Friday, April 26, 2024

-->

कात्तिक नाचको तेस्रो दिन : ‘बाथः बाखः’ नाच हुने

कात्तिक नाचको तेस्रो दिन आज पाटनस्थित कात्तिक डबलीमा बाथःबाखः नाचको प्रहसन हुँदै छ।

कात्तिक नाचको तेस्रो दिन  ‘बाथः बाखः’ नाच हुने

काठमाडौं– कात्तिक नाचको तेस्रो दिन आज ‘बाथः बाखः’ नाच प्रदर्शनी हुँदै छ। तीन चतुर दाजु-भाइले ब्राह्मणलाई आफ्नो साथमा रहेको बाख्रालाई कुकुर हो भनी मनाउने यस नाचको कथासार छ।

यस्तो छ नाचको कथाः एकपटक एक व्यक्ति बिरामी भए। उपचारका लागि उनले नाचका प्रमुख पात्र ब्राह्मणलाई बोलाउँछन्। उपचारपश्चात् ती व्यक्तिले ब्राह्मणलाई बाख्रा दिएर पठाउँछन्।

घर फर्कने क्रममा तीन दाजु-भाइले उक्त ब्राह्मणको साथमा रहेको बाख्रा, बाख्रा नभई कुकुर भनी मनाउँछन्। ब्राह्मणले उक्त बाख्रा त्यही छाडेर जान्छन्। ती तीन दाजु-भाइले बाख्रा काटेर पकाउँछन्।

‘सिं कायेगु’ अर्थात् पाकेको मासुको विभिन्न भागलाई ज्येष्ठताका आधारमा बाँड्ने चलन नेवार समुदायमा छ। सोही क्रममा दाजु-भाइमा कसले ‘सिं’ को भाग लिनेमा मतभेद हुन्छ।

तब, तीनै दाजु-भाइ राजाको दरबार गएर आफ्नो मत राख्छन्। तीन जनामध्ये सबैभन्दा कान्छो र बाठोले चतुर तरिकाले आफू सबैभन्दा ज्येष्ठ भएको प्रमाणित गरी ‘सिं’ को भाग लिन्छन्। नाच सोही कथाको परिधिमा घुम्छ।

३८२ वर्ष पुरानो यस नाचलाई सिद्धिनरसिंह मल्लले सञ्चालनमा ल्याएका थिए। नाच हरेक साँझ ७ बजे पाटनस्थित कात्तिक डबलीमा प्रदर्शनी हुँदै आएको छ।


सम्बन्धित सामग्री