Wednesday, May 15, 2024

-->

तिहार लागेसँगै भक्तपुरमा माटोका पाला र भाँडा बनाउने चटारो, माग धान्न मुस्किल

भक्तपुरमा उत्पादन भएका पाला उपत्यकासहित धुलिखेल, बनेपा, पनौती, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, पोखरा, नारायणगढ, वीरगन्जलगायत स्थानमा बिक्री हुने गरेको छ।

तिहार लागेसँगै भक्तपुरमा माटोका पाला र भाँडा बनाउने चटारो माग धान्न मुस्किल

भक्तपुर– तिहार लागेसँगै भक्तपुरमा माटोका भाँडा बनाउन भ्याई नभ्याइ भएको छ। भक्तपुर नगरपालिका–४ तालाक्वो पोर्टरीस्क्वायरमा पुस्तौदेखि माटोका भाँडा बनाउँदै आएको कुमाले समुदाय तिहार शुरू नहुँदैदेखि माटोका भाँडा बनाउन व्यस्त छ। 

भक्तपुरमा आकर्षक माटोको भाँडा बनाउने बोलाछें र तालाक्वको पोर्टरी स्क्वायरमा प्रजापति समुदायका पूरै परिवार यतिखेर तिहारका लागि आवश्यक पाला बनाउन एकछिन फुर्सद छैन।

स्थानीय शिवप्रसाद प्रजापतिले आफूहरूले यसवर्ष करिब २० लाख पाला बनाएर बिक्री गर्ने योजना बनाएको बताए। “करिब ६० घरपरिवार माटोको भाँडा, पाला बनाउन व्यस्त छन्, बजारमा भारतीय पाला छिरिरहेको छ, सरकारले यसलाई रोकिदियोस्,” उनले भने, “२० लाख पाला बनाएर काठमाडौँ उपत्यकादेखि पोखरासम्म बिक्री गर्ने योजना बनाएका छौँ।” 

यसवर्ष थोकमा प्रतिगोटा दुई रुपैयाँमा पाला बिक्री भइरहेको उनको भनाइ छ। केहीवर्ष अगाडिसम्म भक्तपुरमै माटो पाइने भए पनि साँखुबाट महँगोमा माटो ल्याउनुपर्दा प्रजापति समुदायलाई समस्या परेको र सरकारले माटो ल्याउन सहजीकरण गरिदिनुपर्ने उनले बताए। 

“तिहार आइसक्यो माटोको पाला, भिउँट, धुपौरोको थुप्रै अर्डर आएको छ,” तालाक्व पोर्टरी स्क्वायरका ३८ वर्षीय विनोदकुमार प्रजापतिले भने, “माटोको समस्याले अर्डरअनुसारको काम गर्न पाइएको छैन।” उनका अनुसार वर्षभरिमा राम्रो आम्दानी गर्ने समय नै यही हो। त्यसैले यो मौकालाई गुम्न नदिन यहाँका सिंगो समुदायका स–परिवार बिहानैदेखि रात नपरेसम्म माटोकै काममा व्यस्त हुने गरेको उनको भनाइ छ। 

परम्परागत मेसिन लोप भएपछि आधुनिक र सजिलो विद्युतीय मेसिनबाट माटोको भाँडा बनाउन व्यस्त उनले यसवर्ष १५ हजार पाला बिक्री गरिसकेका छन्। पूजामा प्रयोग हुने धुपौरो, घैँटो बनाउन व्यस्त उनले साना र ठूला दुवै प्रकारको पालाको माग रहेको बताए। पोटरी स्क्वायरकै दयाराम प्रजापतिको पनि हात एकछिन पनि खाली छैन। बाजे बराजुको पालादेखि माटोको भाँडा बनाउँदै आएको उनको परिवारमा यो जिम्मेवारी अहिले दयारामले सम्हाल्दै आएका छन्। भन्छन्, “पालाको माग धेरै छ, तिहार आइसक्यो, मागअनुसारको पाला उत्पादन गर्न भ्याएकै छैन।”

यहाँ उत्पादन भएका पाला यतिखेर भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेपलान्चोक, बनेपा, पनौती, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, पोखरा, नारायणगढ, वीरगन्जलगायत स्थानमा बिक्री हुने गरेको छ।

पाला बनाउन व्यस्त विनोद प्रजापतिले माटो र काठको अभाव भएकाले इलेक्ट्रिक चुलोको व्यवस्था गरिदिए सहज हुने बताए। भक्तपुरमा माटो पाउन छाडेको करिब एक दशक भइसक्यो। साँखुबाट व्यापारीले माटो ल्याउने गरेका छन्। त्यो पनि मागअनुसार आउँदैन, माटोको अभावले पेसा नै संकटमा पर्ने अवस्था आएको उनीहरूको गुनासो छ।

स्थानीय विकास प्रजापतिले साँखुबाट व्यापारीले एक मिनीट्रक माटोको १३ हजारदेखि १५ हजारसम्म लिने गरेको बताए। माटो र दाउराको अभावले समस्या आएको उनको भनाइ छ। विगतमा भक्तपुरका कुमाले बाहिर जिल्लामै गएर माटोको भाँडा बनाउने गर्थे। 

कतिपय विभिन्न जिल्लामा बसाई सरेर गएका कुमालेले सोही ठाउँमै माटोको भाँडा बनाउने गरेपछि माग घटेको स्थानीय बलराम प्रजापतिले बताए। पुर्खादेखि गर्दै आएको काम छाड्न नसकिएको उनको भनाइ छ।


सम्बन्धित सामग्री