Thursday, May 02, 2024

-->

स्थलगत
सधैँको विद्रोही जुम्लाले ज्ञानेन्द्र शाहीको अनुहारमा देखिरहेको ‘विद्रोह’

जुम्ला काठमाडौँको उपेक्षाबाट यति धेरै असन्तुष्ट छ, प्रत्येक निर्वाचनमा ‘विद्रोह’ गरेर नयाँ अनुहार पठाउँछ। यसपालि जुम्लाले राजावादी पार्टी, राप्रपाका उम्मेदवारमा पनि त्यस्तै ‘विद्रोह’ देखिरहेको छ।

सधैँको विद्रोही जुम्लाले ज्ञानेन्द्र शाहीको अनुहारमा देखिरहेको ‘विद्रोह’

जुम्ला– आठ दशक उमेर पार गरिसकेका चन्दननाथ नगरपालिका–३ का चन्द्रबहादुर भक्रीले पहिलोपटक मतदान गरेकै छ दशक नाघ्यो। जीवन धेरै कष्टकर भएपछि सुखको खोजीमा मुगुको सिमानामा रहेको कनकासुन्दरी गाउँपालिकाका चन्द्रबहादुर त्यहाँबाट तिला र पाताराशी गाउँपालिका छिचोलेर जिल्ला सदरमुकाम चन्दननाथमा बसाइ सरेका थिए। तर, सुखको अनुभूति गर्न नपाएरै उनी बुढ्यौलीमा पुगे। जीवन खेती किसानीमै बित्यो तर, अभावले कहिले छाडेन। खेतबारीको दुःखले हातखुट्टा र जीउ खिइएकोमा भन्दा पनि नेताहरूले चुनावताका गरेका वाचा पुरा नगरेकोमा उनको मन खिन्न छ। 

२०१५ सालको पहिलो आमनिर्वाचनमा जुम्लाबाट स्वतन्त्र उम्मेदवारलाई जिताएर केन्द्रमा पठाएका उनले नेताहरूबाट धोका पाएको ठानेका छन्। जनतालाई सुख दिने नाममा नेताहरू आफूमात्रै भरिपूर्ण र सम्पन्न बनेको उनको ठम्याइ छ। त्यसैले उनी आफ्नो मत खेर गएको पछुतोमा छन्। “रारामा सरकार (राजा) को सवारी भयो, हाम्रो अगाडिबाट बाटो बनाइयो। यतैका हरिशचन्द्र मन्त्री बने। उनले बिजुली निकाले। यी दुई (राजा महेन्द्र र पञ्चायतकालमा जितेका हरिशचन्द्र महत) ले मात्रै यो जुम्लाको कृति राखे। अरूले त जिल्लै बेच्न आँटे। अब मेरो भोट उनीहरूलाई जाने छैन। भोट दिए कलिलालाई दिनेछु, मोटाएकालाई दिने छैन”, चन्द्रबहादुरले धक फुकाएर भने।

चन्द्रबहादुरको संकेत यसपालि जुम्लाबाटै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका, जुम्लाको सिञ्जा गाउँपालिकाका युवा ज्ञानेन्द्रबहादुर शाहीलाई रोज्ने प्रस्ट बुझिन्थ्यो। ज्ञानेन्द्र आबद्ध पार्टी र उनको राजनीतिक विचारभन्दा पनि उनले उठाएका गाउँको विकास र भ्रष्टाचारविरुद्धको मुद्दाले चन्द्रबहादुरलाई ज्यादा छोएको रहेछ। ज्ञानेन्द्र अहिलेसम्म उनको दैलोमा भोट माग्न भने आएका छैनन्। 

चन्द्रबहादुरका छिमेकी ४७ वर्षीय लोकबहादुर रोकायले पनि यस्तै योजना सुनाए। “हामीसँग मत माग्न नआए पनि यसपटक ज्ञानेन्द्रलाई नै मत हाल्ने हो। बुढा नेतालाई मत हाल्दा हाल्दा थाकिसक्यौँ। उनीहरूले देश विकास गरेनन्, आफ्नै मात्र विकास गरे”, रोकाया भन्छन्। 

लोकबहादुरको कुरा सुनेपछि उनीसँगै रहेका बलबहादुर बुडथापाले यसलाई थप प्रस्ट पार्न खोजे। “ज्ञानेन्द्रले जुम्लाका पुराना नेताले जस्तै गर्लान् कि केही नयाँ काम गर्लान् भन्ने त अहिल्यै भन्न सकिन्न। तर, उनले कर्णालीको आवाज काठमाडौँ पुर्‍याउने छन्। कसैले बोल्न नदिए संसद्मा टेबल पनि फोड्ने छन्”, थापाले ज्ञानेन्द्रप्रति भरोसा देखाए ।

चन्दननाथ नगरपालिका वडा नम्बर ३, शान्तिनगरकी ६२ वर्षीया रामलीला बुढासँग अहिलेसम्म मत दिएका पार्टी र नेताको लामो सूची छ। आफ्नो घरगाउँमा विकास आउने र जीवन सहज हुने आशमा उनले नेपाल मजदुर किसान पार्टीदेखि नेपाली कांग्रेस, नेकपा एमाले हुँदै माओवादीसम्मलाई भोट दिइन्। अहिले उनलाई लागेको छ, त्यो भोटले निराशाबाहेक अर्थोक दिएन। “पहिलेका नेताको वाचा पनि सुन्यौँ, व्यवहार पनि भोग्यौँ। सबैले बेइमानी गरे। धोका दिए। अब नयाँलाई भोट हाल्ने हो। यसपटक पार्टी हेर्दैनौँ”, बुढाले भनिन्। 

यसपालि रामलीलाकी छिमेकी माया बुडथापाको पनि मन फेरिएको छ। वैशाख ३० को स्थानीय तह निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई मत दिएकी उनले यसपालि ज्ञानेन्द्रलाई भोट हाल्ने निर्णय गरिसकेको हाकाहाकी सुनाइन्। “पुराना नेताहरूसँग हामी झल्लिइसक्यौँ। भोट माग्न आउने नेताहरूले खुट्टै ढोगे। तर, हामीले भोट हालेको भोलिपल्टदेखि हाम्रो दुःखलाई बेवास्ता गरे”, थापाले सुनाइन्। 

काठमाडौँबाट हेर्दा मौसम चिसो बनिसकेको हिमाली जिल्ला जुम्लाको चुनावी सरगर्मी र परिदृश्य आकलन गर्न कठिन थियो। तर, जुम्ला पुगेपछि जे जस्ता परिदृश्यसँग साक्षात्कार बन्ने मौका मिल्यो, त्यो केही हदसम्म ‘आश्चर्यजनक’ पनि थियो। काठमाडौँमा केही न केही उपद्रो गरिरहने ‘उग्र अभियन्ता’का रूपमा चिनिने जुम्लाकै युवा ज्ञानेन्द्र शाहीको यहाँका मतदातामा जस्तो आकर्षण देखियो, त्यो एक हिसाबले अविश्वसनीय जस्तै थियो। जुम्ला सदरमुकाम चन्दननाथ नगरपालिकाका विभिन्न भागमा पुगेर हामीले कुरा गरेका २७ जना युवा र वयस्कमध्ये सबैजसोले यसपालि ‘भोट त ज्ञानेन्द्रलाई नै दिने’ बताए। 

विकट जुम्ला, जुम्लामा पनि सदरमुकाम चन्दननाथभन्दा बाहिर थप विकट पालिकाहरू छन्। ती पालिकामा रहेका मतदाताको ‘मुड’ कस्तो रहेछ भन्ने बुझ्न हामी पश्चिमतर्फका तातोपानी र तीला गाउँपालिका, उत्तरतर्फका हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिका तथा पूर्वतर्फका  गोठीचौर र पातारासी गाउँपालिकासम्म पुग्यौँ। त्यस क्रममा भेटिएका धेरैजसो मतदाताले पनि चन्दननाथकै जस्तो ‘मुड’ देखाए। जुम्लाको राजनीतिमा यसअघि कहिल्यै नदेखिएका, प्रायः जुम्लाबाहिरै बस्ने र जिल्लामा खासै प्रभाव पनि नभएको राप्रपाका उम्मेदवार ज्ञानेन्द्रप्रति मतदाताको यस्तो रुझान के कारण देखियो?

गठबन्धन र एमाले दुबैका समर्थकको फेरिँदो मुड  
जुम्लामा सत्तागठबन्धनबाट नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवर प्रतिनिधि सभा सदस्यको उम्मेदवार छिन्। गोमा २०७० मै समानुपातिकतर्फ संविधानसभा सदस्य बनेर राज्यमन्त्रीसमेत बनेकी थिइन्। एमालेले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज रतननाथ योगीलाई उम्मेदवार बनाएको छ। राप्रपाका प्रवक्ता ज्ञानेन्द्रको तुलनामा जुम्लाको राजनीतिमा संलग्नताका हिसाबले गोमा र रतन दुवै ‘हेभीवेट’ उम्मेदवार हुन्। तर, निर्वाचन मिति नजिकिँदै जाँदा आश्चर्यजनक रूपले उनीहरूमाथि ज्ञानेन्द्रको पल्लाभारी देखिएको छ।

आइतबार दिउँसो चन्दननाथ पश्चिमतर्फको तातोपानी गाउँपालिकास्थित तातोपानी बजारमा सत्ता गठबन्धनकी उम्मेदवार हात जोडेर युवा र वृद्धहरूसँग एकसाथ मत मागिरहेको अवस्थामा भेटिइन्। “गठबन्धन नगरेको भए तपाईंलाई मत दिन्थेँ, अब सोच्नुपर्ने भएको छ”, कुँवरलाई तीमध्येका एक वृद्धले भने। त्यहाँभन्दा केही परबाट उनीहरुबीचको कुरा सुनिरहेका एक युवाले भने, “म कांग्रेस समर्थक हुँ। तर, मेरो भोट यसपटक ज्ञानेन्द्रलाई जानेछ। उहाँ (कुँवर)ले पाउनुहुन्न।” 

तातोपानी गाउँपालिका कुँवरको पकड क्षेत्र मानिन्छ। उनको घर नै यहीँ हो। २०७४ सालको स्थानीय तह निर्वाचनमा यो गाउँपालिका माओवादीले जितेको थियो। यसपालि भने कांग्रेसले जित्यो। यसपटक कांग्रेस र माओवादीको गठबन्धन भएकाले यहाँबाट झन् धेरै मत पाउने कुँवरको विश्वास छ।  

तातोपानीपछि तीला गाउँपालिका पुग्दा घाम तापेर बसिरहेकी मोहनमाया सार्की (४४)ले शुरूमै आफूले ज्ञानेन्द्रलाई मत दिने सुनाइन्। उनको वरिपरि घाम तापेर बसेका अरू पाँचजना महिला पनि त्यही योजनामा रहेछन्। तीमध्येकी ३९ वर्षीया लक्ष्मी महतले ज्ञानेन्द्रको विचार नभई ‘विकास गरेर देखाउने’ उनको अठोटलाई विश्वास गरेर मत दिने निधो गरेको बताइन्। यसअघि आफूले भोट हालेका नेताहरूमध्ये केहीले शुरूशुरूमा राम्रै गरेपनि पछि चटक्कै बिर्सेको गुनासो उनले गरिन्। 

तीला गाउँपालिका एमाले उम्मेदवार योगीको प्रभावक्षेत्र मानिन्छ। २०७४ को स्थानीय तह निर्वाचनमा योगी नै गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए। 

चन्दननाथबाट पूर्वतर्फ गोठीचौर गाउँपालिका छ, जो माओवादी केन्द्रका नेता नरेश भण्डारीको प्रभाव क्षेत्र मानिने ठाउँ हो। त्यहीँ घर भएका भण्डारी २०६४ मा जुम्लाबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए। २०७४ मा प्रदेश सभा सदस्य निर्वाचित भएर उनी कर्णाली प्रदेश सरकारको आन्तरिक मामिलामन्त्री बने। त्यहाँ भण्डारी समर्थक युवाको समूह भेटियो। उनीहरू यसपालि भण्डारीलाई टिकट नदिएकोमा असन्तुष्ट रहेछन्। त्यो समूहमा रहेका सन्देश उपाध्यायले भने, “म नरेश भण्डारीको फ्यान हुँ। यसअघि उहाँलाई नै भोट हालेको थिएँ। यसपटक माओवादीलाई भोट हाल्नेवाला छैन। मेरो भोट ज्ञानेन्द्रलाई जान्छ।”

तलबाट जुवा नदीले जमिन काट्दै लगेको, माथिबाट पहिरो खसेको खच्ची सडक (कर्णाली राजमार्ग) हुँदै, नाग्म–मुगु राजमार्ग छिचोल्दै हिमा गाउँपालिका पुग्दा भारी बोकेर उकालो चढिरहेका केही युवा भेटिए। उनीहरू आपसमा ‘यसपटक ज्ञानेन्द्र शाहीलाई भोट दिने’ कुरा गर्दै थिए।  

त्यहाँबाट अझै पर पुगेपछि आइपुग्ने सिञ्जा गाउँपालिकाको नरकोटमा भेटिएका १९ वर्षीय रमेश ओडले स्थानीय तह निर्वाचनमा कांग्रेसलाई भोट हालेको सुनाए। यसपटक भने उनको मन फेरिएछ। “मलाई ज्ञानेन्द्र जुम्लाको असल मान्छे हुन् भन्ने लाग्छ। जुम्लाको विषयमा उनले राम्रो सोचिरहेका छन्। जुम्लामा यस्ता मान्छे जन्मिएकै छैनन्। यो पटक सिञ्जाबाट जिताएर केन्द्रसम्म पठाउन सके उनले राम्रो गर्छन् भन्ने लागेको छ,” उनले भने। 

त्यहीँ रहेका गोविन्द न्यौपानेले सिञ्जाली या जुम्ली सबैले नेताहरूसँग विकास माग्दामाग्दा थाकेको र यसपटक उनीहरूलाई भोट नदिइने बताए। यसअघि एमालेलाई भोट हालेका  उनले भने, “हामीले स्वास्थ्य, शिक्षा र सडक मागिरह्यौँ, उनीहरूले सुन्दै सुनेनन्। अब नयाँ योद्धालाई भोट दिने हो।” सिञ्जाका २४ वर्षीय दीपकबहादुर बुढाले सुनाए, “ज्ञानेन्द्र देशले चिनेको मान्छे हुन्। उनले जुम्लीको पहिचान जोगाउने काम गरेका छन्। यसअघि जुम्लाको नेतृत्व गर्ने भन्दै हामीसँग मत मागेकाहरूले हाम्रो दुःखलाई चिनेनन्। हाम्रो दुःखमाथि नै उनीहरूले राजनीति गरे। अब हामी नेता परिवर्तन गर्न चाहन्छौँ।” 

आर्थिक अभावका कारण बीचमै पढाई छाडेका दीपक पढाई नभएकाले भनेजस्तो काम नपाउँदा पिरोलिएका रहेछन्। गाउँ–गाउँमा युवालाई रोजगारी दिने शाहीको नाराले उनलाई तरंगित बनाएको रहेछ।  

कर्णालीमा ‘बालेन क्रेज’
जुम्लामा सिञ्जा र सिञ्जाबाहिरको भन्ने भेगीय भावना पनि छ। कुनैबेला खस सभ्यताकै केन्द्र बनेको सिञ्जा उपत्यका समयक्रममा उपेक्षामा पर्दै गयो। पछिल्लो समय त चन्दननाथ र बाँकी जुम्लाले सिञ्जालाई विभेद नै गरिरहेको बुझाइ पनि बाक्लो छ यहाँ। अरू त अरू, निर्वाचनमा पार्टीहरूले सिञ्जाबाट उम्मेदवार नै नदिएको आक्रोश पनि भेटिन्छ। 

राप्रपाका उम्मेदवार ज्ञानेन्द्र सिञ्जाका बासिन्दा हुन्। सिञ्जामा उनीप्रतिको आकर्षण हुनु अस्वाभाविक होइन। तर, कतिपय सिञ्जावासीले त उनलाई स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरको मेयर बनेर ‘चमत्कार’ देखाएका बालेन साहकै रूपमा लिँदा रहेछन्।  “जनताको मन जित्न बालेन जस्तो हुनुपर्छ, ज्ञानेन्द्र जुम्लाका बालेन हुन्”, यसपटक ज्ञानेन्द्रलाई मत दिने निर्णय गरिसकेका ४४ वर्षीय विनोद उपाध्यायले भने। 

विगतदेखि नै जुम्लामा भेगीय राजनीतिले चुनावी परिणामसमेत तलमाथि पार्दै आएको छ। सिञ्जा भर्सेस खलंगा (चन्दननाथ) को यस्तो भावनामा यसपटक ज्ञानेन्द्रको उम्मेदवारीले सिञ्जालीलाई उत्साहित बनाएको छ। सत्तागठबन्धनकी उम्मेदवार गोमा र एमालेका रतन खलंगाबाहिरकै भए पनि सिञ्जाले ज्ञानेन्द्रलाई नै ‘आफ्नो’ ठानेको देखिन्छ। 

विद्रोही जुम्ला: चुनावपिच्छे ‘विद्रोह’ 
जुम्लाका धेरैजसो ठाउँमा पुगेर कुरा गर्दा यसपालि मतदातामा नयाँ अनुहारलाई जिताउने हुटहुटी देखियो। विगत केलाउने हो भने जुम्लाको यस्तो ‘मुड’ स्वाभाविक देखिन्छ। किनभने जुम्लाका मतदाताले प्रत्येक निर्वाचनमा नयाँ अनुहारलाई जिताएका छन्। अहिले मात्र होइन, २०१५ सालदेखि नै त्यस्तै छ। 

२०७४ को निर्वाचनमा जुम्लाबाट माओवादीका गजेन्द्रबहादुर महत प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। २०७० मा भने जुम्लाले कांग्रेसका ललितजंग शाहीलाई सबभन्दा धेरै मत दिएर संविधानसभा सदस्य निर्वाचित गरेको थियो। शाही यसपालि जुम्लाको प्रदेश सभा क्षेत्र ‘क’बाट कर्णाली प्रदेशसभा सदस्यको उम्मेदवार छन्। उनले आफ्नै पार्टीबाट बागी उम्मेदवार सामना गरिरहेका छन्।  

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीका नरेश भण्डारी जुम्लाबाट निर्वाचित भएका थिए। त्यसबेला उनले झण्डै दुइतिहाई मत पाएका थिए। २०५६ को प्रतिनिधि सभा निर्वाचनमा भने जुम्लाले एमालेका देवीलाल थापालाई जिताएको थियो।
 

 २०५१ को मध्यावधि निर्वाचनमा जुम्लाबाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का भक्तबहादुर रोकाय निर्वाचित भए। त्यसअघि २०४८ को आमनिर्वाचनमा नेमकिपाबाटै डिल्ली महत निर्वाचित भएका थिए।  

पञ्चायत ढलेपछि जुम्लामा नेमकिपाको प्रभाव बलियो बनेको थियो। तर, महत एमालेमा जाने संकेत पाएपछि नेमकिपाले २०५१ सालको मध्यावधि निर्वाचनमा रोकायलाई उम्मेदवार बनाएको थियो। तर, निर्वाचित भएपछि रोकाय पनि नेमकिपा त्यागेर कांग्रेस प्रवेश गरे। कांग्रेसले वनराज्यमन्त्री दिने आश्वासन दिएपछि नेमकिपा छाडेका उनी मन्त्री पनि बने। 

बहुदल र गणतन्त्र मात्र होइन, पञ्चायतमा पनि जुम्लाले काठमाडौँ पठाउने आफ्ना प्रतिनिधि बदलिरह्यो। राष्ट्रिय पञ्चायतको निर्वाचनमा हरिशचन्द्र महत, अदानसिंह कठायत, चन्द्रबहादुर थापा र रमाकान्त न्यौपाने जुम्लाको प्रतिनिधित्व गरेर काठमाडौँ पुगे। २०१५ सालको आमनिर्वाचनमा जुम्ला उत्तरबाट स्वतन्त्र उम्मेदवार भीमप्रसाद श्रेष्ठ र जुम्ला दक्षिणबाट जयबहादुर महत क्षेत्रीले जितेका थिए। तर, श्रेष्ठ पछि कांग्रेस प्रवेश गरे। 

त्यसअघि सल्लाहकार सभाको ‘चुनाव’मा जुम्लाको समेत नेतृत्व गर्ने भन्दै दैलेखको दुल्लुबाट शेरसिंह रावत आएका थिए। उनले जुम्लाको गौँडा र मालअड्डा कब्जा गर्ने अभियान शुरू गरेका थिए। उनको यो अभियानलाई जुम्लाका श्रीराम महतलगायतले साथ दिएका थिए। महतलाई पछि रावतले जिल्लाको बडाहाकिम बनाए। तर, रावतको यो निर्णयको विरोध भयो। “विना निस्सा मान्दैनौँ, अरू कुरा जान्दैनाैँ” भन्ने नारा लगाएर रावतको निर्णयको विरोध चर्किएपछि २०१५ सालसम्म जुम्लामा नयाँ राजनीतिक नेतृत्व अगाडि आएन। 

जुम्ला बहुमुखी क्याम्पसका प्रमुख डा. ओम आचार्य प्रत्येक निर्वाचनमा जुम्लीहरूले नयाँ अनुहार खोज्नुको मुख्य कारण जुम्लाको विकासप्रति स्थापित पार्टी र नेताहरूले गरेको उपेक्षा रहेको बताउँछन्। 

उपेक्षाको पीडा, विकासको आशा
मोटरबाटो पुगेपछिका पछिल्ला केही वर्षलाई छाड्ने हो भने जुम्ला सधैँ विकट भूगोल रहिरह्यो। मोटरबाटो पुगेपछि जीवन केही सहज त भयो, तर धेरै कुरा हुन बाँकी नै छ। आधारभूत सेवा सुविधाको चाहनामै यहाँ अधिकांशको जीवन बित्छ। २०६५ सालमा कर्णाली राजमार्ग सञ्चालनमा आएपछि मात्र जुम्ला राष्ट्रिय राजमार्गको सञ्जालमा जोडिएको हो। 

तर, राजमार्गको अवस्था अहिले पनि दयनीय छ। सडक मर्मत नहुँदा निरन्तर भइरहेका दुर्घटनाका कारण यसले ‘मृत्युमार्ग’को परिचय बनाएको छ। सडक स्तरीय नहुँदा यहाँको आवागमन हवाई सेवामै निर्भर छ। तर, सीमित उडान संख्या र त्यसमा पनि उडान नियमित नहुँदा जीवन उस्तै कष्टकर छ। 

जुम्ला सडक सञ्जालमा जोडिनुअघि नुन, चामल र तेलले यहाँ हरेक निर्वाचनमा मत तय गर्थ्यो। गौठीचौर गाउँपालिका वडा नम्बर ४ का ६७ वर्षीय लक्ष्मीचन्द न्यौपानेका अनुसार जसले चुनावमा नुन, तेल र चामल धेरै बाँड्थ्यो, उसैले जित्थ्यो। “स्थानीय उत्पादन कम थियो। खान पुग्दैनथ्यो। जुम्ली भोकभोकै भएको राज्यलाई थाहा नै हुन्नथ्यो। नेताको पहुँचमा पुग्नेले गाविसबाट टोकन पाउँथे। उनीहरूले खाद्यसंस्थानबाट रासन पाउँथे”, न्यौपानेले भने। 

सदरमुकाम खलंगा र आसपासका क्षेत्रमा पछिल्लो समय सडकजस्ता केही आधारभूत पूर्वाधार तयार भएपनि माथिल्लो भेग अझै पनि उस्तै विकट छ। सिँचाई र मलखाद अभावले कृषिजन्य उत्पादन बढ्न सकेको छैन। रोजगारीको खोजीमा युवा बिदेसिँदा गाउँ रित्तिएका छन्। खेती किसानी गर्ने जनशक्ति अभाव, त्यसमाथि जलवायु परिवर्तनका नकारात्मक असरले उत्पादन निरन्तर घट्दो छ। जमिन बाँझो हुने क्रम बढेको छ।

जुम्ली महिला पाठेघर खस्ने, दम जस्ता समस्याले ग्रस्त छन्। जटिल रोग लाग्दा या शल्यक्रिया गर्नुपर्दा जहाज वा हेलिकप्टर चार्टर्ड नगरी धर छैन। यहीकारण नेपालीको औसत आयु ७३ वर्ष पुगिसक्दा जुम्लीको ६४ वर्ष मात्र छ।

२०६८ सालको जनगणनाअनुसार जुम्लाका ९८.६ प्रतिशत परिवार काठ दाउराबाटै खाना पकाउँछन्। स्याउको राजधानीका रूपमा पनि चिनिने, विश्वमै सबभन्दा उचाइमा फल्ने कालीमार्सी धानदेखि यार्सागुम्बा, जटामसी, सेतो चिनीलगायत बहुमूल्य हिमाली जडीबुटीको खानी हो जुम्ला। यसबाहेक पर्यटन विकासको प्रचुर सम्भावना छ। “तर, नेताहरूले यी सम्भावनाहरूतर्फ ध्यान नदिएर आफ्नो स्वार्थमात्र हेरे। सरकारले अघि सारेका विकास योजना विरलै मात्र कार्यान्वयन भएकाले पनि जुम्लीहरू हरेक चुनावमा नेता परिवर्तन गर्न चाहन्छन्”, डा. आचार्य भन्छन्, “यहाँको रोग, भोग र अभाव राजनीतिसँगै जोडिएको बुझाई छ। त्यहीकारण आफ्नो ठाउँमा केही परिवर्तन आउला भन्ने आशाले जुम्लावासी जहिल्यै नयाँलाई मत हाल्न आतुर भएको म देख्छु।” 

ज्ञानेन्द्रले यही मनोविज्ञान बुझेर आक्रामक चुनावी प्रचार गरिरहेका छन्। गौठीचौर गाउँपालिका–५ को झारज्वालामा घरदैलोमा भेटिएका शाहीले भने, “अब मंसिर ४ मा थाहा पाइहाल्नुहुन्छ। उहाँहरू (सत्तागठबन्धन र एमालेका उम्मेदवार) प्रतिस्पर्धी नै होइन। मेरो त केन्द्रसँग प्रतिस्पर्धा हो। जुम्लाले राष्ट्रको प्रतिनिधित्व गर्न पाउनुपर्छ। बहुदल आएको यतिका वर्षसम्म जुम्लाको प्रतिनिधिले राष्ट्रको नेतृत्व गर्न पाएको छैन।” 

स्थानीय बुद्धिजीवीहरू अन्याय र थिचोमिचोकै कारण जुम्लीहरूमा पहिल्यैदेखि विद्रोही स्वभाव रहेको बताउँछन्। ११ औँ शताब्दीमा खस राज्यको राजधानी सिञ्जा उपत्यका थियो। इतिहास केलाउँदा १३ औँ शताब्दीसम्म खस राजाले यो राज्यको नेतृत्व गरेको देखिन्छ। त्यसपछि अशोक मल्ल, आदित्य मल्ल र रिपु मल्ले यो राज्यको नेतृत्व गरे। पृथ्वीनारायण शाहले बाइसे चौबिसे राज्य एकीकरण गर्ने क्रममा यसलाई गोरखा राज्यमै गाभ्न खोज्दा जुम्लीहरूले (सेनासहित) रोक्न खोजेपछि रक्तपात निम्तिएको देखिन्छ। 

नेमकिपाका केन्द्रीय उपाध्यक्ष रहिसकेका, अहिले पार्टी छाडेर स्वतन्त्र बनेका रामकृष्ण बुडथापा इतिहासका प्रसंग कोट्याउँदै भन्छन्, “नेपाली भाषाको विकास पनि यतैबाट भएको हो। भारतदेखि जुम्ला हुँदै तिब्बतसम्म जाने घोरेटो बाटोमा व्यापारसमेत भएको थियो। तर गोर्खाली राजाले कब्जा गरेपछि यो क्षेत्रको विकास उँधोगति लाग्यो।” 

प्रजातन्त्र स्थापनापछि जुम्लाबाट काठमाडौँमा प्रतिनिधित्व गरेकाहरूले केही विकास गर्न खोजेको तर, समयक्रममा उनीहरू स्वार्थी बनेको थापा बताउँछन्। “अहिलेसम्म जुम्लामा क्रान्तिकारी नेतृत्व देखा परेन। नेताहरूको प्यारो बनेपछि मात्रै चुनावमा टिकट पाइने भएकाले उनीहरूले जुम्लाको वास्तविक समस्यालाई बेवास्ता गरेका हुन्,” थापा थप्छन्। 

अंकगणित भने अर्कै भन्छ 
जुम्लामा मतदातासँग भेटेर कुरा गर्दा जस्तो चुनावी ‘मुड’ देखिन्छ, गत निर्वाचनको मतले भने अर्कै देखाउँछ। यसपालि मतदाताको ठूलो संख्यामा ज्ञानेन्द्र शाहीको आकर्षण भेटिए पनि उनको पार्टी राप्रपाले वैशाख ३० को स्थानीय तह निर्वाचनमा पाएको मत निकै कम छ। राप्रपाका वडाध्यक्षका उम्मेदवारले पाएको मतलाई केलाउँदा ज्ञानेन्द्रलाई जित निकाल्न त्यति सहज पनि देखिँदैन। 

स्थानीय तह निर्वाचनको वडाध्यक्षहरूको मत हेर्दा कांग्रेसको १६ हजार ७५, माओवादीको १४ हजार १७५, एमालेको ६ हजार ९६२, एकीकृत समाजवादीको ६ हजार १९५ मत छ। राप्रपाको भने ५५४ मत मात्र छ। सत्ता गठबन्धनको कूल मत नै ३६ हजार ४४५ छ। 

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा माओवादीका गजेन्द्रबहादुर महतले २२ हजार १७३ मत ल्याएर कांग्रेसका देवेन्द्रबहादुर शाही (१४ हजार १४९ मत) लाई पराजित गरेका थिए।  अहिले कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको सत्तागठबन्धनकी साझा उम्मेदवार रहेकी गोमा गौतम कुँवरलाई र एमालेका रतननाथ योगीलाई पन्छाएर जित निकाल्न ज्ञानेन्द्रलाई सहज होला त?

ज्ञानेन्द्रप्रतिको मतदाताको आकर्षण र बदलिँदो मनोविज्ञान देखेर कुँवर, योगी, नेमकिपाका उम्मेदवार डिल्लीबहादुर काफ्लेले पनि चुनावी अभियान तीव्र पारेका छन्। गठबन्धनकी उम्मेदवार कुँवर जुम्लाको इतिहासमै पहिलो निर्वाचित महिला सांसद बन्ने प्रयासमा छिन्। “जुम्ली जनता र यहाँको विकास वरिपरि नै मेरो राजनीति घुमेको छ। मैले भूगोलमा बसेर राजनीति गरेको छु। जुम्लीको विद्रोह गर्ने स्वभाव हो भने महिलालाई जिताएर संघमा पठाउनुपर्छ। यो सत्ता गठबन्धनको पनि जित हुनेछ”, उनले भनिन्। 

उनले जुम्लीले नयाँ अनुहार खोजेको तर, त्यो अस्तित्वमा नरहेको राजतन्त्रको चाहना नभएको बताइन्। कुँवरका लागि गोठीचौरमा मत मागिरहँदा भेटिएका माओवादीका नेता नरेश भण्डारीले सधैँ नेता बदल्ने चाहना जुम्लीको परिस्थितिजन्य स्वभाव भएको उल्लेख गर्दै भने, “एकीकरण अभियानदेखि नै कर्णाली सत्ताबाहिर रह्यो। जुम्लीको विद्रोही स्वभाव केन्द्रले किनारा पारिदिएपछिको पीडा पनि हो।”

उनले काम गर्न सक्ने वा काम गरेर देखाएकाहरूलाई नेताका रूपमा स्थापित गर्न पार्टीहरूले नै दोहोर्‍याएर टिकट नदिँदा पनि जुम्ली जनता हरेकपटक नयाँ अनुहारलाई मत दिन बाध्य भइरहेको बताए। “नयाँ अनुहार रोज्ने जनताको रहर हो जस्तो पनि लाग्दैन। राजनीतिक दलले हरेक पटक पुरानालाई विश्वास नगरी नयाँ अनुहार पठाएका कारण पनि जनता उनीहरूलाई रोज्न बाध्य भएका हुन् जस्तो लाग्छ”, उनले भने।

भण्डारीले मतदातामा असन्तुष्टि भएपनि कर्णालीका (तत्कालीन कर्णाली अञ्चलका) अन्य जिल्लाको तुलनामा रणनीतिकरूपमा ज्यादा काम जुम्लामा भएको बताए। “जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अहिले कर्णाली प्रदेशकै पिछडिएका ९ जिल्लामा एमबीबीएस, एमडी डाक्टर पठाउँछ। १ अर्ब भन्दा बढी लागतको १२ हजार धाराको धौलीघाट खानेपानी आयोजना बनेको छ। सिञ्जा सभ्यता आयोजना दर्ता भएको छ। माउन्टेन युनिभर्सिटी विधेयक दर्ता गरेका छौँ। सडक विस्तारलाई पनि हामीले तीव्र बनायौँ। जुम्लीले कसरी केही नभएको भन्छन्, मैले बुझ्न सकेको छैन,” भण्डारीले भने। 

२०७० मा जुम्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका नेता ललितजंग शाही नयाँ अनुहारका नाममा राजतन्त्र पक्षधरलाई जिताउन नहुने तर्क गर्छन्। “जनताका चाहना असीमित छन्। यसअघि चुनिएर संघमा गएका जुनसुकै पार्टीका प्रतिनिधिले त्यो चाहना पुरा गर्न सकेनन्। तर, उनीहरू ५ वर्ष निदाएर बसेनन्। उनीहरूले जतिसक्दो जुम्लाको विकासमा योगदान पुर्‍याएका छन्”, उनले भने, “पुराना नेताहरूले गर्नै नसकेको कामलाई मुद्दा बनाएर नयाँ अनुहार, नयाँ पार्टी छान्छु भन्नु गलत हो।” 

उनले ज्ञानेन्द्र शाही र उनको पार्टीलाई लक्षित गर्दै थपे, “जसको एउटा सिट आउन पनि मुस्किल परिरहेको छ, यस्तो पार्टीले कसरी सरकार बनाउँछ? कसरी जुम्लाको विकासका लागि नीतिनिर्माणमा भूमिका खेल्छ? कसरी त्यो नीति कार्यान्वयनमा सहयोग गर्छ? मुखले आकाश तल, धर्ती माथि गर्छु भनेर मात्रै हुन्न।” 

सत्तागठबन्धनमा असन्तुष्टि, एमालेमा सुनसान
अंकगणित अनुकूल हुँदाहुँदै पनि सत्तागठबन्धनभित्र असन्तुष्टि पनि चर्को छ। अन्तर्विरोध पनि देखिन्छ। प्रतिनिधि सभाको सिट माओवादीको भागमा पारेकोमा कांग्रेसभित्र चर्को असन्तुष्टि छ।  जुम्ला कांग्रेसका एक नेताका अनुसार कांग्रेस कार्यकर्तालाई माओवादी र एकीकृत समाजवादीसँग गठबन्धन गरेको मन परेको छैन। आफ्नो विचार र सिद्धान्तलाई असर पर्नेगरी माओवादीसँग नेतृत्वले गठबन्धन गरेको उनको आरोप छ। 

सत्तागठबन्धनकी उम्मेदवार कुँवरले जुम्लाको विकासमा यसअघि सक्रियता नदेखाएको गुनासो पनि छ, कांग्रेसमा। प्रदेश सभाको उम्मेदवारीप्रति पनि कांग्रेस पंक्ति असन्तुष्ट छ। जुम्ला ‘क’बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवार रहेका ललितजंग शाहीविरूद्ध कांग्रेसकै देवेन्द्रबहादुर शाही बागी उठेका छन्। उनले आफ्नो उम्मेदवारी अन्यायको विरुद्धमा भएको सुनाइरहेका छन्। स्थानीय मतदाताले देवेन्द्रले राम्रो काम गरेकाले यसपटक प्रदेशतर्फ उनलाई मत दिने बताएका छन्। “संघमा ज्ञानेन्द्र, प्रदेशमा देवेन्द्रलाई रोज्ने हो,” चन्दननाथ नगरपालिकाकी मतदाता सिता बोहोराले भनिन्। 

देवेन्द्र संस्थापन इतरका हुन्। जुम्ला ‘ख’बाट सत्तागठबन्धनका साझा उम्मेदवार, नेकपा एकीकृत समाजवादीका पदम रोकाय छन्। उनीविरुद्ध कांग्रेसकै धनबहादुर बुढा बागी उठेका छन्।

केन्द्रमा तालमेल भएपनि जुम्लामा राप्रपा र एमालेबीच तालमेल छैन। एमालेबाट रतननाथ योगी उम्मेदवार छन्। ज्ञानेन्द्र र कुँवरको तुलनामा कम चर्चामा रहेका योगी मत माग्दै गाउँगाउँ पुगिरहेका छन्। भन्छन्, “एमालेले जति देशको विकास कसैले गरेको छैन। जुम्लाको विकासका लागि पनि हाम्रो पार्टीले धेरै गरेको छ। मेरो अजेण्डामा जनतालाई विश्वास पनि छ। जित हाम्रो हुनेछ।” 

एमालेका जिल्ला इन्चार्ज योगी केही समय अघिसम्म गाउँपालिका अध्यक्ष थिए। फेरि उनले नै टिकट पाउँदा एमाले पंक्तिमा पनि असन्तुष्टि छ। चन्दननाथ, जुम्लाका एक एमाले कार्यकर्ताले भने, “जुम्लाको विकासमा खासै भूमिका नभएपछि उहाँलाई गाउँपालिकाको अध्यक्षपछि फेरि संघका लागि टिकट दिइयो। कम्तीमा गाउँपालिका अध्यक्ष भएर उहाँले काम गर्दा के कसो गर्नु भयो, त्यसको मूल्यांकन त पार्टीले गर्नुपर्थ्यो नि।”

जुम्लामा यसपटकको निर्वाचनमा कुल ६८ हजार ६३८ मतदाता छन्। त्यसमध्ये ३५ हजार ७०० पुरुष छन् भने ३२ हजार ९३८ महिला रहेका छन्। 


सम्बन्धित सामग्री