Thursday, May 09, 2024

-->

दुर्गमको विद्यालयमा ३ दशक बिताउँदा…

एउटै विद्यालयमा तीन दशक बढी समय बिताएका आलमले जागिर मात्रै नगरेको, गाउँको शैक्षिक उत्थानमा योगदान दिएको भन्दै धवलागिरि गाउँपालिकाले उनलाई अभिनन्दन गरेको छ।

दुर्गमको विद्यालयमा ३ दशक बिताउँदा…

म्याग्दी– शिक्षणको सिलसिलामा रौतहटबाट म्याग्दी आएका जहुर आलमलाई दुर्गम गाउँमा तीन दशक लामो समय बस्नुपर्छ भन्ने लागेको थिएन।

२०५० सालमा दुर्गम बस्ती धवलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा नियुक्त भएका थिए। छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको दुर्गम गाउँमा पुग्न सदरमुकाम बेनीबाट दुई दिनको पैदलयात्रा गर्नुपर्थ्यो। शुरूमा उनलाई फरक भूगोल, भाषा, संस्कृति र रहनसहनमा घुलमिल हुन निकै कठिन भयो। तराईबाट उच्च पहाडी क्षेत्रको हावापानीमा बिस्तारै घुलमिल हुँदै जाँदा आलम यही दुर्गम गाउँको परिवेशमा आफूलाई परिचित मात्रै गराएनन्। जीवनको महत्त्वपूर्ण समय यही गाउँलाई सुम्पिए। 

विद्यालयमा ३० वर्ष छ महिना शिक्षण गरेका आलम २३ वर्षदेखि निरन्तर प्रधानाध्यापकको जिम्मेवारी सम्हाले। तराइदेखि दुर्गम गाउँसम्म आएर लामो समय शिक्षण गरी योगदान गरेका आलम अनिवार्य अवकाश भएर फर्किएका छन्। उनलाई सिंगो वडा र गाउँले अभिनन्दनसहित बिदा गरेका छन्। यो गाउँमा बाहिरबाट आएर दीर्घ सेवा गर्ने र अभिनन्दन हुने आलम पहिलो व्यक्ति हुन्। विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय, आमा समूह लगायतले शिक्षक आलमलाई नौमती बाजासहित फूल, माला लगाएर अभिनन्दन गरे। 

वडाध्यक्ष अमर छन्त्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलमान छन्त्याललगायत विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावकसहित सिंगो गाउँवासीले उहाँलाई दोसल्ला, सम्मान पत्र, कदरपत्रसहित अभिनन्दन गर्दै चरेसका थाल उपहार दिएका थिए। 

एउटै विद्यालयमा तीन दशक बढी समय खर्चिएका शिक्षक आलमले गाउँमा आएर जागिर मात्रै नगरेको र सिंगो दुर्गम मल्कबाङ गाउँको शैक्षिक उत्थानमा योगदान दिएकाले गाउँमा शिक्षकलाई पहिलो पटक अभिनन्दन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलमान छन्त्यालले जानकारी दिए। 

बिदाइमा गाउँवासी र विद्यार्थीसहित शिक्षक आलमसमेत  भावुक बने। सबैका आँखा रसाएका थिए। जीवनको तीन दशक समय बिताएको गाउँ छाडेर जानुपरेकोमा आफू भावुक भएको बताए। ‘ हिजोका ती सबै दुःख आज तपाईँहरूले देखाउनुभएको मायाले भुलाइदिएको छ, मैले कति योगदान गर्न सकेँ त्यो तपाईँहरूको मूल्यांकनको विषय हो, तर मलाई आफ्नै छोरा सम्झिएर सहयोग गर्नुभयो,” उनले भने, “दुर्गमको दुःख भुलेर शिक्षणमा रमाउन पाएँ, सबैलाई धन्यवाद।’’

उनले असोज ३ गते नियमित अवकाश लिएका हुन्। धवलागिरि गाउँपालिका कार्यालयले समेत दुर्गम गाउँमा दीर्घ सेवा शिक्षण गरेकोमा कदरपत्र र दोसल्लाद्वारा सम्मान गरेको छ। गाउँपालिका उपाध्यक्ष रेशम पुन र कर्मचारीलगायतले अवकाश प्राप्त शिक्षक आलमलाई बिदाइ गरे। 

रौटहटको यमुनामाई गाउँपालिका–३ का स्थायी बासिन्दा आलम विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेपछि म्याग्दी आएका थिए। आलमलाई तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर छन्त्यालले शिक्षा कार्यालयबाट अनुमति लिएर निजी स्रोतबाट विज्ञान विषयको शिक्षकका रूपमा विद्यालयमा नियुक्त गरेका थिए। 

आलम आएपछि विद्यालयको २०५१ मा कक्षा ९ र २०५२ मा कक्षा १० को पठनपाठन शुरू गरेर माविमा स्तरवृद्धि गरिएको थियो। २०५७ सालदेखि विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारीसमेत बहन गरेपछि आलमलाई विद्यालयमै रहने दायित्व थपिएको थियो।

२०५० वैशाख १८ गतेदेखि विद्यालयमा कार्यरत भएर शिक्षण जीवनको सम्पूर्ण समय दुर्गम गाउँको एउटै विद्यालयलाई सुम्पिएका आलमलाई विद्यालयका पूर्वविद्यार्थीको पहलमा मल्कबाङ समाज यूकेले यसअघि नगद एक लाख रुपैयाँसहित सम्मान गरेको थियो। 

२०५३ मा परीक्षा दिएर २०६० मा नजिता प्रकाशन भएको शिक्षक सेवा आयोगको माध्यमिक तह तृतीय श्रेणी पदमा उत्तीर्ण भएर स्थायी शिक्षक सेवामा प्रवेश गरेका आलम २०६७ सालमा माध्यमिक तह द्वितीय श्रेणीमा बढुवा भएका थिए।


सम्बन्धित सामग्री