Tuesday, April 30, 2024

-->

बिस्का जात्रामा भैरवको रथ भाँचियो

जथाभाबी तान्दा रथ बिग्रिएर क्षति पुगेको र रथ तान्ने डोरीसमेत चोरी भएको छ। रथमा धेरै क्षति पुगेकाले मर्मत गर्ने कार्य जारी छ।

बिस्का जात्रामा भैरवको रथ भाँचियो

भक्तपुर– भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्का जात्राको पहिलो दिन पाँचतले मन्दिरस्थित टौमढीबाट तान्न शुरू गरेको प्यागोडा शैलीको भैरवनाथको रथ भाँचिएको छ। 

मंगलबार दिउँसो तीन बजेदेखि तान्न शुरू गरिएको रथ निरन्तर १३ घण्टासम्म तानेर माथिल्लो क्षेत्रको दत्तात्रयसम्म पुर्‍याइएको थियो। बुधबार बिहान रथ फर्काएर सुकुलढोकामा ल्याइपुर्‍याइएको थियो।

सोही क्रममा रथ भाँचिएको गुठी कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी दिइन्। जथाभाबी तान्दा रथ बिग्रिएर क्षति पुगेको र रथ तान्ने डोरीसमेत चोरी भएको उनको भनाइ छ। 

रथ तान्ने क्रममा मुख्य तीन खामा भाँचिएर रथ बीचमै थन्किएको प्रमुख वलीले जानकारी दिइन्। रथमा धेरै क्षति पुगेकाले मर्मत गर्ने कार्य जारी रहेको उनले बताइन्। रथलाई पूरै बनाउन अझै एक साता समय लाग्नेछ।

चैत ३० गते ल्यासिंखेलमा लिंगो उठाउनु अगाडि रथ जसरी पनि गःहिटी पुर्‍याउन पर्ने मान्यता छ। त्यसैले रथ पूर्ण नभई आंशिक रूपमा सञ्चालनमा आउने गरी मर्मत गरिरहेको प्रमुख वलीले बताइन्।

मंगलबार राति नै रथलाई गःहिटी पुर्‍याएर पूजा गर्नुपर्ने थियो। मंगलबार राति विगतका वर्षमा जस्तै तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाले ढुंगा हानाहान गर्ने त्रास रहे पनि यस वर्ष शान्तिपूर्ण रूपमा पहिलो दिनको जात्रा सम्पन्न भएको थियो। 

नियम अनुसार चैत ३० गते भैरव र भद्रकालीको रथलाई गःहिटीबाट तानेर ल्यासिंखेल पुर्‍याएपछि मात्रै लिंगो उठाउने कार्य शुरू हुन्छ। आगामी वैशाख १ गते लिंगो ढालेपछि पुनः रथलाई ल्यासिंखेलबाट गःहिटी ल्याएर भैरव र भद्रकालीको रथ जुधाउने परम्परा छ।


सम्बन्धित सामग्री