Thursday, May 02, 2024

-->

चिनियाँ वैज्ञानिकले बनाए फूलबाट हिरा, तर कसरी?

'बायोजेनिक कार्बन एक्स्ट्र्याक्सन टेक्नोलोजी' प्रयोग गरी बनाइएको उक्त हिराको मूल्य ५५ लाख रुपैयाँ रहेको छ।

चिनियाँ वैज्ञानिकले बनाए फूलबाट हिरा तर कसरी

हामी सबैलाई थाहा छ, चीन प्रविधिको क्षेत्रमा निकै अगाडि छ। यो देशमा साना चिप्सदेखि ठूला रोबोटसम्म सबै कुरा बनाइन्छ, जसले मानिसको कामलाई सहज बनाउँछ।

त्यहाँका वैज्ञानिकहरूले कहिलेकाहीँ यस्ता चीज बनाउँछन् जसले संसारभरका मानिसलाई सोच्न बाध्य बनाउँछ। अहिले चीनका वैज्ञानिकले यस्तै केही गरेका छन्। उनीहरूले फूलको प्रयोग गरेर हिरा बनाएका छन्।

चाइना डेली डटकमको रिपोर्टअनुसार वैज्ञानिकहरूले एकप्रकारको फूल रातो पियोनीबाट हिरा बनाएका हुन्। उक्त फूलबाट प्राप्त कार्बन तत्त्वबाट ३ क्यारेटको हिरा बनाएको खबरमा उल्लेख छ। पियोनी एक फूल हो, जुन एशियादेखि युरोप र पश्चिमी उत्तर अमेरिकासम्म पाइन्छ। यो फूललाई ‘फूलकी रानी’ पनि भन्ने गरिन्छ र कतिपयले यसलाई प्रेमको प्रतिक पनि मान्छन्। यो फूल गुलाबी, रातो, पहेँलो, सेतो, बैजनी र नीलो जस्ता धेरै रंगहरूमा फुल्छ।

पियोनीबाट प्राप्त कार्बन तत्त्वबाट बनेको यो विश्वको पहिलो हिरा हालै चीनको हेनान प्रान्तको लुओयाङमा अनावरण गरिएको छ। यसलाई कृत्रिम हिरा उत्पादन गर्ने कम्पनी लुओयाङ टाइम प्रोमिसले निर्माण गरेको हो।

त्यहाँको एक पियोनी बगैँचासँगको सहकार्यमा तयार गरेको हिरा वैज्ञानिकहरूले उक्त बगैँचालाई नै उपहार दिएका छन्। रिपोर्टका अनुसार, गत महिना 'पियोनी गार्डेन'ले हिरा कम्पनीलाई हिरा बनाउन आवश्यक पर्ने पियोनी फूलहरू आपूर्ति गरेको थियो, जसमा लगभग ५० वर्ष पुराना पियोनी फूल पनि थिए।

लुओयाङ टाइम प्रोमिस कम्पनीका प्रमुख कार्यकारी अधिकृत वाङ जिङले यो अनौठो हिराको मूल्य ३ लाख युआन अर्थात् ५५ लाख नेपाली रुपैयाँभन्दा बढी रहेको बताएका छन्।

उच्च तापक्रम र दबाबमा 'बायोजेनिक कार्बन एक्स्ट्र्याक्सन टेक्नोलोजी' प्रयोग गरी यो हिरा बनाइएको उनले बताए। यद्यपि, फूलबाट प्राप्त कार्बन तत्त्वहरू हिरामा रूपान्तरण गर्न प्रयोग गरिएको प्रविधि एकदम जटिल भएको वैज्ञानिकको भनाइ छ।

कम्पनीका अनुसार कपाल, हड्डी र फूलबाट कार्बन तत्त्वहरू विशेष रूपमा डिजाइन गरिएको यन्त्रमा निकालेर तीनीहरूलाई हिराको संरचनामा मिलाइन्छ। यसरी यो अनौठो हिरा तयार हुन्छ।
 


सम्बन्धित सामग्री