Friday, May 03, 2024

-->

के हो लिप इयर? यस्ता छन् ८ रोचक तथ्य

विश्वमा ४० लाखभन्दा धेरै मानिस ‘लिप डे बेबी’ छन्। यस दिन जन्मेका व्यक्तिहरूलाई लिपर्स वा लिपलिंग्स भनिन्छ। लिप डे बच्चा जन्मिने सम्भावना १ हजार ४६१ मा १ जना हुन आउँछ।

के हो लिप इयर यस्ता छन् ८ रोचक तथ्य

काठमाडौँ– सामान्यतया अंग्रेजी क्यालेन्डरमा फेब्रुअरी महिना २८ दिनको मात्रै हुन्छ। तर चार वर्षमा एक पटक भने २९ दिनको हुन्छ, जुन वर्षलाई ‘लिप इयर’ भनिन्छ। यो साल अर्थात् सन् २०२४ लिप इयर/लिप वर्ष बनेको छ। आज लिप वर्षलाई बोक्ने दिन अर्थात् २९ फेब्रुअरी हो।

पृथ्वीले सूर्यको वरिपरि परिक्रमा गर्न लाग्ने समयका कारण लिप वर्षमा अतिरिक्त दिन हुन्छ। यो अतिरिक्त दिन फेब्रुअरी महिनामा थपिएको हो। त्यसैले यस दिनलाई लिप वर्ष दिन (लिप इअर डे)का रूपमा मनाइन्छ। अंग्रेजी क्यालेन्डर मान्ने विश्वका धेरै देशमा यस दिन उत्सव पनि मनाउने गर्छन्। गुगलले पनि लिप इयरलाई ‘सेलिब्रेट’ गरेको छ।

लिप वर्षमा ३६५ दिनको सट्टा ३६६ दिन हुन्छन्। तर यो कसरी शुरू भयो भनेर बुझ्न केही हजार वर्ष अगाडि फर्किनुपर्छ। लिप वर्ष क्यालेन्डरहरू पहिलो पटक इजिप्टेली साम्राज्यमा बनाइएको थियो। त्यस समयमा इजिप्टेलीहरूको लक्ष्य सौर्य क्यालेन्डरको नक्कल गर्ने पात्रो बनाउनु थियो, जसबाट समय र मौसमलाई एउटै ट्र्याकमा राख्न सकिन्थ्यो। त्यो समयमा सोमबार, मंगलबार र महिनाको ३०–३१ गते थिएनन्। त्यतिबेला मौसमको हिसाबले समय र दिन अघि बढ्थे।

त्यसपछि रोमन साम्राज्यको जुलियस सिजरको समयमा उक्त क्यालेन्डरले आधुनिक स्वरूप पायो। रोमन शासक जुलियस सिजरले जाडो, गर्मी र मनसुन तीन फरक मौसमहरू हुन् भनेर पहिचान गर्ने समय आएको महसुस गरे। यसका आधारमा महिनाहरू हुनुपर्छ भनेर उनले प्रख्यात खगोलशास्त्रीहरूलाई बोलाएर १२ महिना ३६५ दिनको क्यालेन्डर बनाउन लगाए। केही दिनको लागि सबै ठीक भयो, तर त्यसपछि तिनीहरूले महसुस गरे कि पृथ्वीमा ३६५ को सट्टा ३६५.२४२ दिन प्रति वर्ष हुन्छ। त्यसपछि फेरि क्यालेन्डर फेरियो। यस पटक सिजरले मानव निर्मित र सौर्य क्यालेन्डरहरू पछ्याउने क्यालेन्डर सिर्जना गरे, जसमा प्रत्येक चार वर्षमा एक लिप वर्ष थियो। यससँगै जुलियस सिजरलाई आधुनिक लिप वर्षका पिता भन्न थालियो। 


समय बित्दै जाँदा, अतिरिक्त दिनको गणनाको कारण पात्रोमा अशुद्धता आउन थाल्यो। हिसाब बिग्रिन थाल्यो। पछि, पोप ग्रेगरी तेह्रौँले १५८२ मा ग्रेगोरियन क्यालेन्डर पेश गरे। यो पात्रोले ४०० ले भाग गर्न सकिने वर्षहरुलाई लिप वर्ष हुने नयाँ नियम लागू गर्‍यो। र यसरी प्रत्येक चार वर्षमा लीप वर्ष निर्धारण गरियो। उक्त पात्रोलाई विश्वका विभिन्न देशहरूले फरक फरक समयमा केही परिमार्जनसहित प्रयोगमा ल्याउन थाले।

अझै यसलाई सामान्यीकरण गरेर बुझौँः पृथ्वीले सूर्यको वरिपरि एक परिक्रमा पूरा गर्न लगभग ३६५.२४२ दिन लाग्छ। यसको मतलब यो एक वर्षमा ३६५ दिनबाहेक थप ०.२४२ अर्थात् ६ घण्टा हुन्छ। पृथ्वीले सूर्यको परिक्रमा गर्न लगाएको अतिरिक्त समय ६ घण्टालाई चार पटक जोड्दा यो एक दिन बराबर हुन्छ। ०.२४२ दिनको यो बाँकी समयलाई चार वर्षमा जोडेर एक दिनमा परिणत गरिन्छ। त्यसैले हरेक चार वर्षमा पात्रोमा एक दिन अन्य वर्षभन्दा लामो हुन्छ। जसलाई लिप वर्ष भनिन्छ।

लिप वर्षको बारेमा र यससँग सम्बन्धित इतिहासपछि अब लागाैँ यसबारे रोचक तथ्यतिर। यस्ता छन् लिप वर्षबारे ८ रोचक तथ्य:

  • पुरातन समयमा, केही सभ्यताहरूमा फेब्रुअरी २९ मा लिप वर्ष थिएन। यसको सट्टा, क्यालेन्डरमा फेब्रुअरी २४ दुई पटक देखिन्थ्यो।
  • विश्वमा ४० लाख मानिस ‘लिप डे बेबी’ छन्। यस दिन जन्मेका व्यक्तिहरूलाई लिपर्स वा लिपलिंग्स भनिन्छ।
  • लिप डे बच्चा जन्माउने सम्भावना १,४६१ मा एक हुन आउँछ।
  • ४ ले भाग जाने सबै वर्षलाई लिप वर्ष हुन्।
  • महिलाहरूले प्रायः पुरुषहरूलाई विवाहको प्रस्ताव गर्न यसै दिनलाई रोज्ने गरेको बताइन्छ।
  • ग्रिसमा एक लिप वर्षमा विवाह गर्नु दुर्भाग्य मानिन्छ, त्यसैले पाँचमध्ये एक विवाहित जोडीले यसबाट बच्न प्रयास गर्छन्।
  • एन्थोनी, टेक्सास र एन्थोनी, न्यु मेक्सिकोका जुम्ल्याहा शहरहरू विश्वको स्वघोषित लिप इयर राजधानी हुन्। त्यहाँ चार दिने लिप इयर पर्व नै आयोजना गरिन्छ। 
  • एउटा परिवारको नाम गिनिज वर्ल्ड रेकर्डमा लेखिएको छ, जसमा २९ फेब्रुअरीमा लगातार तीन पुस्ताको जन्म भएको थियो। पिटर एन्थोनीको १९४० मा आयरल्यान्डमा जन्म भएको थियो। तिनीहरूको छोरा, पिटर एरिक १९६४ र  नातिनी बेथानी वेल्थीको १९९६ मा लिप डे कै दिन जन्म भएको थियो।

सम्बन्धित सामग्री