Tuesday, April 30, 2024

-->

४४ वर्षदेखि खुवा बेच्दै कृष्णप्रसाद, चुच्चेखोला बन्यो खुवाको ‘हब’

मकवानपुरको हेटौँडा–६ चुच्चेखोलाका ८० वर्षीय कृष्णप्रसाद तिमल्सिनाले ४४ वर्षअघि खुवा व्यवसाय गर्न थालेका थिए। अहिले उक्त टोल नै खुवाको ‘हब’ बनेको छ।

४४ वर्षदेखि खुवा बेच्दै कृष्णप्रसाद चुच्चेखोला बन्यो खुवाको ‘हब’

मनहरी– हेटौँडा–६ चुच्चेखोलाका कृष्णप्रसाद तिमल्सिनाले खुवा व्यवसाय गर्न थालेको ४४ वर्ष भयो। हेटौँडाको पहिलो खुवा घोट्ने व्यवसायीका रूपमा परिचित तिमल्सिनाले २०३६ सालदेखि यो पेसा शुरू गरेका हुन्। 

उमेरले ८० वर्ष पुगिसकेका तिमल्सिनाको खुवा घोट्ने जोश जाँगर अझै पनि घटेको छैन। उनी अहिले पनि बिहान पाँच बजेदेखि राति नौ बजेसम्म खुवा घोट्नमै व्यस्त हुन्छन्। खुवा घोटेर परिवार पालनपोषणसँगै तिमल्सिनाले यही पेसाबाट कमाएको रकमले आफ्ना तीन छोरा र एक छोरीलाई अध्यापनसँगै जग्गाजमिन जोड्नसमेत सफल भएका छन्। इच्छाशक्ति भयो भने एउटै कामबाट पनि सफल बन्न सकिन्छ भन्ने उदाहरणका रूपमा तिमल्सिनालाई लिन सकिन्छ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ र १७ को सीमामा तिमल्सिनाको ‘श्रीकृष्ण खुवा बिक्री भण्डार’ छ। “उमेरले नेटो काट्यो के गर्नु, पुरानो पेसा छाड्न सकिएन माया लाग्छ। त्यसैले अहिले पनि सकेसम्म आफैँ अग्रसर हुन्छु,” तिमल्सिनाले भने। 

पसल छोराबुहारीले सम्हालेपछि तिमल्सिनाले २३ वर्षअघि हेटौँडा बजारमा पनि शाखा खोलेका थिए। उनले दुःख कष्ट र उकाली ओरालीसँग संघर्ष गर्दागर्दै खुवा व्यावसायीको पहिचान बनाएका छन्। चुच्चेखोला अहिले खुवा पारखीको आकर्षणको केन्द्र बन्दै गएको छ। पूर्व–पश्चिम राजमार्गको सप्तरीको बरमजीयामा पाइने बाजेको पेडा जस्तै चर्चित छ, चुच्चेखोलाको खुवा। तपाईं चुच्चेखोला पुग्नु भयो भने हरेक दिन बिहानदेखि बेलुकासम्म आगो बालेर सफा र शुद्ध तरिकाले खुवा बनाएको प्रस्ट देख्न सक्नुहुन्छ।

शुरूमा खुवाबारे त्यति चर्चा नभए पनि २०३८ सालतिरबाट बजार पाउन थालेको हो। दूधलाई कराहीमा तताएर लगभग दुई घण्टा पन्युले चलाउँदै गएपछि खुवा बन्छ। खुवा पछिल्लो समय कोसेलीका रूपमा पनि लिने गरिन्छ। नेपालभर मात्र होइन, विदेशमा पनि पुग्ने गरेको तिमल्सिना बताउँछन्। 

आफ्नो परिश्रममा विश्वास राख्ने तिमल्सिनाले पेसाप्रतिको इमानदारितालाई पनि मर्न दिनु भएन भन्दै निरन्तर लागिरहे। “पहिले प्रतिकिलो १५ रुपैयाँमा पनि बेचेको थिएँ। अहिले त ७०० रुपैयाँ पुगेको छ,” उनले भने, “मेहनतमा भरोसा गर्नेले एक दिन अवश्य सुख पाउने छ भन्ने आशा राखेर यही पेशालाई निरन्तरता दिइरहेको छु।”

पहिलेपहिले खुवाका लागि दैनिक १० लिटर दूध घोट्ने तिमल्सिना पछिल्लो एक दशकयता दैनिक ४०० लिटरसम्म दूध घोट्ने गर्छन्। खुवाका लागि भैंसीको दूध चाहिन्छ। भैँसीपालनमा भन्दा बढी गाईपालनमा  कृषक आकर्षित भएपछि भैँसीको दूध जुटाउन तिमल्सिनालाई निकै समस्या आइपरेको छ। 

चार लिटर दूध बराबर एक किलो खुवा उत्पादन हुने हुँदा तिमल्सिनाको पसलमा दैनिक ७५ किलोसम्म खुवा उत्पादन हुने गर्दछ। यही व्यवसायबाट दैनिक खर्च कटाएर मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेको उनले बताए।  

अहिले त हेटौँडाको चुच्चेखोलामा मात्र लगभग दर्जनभन्दा बढी खुवाका पसल छन्। तिमल्सिना मात्र होइन, यही पेसाबाट उनका छिमेकी श्यामकुमार मानन्धरले पनि आफूलाई खुवा व्यावसायीका रूपमा परिचित बनाएका छन्। विगत २४ वर्षदेखि चुच्चेखोलामा मानन्धरले खुवा बेच्दै आएका छन्। मानन्धरले सञ्चालन गरेको ‘कृष्ण कन्हैया खुवा भण्डार’ पनि साढे दुई दशक पुग्न थाल्यो।

यस स्थानमा लहरै रहेका झन्डै दर्जनभन्दा बढी खुवा पसल सञ्चालनमा छन् । स्थानीय कृषक तथा डेरीबाट दूध किनेर खुवा बनाउने गरेको बताउँदै मानन्धरले खुवाको प्रचार हुँदै जाँदा अहिले पसलको खुवा हेटौँडामा मात्रै नभई पोखरा वीरगन्ज, चितवन, जनकपुर काठमाडौँसम्म पुग्ने गरेको बताए। २०५६ सालबाट खुवा बेच्दै आएका मानन्धरले पनि खुवाकै व्यापारबाट मात्र अहिले मासिक एक लाख आम्दानी भइरहेको सुनाए। 

खुवा सबैले देख्ने गरी बनाइन्छ। यसको मीठो बास्नाले गर्दा होला कान्तिलोकपथ भएर यात्रा गर्ने होस् या गर्मी छल्न आउने जो कोही पनि खुवाको मीठो स्वाद चाखेर जाने गर्छन्। 

“चुच्चेखोलाको खुवाको चर्चा धेरै सुन्ने गरेको तर कान्तिलोकपथ भएर यात्रा गर्ने क्रममा खुवा चाख्ने मौका मिल्यो,” रौतहट फतुवा विजयपुर–१० का औधेस चौधरीले भने, “यहाँको खुवाका स्वाद निकै स्वादिष्ट लाग्यो।” २४ वर्षदेखिको पेसाप्रतिको मेहनत र लगावले मानन्धर अहिले जिल्लाकै सफल खुवा व्यवसायीमा गनिन्छन्। लक्ष्मीनारायण खुवा पसलका सञ्चालक ६६ वर्षीय सोमनाथ तिमल्सिना पनि खुवाबाट नै चर्चामा छन्। सोमनाथले यो काम थालेको ३५ वर्ष भयो। यही पेसाबाट सोमनाथले पनि आफ्नो परिवार धान्दै आयआर्जन गरिरहेका छन्। 

उनको पनि दैनिक दाउरा, दूध खरिदको खर्च कटाएर मासिक लाख रुपैयाँ बच्ने गरेको छ। सोमनाथको पसलमा उत्पादन हुने खुवा पोखरासम्म पुग्छ। बसमार्फत पोखरामा खुवा पठाउने गरिन्छ। हेटौँडा बाहिरका मिठाइ व्यवसायी र होटेलले चुच्चेखोलाको खुवा लैजाने गर्छन्। 

अहिले भैँसी पाल्ने कृषक घटेका छन्। भैंसीको दूध पाउन मुस्किल छ। पछिल्लो समय उन्नत जातका गाई पाल्ने क्रम बढ्दै आएपछि खुवा व्यावसायीले चनाखो हुन बाध्य हुनुपरेको छ। भैँसीले गाईको तुलनामा कम दूध दिने भएकाले पनि कृषकले भैँसी पाल्न छाडेको खुवा व्यवसायी बताउँछन्। 

एउटा भैँसीको लगभग लाख रुपैयाँसम्म पर्दछ। किसानले यति ठूलो खर्च गर्न सक्दैनन्। त्यसैले यहाँका खुवा व्यवसायीले किसानलाई स्थानीय सहकारीमार्फत ऋण लिएर त्यसबाट भैँसी किन्न उत्प्रेरित गर्ने अनि भैँसी किनेका किसानले सम्बन्धित खुवा पसलमै दूध बेच्नेले गर्दा खुवा पसल पनि टिकिरहेको देख्न सकिन्छ। दूध खुवा पसलले प्रतिलिटर ९० रुपैयाँमा भैँसीको किन्ने गर्छन्।

पछिल्लो समय खुवा व्यवसाय निकै फस्टाएको छ। यो पेसामा आकर्षित हुनेको संख्या पनि बढिरहेको छ। हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले केही खुवा व्यवसायीका लागि खुवा घोट्ने मेसिन अनुदान दिएको बताइन्। खुवा घोट्न हात चलाइरहनुपर्ने भएकाले सहजताका लागि उपमहानगरले पछिल्लो प्रविधिको मेशिन दिएको उनको भनाइ छ।

यो व्यवसायीलाई थप अनुदान कसरी के प्रक्रियाले दिन सकिन्छ कार्यपालिकाको बैठकबाट निर्णय गरी वार्षिक योजनामा लगेर अनुदान दिने उपमहानगरको योजना छ। चुच्चेखोलालाई खुवाको ‘हब’ बनाउन नयाँ किसानलाई पशुपालन र खुवा व्यवसायमा लाग्न प्रेरित गर्ने लामाले बताइन्। 


सम्बन्धित सामग्री