Saturday, April 20, 2024

-->

अभिभावकका कारण मोबाइलको लतमा फस्दैछन् बालबालिका

मोबाइलको लतले बालबालिकाको बाहिर गएर खेल्ने, आफन्त वा चिनेजानेकासँग घुलमिल भएर बोल्ने, साथीभाइ बनाउने, घुलमिल गर्ने व्यवहार कम हुँदै गएको छ।

अभिभावकका कारण मोबाइलको लतमा फस्दैछन् बालबालिका

काठमाडौँ– नयाँ बसपार्ककी सबिता मगरका छोरा मन्टेसरीमा पढ्दै छन्। मोबाइल चलाउने उनको लतले घरका सबैलाई चिन्तित तुल्याएको छ। उनको छोरा सुमन आउँदो असारमा चार वर्षका हुँदै छन्। सानो उमेरमा उनी स्मार्टफोनको कुलतमा फसिसकेका छन्। कहिलेदेखि उनी मोबाइलको कुलतमा फसे थाहा छैन, अहिले सुधार्न अप्ठेरो भइरहेको सबिता बताउँछिन्।

सबिताले घरको काममा व्यस्त हुँदा छोराले झगडा गरे वा रुँदा शुरूशुरूमा मोबाइल दिएर फकाउँथिन्। खाना खान नमाने मोबाइल वा आई प्याडमा गीत, कार्टुन देखाएर खुवाउँथिन्। “रुँदा मोबाइल दिने र खाना खान नमान्दा मोबाइल देखाउने गर्दागर्दै ऊ मोबाइल नपाउँदा रुने र मोबाइलका गीत र कार्टुन नहेरी खाना नखाने भइसक्यो,” उनी भन्छिन्, “अहिले सुमन मोबाइल नपाए परिवारका सदस्यसँग झगडा गर्छ। रुन्छ। मोबाइल नदिएसम्म चुप लाग्दैन।”

उनले थपिन्, “मोबाइलको कुलतबाट निकाल्न मोबाइल नदिन खोज्यो, रोएर हैरान गर्छ। मोबाइल पाउँदा र नपाउँदा उसको व्यवहार पूरै फरक हुन्छ।” 

गौशाला घर भएकी सात वर्षीय सबिता पाण्डेको अवस्था पनि यस्तै छ। छोरी जतिखेरै मोबाइलमा झुन्डिन थालेपछि सबिताकी आमा सुनिता चिन्तित भएकी छन्। “आफ्नो सजिलोका लागि छोरीलाई मोबाइल दिने गरेको थियौँ, पछि बिस्तारै मोबाइल नभई नहुने अवस्थामा पुगिन्,” उनी भन्छिन्, “बालबालिकालाई मोबाइलको लत लागेपछि छुटाउन नसकिने रहेछ।”

उनी मात्र होइनन्, उनका दाइ सन्तोष कार्की पनि छोरोका कारण चिन्तामा छन्। “शुरूमा छोराले मोबाइल छुँदा पनि खुशी भइयो, अहिले मोबाइल छोला कि भनेर डराउनु परेको छ,” उनी भन्छन्, “मोबाइल दिने बानी आफैँले पार्‍यौँ अहिले त्यही मोबाइलका कारण छोराको पढाइमा मन नदिने र व्यवहारमा परिवर्तन आएर हैरान भएको छौँ।”

बच्चाले मोबाइल चलाउनुमा अभिभावककै हात भएको उनी स्विकार्छन्। “शुरूमा छोराले मोबाइल चलाउँदा वैज्ञानिक नै बन्ला भनेर हौसला दियौँ, हामीलाई समेत मोबाइल चलाउन सिकाउन थाल्यो,” उनी भन्छन्, “छोराछोरीले के के न जान्यो भनेर हर्षित हुन थाल्यौँ। त्यसैको फाइदा उनीहरूले उठाउन थाले।”

आफू पनि मोबाइलमा व्यस्त हुने अनि बालबालिकालाई पनि मोबाइल चलाउन दिने परिवारको संख्या बढिरहेको बताउँछिन् चाबहिलकी सुमना श्रेष्ठ। उनकी छोरी करुणा पाँच कक्षामा पढ्छिन्। पढाइमा राम्रो थियो। परिवारका सदस्यसँग बोल्ने, घरमा पाहुना आउँदा रमाइलो गर्ने र परिवारसँग समय बिताउन मन पराउँथिन्।

उनले पढ्नका लागि सजिलो होस् भनेर छोरीलाई आई प्याड ल्याइदिइन्। त्यसपछि करुणाको व्यवहारमा परिवर्तन हुँदै गयो। शुरूका व्यवहार बिस्तारै छाड्दै एक्लै आई प्याडमा रमाउन थालिन्। “म व्यस्त भएको समय पारेर मोबाइल लिन्छे, त्यो बेला दिनै पर्‍यो। दिने गरेकी पनि छु,” सुमनाले अनुभव सुनाइन्, “आधा घण्टापछि मोबाइल माग्दा रोएर उत्पात मच्चाउँछे। हातबाट खोस्यो भने झगडा गर्छे। केही लागेन भने आफैँलाई कुट्ने, टोक्न थाल्छे।”

करुणाको व्यवहारमा आएको डरलाग्दो परिवर्तनले सुमना र उनका श्रीमान् चिन्तामा छन्। 

लाजिम्पाटकी प्रमिला भुजेल भन्छिन्, “अहिले त मोबाइल नचलाओ भन्दा उल्टै सरले यस्तो हेर उस्तो हेर भनेको छ भन्छन्। केही भन्न सकिएन। विद्यालयको समयबाहेक अरू बेला मोबाइल नहेर बाबु भन्यो, हामीलाई उल्टै झर्किन्छ। एक्लै एक्लै के के बरबराउँछ, दिक्क भइसक्यौँ।” परिपक्व मस्तिष्कमा समेत मोबाइलको प्रयोगले असर पार्छ भने बालबालिकामा ती ग्याजेटले उनीहरूको व्यवहारमा कस्तो असर पार्ला?

कान्ति अस्पतालका बाल मनोरोग डा. अमित झा भन्छन्, गेम र मोबाइलको अत्यधिक प्रयोगले बालबालिकामा एन्जाइटी र डिप्रेसन जस्ता मानसिक रोगका लक्षणहरू देख्न सकिन्छ। “मोबाइल खोलेपछि बोल्न जरुरत हुँदैन जसले गर्दा बालबालिकामा बोल्ने बानीको विकास अवरुद्ध हुँदै जान्छ, उनी भन्छन्, “पाँच वर्षभन्दा कम उमेर समूह र अटिजम भएका बालबालिकालाई मोबाइलको प्रयोगमा रोक लगाउनु नै उचित हुन्छ।”

मोबाइलको अत्यधिक प्रयोगले गर्दा बालबालिकाहरू बाहिर गएर खेल्ने, आफन्त वा चिने जानेका सँग घुलमिल भएर बोल्ने, साथीभाइ बनाउने, साथीहरूसँग घुलमिल गर्ने लगायतका व्यवहार कम हुँदै जान्छ। बालबालिकामा रहेको रचनात्मक र सिर्जनशील कार्यहरू ह्रास हुँदै जान्छ। डिप्रेसन, एन्जाइटी जस्ता मानसिक रोगको समस्या देखिन थाल्छ। निन्द्रा नलाग्ने, मोटोपन, पढाइमा समस्या, आँखा कमजोर हुने, रिसालु र झगडालु स्वभावको देखिन थाल्छ। डा. झा मोबाइलको लत छुटाउन सकिने बताउँछन्।

उनका अनुसार लत बसेपछि मात्रै मोबाइल प्रयोगका नकारात्मक असर देखिन थाल्छ। समय मिलाएर मात्र बालबालिकालाई मनोरञ्जनका लागि मात्र दिने हो भने जोखिम कम गर्न सकिन्छ। मोबाइल चलाउने लत लागेको बालबालिकालाई एकै पटक छुटाएर पहिलेको अवस्थामा ल्याउन भने गाह्रो हुने बाल मनोरोग विशेषज्ञ झा. बताउँछन्। पाँच वर्षभन्दा कम उमेर समूहका बालबालिकाहरूलाई मोबाइल दिने कुरा गलत हो।

यदि, कुनै कारण यसको लत बसिसकेको छ भने एकै पटक छुटाउने कोशिश गर्नु हुँदैन, बिस्तारै छुटाउनु पर्छ। उनका अनुसार एकै पटक छुटाउन खोज्न खोजियो भने सम्भव हुँदैन। तर थोरै समय मोबाइल दिँदै बिस्तारै कम गर्न सकिन्छ। परिवारका सदस्यले समय दिनुपर्छ। डाक्टरको सल्लाहअनुसार थेरापीबाट छ महिनामा बिस्तारै मोबाइलको लतबाट बालबालिकाबाट छुटाउन सकिन्छ।


सम्बन्धित सामग्री