Saturday, May 04, 2024

-->

अमेरिकामा ‘मुटु सम्हाल्ने’ डा. मलखको ख्याति

विश्वकै ठूलो अस्पतालमध्येको मेयो क्लिनिकमा मुटुको शल्यक्रिया गर्छन् डा. मलख श्रेष्ठ। अन्य अंगभन्दा मुटु शल्यक्रिया संवेदनशील हुनाले हरेक बिहान ‘बिरामी मर्न दिन्नँ’ भनेर सजग हुने गरेको उनी बताउँछन्।

अमेरिकामा ‘मुटु सम्हाल्ने’ डा मलखको ख्याति
तस्वीर: कृष्पा श्रेष्ठ/उकालो

काठमाडौँ– विश्वकै ठूलो अस्पतालमध्येमा पर्छ अमेरिकास्थित मेयो क्लिनिक। यो अस्पतालको वार्षिक आम्दानी १६ बिलियन डलर छ। हरेक वर्ष विश्वका १५ लाख बिरामीले यहाँबाट सेवा लिन्छन्। 

यो अस्पतालको कार्डियोभास्कुलर मेडिसिनअन्तर्गत एरोटिक सेन्टरका निर्देशक हुन्, नेपालका प्राडा मलख श्रेष्ठ। उनी २०२२ अक्टोबरमा मेयो क्लिनिक गएका हुन्। यसअघि जर्मनीको ह्यानोभर मेडिकल युनिभर्सिटी अस्पतालमा २६ वर्ष (१९९६–२०२२) काम गरे।

उनलाई सन् २०१८ देखि नै मेयो क्लिनिकले ‘अफर’ गरिरहेको थियो। तर जर्मनी छोडिहाल्न सकेका थिएनन्। सन् २०२१ मा आमाको मृत्यु भयो। त्यति बेला नेपाल आएका थिए। फर्किएर जर्मनी पुगेपछि उनले अमेरिकन अस्पतालको त्यो अफर स्वीकार गरे।

मेयो पुग्नु आफ्नो ‘करिअर’को उत्कर्ष भएको उनी बताउँछन्। त्यहाँ ओपीडीमा दैनिक पाँच जना बिरामी हेर्छन्। उनका अनुसार एक जना बिरामीलाई न्यूनतम एक घन्टा समय दिइन्छ।

मलखको चिकित्सा क्षेत्रको यात्रा टेकु अस्पताल, वीर अस्पताल, जर्मनीको स्ट्याफोर्ड युनिर्भसिटी, ह्यानोभर अस्पताल हुँदै मेयो अस्पतालसम्म पुगेको हो। उनले काठमाडौँको बुढानीलकण्ठ विद्यालयबाट सन् १९८२ मा एसएलसी उत्तीर्ण गरेका थिए। त्यसपछि उनले अस्कलबाट आईएस्सी गरे।

सन् १९८५ मा उनी कलकत्ता विश्वविद्यालयमा मेडिकल पढ्न गए। सन् १९९१ मा अध्ययन पूरा गरेपछि सोही विश्वविद्यालयको मातहतमा रहेर एक वर्ष इन्टर्नसिप गरे। सन् १९९२ नेपाल फर्किएर ६ महिना टेकुस्थित सरुवा रोग अस्पतालमा काम गरे। सोही वर्ष लोकसेवामार्फत वीर अस्पतालमा जनरल सर्जनमा नियुक्त भए। उनले त्यहाँ साढे दुई वर्ष काम गरे। 

उनी जर्मन सरकारको खुल्ला छात्रवृत्ति (जर्मन इन्टरनेशनल एकेडेमिक स्कलरसिप) अन्तर्गत मुटुको शल्यचिकित्सा पढ्न अवसर मिल्यो। उनले ह्यानोभर विश्वविद्यालयबाट ६ वर्षमा कार्डियाक सर्जरीको अध्ययन पूरा गरे।


सन् २००२ मा उनले कार्डियाक सर्जरीको ‘रेजिडेन्सी’ भएर सोही विश्वविद्यालयमा काम गरे। कार्डियाक सर्जनको ‘पोस्ट ग्य्राजुएसन’ पूरा गरेपछि सन् २००३ मा स्टाफ सर्जन भए। सन् २००५ मा उनले कार्डियाक सर्जरीमै पीएचडी गरे।

त्यही बेला नेपालमा राजनीतिक व्यवस्था परिवर्तनका लागि आन्दोलन भइरहेको थियो। डा. मलख नेपालकै गंगालाल अस्पतालमा ‘कन्सल्टेन्ट’ भएर सेवा गर्न चाहन्थे। तर ‘मेडिकल अफिसर’का लागि लोकसेवाको परीक्षा दिनुपर्ने भएपछि उनी पन्छिए। किनभने, जर्मनीको ह्यानोभरमा सर्जरी विभागको निर्देशक भइसकेका थिए। यद्यपि, नेपालमै काम गर्न उनले एक महिनासम्म प्रयास गरे। सरकारबाट सकारात्मक जवाफ नपाएपछि जर्मनी नै फर्किने निधो गरे।

उनले ह्यानोभरमा सन् २००६ देखि २०११ सम्म बाइपास सर्जरी निर्देशकको रूपमा काम गरे। सन् २००९ मा दोस्रो पीएचडी गरे। त्यसपछि सोही विश्वविद्यालयको एसोसिएट प्रोफेसर भए। “कलकत्ता अध्ययनपछि नै नेपाल बसाइ कम हुन थाल्यो,” उनी भन्छन्, “नेपालमा फर्किएर काम गर्न मन नलागेको होइन, तर परिस्थिति मिलेन।”

ह्यानोभर अस्पतालमा नै उनले कामलाई निरन्तरता दिए। सन् २०१६ मा ह्यानोभरको कार्डियाक विभाग प्रमुख भए। त्यो पदमा उनी चाहेको अवधिसम्म काम गर्न पाउँथे। 

यद्यपि, डा. मलख त्यहीँ रोकिएनन्। करिब एक वर्षअघि विश्वकै ठूलोमध्येको मेयो क्लिनिक पुगे। उनी अमेरिकन एसोसिएसनको एरिओसिएस अफ थोरेटिक सर्जरी (एएटीएस)मा सदस्य छन्। एएटीएस अमेरिकी मुटु सर्जनहरूको संगठन हो, जसमा अमेरिकाका ३५० र बाँकी विश्वका ३५० सर्जनहरू सदस्य छन्। “म जर्मनीको डाक्टर भएको नाताले मलाई निमन्त्रणा आएको थियो,” उनी भन्छन्, “जर्मन डाक्टर भए पनि एएटीएसमा म पहिलो नेपाली हुँ, सदस्य हुने।”

पुर्खा सिम्रौनगढको राजपरिवार!
काठमाडौँमा जन्मिएका डा. मलख श्रेष्ठको पारिवारिक पृष्ठभूमि नेपालको ऐतिहासिक पाटोसँग जोडिएको छ। आफूहरू सिम्रौनगढका अन्तिम राजा हरिसिंह देवको सन्तति भएको भनेर बाजे फत्तेबहादुर सिंहले सुनाउने गरेको डा. श्रेष्ठ सम्झन्छन्। सिम्रौनगढबाट मुसलमान राजाले लखेटेपछि आफ्ना पुर्खा भक्तपुर बसाइँ सरेको उनले बताए।

इतिहासकार त्रिरत्न मानन्धरका अनुसार हरिसिंह देवकी रानी दैवलदेवी भक्तपुरका तत्कालीन राजा रुद्र देवको दिदीबहिनी थिइन्। सिम्रौनगढबाट भागेर आउने क्रममा तीनपाटनमा हरिसिंह देवको मृत्यु भयो। रानी देवलदेवी, छोरो जगत सिंहलगायत अन्य मन्त्रीहरूले भने देवलदेवीको माइती देश भक्तपुरमा शरण पाए। 

पृथ्वीनारायण शाहले भक्तपुर आक्रमण गर्ने क्रममा मीतबुवा राजा रन्जित मल्ललाई काशी पठाएर उनीबाहेक मल्ल र सिंह वंशका सबै पुरुषको हत्या गरेका थिए। त्यसबेला बहादुर सिंह ‘कमान्डिङ चिफ’ थिए। उनै सिंह आफूहरूको पुर्खा भएको डा. मलख बताउँछन्। 

पृथ्वीनारायणले भक्तपुरका राजासँगै सिंह वंशका कारण पनि खतरा हुनसक्ने ठानेर सबै जनाको हत्या गरेका थिए। तर बहादुर सिंहका चार छोरामध्ये कान्छाकी श्रीमती गर्भावस्थामा थिइन्। गर्भावस्थाकी महिलाको हत्या गरे पाप लाग्ने विश्वास थियो। यसरी हत्याबाट जोगिएकी बहादुर सिंहकी कान्छी बुहारीबाट जन्मेका नातिको आफूहरू आठौँ पुस्ता भएको डा. मलख बताउँछन्। 


उनका बाजे फत्तेमानले राणाकालमा महावीर विद्यालय स्थापना गरेका थिए। गंगालाल श्रेष्ठ र फत्तेमान सहकर्मी थिए। गंगालाललाई फाँसी दिइँदा फत्तेमानको पनि सर्वस्वहरण गरिएको कथन आफूहरूले सुनेको डा. मलख बताउँछन्।

डा. मलखकी आमा सुशीला सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश हुन्। उनलाई ५ वर्षकै उमेरमा बाजे फत्तेबहादुरले पढ्न भारत पठाएका थिए। उनीसहित भद्रा घले, रामन जोशी, भुवनेश्वरी सत्याललगायतलाई फत्तेबहादुरले भारतको गान्धी आश्रममा पढ्न पठाएका थिए। सुशीलाले पछि अलाहबाद युनिभर्सिटीमा कानूनको अध्ययन गरेकी थिइन्।

डा. मलखका पिता मनकलालले पहिलो नेपालभाषाको पत्रिका प्रकाशित गरेका थिए। नेपालभाषाका महाकवि सिद्धिदास महाजू उनको बाजेको मामा पर्छन्। आफ्नो परिवार पहिलादेखि नै शिक्षित भएको कारण आफूमा त्यसको प्रभाव परेको उनी बताउँछन्।

डा. मलख आफ्नो सफलताको श्रेय अथक लगन, इमानदारी र अध्ययनशील पारिवारिक पृष्ठभूमि नै भएको बताउँछन्। उनी आफ्नी आमाबाट निकै प्रभावित छन्। “जे गरे पनि मेरो आमाले बेस्ट हुनुपर्छ भन्नु भएको थियो। ८ कक्षामा पहिलोपटक दोस्रो भएको थिएँ। त्यसपछि कहिले पनि दोस्रो भइनँ। जाडो, गर्मीको बिदामा पनि दिनको दुई घण्टा मेरो ट्युसन क्लास हुन्थ्यो।” 

नेपाल, जर्मनी हुँदै अमेरिका
नेपालमा स्वास्थ्य र शिक्षालाई आधारभूत आवश्यकतामा राखिए पनि कार्यान्वयन पक्ष शून्य रहेको डा. मलख बताउँछन्। “आधारभूत आवश्यकताको फलो अप छैन,” उनी भन्छन्, “जर्मनीमा शिक्षा निःशुल्क छ। हामीले ५० प्रतिशत कर तिर्नुपर्छ, तर उच्च शिक्षाको लागि त्यहाँ निःशुल्क छ। मेरो बसाइ अमेरिका भए पनि मेरा छोराछोरीलाई जर्मनीमा पढाइरहेको छु।”

यद्यपि, स्वास्थ्य सेवा भने ‘फ्री’ छैन। आफ्नो कमाइको १५ प्रतिशत स्वास्थ्य बीमा तिर्नुपर्छ। त्यसमध्ये आधा रकम कामदारले र बाँकी कम्पनीले तिरिदिने उनी बताउँछन्।

यद्यपि, नेपालमा जस्तो जर्मनी र अमेरिकामा परिवारको सम्बन्ध नजिकको र आत्मीय नहुने उनको भनाइ छ। “जर्मनीमा कोही मर्न लागे पनि उसको परिवार आउँदैन। यस्तो अवस्थामा अस्पतालमा कोही एक्लो मर्न नहुने भन्दै अन्तिम समयमा बिरामीको हात समातेर, मधुर संगीत बजाएर साथ दिने गरिन्छ। यो अस्पतालको व्यावसायिक धर्म हो,” उनी भन्छन्।

अमेरिका भनेको ठ्याक्कै नेपालजस्तो रहेको उनी बताउँछन्। पैसा हुनेका लागि स्वास्थ्य सेवा छ, नत्र छैन। आफूले देखेकोमा हालसम्म जर्मनीको सेवा सबैभन्दा उत्कृष्ट भएको उनले बताए। “जर्मनीमा गरिबले पैसा नभएको कारण पढ्न नपाउने भन्ने हुँदैन,” उनी भन्छन्, “नेपालमा निजी अस्पताल युरोपियन मूल्यका छन्, तर रकमअनुसारको गुणस्तर छैन।”

अमेरिकामा फेरिएको दैनिकी
मेयो जानुको एक मात्र कारण विश्वको प्रतिष्ठित अस्पतालमा काम गर्नु नै भएको डा. मलखले बताए। त्यहाँ बिरामीलाई दिइने समय महत्त्वपूर्ण भएको उनको भनाइ छ। “मैले नेपालका अस्पतालमा पनि त्यही भन्ने गरेको छु। मुटुरोगीका लागि १० मिनेटको कुराले हुँदैन। कति कुरा पहिलो आधा घण्टासम्म आउनै सकेको हुँदैन। त्यसपछि बल्ल उसको फेमिली हिस्ट्री आउँछ,” उनी भन्छन्, “बिरामी पनि पहिले रिल्याक्स हुनुपर्‍यो। दाँत दुखेको जस्तो होइन। मेयोमा मैले बिरामी हकारेँ भने मलाई पाँच मिनेटमा गार्डसहित बाहिर राखिदिन्छ।”

आफू बिहान घरबाट निस्किदा ‘आज कुनै बिरामीलाई मारेर आउँछु कि’ भन्ने डर हुने बताउँछन्। “मुटुको सर्जरी हुनाले यस्तो डर हुन्छ। जेनेरल, अर्थोमा पनि समस्या होलान्, तर डाक्टरको गल्तीको कारण अन द स्पट मृत्यु हुने रिस्क कम हुन्छ। कोही बिरामीले मलाई आफ्नो जीवन जिम्मा दिएपछि मैले पनि सोहीअनुसार जिम्मेवार हुनुपर्छ। सोही कारण म हरेक तवरले सजक रहने गरेको छु,” डा. मलख भन्छन्।

जर्मनीको ह्यानोभरमा हुँदा ‘इमर्जेन्सी’मा रातबिरात अस्पताल जानुपर्ने अवस्था हुन्थ्यो। तर अमेरिकामा यो समस्या छैन। मेयो क्लिनिक गाउँको परिवेशमा भएको कारण हतपत इमर्जेन्सी सेवा आउँदैन। सोही कारण उनी साँझ ७ बजेपछि घरमा हुन्छन्। ३० वर्षपछि पाएको आफ्नो जीवनको केही खुकुलो समय आफू र आफ्नो परिवारलाई दिन पाएका छन्।


सम्बन्धित सामग्री