Tuesday, May 07, 2024

-->

जुम्लाको विद्यालयलाई सहयोग जुटाएका १८ वर्षीय शुभम, जसले जितायो ‘द डायना अवार्ड’

काठमाडौँ ढुंगेधाराका शुभमले तीन वर्षअघि नेपालका लागि स्वीस राजदूतसँग डिनरको अवसर पाएका थिए। राजदूतको व्यस्तताले त्यो अवसरको बदला च्यारिटीका लागि पैसा दिइयो, जसबाट उनको सामाजिक कार्य शुरू भएको थियो।

जुम्लाको विद्यालयलाई सहयोग जुटाएका १८ वर्षीय शुभम जसले जितायो ‘द डायना अवार्ड’
शुभम देवकोटा

काठमाडौँ– द डायना अवार्ड–२०२३ विजेताको नाम असार १५ गते घोषणा हुँदा नेपालका १८ वर्षीय शुभम देवकोटा पनि सूचीमा समावेश थिए। बेलायतकी तत्कालीन राजकुमारी डायनाको सम्झनामा सन् १९९९ मा स्थापित यो अवार्ड सामाजिक क्षेत्रमा योगदान गर्ने ९ देखि २५ वर्षका युवालाई दिइन्छ।

शुभमले यो वर्ष सामाजिक विधामा विश्वभरिका २०० जनालाई दिइएको अवार्ड जितेका हुन्। यो अवार्ड पाउने उनी तेस्रो नेपाली हुन्। यसअघि सन् २०१९ मा कञ्चन झा र कृष्ण गौतमले प्राप्त गरेका थिए।

अवार्ड विजेतालाई बेलायतको स्पेन्सर राज्यस्थित डायनाले बाल्यकाल बिताएको आल्थ्रोप हाउस भ्रमण गराइन्थ्यो। तर, कोरोना महामारी यता 'भर्चुअल' समारोह गरेर विजेतालाई सम्मान गरिन्छ। बेलायतमै भएका विजेतालाई भने आल्थ्रोप हाउस भ्रमण पनि गराउने जानकारी आएको उनी बताउँछन्। भविष्यमा विभिन्न ग्रान्ट्स र छात्रवृत्तिको लागि यो अवार्ड बलियो आधार हुने उनको भनाइ छ। उनी हाल ‘ए’ लेभलको परीक्षा दिएर नतिजाको प्रतीक्षामा छन्। 

आफूले पाएको अवार्डको बिजारोपण भने एउटा प्रतियोगिताको सहभागिताबाट भएको उनी बताउँछन्। 

स्वीस डीआईवाई–२०२० को त्यो सूचना
तीन वर्षअघि कोरोना महामारी नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपछि शुभम काठमाडौँको ढुंगेधारास्थित घरभित्रै सीमित भए। त्यतिबेला उनले फेसबुकमा ‘स्वीस नेशनल डे कम्पिटिसन डीआइवाई–२०२०’ को सूचना देखे। उक्त प्रतियोगिताका विभिन्न विधा थिए। हरेक विधाका विजेताले नेपालस्थित स्वीस राजदूतसँग डिनर गर्ने मौका थियो।

“प्रतियोगिताको विधामा क्यारिकेचर, हस्तकला, बिटबक्सिङलगायत थिए। मलाई सबैभन्दा कम सहभागी हुने विधा छान्नु थियो। अन्तिममा योड्लिङ रहेछ,” शुभम भन्छन्, “मेरो बुबासँग सात वर्ष अष्ट्रेलिया बस्दा मलाई योड्लिङबारे धेरेथोर जानकारी थियो। यसबारे नेपालीहरू थोरैलाई मात्र थाहा होला र सहभागिता पनि कमै होला भनेर मैले त्यसैमा सहभागिता जनाएँ।”

योड्लिङ स्वीजरल्यान्डको हिमाली भेगमा संवाद गर्दै गाइने एक खालको गीत हो, जसलाई उनले एकदमै सामान्य तवरले जानेका थिए। उनले योड्लिङ गाएको अभिनय गरेर खिचेको फोटो पठाएका थिए। संयोगवश योड्लिङमा भाग लिने प्रतिस्पर्धी उनी मात्रै रहेछन्, सोही कारण विजेता भए।

विजेता बनेपछि स्वीस राजदूत एलिजाबेथ भोन कापेलेरसँग डिनर गर्न पाउने भए। तर, कोरोना महामारी र राजदूतको स्वीजरल्यान्ड फिर्तीको तयारीले डिनर सम्भव भइरहेको थिएन। 

“राजदूतसँग भेट हुन नसक्दा बरु दूतावासबाट केही रकम लिएर डोनेसनको सोच आयो। दूतावासले पनि डिनरको बदलामा ५० प्रतिशत रकम डोनेसनका लागि दिने सहमति भयोे,” उनी भन्छन्।

स्वीस दूतावासबाट पाएको रकमले सिन्धुपाल्चोकको बाह्रबिस्रे नगरपालिकास्थित जम्बो गाउँका बाढी प्रभावितलाई ब्ल्यान्केट, स्टेसनरी सामग्री, स्यानेटरी प्याडलगायत सामग्री सहयोग गरे। “यो सामाजिक कार्यमा लिडरसिप एकेडेमीका सन्तोष साहसँगको सहकार्य गरेँ। उहाँले एनटीभी प्लस टेलिभिजनको युथ फर नेशन कार्यक्रमको लागि मेरो सामाजिक कामको डकुमेन्ट्री बजाइदिनुभयो।”

जुम्लाको विद्यालयलाई गरेको सहयोगले अवार्ड
सिन्धुपाल्चोकमा गरेको सामाजिक कार्यले उनलाई अझै यस्ता काममा लाग्न प्रोत्साहन मिल्यो। गत वर्ष मात्रै उनले डिभिजन वन कार्यलयसँगको सहकार्यमा बुढानीलकण्ठ विद्यालयमा सुनगाभा, एभोकार्डोलगायत फलफूलका ४०० विरुवा लगेर वृक्षरोपण गराए। 

यसैगरी, एक वर्षअघि उनले जुम्लाको हिमशिखर माध्यामिक विद्यालयलाई चार वटा ह्वाइट बोर्ड र एउटा प्रोजेक्टर वितरण गरे। तथापि, यो उनको एकल प्रयासबाट मात्र भएको थिएन। मिसन जुम्ला टी, जी फोर सोलुसन, लिडरसिप एकेडेमीलगायत संस्थासँग सहकार्य गरेका थिए। 

यी संस्थाका लागि उनले रकम संकलन गरे। सहयोग गर्ने विद्यालयसम्म पुग्न त्यहाँको गाउँपालिकासँगको समन्वय आवश्यक थियो। गाउँपालिकाबाट काम फटाफट भइरहेको थिएन। त्यसकारण दाताहरूबाट उनीमाथि प्रश्न पनि आइरहेका थिए। 

“त्यो हाम्रो प्रशासनिक व्यवस्थाको कमजोरी थियोे। तर, यति हुँदैमा आत्तिएको भने थिइनँ,” उनले भने, “काम मैले नै शुरू गरेको थिएँ, काममा आउने समस्या पनि मैले नै भोग्नु पर्ने र समाधान निकाल्नु पर्ने थियो। आत्तिएर काम बन्ने थिएन।”

अन्ततः उनले संकलन गरेको रकमबाट हिमशिखर माविलाई सहयोग गरे। यही कामका लागि उनले ‘द डायना अवार्ड’ पाएका हुन्।

शुभमजस्तै सामाजिक कार्यमा सक्रिय थिइन् उनकी साथी दीप्ति भण्डारी। शुभमले अवार्ड पाउनुअघि दीप्ति सन् २०२३ को ‘जोन्टा इन्टरनेशनल योङ वुमन फर पब्लिक अफेयर्स’को विजेता भइन्। यसले शुभमलाई पनि सामाजिक कामका लागि उत्साह मिल्यो। अनि, आफ्नो कामको मूल्याकंन गर्ने संस्था खोज्न थाले। उनले ‘द डायना अवार्ड’को जानकारी च्याटजीपीटीमा पाए। 

आफूले दुई वर्षदेखि गरिरहेका कामको जानकारीसहित उनले उक्त अवार्डको आवेदन भरे। आवेदनसँगै उनले तीन हजार शब्दमा चार महिनादेखि जुम्लामा गरिरहेको सामाजिक कामको व्याख्या पनि गरेका थिए। उक्त जानकारी पठाएको तीन महिनापछि  डायना अवार्डका विजेता भएको इमेल आयो। 

आफ्नो सफलताको श्रेय उनी आफूले पढेको विद्यालय बुढानीलकण्ठका पूर्व प्रिन्सिपल केशर खुलाललाई दिन्छन्। “उहाँले कक्षा शुरू हुनुअघि हुने प्रार्थनामा नैतिक शिक्षाका धेरै पाठ भन्नुहुन्थ्यो, त्यसले इमान्दार हुन मलाई सधैँ प्रेरित गर्‍यो,” उनी भन्छन्, “उहाँले भन्नुहुन्थ्यो, कुनै पनि खालको मौकालाई नगुमाउनू।

त्यस दिन आफूले योड्लिङ नगरेको भए, अहिलेको अवार्ड सम्भव नहुने भन्दै उनले समयको बहाव समात्न सक्नुपर्ने बताए। “योडिलङ नगरेको भए सायद मैले डिनरको मौका पाउदैनँ थिएँ। डिनरको बदला च्यारिटी डोनेसन नरोजेको भए यसरी सामाजिक कार्यमा सहभागी हुन सक्दिनँ थिएँ। अनि आज सम्मानित पनि हुन पाउँदैन थिएँ,” उनले भने।


सम्बन्धित सामग्री