काठमाडौँ– ७ अक्टोबर २०२३। सिसापाङ्मा हिमाल आरोहणपछि आठ हजार मिटर माथिका १४ वटा हिमाल आरोहण गरेर इतिहास बनाउने अन्तिम प्रयासमा थिइन्, दोलखाकी दावा योञ्जन शेर्पा। चीनको तिब्बतमा अवस्थित आठ हजार १३ मिटर उचाइको सिसापाङ्मा हिमाल आरोहणको चुचुरो चुम्नका लागि लम्केका उनका पाइला उत्कर्षतर्फ अघि बढ्दै थिए।
दुर्भाग्य! हिमालको चुचुरोमा पुग्न एक घण्टा जति बाँकी रहँदा आएको ठूलो हिमपहिरोले उनको योजनामा ‘ब्रेक’ लाग्यो। हिमाल आरोहण शुरू गरेको १२ वर्षको दौरानमा भोगेको यो घटनाले उनलाई सधैँ झस्काइरहन्छ। किनभने सँगै सुतेका चार जना साथीलाई फेरि कहिल्यै नफर्किने गरी हिमपहिरोले लग्यो। “म त्यस्तै सात हजार मिटरको उचाइमा थिएँ। मभन्दा १०० मिटर टाढा पहिरो थियो,” उनी भन्छिन् “राति सँगै सुतेका चार जना साथी बिहान हिमपहिरोमा परे। दुई जनाको शव भेटियो। बाँकी दुईको अहिलेसम्म अत्तोपत्तो छैन।”
हिमपहिरोमा पर्नेहरू उनीभन्दा एक घण्टाअघि उठेर हिँडेका थिए। उनलाई कहिले लाग्छ, यदि सँगै गएको भए साथीहरूलाई बचाउन सक्थेँ कि! तर अर्को मनले सोच्छिन्– म पनि हिउँपहिरोमा परेर मर्न सक्थेँ, धन्न बाँचेँ।
रोल्वालिङबाट शुरू भएको यात्रा
दावा योञ्जनको जन्म दोलखा जिल्लाको चार हजार १०० मिटरको उचाइमा पर्ने रोल्वालिङ उपत्यकामा भएको हो। गौरीशंकर हिमालको काखमा जन्मिएकाले हिमचुलीको सिरेटोले चिस्याएको मौसम उनका लागि सामान्य थियो। पाँच हजार मिटर उचाइका हिमाल त उनलाई सामान्य डाँडाकाँडा जस्तै लाग्थे। त्यहाँ उनको बच्चादेखि नै आउजाउ हुन्थ्यो। “पाँच हजार मिटरका त हिमाल नै होइनन्। डाँडाकाँडा जस्तै हुन्। त्यति उचाइका हिमालमा त हामी बच्चा हुँदा जडिबुटी खोज्ने क्रममा जान्थ्यौँ,” उनी भन्छिन्, “दैनिक गाई र याक चराउने गन्तव्य नै पाँच हजार उचाइका हिमाल हुन्थ्यो।”
दुई–चार दिनका लागि हिमालमा जानेलाई हिमाल राम्रो लाग्छ। तर उच्च हिमाली क्षेत्रको दैनिकी चाहिँ साँच्चै नै कठिन छ। दावासँग कठिनाइ र भोगाइको ठूलो भकारी नै छ।
“हाम्रो गाउँमा बाउबाजेको पालादेखि नै हिमाल चढ्ने प्रचलन थियो। हिमालमा बसोबास भएपछि विदेशीसँग संगत बढ्यो। मानिसको आयस्रोत नै पर्वतारोहण हो,” उनी भन्छिन्, “सिजनमा त गाउँघरका मान्छे लाहुर गएझै गाउँ नै खाली गरेर पर्वतारोहणमा व्यस्त हुन्थे। त्यस्तो वातावरणमा हुर्केको मलाई सगरमाथा चढेपछि रेडियो नेपालमा नाम आउँछ भन्ने सुनेको थिएँ। त्यही भएर नै मलाई सानै उमेरदेखि सगरमाथा चढ्ने सोच आउँथ्यो। पासाङल्हामु (शेर्पा) चढेको सुनेपछि त केटीले पनि चढ्दा रहेछन् भनेर सगरमाथा चढ्ने सपना बुन्न थालेँ।”
सगरमाथा चढ्ने रहर मात्र भएर हुँदैनथ्यो। पैसा चाहिन्थ्यो। तर उनीसँग पैसा थिएन। जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै काम गर्दै जाँदा सगरमाथा चढ्ने अवसर प्राप्त भयो उनलाई। दोलखाबाट काठमाडौँ आएपछि पर्वतारोहणसम्बन्धी तालिमबाट आफूलाई अभ्यस्त बनाउँदै लगिन्। गाउँमै छँदा ६ हजार मिटर उचाइका हिमालसम्म गएको अनुभव त थियो। तर हिमाल आरोहण गर्दा लगाउने जुत्ता र त्यसअनुरूपका कपडा लगाएर हिमालमा गएको अनुभव थिएन।
ती सबै उनले तालिमबाट सिकिन्। तालिमसँगै ‘ट्रेकिङ गाइड’का रूपमा काम गर्न थालिन्। त्यसै क्रममा एक दिन विदेशी पर्यटकले सगरमाथा चढेकी छौ भनेर उनलाई सोधे। छैन भन्ने जवाफ दिनुपर्दा आफैलाई लज्जित महसुस भयो। त्यसपछि सगरमाथा चढ्न उद्देश्य लिएर उनले त्यसको तयारी थालिन्। ।
सन् २०१२ मा उनी सोलुखुम्बुको फोर्चेमा रहेको खुम्बु क्लाइम्बिङ सेन्टरमा तालिमरत थिइन्। त्यसताकाको साहस र काम देखेर अमेरिकी प्रशिक्षकले दावालाई सगरमाथा चढ्न सक्ने भनेर उत्प्रेरणा दिए। त्यसपछि उनले आरोहीको कामदारको अवसर पाइन्। सहयोगीका रूपमा उनले सन् २०१२ मा पहिलो पटक सगरमाथा चढिन्।
पछि दावाको दायरा फराकिँदै गयो। औपचारिक शिक्षा नलिएकी उनलाई विदेशीसँग सञ्चार सम्पर्क गर्न अंग्रेजीसहित अन्य भाषाको ज्ञान आवश्यक थियो। काठमाडौँमा आएपछि अंग्रेजी र फ्रेन्च भाषा सिकिन्। अहिले विदेशीसँग अंग्रेजी भाषामा कुराकानी गर्न उनलाई कुनै कठिनाइ छैन। “कहाँ गोदावरी र अन्य ठाउँमा घुम्न जानु नि। किशोरी अवस्था त तालिम र भाषा सिक्दासिक्दै बित्यो,” दावा सुनाउँछिन्, “एक मिनेट पनि फुर्सद हुँदैनथ्यो।”
सगरमाथा चढेपछि उनले अन्तर्राष्ट्रिय महिला गाइडको लाइसेन्सको महत्व बुझिन्। उनका भनाइमा उक्त लाइसेन्स पाएपछि त्यसको छुट्टै मान्यता हुन्छ। “एकेडेमिक लाइसेन्स भएपछि धेरै विदेशीले विश्वास गर्ने रहेछन्,” उनी भन्छिन्, “पाँच वर्षको पढाइ पूरा गरेपछि लाइसेन्स पाइन्थ्यो। परीक्षा पास गरेर अन्तर्राष्ट्रिय महिला गाइडको लाइसेन्स लिएको म एसियाकै पहिलो महिला हुँ।”
उनले सन् २०१७ मा इन्टरन्यासनल फेडरेसन अफ माउन्टेन गाइड्स एसोसियनबाट प्रमाणपत्र प्राप्त गरेकी थिइन्। उक्त प्रमाणपत्र पाएपछि उनको चर्चा अन्तर्राष्ट्रिय रूपमै चुलियो। नर्थफेसका कपडा र रोलेक्स घडीको ब्रान्ड एम्बास्डरको अवसर पनि पाइन्। “नेपालमा खास चर्चा र अवसर नपाए पनि अन्तर्राष्ट्रियरूपमा धेरै अवसर प्राप्त गरेँ। देश–विदेश घुम्ने अवसर मिल्यो,” दावा सुनाउँछिन्।
मुलुक भित्र र बाहिर समान रूपले रेकर्ड कायम गर्न सफल भएकी दावा योञ्जनको दोलखादेखि काठमाडौँसम्मको यात्रा भने रोचक छ। रोल्वालिङ चलनचल्तीको पदमार्ग हो। रोल्वालिङमाथिको टासीलाप्चा पास कटेपछि सोलुखुम्बुको थामे पुग्न सकिन्छ। करिब पाँच हजार ७५५ मिटरको उचाइमा रहेको यो पास पार गर्नु निकै चुतौतीपूर्ण मानिन्छ।
धेरै पदयात्रीहरू रोल्वालिङसम्म पुगेर विश्राम गर्दथे। अनि स्थानीय शेर्पाले उनीहरूका भारी बोकेर पास गराउँथे। यसबाट रोल्वालिङका स्थानीयले राम्रो पैसा कमाइरहेका थिए। एक दिनको कुरा हो, आफूभन्दा ठूला दिदीसँग भरिया बनेर उनी पनि पर्यटकलाई पास कटाउन हिँडिन्।
पार गरर फर्किने क्रममा दुई जना दिदी फर्कन सके। तर उनी र उनकी साथी भने फर्कन सकेनन्। अनि हानिए सोलुखुम्बुको थामे। सोलु उनका लागि नयाँ थिएन। आफ्नो र साथीको आमाको माइती नै सोलु थियो। पास कट्न नसकेपछि मावलीघरमा पुगे दुवै जना।
केही दिन सोलुमै बिताएपछि लुक्ला हुँदै हवाइजहाजबाट काठमाडौँ हानिए। भारी बोकेर जम्मा भएको पैसाले काठमाडौँ आएको उनी सुनाउँछिन्। काठमाडौँ आएपछि पर्वतारोहणमै काम गरिरहेका दाइ दावा ग्याल्जेन शेर्पा र भाउजुसँग बस्न थालिन्। त्यसपछि शुरू भयो पर्वतारोहण र अध्ययनको क्रम।
हिमालमा आएको परिवर्तन
सगरमाथा आरोहणपछि शुरू भएको ठूला हिमाल आरोहणको क्रममा अहिलेसम्म उनले आठ हजार मिटर उचाइका १३ वटा हिमालमा पाइला टेकिन्। हिमालबाटै आफूलाई अन्तर्राष्ट्रियरूपमा स्थापित गरेकी दावाको अनुभवमा १० वर्षमै हिमालमा धेरै परिवर्तन आएको छ। “१५/२० वर्षपछि हिउँ नभएका डाँडा मात्र हुन्छन् कि भन्ने लागिसक्यो,” आफ्नो अनुभव सुनाउँदै उनी भन्छिन्, “दश वर्षअघि हिमनदी भएका ठाउँमा अहिले त छ्वाङ् छ्वाङ पानी बग्छ।”
पाकिस्तानसहित नेपालको सगरमाथा क्षेत्रमा १० वर्ष पहिला र अहिले देखेको दृश्यले हिमालमा हिउँ नै रहन्न कि भन्ने लागेको हो, उनलाई। त्यसबाहेक बेमौसममा हिउँ पर्दा पनि पर्वतारोहणमा समस्या भएको उनको अनुभव छ।
“पहिला–पहिला जाडोमा हिउँ पर्थ्यो। अनि गर्मीसँगै पर्वतारोहण शुरू हुन्थ्यो,” दावा भन्छिन्, “तर अहिले समयअनुसार हुन्न। जाडो याम सुख्खा हुन्छ। पर्वतारोहणको समयमा हिउँ पर्छ। हिमालमा हिउँ नभएपछि रक फलको समस्या धेरै हुन्छ। कति ठाउँमा आइस पगालेर पानीको जोहो गर्नुपर्छ। हिउँ नै नभएपछि कहाँ चढ्ने अनि हिमालमा कसरी पानीको जोहो गर्ने?” दावा प्रश्न गर्छिन्।