Thursday, May 09, 2024

-->

कोरोनाले गाउँ फर्काएका चानसिंह: कोदोबाट बिस्कुट उत्पादन गरेर बजार पठाउँदै

चानसिंह श्रीसले उत्पादन गरेको बिस्कुट खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट प्रमाणित भइसकेपछि बजारमा पुगेको छ। बजारीकरणका लागि पोखरा र काठमाडौँको सुपर मार्केटमा पनि पठाएका छन्।

कोरोनाले गाउँ फर्काएका चानसिंह कोदोबाट बिस्कुट उत्पादन गरेर बजार पठाउँदै 

गलकोट– बागलुङमा कोदोको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ। घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थालेका हुन्। 

गाउँमै उद्यम गरेर स्वरोजगार बन्नका लागि सात वर्षदेखि कोदोको बिस्कुट बनाउने विषयमा अध्ययन तथा अनुसन्धानपछि उहाँले कादोको बिस्कुट उत्पादनमा सफलता हासिल गरेका हुन्। उनले २०७७ सालमा उद्योग स्थापना गरेका हुन्। 

लामो समयदेखि आलु, कोदो, जौ र मकैको बिस्कुट बनाउनका लागि अध्ययनपश्चात् पहिलो चरणमा कोदोको बिस्कुट उत्पादन गरेको युवा व्यवसायी श्रीसले जानकारी दिए। कोदोपछि आलुको बिस्कुट बजारमा पठाउने योजना छ।

उनले पाँच वर्ष काठमाडौँमा रेस्टुराँ चलाए। पढाइमा स्नातक सके पनि जागिर खाएनन्। कोरोनाकालमा रेस्टुराँ बन्द भयो। “त्यसपछि फर्किएर यही उद्योगमा लागेँ,” चानसिंह भन्छन्, “५० लाख रुपैयाँ लगानीमा कोदोको बिस्कुट बजारमा पुर्‍याएको छु। धेरै स्थानबाट कोदोको बिस्कुटको माग बढिरहेको छ। कोदोको बिस्कुटको निकै राम्रो सम्भावना देखेको छु।”

कुनै समय गरिबको खानाको रूपमा चिनिएको कोदोको परिकारको महत्त्व पछिल्लो समय बढिरहेको छ। नेपालमै पहिलो पटक कोदोको बिस्कुट बजारमा ल्याएको उनको दाबी छ। विभिन्न उद्योग अवलोकन भ्रमणको क्रममा बिस्कुट कम्पनीको अध्ययन गरेका चानसिंह चार्टर्ड एकाउन्टेन्ट बन्ने सपना पूरा नभए पनि उद्यमी बन्ने सपना पूरा गर्नतर्फ लागेको बताउँछन्। अहिले प्याकेटमा ७० ग्रामको कोदोको बिस्कुटलाई २० रुपैयाँमा बजार पठाएका छन्।

उद्योग स्थापनाका लागि गण्डकी प्रदेश सरकारले ग्रामीण साना घरेलु उद्योग स्थापना कार्यक्रमअन्तर्गत १० लाख अनुदान दिएको थियो। गाउँमा रहेको कच्चा पदार्थ कोदोलाई ब्रान्ड बनाउन लागिपरेको उनले बताए। भने, “कोदो खेती कम हुँदै आएको छ। संरक्षण गर्नुपर्ने अवस्थामा पुग्न थालेको गाउँमै उद्योग स्थापना गरी बिस्कुट उत्पादन गरेर बजारीकरण गर्दा कोदो उत्पादक किसानसमेत उत्साहित हुन थालेका छन्,” उनी भन्छन्, “बजारमा गहुँ, जौ र मकैको बिस्कुट आए पनि कोदोको बिस्कुट आएको थिएन। कोदो, गहुँ, घ्यू र तेलको सम्मिश्रणमा उक्त बिस्कुट तयार हुन्छ। माग बढ्दै गएपछि उत्पादन बढाउने योजनामा छु।”

जिल्लाको बजारमा बिक्रीका लागि पठाइएको कोदोको बिस्कुटको माग बढेको मात्रै छैन नमुना बजारीकरणका लागि पोखरा र काठमाडौँको सुपर मार्केटमा समेत पठाएका छन्। बिस्कुट खाद्य तथा गुण नियन्त्रणको कार्यालयबाट प्रमाणित भइसकेपछि बजारमा पुगेको हो। गाउँमा उत्पादित कोदोबाट बनाइएको बिस्कुटले स्वास्थ्यलाई समेत फाइदा गर्ने उनको भनाइ छ। 

दैनिक ६० किलो बिस्कुट उत्पादन गर्ने क्षमता उद्योगको छ। दुई जनालाई प्रत्यक्ष रोजगारीसमेत दिइएको छ। कोदोको बिस्कुटको प्याकेजिङमा कृषि ज्ञान केन्द्रले सघाएको छ।  


सम्बन्धित सामग्री