Tuesday, April 30, 2024

-->

भक्तपुरमा बिस्का जात्रा शुरू, भैरवको रथमा पूजा गर्नेको भिड

सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुल्ला गरेर जात्राको शुभारम्भ गरिएको गुठी संस्थान कार्यालयले जनाएको छ। दिउँसो तीन बजेदेखि भैरवको रथ तान्ने तयारी छ।

भक्तपुरमा बिस्का जात्रा शुरू भैरवको रथमा पूजा गर्नेको भिड 

भक्तपुर– ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा भक्तपुरमा शुरू भएको छ। 

आठ रात नौ दिनसम्म मनाइने जात्राको पहिलो दिन मंगलबार तौमढीस्थित भैरवको रथमा पूजा गर्ने स्थानीयको बिहानैदेखि भिड लागेको छ।

सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुल्ला गरेर जात्राको शुभारम्भ गरिएको गुठी संस्थान कार्यालयका प्रमुख खिमा वलीले जानकारी दिइन्। “बिहानदेखि नै नित्य पूजा गरेपछि सर्वसाधारणको पूजा शुरू भइसकेको छ। पहिला गुठी संस्थानका प्रमुख र सिकर्मी नाइकेबाट सरकारी पूजा गरिन्छ,” उनले भनिन्, “त्यसपछि अन्य समुदायको पूजा सकेर तीन बजेदेखि भैरवको रथ तान्न शुरू हुन्छ। छिट्टै रथ तानेर ग:हिटी पुर्‍याउने लक्ष्य राखेका छौँ।”

तान्त्रिक विधिपूर्वक गुठी कार्यालयले ल्याएको सरकारी पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमान ढोकाबाट राजाको प्रतीकस्वरूप ल्याइएको खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा शुरू भएको थियो। 

विगतमा अपराह्न पाँच बजेपछि रथ तान्न शुरू गरी राति अबेरसम्म गःहिटी पुर्‍याउने प्रचलन थियो। यस वर्ष भने भैरवनाथको रथ अपराह्न ५ बजेसम्म गःहिटीमा पुर्‍याई पहिलो दिनको जात्रा सम्पन्न गर्ने तयारी गरिएको उनले बताइन्। 

विगतका वर्षमा रथमा जथाभाबी मानिस बस्ने गरे पनि यस वर्ष भने रथमा जुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिबाहेक अन्य व्यक्ति चढ्न नदिने तयारी छ। 

पहिलो दिनको जात्रा सम्पन्न भएपछि चैत ३० गते ल्यासिंखेलमा गुठी पूजासहित सबै प्रक्रिया पूरा गरी अपराह्न ५ बजे लिंगो उठाउने जात्रा हुनेछ। वैशाख १ गते अपराह्न ५ बजेभित्र लिंगो ढाल्ने र वैशाख ५ गते पनि अपराह्न ५ बजेसम्म रथ तानिसकेर जात्रा सम्पन्न गर्ने गरी तयारी गरिएको उनको भनाइ छ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बिस्केट जात्रामा हूलदंगा हुन नदिन र शान्तिपूर्ण रूपमा जात्रा सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा गरिएको बताइन्। “जात्रामा सीसी क्यामराबाट प्रहरीले अनुगमन गरिरहेको हुन्छ। जात्रामा खटिएका सादा पोसाकमा सुरक्षाकर्मीले पनि मोबाइलबाट फोटो र भिडियो खिचेर अनुगमन गरिरहेको हुन्छ,” उनले भनिन्, “स्थानीयको जात्रा भएकाले जात्रामा अवरोध नगर्ने गरी सुरक्षाकर्मी पछाडि नै बस्छन्। हूलदंगा भयो भने र आवश्यकता हेरेर मात्रै सुरक्षाकर्मी अगाडि जाने व्यवस्था गरेका छौँ।”

नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेनासहितको सुरक्षा टोली आवश्यकताअनुसार खटिने गरी सुरक्षा व्यवस्था तयारी अवस्थामा राखेको उनले बताइन्। जात्रा भड्काउन खोज्ने, ढुंगा हान्ने र हूलदंगा गर्न खोज्नेलाई पक्राउ गरी कडा कारबाही गरिने उनको भनाइ छ।


सम्बन्धित सामग्री