमन गर्दा कर्मचारी कुटिने देशमा अनुगमनको के कुरा गर्नु? दैनिक उपभोग्य वस्तु दूध र तेलमा मिसावट गराई उपभोक्ताको स्वास्थ्य खेलबाड हुँदा पनि निरीह बन्ने सरकार भएको देशमा कसरी भविष्यमा उत्पादन गर्ने गाँजाको गुणस्तर नियन्त्रण र आश्वासन सुनिश्चित गर्ने? यसका लागि व्यापक छलफल गर्न र बुँदागत रूपमा सटीक र स्पष्ट नियम मात्र होइन, उचित मार्ग निर्देशनका बुँदा बनाउन पनि उत्तिकै जरुरी छ।
पैसा कमाउन र मानिसहरूको लागि रोजगारीको अवसर सिर्जना गर्न गाँजालाई वैध गराइ खेती गर्नु/गराउनु मात्र समाधान होइन। यहाँ अन्य धेरै विकल्प पनि छन्। तत्कालै गाँजा वैध गर्नुपर्छ भन्ने भन्दा पनि धेरै गृहकार्य गर्न आवश्यक छ। त्यसैले हतार नगरौँ। पर्याप्त तयारी गरी राम्रो गाँजाको उत्पादन गरौँ। देशलाई नार्को स्टेट होइन हेम्प स्टेट बनाउन अग्रसर हौँ । अन्तमा, हाम्रो देशमा कुनै दिन गाँजा वैध होस्, त्यसको निर्बाध रूपले व्यापार होस्। सबैलाई लाभ होस्, तर गाँजा अभिशाप नबनोस्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
