Wednesday, May 08, 2024

-->

पाटनको एकल घोडेजात्रा : परम्परा जगेर्ना गर्न निरन्तरता

परापूर्वकालदेखि चलिआएको परम्परा जगेर्ना गर्न एकल घोडेजात्रालाई निरन्तरता दिइरहेको ललितपुर महानगरपालिका–९ का वडा अध्यक्ष राजु महर्जन बताउँछन्।

पाटनको एकल घोडेजात्रा  परम्परा जगेर्ना गर्न निरन्तरता
तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी

ललितपुर– ललितपुरको पाटनमा सोमबार एकल घोडा दौडाएर घोडेजात्रा पर्व मनाइएको छ। बालकुमारी ज्यापुटोलको भीमसेन गुठीले सञ्चालन गर्दै आएको एकल घोडेजात्रा मल्लकालदेखि चल्दै आएको स्थानीयले बताउँछन्।

यो जात्राका क्रममा एक जना गुठियारलाई घोडामा सवार गराई नगरका बल्खु चिवहाः, गणेश मन्दिर हुँदै बालकुमारी मन्दिरको परिक्रमा गराइन्छ। यो जात्रा मनाउँदा दुष्ट आत्माको दहन हुने र नगरमा शान्ति छाउने जनविश्वास छ। घोडाको पैतालामा आकार अनुरूप फलाम लगाइन्छ। फलामका कारण दुष्ट आत्मा दहन हुने भएकाले नगरमा घोडा दौडाउने गरेको गुठियार बताउँछन्।

स्थानीयले सिमसिम राजा भनेर चिन्ने मल्लकालीन राजा शिवसिंह मल्लले नै घोडेजात्राको शुरूआत गरेको गुठियार अर्जुन महर्जन बताउँछन्। उनका अनुसार यो जात्रालाई काठमाडौँको भन्दा पुरानो जात्रा मानिन्छ। घोडेजात्राको शुरूआत नै ललितपुरबाट भएको उनको भनाइ छ।


परापूर्वकालदेखि चलिआएको परम्परा जगेर्ना गर्न एकल घोडेजात्रालाई निरन्तरता दिइरहेको ललितपुर महानगरपालिका–९ का वडा अध्यक्ष राजु महर्जन बताउँछन्। “हाम्रा पुर्खादेखि नै यो जात्रा मनाइँदै आइएको छ। त्यही परम्पराको जगेर्ना गर्दै यस वर्ष पनि जात्रा मनाइएको हो,” उनले भने।

कसरी मनाइन्छ एकल घोडेयात्रा?
यस दिन काठमाडौँमा पनि घोडेजात्रा मनाइन्छ। काठमाडौँको टुँडिखेलमा नेपाली सेनाले उच्चपदस्थ व्यक्तिको उपस्थितिमा कलाकौशल प्रदर्शन गर्ने गर्छ। ललितपुरमा भने घोडेजात्राको जिम्मा पाएको भीमसेन गुठीले जात्राको आयोजना गर्छ। यस गुठीका गुठियारमध्येबाट घोडा चढ्न सक्ने कुनै एक व्यक्तिले घोडा दौडाउन पाउँछन्। जसको छनोट गुठीले नै गर्ने गर्छ।


गुठियारले जात्राका लागि नेपाली सेनाको क्याभलरीबाट घोडा ल्याउने गर्दछ। घोडा चढ्नेलाई सम्मान स्वरूप पूजाआजा गरेर टीका लगाइदिई, फूलमाला पहिर्‍याइन्छ। घोडेजात्रा प्रदर्शन पाटनको मूल चोकबाट शुरू भएपछि बल्खु चिवहाःमा लगेर घोडालाई मासको खोस्टा खान दिइन्छ। त्यहाँ पनि स्थानीयबाट घोडा र घोडामा सवार व्यक्तिलाई फूलमाला साथै टीका लगाइदिने गुठियार अर्जुन महर्जन बताउँछन्। गणेश र बालकुमारी मन्दिरको तीन फन्का परिक्रमा गरेपछि घोडेजात्रा सकिने उनको भनाइ छ।

“यो जात्रा हिजोबाटै मनाउन थालिन्छ। गुठियारले विधिपूर्वक पूजाआजा गर्दै जात्रा शुरू हुन्छ। पाटनको मूल चोकबाट घोडा दौडाएर शुरू भएको जात्रा बालकुमारी मन्दिरको परिक्रमा गरेपछि विधिपूर्वक जात्रा सकिएको मानिन्छ। अन्तिममा बालकुमारीको चौतारामा बसी सहभागी सबैले प्रसाद खाने चलन छ,” उनले भने


कसरी शुरू भयो एकल घोडेजात्रा?
जात्रा मनाउने चलन कसरी शुरू भयो भन्नेबारे एउटा किंवदन्ती प्रचलनमा छ। मल्ल राजा शिवसिंह मल्लको एउटा घोडा थियो। घोडाको तबेला बल्खुटोलमा थियो भने सइस (घोडाको रेखदेख गर्ने व्यक्ति) त्यहीँका ज्यापू थिए। एक दिन राजा अवस्था बुझ्न बल्खुचोक गएका बेला ती सइस आराम गरिरहेको भेटाए। राजाले सुतिरहेका सइसलाई पाँचटाउके नागले छहारी दिइरहेको अचम्मको दृश्य देखे। उनी केही नभनी त्यहाँबाट दरबार फर्किए।

निद्राबाट ब्युँझिएपछि सइसले राजा आएको थाहा पाए। राजा रिसाएको हुनसक्ने ठानी उनी माफी माग्न दरबार पुगे। तर राजाले उनमा भगवान्को अवतार रहेको भन्दै उल्टै उनको सत्कार गरे। त्यसपछि राजाले उनलाई त्यही घोडामा चढाइ फूलमाला पहिराइ, खड्ग बोकाएर नगर परिक्रमा गराए। त्यहाँबाटै पाटनमा एकल घोडेजात्रा मनाउने प्रचलन शुरू भएको मानिन्छ। यो जात्रामा घोडाको पछिपछि सिमसिम राजाको प्रतीकका रूपमा तरबार र छातासमेत बोक्ने गरिन्छ।


सम्बन्धित सामग्री